पूर्वमन्त्री श्रेष्ठ भन्छन्– ‘१० औँ राष्ट्रिय खेलकुद निर्धारित समयमा नहुनु खेलाडी र कर्णाली प्रदेशप्रति अन्याय हो’
काठमाडौँ । पूर्व युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमा आयोजना नहुनु दुर्भाग्य भएको धारणा व्यक्त गरेका छन् । निर्धारित समयमा प्रतियोगिता आयोजना नहुँदा खेलाडीको मनोबलमा असर परेको पनि उनले बताएका छन् ।
‘दसौँ राष्ट्रिय खेलकुद निर्धारित समयमा सम्पन्न नहुनु नेपाली खेलकुद इतिहासमा गम्भीर दुर्भाग्य हो । यसका लागि सरकारले करोडौं बजेट विनियोजन गरेको थियो भने कर्णाली प्रदेशले आफ्नो क्षेत्रमा ठुलो लगानीमा भौतिक संरचना निर्माण गरेको थियो । यस्ता ठोस तयारीका बाबजुद युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्ले विभिन्न बहानामा यो महत्त्वपूर्ण कार्यक्रम समयमा सम्पन्न नगर्नु खेलाडीहरूप्रति गम्भीर अन्याय हो,’ सामाजिक सञ्जाल फेसबुकमार्फत उनले भनेका छन् ।
उनले मन्त्रालय र खेलकुद परिषद्को यस्तो लाचारीको असर खेलाडीको मनोबलमा परेको पनि बताएका छन् । ‘मन्त्रालय र परिषद्को यस लाचारीको प्रत्यक्ष असर खेलाडीको मनोबलमा परेको छ भने अप्रत्यक्ष रूपमा कर्णाली प्रदेशले पनि यसबाट ठुलो नोक्सान व्यहोर्नु परेको छ,’ उनले भनेका छन् ।
पूर्वमन्त्री श्रेष्ठले यस्तो अवस्थालाई नीतिगत भ्रष्टाचारको एउटा रूप मान्ने कि नमान्ने भनेर प्रश्न पनि गरेका छन् । ‘यस्तो अवस्थालाई नीतिगत भ्रष्टाचारको एउटा रूप मान्ने कि नमानेर थाती राख्ने ? राष्ट्रिय खेलकुदजस्तो महत्त्वपूर्ण कार्यक्रम, जसले राष्ट्रिय एकतालाई मजबुत बनाउन सहयोग पुर्याउँछ, यसरी किन खेर फालिँदैछ ? यो प्रश्नको उत्तर यो सरकारले दिनुपर्छ,’ उनले भनेका छन्, ‘यस्तो महत्त्वपूर्ण राष्ट्रिय कार्यक्रम समयमा सम्पन्न गर्न नचाहनु खेलाडीहरूको सपना र कर्णाली प्रदेशको भविष्यप्रति गम्भीर अन्याय हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिया बगानको जग्गा ३३ वर्षपछि सरकारको स्वामित्वमा
-
बुद्धिराज गुरुङ र केदार ढकाललाई एआईजीमा बढुवा गर्ने निर्णय
-
विपद् जोखिम न्यूनीकरण प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिका लागि सिफारिस समिति गठन
-
एघार एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
-
बीआरआई ऋणमा स्विकार्न सकिँदैन : प्रधानमन्त्री
-
श्रीलंकाका लागि राजदूत सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय