शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
विचार

कम्युनिस्ट पार्टी कमिसनका आधारमा चले

बिहीबार, ०६ मङ्सिर २०८१, १२ : ०१
बिहीबार, ०६ मङ्सिर २०८१

कम्युनिस्ट पार्टी श्रमिक जनता वा श्रमिकहरूको अग्रदूत हो । त्यो अग्रदूतले अहिलेको पुँजीवादी समाजमा काम गरिरहेको छ । श्रमिक वर्ग स्वतः श्रममै जोडिएको हुन्छ । त्यसको अग्रदूतले आफूलाई वैचारिक, राजनीतिक र सांगठनिक हरेक हिसाबले सुसंगठित गर्दै सम्पूर्ण जनतालाई दलाल पुँजीवादका विरुद्धको संघर्षमा नेतृत्व गर्नुपर्ने हुन्छ । यसरी नेतृत्व गरिरहँदा पार्टीको एउटा लेयर (तह)ले पूर्णकालीन काम गर्छ ।

पूर्णकालीन कार्यकर्ता उत्पादनमा सजिलो ढंगले जोडिन सक्दैनन्, तर पनि हाम्रोजस्तो खुला समाजमा काम गर्दा सबै नेता आफ्ना परिवारसँग जोडिएका छन् । परिवारमै बसेर काम गर्छन् । उनीहरूलाई फरक ठाउँमा गएर सेल्टर खोजेर बस्नुपर्दैन । परिवारसँग जोडिँदा स्वाभाविक रूपमा आर्थिक उपार्जनका काममा कुनै न कुनै रूपमा संलग्न हुन्छन् । तर त्यो आंशिक मात्र हुन्छ । 

पूर्णकालीन लेयर त्यति ठुलो हुँदैन । अल्पकालीन कार्यकर्ताहरू विभिन्न उत्पादनमा लाग्दै पार्टीका काम गर्छन् । अहिलेको समाजमा यी कार्यकर्ताको संख्या अत्यधिक ठुलो हुन्छ । उनीहरू उत्पादनमा पनि जोडिन्छन् र पार्टीको पनि काम गर्छन् । 

अहिलेको जस्तो अवस्थामा कम्युनिस्ट पार्टीले व्यापक रूपमा अल्पकालीन कार्यकर्ता तयार गर्नुपर्छ । उनीहरूलाई संयोजन गर्न पूर्णकालीन कार्यकर्ता तयार गर्नुपर्छ । पूर्णकालीन कार्यकर्ताले राजनीतिलाई मुख्य बनाएर जानुपर्छ । 

  • दक्षिणपन्थी अवसरवादी चरित्र हाबी

अहिले नेपालका विभिन्न कम्युनिस्ट पार्टीका आन्दोलनभित्र दक्षिणपन्थी अवसरवादी चरित्र हाबी छ । उनीहरूले सही क्रान्तिकारी कार्यदिशा लिन सकेका छैनन् । त्यो कारणले केन्द्रीय समिति, विभाग र क्षेत्र (भूगोल)का जिम्मेवारी आधारभूत रूपमा जनमुखी र वर्गमुखी हुन सकेका छैनन् । उनीहरूले कुनै न कुनै रुपमा स्वार्थपरक ढंगले काम गरिरहेको देखिन्छ । अर्थात् पद, पैसा, प्रतिष्ठाका लागि काम गरिरहेको देखिन्छ । यो पार्टीभित्र व्यापक रूपमा छिरेको न्यून पुँजीवादी चिन्तनको परिणाम हो । 

कम्युनिस्ट पार्टीहरूमा अहिले वैचारिक काम भइरहेको छैन । पार्टीका सबै सदस्यमा हुनुपर्ने वर्ग दृष्टिकोण विकास हुनै सकेको छैन । स्वयं कम्युनिस्ट पार्टीका नेतामा नै न्यून पुँजीवाद हाबी छ । उनीहरूभित्र वर्ग दृष्टिकोणमा ह्रास आएकाले उनीहरूले तलको पंक्तिलाई क्रान्तिकारीकरण गर्न सकिरहेका छैनन् । अहिले सक्दैनन् पनि । अहिले व्यापक वैचारिक, राजनीतिक र सैद्धान्तिक पुनर्गठन आवश्यक छ । 

अल्पकालीन कार्यकर्ताहरू विभिन्न उत्पादनमा लाग्दै पार्टीका काम गर्छन् । अहिलेको समाजमा यी कार्यकर्ताको संख्या अत्यधिक ठुलो हुन्छ । उनीहरू उत्पादनमा पनि जोडिन्छन् र पार्टीको पनि काम गर्छन् ।
  • उत्पादनबारे पार्टीका दृष्टिकोण 

१०औँ महाधिवेशनपछि हाम्रो पार्टीभित्र कार्यभार के हुन्छन् भन्नेबारे मैले प्रस्ताव पेस गर्दै छु । ती प्रस्तावमा यी कुरा राख्दै छु । 

हामीले कम्युनिस्ट पार्टी बनाउँदा राजनीतिक, वैचारिक, सैद्धान्तिक र सांगठनिक कार्यशैली वा विधि–पद्धतिलाई आर्थिक हिसाबले बनाउनुपर्छ । 

आर्थिक रूपमा कम्युनिस्ट पार्टी समेत पुँजीवादी पार्टीको कार्यशैलीमा बगे । खाली राज्यसत्तामा जाने, कमिसन खाने, कमिसनका आधारमा कम्युनिस्ट पार्टी चलाउने— यो पुँजीवादी शैलीमा उनीहरू गएका हुनाले कम्युनिस्ट पार्टीको लोकप्रियतामा अहिले भयानक ह्रास उत्पन्न भएको छ । त्यसैले कम्युनिस्ट पार्टीले कहिल्यै पनि कमिसन र आम्दानीका आधारमा पार्टी चलाउनु हुँदैन । पार्टीलाई पारदर्शी ढंगले अगाडि बढाउन सक्नुपर्छ । त्यसका लागि पार्टी पंक्ति भित्रैबाट आम्दानीको व्यापक स्रोत जुटाउनुपर्छ । त्यही स्रोतहरू परिचालन गरेर पार्टीले आफ्नो आर्थिक स्थितिलाई बलियो बनाउनुपर्छ । त्यसरी नै पार्टी चल्नुपर्छ । यसले नै पार्टीलाई क्रान्तिकारी बनाउँछ । होइन भने कमिसनवाला, दलाल र गैरकानुनी अपारदर्शीबाट चल्ने पार्टी कम्युनिस्ट पार्टी बन्न सक्दैन ।

पारदर्शी ढंगले पार्टी चलाउनु आम कम्युनिस्ट कार्यकर्ताका लागि सम्भव कुरा हो । म र मेरो पार्टीका लागि पनि सम्भव कुरा हो । एमालेका आम कार्यकर्ताका लागि पनि सम्भव छ, तर एमालेको नेतृत्वले त्यो बाटो लिन सकेन । ऊ गलत बाटोमा हिँडिरहेको छ । त्यस्तै अन्य कतिपय वामपन्थी नेताहरू पनि कमिसन भनेपछि लोभिएको देखिन्छ । यो कुराले गर्दा पार्टीको नेतृत्व निरन्तर दक्षिणपन्थी भड्काउमा जाँदै विचलित भएको अवस्था छ । 

(रातोपाटीकर्मी गणेश पाण्डेसँगको कुराकानीमा आधारित ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

झलनाथ खनाल
झलनाथ खनाल
लेखकबाट थप