आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

यस्तो छ, नेकपाको क्रान्ति र उत्पादन नीति

बिहीबार, ०६ मङ्सिर २०८१, १२ : १३
बिहीबार, ०६ मङ्सिर २०८१

हामीले क्रान्ति र उत्पादनलाई सँगै चलाउने संश्लेषण गरेका छौँ । यो पनि एकीकृत जनक्रान्तिमा हामीले प्राप्त गरेको नयाँ ज्ञान हो । यसको प्रयोगमा मौलिकता छ । यसलाई नेकपाको पङ्क्तिले गहिरो गरी बोध गर्दै छ, दह्रोसँग प्रयोग गर्दै छ । क्रान्ति र उत्पादन नेकपाका नेता–कार्यकर्ताको जीवनपद्धति बन्दै छ । यसलाई सचेत नागरिकले सही ठानेका छन् र समर्थन गरिरहेका छन् । यो सफलतातिर जाँदै छ । यसले निजी जीवन, पार्टी र क्रान्तिलाई आफ्नै मौलिकतासहित सुनिश्चित गर्नेछ भन्ने हाम्रो विश्वास छ ।

  • क्रान्ति र उत्पादनको ज्ञान

क्रान्ति र उत्पादनलाई जोडनुपर्छ, अनिवार्य जोडनुपर्छ भन्ने ज्ञान कसरी आयो र सही साबित भयो भन्ने विषय पनि निकै रोचक छ । हामी साम्यवादीहरूलाई राम्रो जानकारी छ कि ज्ञान व्यवहारबाट आउँछ । त्यो पनि श्रम, सङ्घर्ष र अनुसन्धानका क्रममा आउँछ । क्रान्ति र उत्पादनलाई जोड्ने हाम्रो ज्ञान पनि यसरी नै प्राप्त भएको हो ।

साँचो कुरा हो कि जनयुद्धलाई विसर्जन गरेपछि हामीले नयाँ तरिकाले क्रान्ति गर्नुपर्छ भनेर एकीकृत जनक्रान्तिको संश्लेषण गर्‍यौँ । जनक्रान्तिका लागि मुख्य पाँच आधार आवश्यक छ भन्यौँ । त्यसमा आर्थिक आधार पनि थियो । क्रान्तिका लागि आर्थिक एक महत्त्वपूर्ण आधार त हो, तर कसरी तयार गर्ने भन्ने विषयमा भने मेसो खुलिसकेको थिएन । बहस गर्दागर्दै दलाल पुँजीवादी सत्तासँग सङ्घर्ष चर्कियो र हामीमाथि प्रतिबन्ध थोपरियो । हामीले प्रतिरोधको मार्ग अख्तियार गर्‍यौँ, जनक्रान्ति अगाडि बढ्यो । क्रान्तिमा आर्थिक आवश्यकता निकै बढेर गयो । कसरी समाधान गर्ने ? हाम्रा छलफल भए । हामीले अध्ययनलाई एकदमै व्यावहारिक र जीवन्त प्रकारले अगाडि बढायौँ ।

हामीले एकीकृत जनक्रान्ति सुरु गरेपछि पार्टीलाई चाहिने आर्थिक आपूर्ति चन्दा र सहयोगबाट नै गर्‍यौँ । मित्रहरूले माया गरेर सहयोग गरे, केहीले तर्सिएर पनि गरे होलान्, तर त्यो हाम्रो संख्या र आवश्यकताको तुलनामा कम थियो । उता जनतामा जनयुद्धको तरिकाले मागेर खाने तरिका पनि व्यावहारिक र सरल भएन । जनताले नै गुनासो र असहमति राख्न थाले । केवल भाषण, सङ्गठन र भोलिका कुराबाट मात्र जनता सन्तुष्ट र खुसी हुने स्थिति भएन । त्यसपछि नै हामीले आर्थिक रूपले टिक्ने र क्रान्तिलाई अगाडि बढाउने कसरी हो भन्ने अध्ययन गर्‍यौँ । 

समस्याहरूको अध्ययन गर्दै र कामहरू बढाउँदै जाँदा क्रान्तिसँग उत्पादनलाई जोड्ने निष्कर्षमा पुग्यौँ । पार्टीमा व्यापक छलफल गरेर औपचारिक निष्कर्ष निकाल्यौँ, निष्कर्ष अनुरूप जब जनतासँग मिलेर, आफ्नै जमिन लिएर उत्पादन गर्न थाल्यौँ, जनता खुसी मात्र भएनन्, सहयोगी पनि भए । हामीले जब देशभरि नेता–कार्यकर्तालाई उत्पादनमा जोड्यौँ, केही जिम्मेवार कमरेडहरूलाई नै जिम्मा दिएर मेहनत गर्न थाल्यौँ, तब हाम्रो पार्टीको प्रभाव नयाँ भयो र राजनीतिले नै नयाँ गति पकड्यो । प्रयोगसहितले स्पष्ट गर्‍यो कि क्रान्तिलाई उत्पादनसँग जोड्ने हाम्रो विचार वैज्ञानिक छ । यसरी क्रान्तिलाई उत्पादनसँग जोड्ने ज्ञानको स्रोत श्रम व्यवहार नै हो ।

  • हाम्रो फरक दृष्टिकोण

क्रान्ति र उत्पादनलाई अलग–अलग होइन, सँगसँगै चलाउनुपर्छ भन्ने हाम्रो दृष्टिकोण छ । क्रान्ति भनेको सार रूपले पुरानो आर्थिक सम्बन्धको विच्छेद र नयाँ आर्थिक सम्बन्धको निर्माण हो । त्यस्तै आर्थिक सम्बन्धको विषय पनि सारतः कस्तो क्रान्तिको विकास र कस्तो क्रान्तिको निर्माण भन्ने हो । किनकि आर्थिक सम्बन्ध नै समाज र सभ्यताको मुख्य आधार हो । तर क्रान्ति र उत्पादनलाई कसरी ग्रहण गर्ने र लागु गर्ने भन्ने विषय कम्युनिस्ट आन्दोलनमा निकै कम जानकारी छ । 

धेरैको धारणा छ कि दुईमा एउटा प्रधान हुन्छ र एउटा सहायक । उत्पादन र क्रान्तिमा मुख्य के हो ? उत्पादन कि क्रान्ति ? अक्सर जवाफ बनिबनाउ नै पाइन्छ— प्रधान क्रान्ति नै हो । प्रधान क्रान्ति भएपछि उत्पादन त छायामा परिहाल्छ नि । उत्पादनमा नेता–कार्यकर्ता लागेर कहाँ हुन्छ ? नेता–कार्यकर्ताको काम त वैचारिक, राजनीतिक जागरण ल्याउने, मीठामीठा, ठर्रागर्रा तर्क गरेर पुष्टि गर्ने पो हो । चल्तीमा रहेका सरदर मान्छेलाई यो बुटीजस्तो लाग्छ, तर त्यसरी सोच्ने र हिँड्ने मान्छेहरूको अवस्था कसरी पातलिँदै, निरीह बन्दै, क्रान्तिको कुरा छोडौँ, समाज र परिवारबाट पनि परपर भाग्दै गइरहेको छ; बुझ्न कुनै गाह्रो छैन ।

हामीले क्रान्तिका असफलता र सफलताका धेरै सन्दर्भको अध्ययन गर्‍यौँ । साथै, नेपाली क्रान्तिका अनुभवको अध्ययनपछि निष्कर्ष निकाल्यौँ । क्रान्तिको असफलता र सफलतासँग आर्थिक कार्य अर्थात् उत्पादन कार्यको महत्त्व निकै उच्च छ । क्रान्तिभित्र आर्थिक कार्यलाई ठिक तरिकाले बुझिँदैन या सञ्चालन गरिँदैन भने हाम्रोजस्तो देशमा क्रान्ति, त्यसमा पनि समाजवादी–साम्यवादी क्रान्ति, धेरै गाह्रो हुन्छ ।

