ईसीडी इकोसिस्टम सम्मेलन विराटनगरमा हुँदै, १५ बढी देशका अनुसन्धानकर्ताको सहभागी रहने
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय, शिक्षाशास्त्र संकायको आयोजनामा नेपालमा पहिलो पटक प्रारम्भिक बाल्यकाल विकासको परिकल्पना – नेपाल ईसीडी इकोसिस्टम विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।
विश्वविद्यालयले विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गरी मङ्सिर २१ र २२ गते विराटनगरस्थित विग होटलमा उक्त सम्मेलन हुने भएको हो ।
यस सम्मेलनमा नेपाल, अमेरिका, मलेसिया, भारत बङ्गलादेश लगायत १५ भन्दा बढी देशका प्राज्ञ, नीति निर्माताहरू, अनुसन्धानकर्ता तथा विद्यार्थीहरूको सहभागिता रहने प्राडा अनिल कुमार पोखरेलले जानकारी दिए । नेपालमा प्रथम पटक आयोजित यस अन्तर्राष्ट्रिय सम्मेलनमा बालविकासका क्षेत्रमा प्राज्ञिक बहस र विमर्श गराउने मुख्य उद्देश्य राखिएका उनले बताए । ‘यस सम्मेलनमा बालबालिका लक्षित नीति, विशेष आवश्यकता भएका बालबालिकाहरूको हेरचाह, बाल विकासका क्षेत्रमा आवश्यक जनशक्ति, पेशागत विकास र नैतिकता, जलवायु परिवर्तन र त्यसले बालबालिकालाई परेको प्रभाव बालबालिकाको पोषण तथा यसले बाल विकासमा पारेको प्रभाव, प्रारम्भिक बाल्यकाल विकासमा नवप्रवर्तन आदिमा छलफल हुनेछ,’ प्राडा पोखरेलले भने ।
सम्मेलनमा विभिन्न विषयमा ४० भन्दा बढी सहभागीहरूले आफ्नो अध्ययन अनुसन्धान प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । साथै यस क्षेत्रमा कार्यरत विभिन्न देशका विशिष्ट व्यक्तित्वहरूबाट किनोट स्पिज तथा विविध प्रकारका कार्यशालाहरू समेत आयोजना गरिएका छन् ।
‘बालबालिकाहरूका सर्वाङ्गीण विकासका अवसरहरूको गुणस्तर र पहुँच सुधार एवं सुनिश्चित गर्ने विषयमा बहस केन्द्रित हुने छ । सम्मेलनमा प्रस्तुत भएका कार्यपत्र एवं कार्यशालाहरूबाट विश्वविद्यालयले भविष्यमा शिक्षाशास्त्र संकाय अन्तर्गत रहने गरी इसिडी सम्बन्धी अध्ययन अनुसन्धान गर्ने केन्द्र सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ,’ प्राडा पोखरेलले भने, ‘यस कार्यक्रमले बाल विकासका क्षेत्रमा नया एवं समाजको आवश्यकता अनुसारका स्नातक, स्नातकोत्तर लगायतका विशेष कार्यक्रमहरूको पहिचान गर्नेछ ।’
सम्मेलन आयोजनाका लागि काठमाडौँ महानगरपालिका, विराटनगर महानगरपालिका, नविल बैंक, प्लान इन्टरनेशनल, सेभ द चिल्ड्रेन लगायतका विभिन्न संघ संस्थाहरूको सहयोग रहेको छ । सम्मेलन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यतामा मङ्सिर २१ गते उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
उक्त सम्मेलन गर्नको लागि ३० लाख खर्च हुने अनुमान गरिएको छ । २ सय बढीको सम्मेलनमा सहभागी रहने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालतका दुई र जिल्ला अदालतका ११ न्यायाधीशको सरुवा ( सूची)
-
अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प
-
१२ करोड १० लाख अमेरिकी डलरको कीर्तिमानी मूल्यमा बिक्यो यो पेन्टिङ
-
प्रधानसेनापति सिग्देल र भारतीय स्थल सेनाध्यक्ष द्विवेदीबिच वार्ता : के–के भयो कुराकानी ?
-
फोनबाट रकम माग गर्ने डाक्टर पक्राउ
-
अवैध लागूऔधसहित विभिन्न स्थानबाट आठ जना पक्राउ