लिलाबल्लभको बयान : बिचौलियाको फन्दामा परेको थाहा पाएपछि मैले नै डिपोर्ट गर्न भनेको हुँ
काठमाडौँ । कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारी जोडिएको मानव बेचबिखन र लिखत किर्ते मुद्दाको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृतहरूले पूर्व मन्त्री अधिकारीको बयान सकाएका छन् ।
पूर्व मन्त्री अधिकारीले ‘बेचबिखनबारे आफू अनभिज्ञ’ रहेको अनुसन्धान अधिकृतहरूलाई बताएका छन् । काठमाडौँबाट क्याथे प्यासिफिकको उडानमार्फत सँगै जापान गएका दावा शेर्पा, जनक राई र कञ्चन देवकोटालाई आफूलाई नचिनेको अधिकारीले जिकिर गरेका छन् ।
बयानमा अधिकारीले भनेका छन्, ‘हङकङ ट्रान्जिटमा उनीहरुले मलाई भेटेर तपाईंकै भ्रमण टोलीमा आएका हौँ भनेपछि मेरो मनमा चिसो पस्यो ।’ कोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको ‘सहायक’को परिचयपत्र देखाएपछि ‘चकित’ भएको उनले बताएका छन् ।
जापानको नारिता विमानस्थलमा ओर्लिएपछि आफैँले त्यहाँको अध्यागमनका गएर डिपोर्ट ‘निष्कासन’ गरिदिन आग्रह गरेको उनको भनाई छ । अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकृत भन्छन्, ‘नारिता विमानस्थलमा आफूसँगै गएका ३ जनाले आफूलाई फारम भरिदिन आग्रह गरेको र बाहिर उनीहरूलाई लिन मानिस आएको थाहा पाएपछि जीवनभर मानव बेचबिखनमा संलग्न भएको भनेर ‘कलङ्कको टिका लाग्ने’ देखेपछि विमानस्थलबाटै फर्केको उहाँले बताउनुभएको छ ।’
नारिता एयरपोर्टबाट उनले घट्नाबारे कोशी प्रदेशका डीआईजी चन्द्रकुवेर खापुङलाई सामाजिक सञ्जालमार्फत म्यासेज गरेको भेटिएको छ । बयानमा उनले भनेका छन्, ‘टोकियोमा आयोजित सांस्कृतिक कार्यक्रम मार्फत जापानका पर्यटक नेपालमा ल्याउन सकिनेबारे बोल्ने सोचेको थिएँ तर, बिचौलियाको योजनाबारे जानकार थिइन् ।’
अधिकारी हङकङमा ओर्लिएपछि बिचौलिया महेश पाण्डेले म्यासेज गरेको देखिएको छ । तर, सो म्यासेज उनले नहेरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४ उपदफा २ (ग) अनुसारको कसुर र लिखत किर्तेसम्बन्धी कसुरमा अधिकारी सहित ९ जना हिरासतमा छन् । थुनामा हुनेमा पूर्व मन्त्री अधिकारी, दावा शेर्पा, कञ्चन देवकोटा, जनक राई, नवीन राई, गुड्डी राई, बिचौलियाहरू महेश पाण्डे, वीरबहादुर सुनार र जुगल रिजाल छन् ।
पूर्व मन्त्री अधिकारीसहित ४ जना कार्तिक १४ मा डिपोर्ट भएर काठमाडौँ फर्किएका हुन् । उनीसँगै गएका ३ जनाले अधिकारीलाई त्यसअघि नदेखेको बयान दिएका छन् ।
परिचयपत्र परीक्षण गरिँदै
जापानबाट डिपोर्ट भएका दावा शेर्पाले खोटाङस्थित ऐंशेलुखर्क गाउँपालिका वडा नम्बर–२ को वडा सदस्यको परिचयपत्र बनाएको भेटिएको छ । देवकोटा र राईले कोसीको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको ‘सहायक’को परिचयपत्र बनाएको भेटिएको छ ।
जापान पठाउने ‘गिरोह’ले नै फर्जी कागजात बनाएर उनीहरू उड्नुअघि विमानस्थलमा लगेर दिएको अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकृतले रातोपाटीलाई बताए । उनले भने, ‘गिरोहका सदस्यले विमानस्थलमा कञ्चन देवकोटालाई ३ वटा परिचयपत्र दिएको देखिन्छ ।’ सो परिचयपत्र देवकोटाले अरू दुई जनालाई हस्तान्तरण गरे ।
आफ्नो मन्त्रालयको परिचय पत्र कसरी तयार गरियो भन्नेबारे अधिकारीले अनभिज्ञता जनाएका छन् । बरामद गरिएको ३ वटै परिचयपत्र प्रहरीले डिजिटल फरेन्सिक ल्याबमा पठाइएको छ । आरोपीहरूबाट बरामद गरिएको कागजातको जाँच गर्न प्रहरी प्रधान कार्यालयस्थित ल्याबमा पठाइएको अनुसन्धानमा संलग्न एक जना अधिकृतले रातोपाटीलाई बताए ।
मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४ उपदफा २ (ग) अनुसारको कसुर गरेको पुष्टि भएमा ७ वर्षदेखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।