सरकारको सहयोग नपाएपछि विश्वकप खेल्न बस र रेलबाटै पाकिस्तान गयो नेपाली टोली
काठमाडौँ । राज्यको सहयोग नपाएपछि नेपाली टोली दृष्टिविहीनहरुको पुरुष टी–२० विश्वकप क्रिकेटमा सहभागी हुन बस र रेलमार्फत नै पाकिस्तानतर्फ प्रस्थान गरेको छ । नेपाली टोली बुधबार रुपन्देहीको बेलहिया नाका भएर भारत हुँदै पाकिस्तान प्रस्थान गरेको हो ।
शनिबार आफ्नो पहिलो खेल खेल्नु पर्ने नेपाली टोली लामो यात्रापछि बिहीबार दिउँसो भारतको अमृतसर पुगेको छ । नेपाली टोलीले खेलस्थलसम्म पुग्न अझै लामो यात्रा गर्नु पर्नेछ । बस र रेलको यात्राबाट थकित भएर पाकिस्तान पुगेलगत्तै नेपाली टोलीले शनिबार श्रीलंकासँग पहिलो खेल खेल्नेछ ।
रातोपाटीसँगको टेलिफोन वार्तामा नेपाल ब्लाइन्ड क्रिकेट एसोसिएसनका कोषाध्यक्ष उपेन्द्र श्रेष्ठले बिहीबार दिउँसो आफूहरु भारतको अमृतसरनजिकै पुगेको जानकारी दिए । उनले लामो रेल यात्राका कारण खेलाडीहरु थकित भएको बताए ।
‘हामी भर्खर भारतको अमृतसरनजिक पुगेका छौँ । यात्राका कारण खेलाडीहरु थाकेका छन्,’ उनले भने । हवाई जहाजको टिकट किन्न नसकेकाले नेपाली टोली दृष्टिविहीनहरुको विश्वकपमा सहभागी हुन बस र रेलमार्फत नै पाकिस्तान प्रस्थान गरेको जानकारी पनि उनले दिए ।
खेलाडी, प्रशिक्षक, व्यवस्था र अफिसियलसहित नेपाली टोली २१ सदस्यीय रहेको छ । आफूहरुले हवाई टिकट र अन्य आवश्यक खर्चका लागि सरकार (सम्बन्धित निकाय) लाई गुहारे पनि कुनै सहयोग नपाएको गुनासो गरे ।
‘हामीले राष्ट्रिय खेलकुद परिषद्सँग सहयोगका लागि अनुरोध गरेका थियौँ । लामो समय प्रतिक्षा गर्दा पनि परिषद्बाट कुनै जानकारी आएन । प्लेनबाट जान खर्चले नभ्याउने भएपछि हामी सडक मार्ग हुँदै विश्वकप यात्रामा निस्किएका हौँ,’ उनले भने ।
विश्वकपमा सहभागी हुन अन्य खर्च भने खेलप्रेमी विभिन्न संघ–संस्थाले उपलब्ध गराएको जानकारी पनि उनले दिए । ‘विश्वकपमा सहभागी हुन हामीले विभिन्न संघ–संस्थासँग अनुरोध गरेको थियौँ । उहाँहरुले उपलब्ध गराएको सहयोगका कारण नै हामी विश्वकप यात्रामा निस्किएका हौँ,’ उनले भने ।
काठमाडौँमा स्थान उपलब्ध नभएकाले दृष्टिविहीन क्रिकेट टोलीले दाङको लमहीमा विश्वकपको तयारी गरेको थियो । नेपाली टोली त्यतैबाट विश्वकपका लागि प्रस्थान गरेको हो । नेपाली टोलीलाई बुधबार भैरहवामा रुपेन्देही क्रिकेट संघले एक समारोहिबिच विदाइ गरेको थियो ।
नेपाली टोलीलाई सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारी, रुपन्देही जिल्ला क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा, संघका संस्थापक प्रेमकुमार सेन्चुरी, क्यानका पूर्वपदाधिकारी प्रशान्तविक्रम मल्ल, क्यानका रुपन्देही जिल्ला सचिव संजय गुरुङलगायतले विदाइ गरेका थिए ।
नोभेम्बर २३ देखि डिसेम्बर ३ तारिखसम्म आयोजना हुने टी–२० विश्वकप क्रिकेटका खेलहरु पाकिस्तानको लाहोर र मुल्तानमा खेलाइने छ । नेपालले आफ्नो पहिलो खेल शनिबार श्रीलंकासँग लाहोरमा खेल्नेछ । नेपालले आफ्नो दोस्रो खेल लाहोरमै नोभेम्बर २४ तारिखमा बंगलादेशसँग खेल्नेछ ।
यसैगरी, नेपाली टोलीले आफ्नो तेस्रो खेल नोभेम्बर २५ तारिखमा अफगानिस्तानसँग खेल्नेछ । नोभेम्बर २६ तारिखमा हुने आफ्नो चौथो खेलमा नेपाली टोलीले दक्षिण अफ्रिकाको सामना गर्नेछ । यो खेल पनि लाहोरमै खेलिनेछ ।
नेपाली टोलीले आफ्नो पाँचौँ खेल नोभेम्बर २७ तारिखमा पाकिस्तानसँग लाहोरमै खेल्नेछ । २९ तारिखमा नेपाल र भारतबिच मुल्तानमा खेलिने भनिएको खेल भने रद्द भएको छ । भारतले अन्तिम समयमा आएर प्रतियोगिताबाट नाम फिर्ता लिएको हो ।
भारत सरकारले आफ्नो क्रिकेट टोलीलाई सुरक्षाको कारण देखाउँदै पाकिस्तान भ्रमण गर्ने अनुमति नदिएका कारण भारतले प्रतियोगिताबाट नाम फिर्ता लिएको हो । समूहगत चरणको खेलपछि अंक तालिकाको माथिल्लो स्थानमा रहने चारवटा टोली प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछन् ।
दुवै सेमिफाइनल खेल डिसेम्बर १ तारिखमा मुल्तानमा खेलिनेछ । त्यसपछि फाइनल खेल डिसेम्बर ३ तारिखमा मुल्तानमै खेलिने छ । दृष्टिविहीनहरुको टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको यो चौथो संस्करण हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङ भने यस विषयमा आफूलाई केही जानकारी नभएको बताउँछन् । ‘राखेपले एउटा खेलको एउटा सङ्घलाई मात्र मान्यता दिएको हुन्छ । हामीले मान्यता दिएको राष्ट्रिय खेल सङ्घ भनेको नेपाल क्रिकेट सङ्घ हो । तर, क्रिकेट सङ्घमार्फत यो विषयमा हामीलाई कुनै जानकारी आएको छैन,’ सदस्यसचिव घिसिङले भने ।
उनले राखेपले कुनै पनि खेललाई सहयोग गर्दा प्रक्रिया पुर्याएर गर्नुपर्ने बताए । ‘हाम्रो पनि आफ्नो निश्चित सीमा छ । हामीले प्रक्रिया पुर्याएर मात्र सहयोग उपलब्ध गराउन सक्छौँ । क्रिकेट सङ्घमार्फत आएको भए हामीले उहाँहरूलाई सक्दो सहयोग गर्न सक्थ्यौँ । तर, यो दृष्टिविहीन क्रिकेट विश्वकपको बारेमा हामीलाई प्रक्रियागत रूपमा कुनै जानकारी आएको छैन,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार महिनामा १३ अर्ब ४० करोडको मोबाइल आयात
-
विश्वकपमा छनोट भएका महिला क्रिकेट खेलाडी सम्मानित
-
धान फल्ने खेतमा लगाएको सुन्तलाबाट दश लाख आम्दानी
-
इजरायलले प्यालेस्टाइनमा गरेको नरसंहारका विरुद्ध माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
नेपाली रुपैयाँमा चुच्चे नक्सा राखेकोमा भाजपा नेताको आपत्ति
-
शल्यचिकित्सक समाजको चौधौँ राष्ट्रिय सम्मेलन पोखरामा