भौतिक परिमाणका दृष्टिले हामीसँग १८ वटाभन्दा बढी भौतिक संरचना छन् । उत्पादन पहिले हामीसँग शून्य थियो, यतिबेला पार्टीसँग आफ्नै ३०० रोपनीभन्दा बढी जमिन छ भने सातवटा ठुला उत्पादन केन्द्र र दर्जनौँ साना उत्पादन शाखा छन् । 

दोस्रो कुरा, आर्थिक कार्य राजनीतिक कार्यको अभिन्न पक्ष हो । समाजवादको गुदी तत्त्व भनेकै आर्थिक प्रणाली हो । तर कम्युनिस्ट आन्दोलनमा विशेषतः नेपालमा आर्थिक कार्य र राजनीतिक कार्यलाई एकीकृत गरेर नबुझ्ने रह्यो र छ । यो फैलिँदै कतिसम्म पुग्यो भने राजनीति गर्नेले आर्थिक कार्य गर्नु हुँदैन, आर्थिक कार्य या पढ्न–लेख्न नजानेकाले गर्ने हो या त व्यवसाय नै गर्दै आएकाले गर्ने हो, राजनीति गर्नेको त केही किताब बोकेर, झोला भिरेर प्रवचन र भाषण दिँदै हिँड्ने हो भन्ने भयो । यसले पार्टी, नेता र कार्यकर्तालाई अनुत्पादक शक्ति र परनिर्भर तुल्यायो । कुरा ठुला गरे पनि बिस्तारै मालिकहरूको खेलौनामा बदलिदियो । क्रान्तिको कुरै नगरौँ, बाँच्नका लागि पनि मालिकको भर पर्नुपर्ने, उनीहरूकै दयामा चल्नुपर्ने बनाइदियो । 

राजनीतिक कार्यलाई आर्थिक कार्यसँग जोडिँदैन भने राजनीति गफमा परिणत हुन्छ । गफको राजनीति केही दिन चले पनि अन्ततः जग नभएको घरजस्तो सानो धक्काले डङरङ्ग ढल्छ भन्ने देखियो ।

तेस्रो कुरा, कम्युनिस्टहरू संसार बदल्ने उत्पादक शक्ति हुन् । उनीहरूले मानसिक, शारीरिक जुनसुकै श्रम पनि गर्नुपर्छ । तर नेपालजस्तो देशमा कस्तो संस्कार बन्यो भने नेता भएपछि श्रममा जानु हुँदैन । मुखले श्रमको कुरा गरे पनि आफूले होइन; कार्यकर्ताले, अरूले गर्नुपर्छ जस्तो व्यवहार देखाउने भयो । मुखले श्रम भन्ने कर्मले भ्रम गर्ने भयो । यस्तो स्कुलिङबाट हुर्केका अनुयायीहरूको व्यवहार यस्तो देखापर्छ कि काम नै गर्ने भएपछि पार्टीको किन गर्ने, आफ्नै गरिन्थ्यो नि ! 

हामीले आधारभूत रूपले बुझ्नुपर्छ— कम्युनिस्टहरूको गुण नै श्रम, उत्पादन र समृद्धि हो । श्रमविना बाँच्न खोज्ने, अझ सुखभोग गर्न खोज्ने प्रवृत्ति कम्युनिस्ट प्रवृत्ति होइन; शोषक, ठग प्रवृत्ति हो ।

राजनीतिक कार्य र आर्थिक कार्यलाई जोड्ने हाम्रो दृष्टिकोण एकदमै नयाँ होइन, केही सतही मान्छेले त यो के नयाँ हो र, गरिँदै आएको सामान्य कुरा त हो भने जसरी तर्क गर्छन् तर नेपाली कम्युनिस्ट आन्दोलनमा हामीले प्रयोग गरेको उत्पादन कार्य उनीहरूले सोचेजस्तो सामान्य र पुरानै होइन । यो क्रान्तिभित्र भोगेका कठिन दिन, आवश्यकताका बिचबाट संश्लेषण गरिएको मौलिक विचार हो । 

क्रान्तिभित्र या क्रान्तिका लागि आर्थिक कार्यलाई जीवन पद्धतिमा बदल्नु वास्तवमै नयाँ र मौलिक हो । यसलाई हामीले मात्र होइन, नेपालका सबै सचेत नागरिकले स्वीकार गरेका छन् । जसले यसको वैज्ञानिकता, महत्त्व र सफलतालाई बुझेका छैनन्, उनीहरू हाम्रो स्तरमा आउन कैयौँ वर्ष लाग्नेछ ।

  • हाम्रो नीतिको प्रयोग

विचार र नीतिलाई सुन्दर कागजको फूल बन्न नदिने हो भने तिनको जीवन्त प्रयोग अपरिहार्य छ । यसर्थ क्रान्ति र उत्पादनलाई जोड्ने कार्य हाम्रा लागि ज्यादा जरुरी थियो र छ । 

अर्को विषय— नीति निर्माण गर्नेले नै त्यसलाई लागु गरेर सफल गर्नुपथ्र्यो । अर्थ–राजनीतिमा भनेर मात्र छोडिदिनुको खासै अर्थ छैन । त्यसमा पनि क्रान्तिको धक्का खाएको देश हो हाम्रो । क्रान्तिसँग उत्पादनलाई जोड्न हामीले पार्टीको माथिल्लो तहबाट व्यवस्था गर्‍यौँ । केही कमरेडहरूले खुसीका साथ पार्टीको जिम्मालाई स्वीकार गर्नुभयो र तनमन दिएर काममा डट्नुभयो । केन्द्रका उत्पादनहरू सफल हुँदै गएपछि ती लोकप्रिय मात्र भएनन्, तिनलाई अनुशरण गर्ने कार्य पनि अगाडि बढ्यो । यो वर्ष उत्पादन कार्य केन्द्रदेखि क्रमशः जिल्ला, विभाग, जवससम्म सफलतापूर्वक पुगेको छ । पार्टी मूलभूत रूपले सफल भएको छ । पार्टी आफ्नो खुट्टामा उभिन खोज्दै छ ।हाम्रोजस्तो समाज र देशमा श्रमलाई या महत्त्व दिइँदैन, या त हेला गरिन्छ । त्यसमा पनि राजनीतिक पार्टीका नेता–कार्यकर्ताले श्रम गरेर पार्टी चलाउने, क्रान्ति हाँक्ने विषय कल्पनाभन्दा बाहिर छ । नेता भनेको अतिथि बन्ने, लेख लेख्ने, प्रवचन दिने, भाषण गर्ने, नीति दिने, कुर्चीमा बस्ने, च्याटचुट पर्ने, पैसा बाँड्ने व्यक्तित्व हो भन्ने छ । अन्य कम्युनिस्ट नेताहरूले जीवनलाई केही सरल मेहनतसँग जोडे पनि सरदर उस्तै छ । हामीले यसको ठिक विपरीत श्रम नै धेरै चिजको स्रोत हो भन्ने बुझ्यौँ र त्यसलाई आत्मसात गर्‍यौँ । पार्टीका लागि त श्रममा नै पार्टी नीतिको प्राण अडेको छ । प्रयोगविनाको नीति प्राणहीन शरीरजस्तै हुन्छ । हामीले पार्टीलाई उत्पादनमा लगेर प्राणसहितको गतिशील पार्टी बनाएका छौँ ।

सुरुमा पार्टीका नेताहरू योजनाबद्ध रूपले उत्पादनमा सहभागी भए । नेताहरू प्रयोगमा बढेपछि कार्यकर्ताहरू उत्साहका साथ भाग लिए । यतिबेला श्रम नेकपाका नेता–कार्यकर्ताका लागि गर्वको विषय बनेको छ । उनीहरूसँग अनुसन्धान गर्दै गरेका सामग्री, दस्ताबेज, पुस्तक मात्र छैनन्, हिलाले लतपतिएका हात र पसिनाले भिजेका शरीर देख्न सकिन्छ । नेकपा नीतिको पार्टी मात्र होइन, प्रयोगसहितको पार्टी बन्दै गएको छ । क्रान्तिसँग उत्पादनलाई व्यावहारिक रूपमा जोडिएको छ ।

  • प्रयोग र परिणाम

हाम्रो नीतिको प्रयोगबाट दुई खालका परिणाम देखिएका छन् । पहिलो, धारणागत । दोस्रो, परिमाणजन्य । 

पहिलो परिणाम पार्टी पंक्ति, बुद्धिजीवी, व्यवसायी, राजनीतिक व्यक्ति, श्रमिक वर्ग, सचेत नागरिकको धारणा र प्रतिक्रियामा व्यक्त भएको छ । हामीले उत्पादन गर्ने र आत्मनिर्भर बन्ने धारणा राख्दा उनीहरूमा स्वाभाविक प्रतिक्रिया थिए । यो राम्रो, सही हो भन्ने तर सँगै के सफल हुन्छ र भन्ने अविश्वास ! किनकि प्रायःले भन्दै आएको तर प्रयोगमा साबित गर्न नसकेको विषय थियो । तर जब हामीले यो कुनै देखावटी एवं प्रचारात्मक उद्देश्यका लागि नभई प्रयोगमा लैजानका लागि हो र प्रयोग गर्न सकिन्छ भनेर व्यवहारमा व्यक्त गर्‍यौँ, तब सबैको सोच र धारणा सकारात्मक बन्यो । भन्ने एउटा, गर्ने अर्को परेको कम्युनिस्ट आन्दोलनको लामो गोलचक्कर टुटेको छ । आशङ्का र प्रश्नहरू विश्वास र जवाफमा बदलिएका छन् ।

दोस्रो, परिमाणजन्य परिणाम पार्टीको उत्पादन, उपभोग र बचतमा देखिएको छ । सुरुमा हामीसँग शून्य जमिन, उद्योग, व्यवसाय थिए । माओवादीबाट अलग हुँदै नेकपा र एकीकृत जनक्रान्तिमा पुग्दा हामीसँग विचार, नीति, योजना र आत्मविश्वास मात्र थिए, तर हामीले आर्थिक क्षेत्रमा लगातार अन्य पार्टीको भन्दा फरक र नयाँ गर्ने सोच राख्यौँ । पहिलो थियो, आर्थिकमा संस्थागत प्रणाली र बचत प्रणाली । हाम्रो सोच र नीति साँच्चै वस्तुवादी, व्यावहारिक र प्रभावकारी साबित भयो । हामीले युद्धको दबाब पनि झेल्यौँ, शान्तिपूर्ण देखिने उथलपुथलकारी समय पनि बितायौँ । तर हामी कहिल्यै पनि खाली र टाट पल्टिएनौँ । बरु पार्टीको आर्थिक र भौतिक सम्पत्ति वृद्धि गर्दै यहाँसम्म आइपुगेका छाँै ।

भौतिक परिमाणका दृष्टिले हामीसँग १८ वटाभन्दा बढी भौतिक संरचना छन् । उत्पादन पहिले हामीसँग शून्य थियो, यतिबेला पार्टीसँग आफ्नै ३०० रोपनीभन्दा बढी जमिन छ भने सातवटा ठुला उत्पादन केन्द्र र दर्जनौँ साना उत्पादन शाखा छन् । सुरुमा नेताहरूबाट सुरु गरिएको उत्पादन कार्य यतिबेला जिल्ला, जवस, विभागसम्म पुगेको छ । २०८१ मा आइपुग्दा एउटा लहरकै रूपमा अगाडि बढेको छ । २०८० सालमा ११० बिघा रहेको उत्पादन यो वर्ष १२० बिघाभन्दा माथि पुगेको छ । १२० बिघामा सरदर ३० क्विन्टल मात्र जोड्यो भने पनि ३६०० सय क्विन्टल बाली उत्पादन हुन्छ । 

यो वर्षबाट गाई फार्म र घरेलु उद्योगहरू पनि खडा गरिएका छन् । सयौँ साथी कमरेडहरू श्रममा सहभागी बनिरहनुभएको छ । राजनीतिक पार्टीले आफ्नै जनशक्ति र साधन–स्रोतबाट प्राप्त गरेको अभूतपूर्व परिणाम हो । नगदमा कांग्रेस, एमालेसँग बढी भए पनि त्यो राज्यसत्ताको सुविधाबाट खडा गरिएको छ । त्यसमा विदेशीहरूको निगाह पनि छ । तर हाम्रो आर्थिक परिणाम बढी आफ्नो श्रमबाट नै उत्पादन गरिएको छ । आर्थिक क्षेत्रको हाम्रो यो परिमाणले पार्टीलाई आत्मनिर्भर त बनाउँछ नै, राष्ट्रिय अर्थतन्त्रमै सहयोग पुग्न जान्छ ।

  • निष्कर्ष

राज्य रूपान्तरणका लागि पुरानो ज्ञानले पुग्दैन भने नयाँ ज्ञान आवश्यक पर्छ । इमानदार भएर खोज गरियो भने नयाँ ज्ञान पाउन सकिन्छ ।

अत्याचार र असमानताका बाबजुद विश्वमा पुँजीवाद बाँचेको छ । केही पुँजीवादी बौद्धिकहरूले त पुँजीवाद नै अन्तिम व्यवस्था हो जसरी ‘दैवी दूत’ले झैँ दाबी गर्छन् । सत्य यति हो कि हामी साम्यवादीहरूलाई केही नयाँ ज्ञान चाहिएको छ । २१औँ शताब्दीको पुँजीवादलाई समाधान गर्ने ज्ञान, पुँजीवादलाई परास्त गर्ने क्रान्तिको ज्ञान । नेपालजस्तो देशमा क्रान्ति र उत्पादनलाई जोड्ने विचार यही आवश्यकताको खोज हो ।

निर्धारणवादी धारणा कस्तो छ भने एक दिन पुँजीवाद ढल्छ र साम्यवाद आउँछ । धर्मभीरुहरूले एक दिन परमेश्वर, देवदूत, अल्लाह आएर पाप हरण गर्छन् भने भन्दा कम रमाइलो र उदेकलाग्दो छैन । वैज्ञानिक समाजवाद–साम्यवाद स्वस्फूर्तताको परिणाम होइन । यो सचेतना र पहलको परिणाम पनि हो । हामी क्रान्तिलाई सुदूर भविष्यको जिम्मा लगाउन चाहँदैनौं भने तत्काल चाहिने नीति र तिनको प्रयोगलाई व्यवस्थित गर्नैपर्छ । अन्यथा क्रान्तिका चर्का कुरा गर्दै कोठामा खुम्चिएर समाप्त हुनु, सत्तामा पुगेर ऐश–आराममा लट्ठिँदै बदनाम भएर सकिनु, क्रान्तिका उडन्ते कुरामा बरालिएर आकाशमा बादल हराए जस्तो हराउनु व्यवहारतः पुँजीवादी–साम्राज्यवादीलाई ठाउँ खालि गरिदिनु अवश्यमभावी छ । यसको समाधान पनि क्रान्ति र उत्पादनलाई सँगसँगै अगाडि बढाउने हाम्रो ज्ञानले दिन्छ । जसले जे तर्क गरे पनि, नयाँ र वैज्ञानिक ज्ञानले नै अज्ञानताका समस्यालाई परास्त गर्छ ।

(नेकपाको मुखपत्र ‘जनक्रान्ति’ अंक ८ (२०८१ भदौ) मा प्रकाशित विप्लवको आलेख) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नेत्र विक्रम चन्द ‘विप्लव’
नेत्र विक्रम चन्द ‘विप्लव’
लेखकबाट थप