बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

१४ साथीलाई साइनाइड खुवाएर मार्ने महिलालाई मृत्युदण्ड

बिहीबार, ०६ मङ्सिर २०८१, ११ : ४५
बिहीबार, ०६ मङ्सिर २०८१

बैंकक । थाइल्यान्डमा एक जना महिलालाई मृत्युदण्डको सजाय सुनाइएको छ । १४ जना साथीलाई साइनाइड खुवाएर मारेको आरोप लागेकी ती महिलालाई बैंकक अदालतले उक्त सजाय दिएको हो । ३६ वर्षकी साराट रङ्गसिवुथापोनमाथि गएको वर्ष घुम्न गएको समयमा एक धनाढ्य साथीको खाना र पेयमा साइनाइड राखेको अदालतले पाएको हो ।

ती युवती प्राकृतिक कारणले मरिन् भन्ने कुरा मृतकको परिवार र आफन्तले स्वीकार गरेका थिएनन् । पोस्टमार्टमको क्रममा शरीरमा साइनाइड भेटियो । त्यसपछि प्रहरीले साराटलाई पक्राउ गर्‍यो । केरकार गर्ने क्रममा सन् २०१५ सम्ममा यस्तै खालका एक दर्जनभन्दा बढी घटनाहरू प्रकाशमा आए । महिलाले मार्ने प्रयास गरेको एक व्यक्ति जीवित पनि भेटिए । अभियुक्त महिला जुवातासको अम्मली थिइन् ।

उधारो वा कर्जा लिएका साथीभाइलाई निशाना बनाउँथिन् अनि उनीहरूको गर–गहना र बहुमूल्य सामान चोर्थिन् । सन् २०२३ को अप्रिलमा साराट ३२ वर्षीय साथी सिरिपोर्न खान्वोङसँग पश्चिम बैंककको राट्चाबुरी प्रान्त घुम्न गएकी थिइन् । साराटसँग खाना खाएपछि सिरिपोर्न ढलिन् अनि उनको मृत्यु भयो । अनुसन्धान संलग्न प्रहरीका अनुसार साराटले सिरिपोर्नको मद्दत गर्ने प्रयास नै गरिनन् ।

प्रहरीले सिरिपोर्नको शरीरमा साइनाइड फेला पारेका थिए भने उनको फोन, पैसा र ब्याग गायब थियो । प्रमाण लुकाउन मद्दत गरेको भन्दै साराटको पूर्व श्रीमान, पूर्व प्रहरी अधिकारी र उनको वकिललाई पनि क्रमशः एक वर्ष, चार महिना र २ वर्षको जेल सजाय सुनाइएको छ । सिरिपोर्नको परिवारलाई २० लाख थाई भाट क्षतिपूर्ति तीर्न पनि अदालतले साराटलाई आदेश दिएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप