आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
एकपछि अर्को विवादमा ओली

प्रधानमन्त्री ओली किन पर्छन् पटकपटक विवादमा ?

बिहीबार, ०६ मङ्सिर २०८१, १९ : १५
बिहीबार, ०६ मङ्सिर २०८१

काठमाडौँ। ‘कम्बोडियामा ३ हजार करोड रुपैयाँ मैले राखेको रहेछु भने धेरै त छैन, एक हजार रुपैयाँ थपेर सबै दिन्छु’, नेकपा एमालेका अध्यक्ष तथा हालका प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षअघि पोखरा पुगेर भनेका थिए ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ३ हजार करोड रुपैयाँ अध्यक्ष ओलीले कम्बोडियामा राखेको भनेर अभिव्यक्ति दिएपछि २०८० कार्तिक १३ मा ओलीको यस्तो प्रतिक्रिया आएको थियो ।

कुनै बेला एमाले केन्द्रीय सदस्यसमेत रहेका तिनै मेडिकल व्यवसायी प्रसाईंले अहिले फेरि ओलीले कम्बोडियाको स्मार्ट एक्जिएटा टेलिकम कम्पनीमा २१ करोड अमेरिकी डलर रकम लगानी गरेको भन्दै भिडियो सार्वजनिक गरे ।

प्रसाईंले उक्त भिडियो सार्वजनिक गरेपछि  नेपाली राजनीतिक वृत्तमा तरङ्ग फैलियो । भिडियो सार्वजनिक भएको भोलिपल्ट प्रसाईं पक्राउ परे ।

नक्कली हस्ताक्षर र कागजात बनाएर प्रधानमन्त्रीमाथि भ्रम फैलाएको भन्दै प्रसाईंमाथि प्रहरीले अहिले अनुसन्धान गरिरहेको छ । साइबरसम्बन्धी कसुर गरेको आरोपमा पक्राउ परेका प्रसाईं दोषी ठहरिए कानुन अनुसार सजायको भागीदार हुन्छन् ।

प्रहरीले प्रसाईंमाथि अनुसन्धान जारी राखेका बेला प्रधानमन्त्री ओलीमाथि पनि छानबिन हुनुपर्ने आवाज उठ्न थालेको छ । सामाजिक सञ्जाल प्रयोगकर्तादेखि विभिन्न राजनीतिक दलका नेता–कार्यकर्ताले ओलीमाथि अनुसन्धान हुनुपर्ने झिनो आवाज उठाइरहेका छन् ।

त्यसो त केपी ओली आर्थिक विवादमा मुछिएको यो पहिलो पटक भने होइन । यसअघि पनि ओली यती, ओम्नी, गिरीबन्धु टि–स्टेटको जग्गा लगायतका विभिन्न प्रकरणमा जोडिँदै आएका थिए ।

ओली पटक–पटक विवादमा मुछिएका छन् । उनीमाथि विभिन्न आरोप लाग्दै आए पनि अहिलेसम्म प्रमाणित भने हुन सकेको छैन । ओलीले के कति भ्रष्टाचार र गलत काम गरेका छन् भन्ने पुष्टि भइसकेको छैन । उनीमाथि जे–जति आरोप लागे पनि छानबिनसमेत भएको छैन । बरु नेपाली राजनीतिमा ओलीलाई धेरैले ‘बायस्ट र इगोइस्ट’ नेताका रूपमा व्याख्या गर्दै आएका छन् । उनको यही स्वभावले पनि उनीमाथि बढी आरोप लाग्ने गरेको विश्लेषकहरूको भनाइ छ ।

‘ओली बायस्ट र इगोइस्ट मान्छे हुन् । आफूलाई सहयोग गरेका मानिसहरूलाई सत्तामा पुगेपछि लाभ पुर्‍याउन पछि पर्दैनन्’, राजनीतिक विश्लेषक डम्बर खतिवडा भन्छन्,  ‘यसअघि यती, ओम्नी, गिरीबन्धु जे–जे काण्डमा ओली मुछिए, ती प्रकरणमा पनि उनले आफू नजिकका मानिसलाई फाइदा हुनेगरी निर्णयहरू गरेको हो कि भन्ने घटनाक्रमहरूबाटै देखिन्छ ।’

विश्लेषक खतिवडा ओलीमाथि पटकपटक भ्रष्टाचार र आर्थिक अनियमितताका आरोप लाग्नुमा उनको ‘एटिच्युड’ले पनि काम गरेको हुनसक्ने बताउँछन् ।

‘राजनीतिक सत्तालाई आर्थिक दुरुपयोग वा आफ्ना वरिपरिकालाई कमाउने मेलो बनाइदिउँ भन्ने ओलीको एटिच्युड छ,’ खतिवडाले भने, ‘त्यसैका आधारमा एक्जियटा, एनसेललगायतका काण्ड पनि उनीसँग जोडिएका हुन सक्छन् ।’

शासकहरूमाथि यस्ता आरोप लाग्दैमा इगोका रूपमा लिन नहुने खतिवडाको बुझाइ छ । यस्ता आरोपलाई नागरिकले शासकहरूमाथि पोख्ने रिसका रुपमा बुझ्नुपर्ने खतिवडाको सुझाव छ ।

‘डेमोक्रेसीमा राइट टु अफेन्ड भन्ने सिद्धान्त हुन्छ । यसलाई नागरिकहरूले शासकमाथि रिस पोख्ने अधिकारभन्दा पनि हुन्छ । त्यही सिद्धान्त अनुसार पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफ्नो वंश र परिवार नै मास्ने भनेर आरोप लगाइयो’, उनले भने, ‘तर ज्ञानेन्द्रले नरायणहिटी दरबार हत्याकाण्ड गराएको हो भन्ने प्रमाण त कसैसँग छैन ।’

आफूमाथि लागेको आरोपमा शाहले कोही कसैमाथि कुनै मुद्दा नहालेको पनि खतिवडाले जिकिर गरे ।

नेपालका धेरै पूर्वप्रधानमन्त्रीमाथि कुनै न कुनै आरोप लागेको भन्दै उनले गिरिजाप्रसाद कोइरालामाथि लाउडा र धमिजाजस्ता प्रकरणमा भ्रष्टाचारका धेरै आरोप लागे पनि प्रमाणित हुन नसकेको बताए ।

‘हिजो केपी ओलीहरूले नै गिरिजाप्रसाद कोइरालामाथि लाउडा र धमिजा काण्ड उठाएका हुन्’, उनले भने, ‘दासढुंगा घटनाका बेला धेरैले गिरिजाप्रसादलाई मदनको हत्यारा पनि भने । त्यसैले यस्ता कुरालाई राइट टु अफेन्ड भनेर बुझ्नुपर्ने हुन्छ ।’

खतिवडाले अमेरिका र छिमेकी मुलुकमा पनि अहिले यस्ता ‘रफ’ आरोप–प्रत्यारोप धेरै भइरहेको बताए । ‘भारतमा पनि एक पार्टीले अर्को पार्टीलाई भ्रष्ट भनिरहेको हुन्छ । बिजेपीले कांग्रेसलाई र कांग्रेसले बिजेपीलाई,’ खतिवडाले भने, ‘त्यसकारण दुर्गा प्रसाईंले पनि राइट टु अफेन्ड प्रयोग गरेको भन्ने मेरो बुझाइ हो ।’

यस्ता आरोप लगाउनेलाई पक्राउ गर्नु, मुद्दा चलाउनु र जेल हाल्नुको साटो प्रधानमन्त्री वा सचिवालयले प्रेस विज्ञप्ति निकालेर खण्डन गर्ने या मानहानि र क्षतिपूर्तिको मुद्दा हाल्नु व्यावहारिक हुने खतिवडा बताउँछन् ।

  • नेतामा आर्थिक पारदर्शिताबारे ज्ञानको अभाव

नेपालका नेताहरूमा आर्थिक पारदर्शिताको अभाव रहेको आरोप लाग्दै आएको छ । विश्लेषक खतिवडा नेताहरूमा आधुनिक लोकतन्त्र र आर्थिक पारदर्शिताबारे ज्ञानको अभावकै कारण यस्तो आरोप लाग्ने गरेको बताउँछन् ।

‘नेताहरूमा आधुनिक लोकतन्त्र र आर्थिक पारदर्शिताको बारेमा ज्ञान नै छैन’, उनले भने, ‘यी सबैले भात खान र घरका छोराछोरीलाई पढाउन आर्थिक अनियमितता गरेका पक्कै होइनन् ।’

उनले पोलिटिकल गतिविधिकै लागि (पार्टीभित्र शक्तिशाली हुन, गुट चलाउन, कार्यकर्ताहरू पाल्न र चुनाव खर्च जुटाउन) भ्रष्ट काम गर्ने गरेको खुलाए ।

‘भ्रष्टाचार हाम्रो समाजमा कल्चर नै जस्तो भइसक्यो । एउटा आउँछ, त्यही गर्छ । अर्को आउँछ, त्यही गर्छ । यहीमात्र उपाय रहेछ भन्नेजस्ता कमन कल्चर भयो’, खतिवडाको विश्लेषण छ ।

‘राष्ट्रियताको पक्षमा वकालत गर्दा हमला’

प्रधानमन्त्री ओलीमाथि किन यसरी पटक पटक आरोप लाग्छन् र उनी विवादमा मुछिन्छन् त ? एमाले प्रचार विभाग प्रमुख समेत रहेका नेता राजेन्द्र गौतम राष्ट्र र राष्ट्रियताको पक्षमा खरो रुपमा उत्रिनु नै यसको प्रमुख कारण ठान्छन् ।

‘राष्ट्रियता र राष्ट्रिय एकताको मामिलामा उहाँको स्पष्ट अडान र दृष्टिकोण छ । यो अडान र दृष्टिकोण कतिपयलाई मन परेको छैन’, गौतमले भने, ‘नेपालको विकासको मौलिक अवधारणा अघि सार्ने नेता पनि ओली नै हो । राष्ट्रिय अस्मिता र सीमाको पक्षमा वकालत गर्ने ओलीका विचार मन नपर्नेहरूले ओलीमाथि चौतर्फी हमला गरेका हुन् ।’

गौतमले राष्ट्रियता र राष्ट्रिय एकताको पक्षमा ओलीले देखाएको अडानलाई कमजोर बनाउन राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्तिहरू नै लागिरहेको दाबी गरे ।

‘पछिल्लो पटक कम्बोडिया मुद्दा पनि त्यही अनुसार आएको हो, जसमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्वार्थ जोडिएको हुनसक्छ’, गौतमको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप