बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
इङ्लिस प्रिमियर लिग

युरोपियन फुटबलमा जातीय दुर्व्यवहारका उदेकलाग्दा घटना !

एसियाली मूलका बढी पीडित
बिहीबार, ०६ मङ्सिर २०८१, २० : ००
बिहीबार, ०६ मङ्सिर २०८१

काठमाडौँ । भर्खरैमात्र इङ्लिस प्रिमियर लिग क्लब टोट्टनहामका मिडफिल्डर रोड्रिगो बेन्टानकर सात खेलको प्रतिबन्धमा परे । अनुशासन विपरीतको कार्य गरेको आरोपमा उनीमाथि सात खेलको प्रतिबन्ध लगाइएको थियो ।

उरुग्वेका यी प्रभावशाली मिडफिल्डरमाथि आफ्नै टोलीका साथी सन ह्युङ मिनमाथि जातीय विभेद गरेको आरोप लागेको थियो । सोही आरोपमा फुटबल एसोसिएसन (एफए) ले २७ वर्षीय रोड्रिगोमाथि सात खेलको प्रतिबन्ध लगाएको हो ।

सोही आरोपमा रोड्रिगोमाथि एक लाख युरो जरिवाना पनि तोकिएको छ । सात खेलको प्रतिबन्धमा परेपछि अब रोड्रिगो आगामी डिसेम्बर २६ तारिखभन्दा अगाडि खेलमा फर्कने छैनन् । उनले प्रिमियर लिगअन्तर्गत म्यानचेस्टर सिटी, लिभरपुल र चेल्सीविरुद्धको खेल गुमाउने छन् । उनले लिग कपको म्यानचेस्टर युनाइटेडविरुद्धको क्वार्टरफाइनल खेल पनि गुमाउने पक्का छ ।

पछिल्लो समय पूर्वी तथा दक्षिण–पूर्वी एसियाली मूलका खेलाडी र समर्थकहरुप्रति जातीय दुर्व्यवहारका घटना निकै बढेको एक प्रतिवेदनले देखाएको छ । जातीय  दुर्व्यवहारको घटनालाई नजिकबाट नियाल्दै आएको संस्था किक ईट आउट (केआईओ) को अध्ययनले यस्तो निष्कर्ष निकालेको हो ।  

‘हामी वेम्बली स्टेडियम बाहिर थियौँ । हाम्रो छेउछार रियल म्याड्रिडका थुप्रै समर्थक थिए । उनीहरुले म र मेरी महिला सहकर्मीलाई लक्षित गरी चीनका महिलाहरुलाई जोडेर स्पेनिस भाषामा आपत्तिजनक गीत गाउँदै उफ्रिरहेका थिए । उनीहरुको व्यवहारबाट हामीलाई विरक्त लाग्यो । के हामी अझै पनि आफूलाई सभ्य संसारमा बाँचिरहेको दाबी गर्न सक्छौँ ?’

केआईओको प्रतिवेदन अनुसार, सन् २०२३–२४ मा स्टेडियममा खेलाडीमाथि तीन सय ९५ वटा जातीय दुर्व्यवहारको घटना भएको उजुरी दर्ता गराइएको थियो । जबकि सन् २०२२–२३ को अवधिमा यस्तो उजुरीको सँख्या दुई सय ७७ मात्र थियो ।

यसरी दर्ता भएका उजुरीमध्ये ५५ प्रतिशत उजुरी पूर्वी एसियाली मूलका खेलाडीसँग सम्बन्धित थियो । पछिल्लो पाँच सिजनको तथ्याङ्कलाई केलाउँदा खेलाडीहरूमाथि जातीय दुर्व्यवहार भएको नौ सय ३७ वटा उजुरी केआईओमा दर्ता भएका थिए ।

त्यसमध्ये ३५ प्रतिशत (३२७ वटा) उजुरी पूर्वी तथा दक्षिण–पूर्वी एसियाली मूलका खेलाडीसँग सम्बन्धित छन् । ‘जातीय दुर्व्यवहारका घटनाहरु निकै बढेका छन् । हाम्रो संस्थानमा पनि उजुरीको ओइरो लाग्ने गरेको छ,’ केआईओका प्रमुख कार्यकारी सामुएल ओकाफोर भन्छन् ।

उनले खेल मैदानमा हुने जातीय दुर्व्यवहारको विषयलाई लिएर समर्थकहरू पनि निकै संवेदनशील बन्दै गएको पनि बताएका छन् । ‘हामीलाई समर्थकहरूले पनि जातीय दुर्व्यवहारको विषयमा थुप्रै उजुरी र सुझाव पठाउने गरेका छन् । यो विषयमा समर्थकहरू निकै संवेदनशील छन्,’ उनी भन्छन् ।

पछिल्लो पाँच वर्षको अवधिमा खेल मैदानमा निश्चित खेलाडीहरू पटक–पटक जातीय दुर्व्यवहारको सिकार हुने गरेको जानकारी पनि उनले दिए । तर, केआईओले त्यस्ता सबै खेलाडीको नाम भने आफ्नो प्रतिवेदनमा खुलाइएको छैन ।

तर, इङ्लिस प्रिमियर लिग फुटबलमा पटक–पटक जातीय दुर्व्यवहारको सिकार बन्दै आएका केही चर्चित खेलाडीलाई भने उदाहरणका रुपमा अघि सारिएको छ । त्यसमा दक्षिण कोरियाली र जापानी खेलाडीहरू रहेका छन् ।

केआईओका अनुसार, दक्षिण कोरियाका सन ह्युङ मिन, जापानका काउरो मितोमा (ब्राइटन), ताकेहिरो तोमियासु (आर्सनल), दाइची कामादा (क्रिस्टल प्यालेस) र युकिनारी सुगावारा (साउथएम्पटन) इङ्लिस प्रिमियर लिगमा पटक–पटक जातीय दुर्व्यवहारमा पर्ने खेलाडी हुन् ।  

प्रिमियर लिग बाहेक युरोपका अन्य चर्चित घरेलु लिगमा पनि एसियाली मूलका खेलाडीमाथि जातीय दुर्व्यवहार हुने गरेको प्रतिवेदनमा उल्लेख छ । गत अक्टोबरमा इटालियन क्लब कोमोका डिफेन्डर मार्को कुर्टोमाथि जातीय दूव्र्यवहारको आरोपमा १० खेलको प्रतिबन्ध लगाइएको थियो ।

मार्को कुर्टोले गत जुलाईमा खेलिएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका क्रममा दक्षिण कोरियाली स्ट्राइकर ह्वाङ ही–चेनलाई जातीय दुर्व्यवहार गरेका थिए । सोही आरोपमा मार्को कुर्टोलाई विश्व फुटबल महासंघ (फिफा) ले १० खेलको प्रतिबन्ध लगाएको थियो ।

दक्षिण कोरियाली खेलाडी सन ह्युङ मिन सन् २०१५ मा प्रिमियर लिग क्लब टोट्टनहाममा आबद्ध भएका थिए । त्यसयता उनी पटक–पटक जातीय दुर्व्यवहारको सिकार भइसकेको प्रतिवेदनमा उल्लेख छ । नटिङ्घम फरेष्टका समर्थकहरुको उपद्रोह यसको पछिल्लो उदाहरण हो ।

त्यसैले नटिङ्घम फरेष्टका समर्थकलाई कतिपय मैदानमा प्रवेशका लागि प्रतिबन्धसमेत लगाइएको छ । यतिमात्र होइन, सन् २०१९ देखि सन् २०२३ को बिचमा सन ह्युङ मिन म्यानचेस्टर युनाइटेड, चेल्सी, क्रिस्टल प्यालेस र वेस्ट हामका समर्थकहरुको आक्रोशको सिकार पनि बनिसकेका छन् ।

सन् २०२० मा कोरोना भाइरसको महामारीले सिंगो विश्वलाई गाँजेको समयमा पनि एसियाली मूलका खेलाडीहरुलाई जोडेर ‘जातीय दुर्व्यवहारका घटनालाई रातो कार्ड देखाउनुहोस्’ भन्ने सन्देश सामाजिक सञ्जालमा भाइरल बनाइएको छ ।

जातीय दुर्व्यवहारका घटनालाई क्लबहरूकै कतिपय गतिविधिले पनि अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने गरेको आरोप लाग्ने गरेको छ । यसको पछिल्लो उदाहरण, आफ्ना मिडफिल्डर रोड्रिगो बेन्टानकर जातीय दुर्व्यवहारको आरोपमा सात खेलको प्रतिबन्धमा परेपछि टोट्टनहामले त्यसको विरुद्धमा पुनरावेदन गर्ने जनाइसकेको छ ।

खेलाडीहरुमात्र जातीय दुर्व्यवहारको शिकार बन्दैनन् । समर्थक र फुटबलसँग जोडिएका अन्य पेसामा आबद्ध व्यक्तिहरू पनि पटक–पटक यस्तो दुःखद परिस्थितिको सामना गर्न बाध्य बनेका थुप्रै उदाहरण छन् । लन्डनमा प्रिमियर लिगसँग सम्बन्धित भिडियो सामाग्री निर्माण गर्ने व्यक्ति हुन्, केभिन युआन ।

आफ्नो छालाको रंग, भाषा, धर्म र संस्कृति कुनै अर्को व्यक्तिको छालाको रंग, भाषा, धर्म र संस्कृतिसँग नमिलेको आधारमा कसैप्रति अप्रिय व्यवहार गर्नु सवर्था गलत हो । खेलकुद क्षेत्रमा यस्तो घटना हुनु त झनै निराशाजनक हुन्छ ।

युआन पनि जातीय दुर्व्यवहारको शिकार भइसकेका छन् । उनी भन्छन्, ‘यी घटना पक्कै पनि सामान्य होइनन् । यस्ता घटनालाई निर्मूल पार्न हामी क्रूर बन्नै पर्ने हुन्छ । अन्यथा पटक–पटक जातीय दुर्व्यवहारका घटनाले विश्व खेलकुदलाई गिजोली रहनेछ ।’

गत जुनको घटना हो । च्याम्पियन्स लिगको फाइनलपछि स्पेनिस ला लिगा क्लब रियल म्याड्रिडका समर्थकहरुले वेम्बली स्टेडियम बाहिर केभिन युआनलाई जातीय दुर्व्यवहार गरेका थिए । त्यतिबेला उनीसँग एक महिला सहकर्मी पनि थिइन् । ती महिला सहकर्मी पनि त्यो दुःखद घटनामा परेकी थिइन् ।

युआनले चिनियाँ सञ्चारमाध्यमका लागि फुटबलका सामाग्रीहरू तयार पार्ने गरेका छन् । ‘हामी वेम्बली स्टेडियम बाहिर थियौँ । हाम्रो छेउछार रियल म्याड्रिडका थुप्रै समर्थक थिए । उनीहरुले म र मेरी महिला सहकर्मीलाई लक्षित गरी चीनका महिलाहरुलाई जोडेर स्पेनिस भाषामा आपत्तिजनक गीत गाउँदै उफ्रिरहेका थिए । उनीहरुको व्यवहारबाट हामीलाई विरक्त लाग्यो । के हामी अझै पनि आफूलाई सभ्य संसारमा बाँचिरहेको दाबी गर्न सक्छौँ ?’ युआन प्रश्न गर्छन् ।

सुरुमा आफूहरूले स्पेनिस भाषा नबुझेकाले कुनै वास्ता नगरेको तर, स्पेनिस भाषाका जानकार अर्का साथीले आफूहरूलाई त्यसको वास्तविक अर्थ बताएको जानकारी पनि युआनले दिए । त्यसपछि आफूहरू स्तब्धः बनेको युआन बताउँछन् ।

‘उनीहरुको गीत हामीप्रति नै लक्षित थियो भन्ने हामीलाई लागेको थियो । तर, हामीले स्पेनिस भाषा बुझेनौँ । हामीले एउटा समर्थकलाई त्यसको अर्थ पनि सोध्यौँ । तर, उसले त्यो रियल म्याड्रिडका समर्थकले विजय उत्सव मनाउँदा गाउने गीत भएको बतायो । स्पेनिस भाषा बुझ्ने अर्का साथीले त्यसको वास्तविक अर्थ हामीलाई बताएका थिए । खासमा रियल म्याड्रिडका समर्थकहरु हामीलाई आफ्नो गीतमार्फत भद्दा रूपमा जातीय दुर्व्यवहार गरिरहेका रहेछन्,’ युआनले आफ्नो अनुभव सुनाए ।

त्यस्तै दुर्भाग्यपूर्ण घटना आफूहरूले इङ्लिस क्लबमा समर्थकहरुबाट पनि भोग्नु परेको उनले बताए । ‘खेल सुरु हुनुअघि र पछि भिडियो तयार पार्नु हाम्रो काम हो । यसका लागि हामीले थुप्रै रंगशाला धाउनु पर्छ । यसक्रममा हामी पटक–पटक जातीय दुर्व्यवहारको शिकार बन्ने गरेका छौँ । अब त लाग्छ, जातीय दुर्व्यवहार  सहनु पनि हाम्रो कामसँगै जोडिएको एउटा दुःखद पक्ष हो,’ उनी भन्छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप