‘कम्युनिस्ट पार्टीले श्रम गराएर होइन, गरेर खानुपर्छ’
नेकपा माओवादी केन्द्रले २०६९ माघमा भएको हेटौँडा महाधिवेशनलाई ऐतिहासिक भन्ने गर्छ । पार्टीबाट उपाध्यक्ष मोहन वैद्य समूह अलग भएको सात महिनापछि माओवादीले सातौँ महाधिवेशन गरेको थियो । पार्टीलाई आत्मनिर्भर बनाउन त्यस महाधिवेशनले पहिलोपटक उत्पादन बिग्रेड बनाउने नीति बहुमतले पारित गरेको थियो । यद्यपि नीति पारित भएको १२ वर्ष बितिसक्दा समेत कार्यान्वयनमा आउन सकेन ।
त्यतिबेला उत्पादन बिग्रेडको विपक्षमा रहेका थिए, पूर्वमन्त्री तथा पूर्वमाओवादी नेता लोकेन्द्र विष्ट । उनै विष्टसँग रातोपाटीकर्मी गणेश पाण्डेले कम्युनिस्ट पार्टीभित्र श्रम र उत्पादन नीति कस्तो हुनुपर्ने भन्ने विषयमा केन्द्रित रहेर संवाद गरेका छन् ।
- कम्युनिस्ट पार्टीको आचरण, व्यवहार र उत्पादन नीति कस्तो हुनुपर्छ ?
वैचारिक र दार्शनिक हिसाबले हेर्दा— कम्युनिस्ट पार्टी भनेकै श्रमजीवी वर्गको प्रतिनिधि पार्टी हो । श्रमजीवी, किसान, मजुदर वर्गको वैचारिक, राजनीतिक, सांगठनिक नेतृत्व गर्ने पार्टीले श्रम गराएर खाने होइन, गरेर खानुपर्छ, तर हामीकहाँ ठिक उल्टो भयो । कुरा श्रमजीवी वर्गको नेतृत्व गर्ने भन्ने, व्यवहार भने उनीहरूलाई काम गराएर आफू मालिक बन्ने र तर मार्ने खालको गर्ने । यही भएर नेपालका कम्युनिस्ट पार्टी विभिन्न खालका काण्डमा फस्दै गए । जनताले पनि पत्याउन छाडे ।
जनयुद्धकालमा जनता धेरै स्पष्ट थिए । अहिले स्पष्टता कता–कता हराएको जस्तो भइराखेको छ । त्यसकारण कम्युनिस्ट पार्टी र त्यसको नेतृत्व उत्पादनमा संलग्न हुनैपर्छ । ऊ वैचारिक, राजनीतिक, सैद्धान्तिक, सांगठनिक र सांस्कृतिक रुपले किसान, मजदुर तथा श्रमजीवी वर्गसँग जोडिएको हुनुपर्छ । त्यसो भयो भने मात्र असली कम्युनिस्ट पार्टी हुन्छ ।
- जनयुद्धकालमा सामूहिक उत्पादनसम्बन्धी जनकम्युन सञ्चालनमा ल्याउनुभएको थियो, शान्ति प्रक्रियामा आएसँगै त्यो समाप्त भयो नि !
त्यतिबेला नयाँ सत्ताको भ्रूण रोप्न रुकुम र रोल्पामा नयाँ अभ्यास गरिएको थियो । न्याय, प्रशासन, उत्पादन र सबै क्षेत्रमा विकास निर्माणमा लागेको थियो । ती सबै शाही सेनाले फाल्दिए । युद्धकालीन उत्पादनसम्बन्धी हामीले सञ्चालन गरेका कृषि सहकारी, उत्पादन र घरेलु काम सबै सफल थिए ।
यद्यपि त्यतिबेला सहज थिएन, जनमुक्ति सेना र शाही सेनाबिच लडाइँ चल्ने अनि शाही सेना आएर सबै नष्ट गरिदिन्थ्यो । आगो लगाउने, भत्काउने र बम विस्फोट गराएर समेत नष्ट गरिन्थ्यो । जनतासँग मिलेर उत्पादन गरेका पसल, बालीनाली, फलफूल सबै सखाप पारिन्थे ।
- अहिले माओवादी धारको मूल नेतृत्व प्रचण्डले नै गरिरहनुभएको छ । उहाँ आफैँ तीनपटक प्रधानमन्त्री बन्नुभयो । बाबुराम भट्टराई एकपटक प्रधानमन्त्री बन्नुभयो । माओवादीबाट सयजना मन्त्री भइसके, तर उत्पादनसम्बन्धी नीति ठोस रूपमा ल्याउन असफल देखिए, किन ?
पहिलो कुरा, पुरानै राज्यसत्तामा जान लडेको होइन । जनवादी क्रान्ति पूरा गर्न लडेको हो । नयाँ जनवादी क्रान्ति, समाजवादी क्रान्ति पूरा गर्दै साम्यवादमा पुग्ने आदर्श राखेर लडिएको हो । लडाइँ लड्दै गर्दा जनतासम्म पुग्न सकेनौँ । हाम्रो क्रान्ति पूरा भएन, सम्झौतामा जानुप¥यो । सम्झौतामा गइसकेपछि पुराना सत्तामा रहेका कांग्रेस र एमालेसँग सत्ता सहकार्य गर्नुप¥यो । यस्तो अवस्थामा हामीले मात्र गर्न सक्ने अवस्था थिएन । माओवादीबाट चारपटक प्रधानमन्त्री भए, सयजना मन्त्री भए, भइयो ।
मिलिजुली सरकारमा एकलौटीमा जस्तो नीति तथा कार्यक्रम ल्याउन नसकिने रहेछ । त्यहाँ विभिन्न भाँजो र अवरोध आउँथे । मिलिजुली सरकारमा सबै कुरामा सम्झौता र सहमति गर्नुपर्ने हुन्थ्यो । खुट्टा तानातान र बाटो छेकाछेक हुने भयो । अर्को असाध्यै भूतले खाजा खाने बेलामा बनेका सरकारका प्रधानमन्त्री, मन्त्रीहरूले केही ल्याउन खोजे पनि दिइने कुरा रहेन । उत्पादन र निर्माणसम्बन्धी योजना ल्याउन नदिएपछि हामी सरकारबाट हटेर प्रतिपक्षमा बस्नुपर्ने थियो । सशक्त ढंगले जनतामा जानुपर्ने हो । पार्टीको कमजोरी त्यहाँ रह्यो । तर त्यसो नगरी लोलोपोतो लगाउँदै जागिर खाने कुरामा मात्र ध्यान दिए । जागिरे मानसिकता भएपछि मान्छेले टेर्दा रहेनछन् । अन्य पार्टीले पनि टेर्ने कुरा भएन । हाम्रो पारा मागी खाने मगन्तेको जस्तो भयो । यस्तो भएपछि के काम हुन्छ ?
माथि उत्पादन बिग्रेड भनेर ढ्वाङ फुक्ने तर काम केही नगर्ने हो भने कागजमा मात्र सीमित हुन्छ भनेको थिएँ, नभन्दै त्यस्तै भयो । पछि नेतृत्वसँग केही कुरा चित्त बुझेन, म पार्टीबाट निस्केँ । पार्टी झन्झन् बिग्रिँदै र फस्दै गयो । अन्य बुर्जुवा पार्टी र माओवादीबिच केही भिन्नता देखिएन । उत्पादन बिग्रेड पनि भाषण गरेर र गीत गाएर सकियो ।
- राजनीतिबाट अवकाश लिएपछि तपाईं लामो समय कृषि कर्ममा जोडिनुभयो । त्यो अनुभवको आधारमा भन्नुपर्दा— कृषिबाट पार्टीहरू आत्मनिर्भर हुन नेपालको हावापानी, सरकारको नीति, राजनीतिक अवस्था आदि अनुकूल छन् ?
कम्युनिस्ट पार्टी कम्युनिस्ट पार्टीजस्तै हुने हो । जस्तो नाम उस्तै काम, सिद्धान्त र व्यवहारबिच तादात्म्यता मिलाएर अघि बढ्ने हो भने सयमा ७५ प्रतिशत कृषि उत्पादनबाट आत्मनिर्भर बन्न सम्भव छ ।
कम्युनिस्ट पार्टीलाई तीन मोर्चा वा सेक्टरमा विभाजित गर्नुपर्छ । पहिलो, उत्पादन मोर्चा । त्यसले तत्कालीन, अल्पकालीन र दीर्घकालीन योजना बनाएर उत्पादन गर्छ । जनतासँग मिलेर ज्यान फालेर लाग्ने हो भने उत्पादनले नै पार्टी निर्माण गर्छ । नेता तथा कार्यकर्ताले खाइवरी जग्गा, पार्टीका भौतिक संरचना लगायत सम्पत्ति जोडेर बचतसम्म हुन्छ ।
दोस्रो, राजनीतिक र सांगठनिक काम गर्ने मोर्चा । त्यसले सांगठनिक र राजनीतिक काम गर्छ ।
तेस्रो, सदनमा जाने मोर्चा । जसले सदनमा गएर जनताको हितमा नीति–निर्माण गर्न भूमिका खेल्छ ।
यसरी सदन मोर्चा, राजनीतिक–सांगठनिक मोर्चा र उत्पादन मोर्चा खोलियो भने गज्जबसँग पार्टी अगाडि बढ्छ । तीनदेखि पाँच वर्ष राजनीतिक मोर्चाले समग्र राजनीति हेर्ने, उत्पादन मोर्चाले उत्पादन हेर्ने गर्नुपर्छ ।
तीनदेखि पाँच वर्ष काम गरेपछि फेरि आन्तरिक संरचनामा जिम्मेवारी परिवर्तन गर्ने । राजनीतिका व्यक्ति उत्पादनमा, उत्पादनका व्यक्ति राजनीति वा सदनमा पठाउने गरियो भने संगठन पनि हुन्छ, उत्पादन पनि हुन्छ । सदन पनि सशक्त हुन्छ । राजनीतिमा कसैले हेप्न सक्दैन । सरकारमा गएर मज्जैले थर्काउन सकिन्छ । केही नगर्ने तिनीहरूको पछि लागेर मागेर खाएपछि कसले टेर्छ ?
- माओवादीको हेटौँडा महाधिवेशनले पारित गरेको उत्पादन बिग्रेड किन असफल भयो ?
हेटौँडा महाधिवेशनबाट उत्पादन बिग्रेड पास भएको हो । त्यतिबेला यस विषयमा धेरै बहस भएका थिए । त्यतिबेला मैले उत्पादन बिग्रेड नबनाउँ भनेको थिएँ । उत्पादन सेल वा एकाइ राखौँ भनेर सुझाव दिएको थिएँ । नेता, कार्यकर्ता र जनता मिलेर बनाउन सकियो भने सफल हुन्छ ।
माथि उत्पादन बिग्रेड भनेर ढ्वाङ फुक्ने तर काम केही नगर्ने हो भने कागजमा मात्र सीमित हुन्छ भनेको थिएँ, नभन्दै त्यस्तै भयो । पछि नेतृत्वसँग केही कुरा चित्त बुझेन, म पार्टीबाट निस्केँ । पार्टी झन्झन् बिग्रिँदै र फस्दै गयो । अन्य बुर्जुवा पार्टी र माओवादीबिच केही भिन्नता देखिएन । उत्पादन बिग्रेड पनि भाषण गरेर र गीत गाएर सकियो ।
- त्यसो भए हेटौँडा महाधिवेशनमा तपाईंले राखेको प्रस्ताव एक्लै भए पनि व्यवहारमा लागु गर्न लाग्नुभयो, होइन ?
पार्टीले लागु नगरे पनि म एक्लैले कालो धान, ड्रागन फ्रुटको खेती गरेँ । अहिले सबैतिर ड्रागन फ्रुटको खेती हुँदा मलाई खुसी लागेको छ । मैले सुरु गर्दा यो फल असाध्यै महँगो थियो, अहिले कम्तीमा पनि स्याउ–केराको मूल्यमा उपभोक्ताले किन्न पाएका छन् ।
मालेमा सिद्धान्त मान्नेहरू, जो जहाँ जसरी भए पनि श्रम र उत्पादनमा जोडिनुपथ्र्यो । मागेर खान हुन्थेन, लाज हुनुपथ्र्यो, तर विनाकाम झोला बोकेर मागेर खाने संस्कृति हाम्रा नेताहरूमा देखिन्छ, यो संस्कृति नै घातक बन्यो । यस्तो बनाएको नेताहरूले नै हो, यो बेठिक छ । यसकारण हेटौँडा महाधिवेशनले पारित गरेको उत्पादन बिग्रेड फेल भयो । एउटा व्यक्तिले गरेको काम सफल भयो भने सिङ्गो पार्टी मिले किन सफल हुँदैन ? हजार गुणा राम्रो हुन्थ्यो, तर गर्दैनन् ।
- अन्य समाजवादी वा कम्युनिस्ट मुलुकमा उत्पादनको अभ्यास के रहेछ ?
म चीनमा बाहेक अन्य देशमा गएर गहिरो अध्ययन गरेको छैन । जहाँसम्म रुस र चीनमा भएको अभ्यास बुझ्दा त्यहाँ सहकारीको अभ्यासबाट अगाडि बढेको देखिन्छ । त्यहाँ उत्पादन र कृषि सहकारीका माध्यमबाट अगाडि बढेका छन् । उत्पादन सहकारी, उपभोक्ता सहकारी र बैंकिङ सहकारीलाई उनीहरूले मर्ज गरेका छन् । बैंकिङ सहकारीबाट ऋण लिएर लगानी गर्ने, उपभोक्ता सहकारीले बजार व्यवस्थापन गर्ने र उत्पादन सहकारीले उत्पादन गर्ने काम गरे । यही माध्यमबाट रुस र चीन अगाडि बढे ।
नेपालमा पनि बैंकिङ सहकारी, उत्पादन सहकारी र उपभोग्दा सहकारीलाई मर्ज गरेर अगाडि बढ्न सके आत्मनिर्भर बन्न सक्छ । अर्को कुरा, युवा जनशक्तिलाई विदेश पलायनबाट रोक्न सक्नुपर्छ । विदेशमा सिकेको सीपलाई देशमा प्रयोग गर्न सक्नुपर्छ । यसमा लगानी गर्न सके उत्पादनमा राम्रो गर्न सकिन्छ ।