शनिबार, ०६ पुस २०८१
ताजा लोकप्रिय
स्वास्थ्य/जीवनशैली

अकुपञ्चर प्रविधि ‘साइड इफेक्ट’ रहित उपचार विधि हो : डा. सुरज कर्माचार्य

सुईको प्रयोगबाट उपचार गरिने अकुपञ्चरमा दुखाइ हुन्छ ?
बिहीबार, ०६ मङ्सिर २०८१

काठमाडौँ । पछिल्लो समय प्राकृतिक र अकुपञ्चर विधिको उपचारमा धेरैले विश्वास राख्न थालेका छन् । अकुपञ्चर कस्तो उपचार विधि हो ? कस्तो समस्यामा यो उपचार विधि प्रयोग गरिन्छ भन्ने विषयमा आधारित रहेर ब्लु लोटस हस्पिटलका अध्यक्ष तथा विगत १८ वर्षदेखि अकुपञ्चर सेवा दिँदै आएका अकुपञ्चर विशेषज्ञ डा. सुरज कर्माचार्यसँग कुराकानी गरिएको छ । प्रस्तुत छ, डा. कर्माचार्यसँग गरिएको कुराकानीको सम्पादित अंश :

अकुपञ्चर कस्तो उपचार विधि हो ?
‘अकुपञ्चर’ दुई वटा शब्द मिलेर बनेको छ । एउटा ‘अकु’, अर्को ‘पञ्चर’ । ‘अकु’ भन्नाले ‘निडल’ अर्थात् सुई भनेर बुझिन्छ । यो विधिमा एक प्रकारको सुई प्रयोग गरिन्छ । त्यो सुईलाई शरीरको विभिन्न बिन्दुमा ‘पञ्चर’ गर्छौँ । शरीरका विभिन्न बिन्दुमा सुईले पञ्चर गरेर उपचार गर्ने विधि नै ‘अकुपञ्चर उपचार विधि’ हो ।

अकुपञ्चर उपचार विधिको उत्पत्ति चीनमा भएको मानिन्छ । हजारौँ वर्ष पुरानो चिकित्सा विधि मानिन्छ यसलाई । अकुपञ्चर विधि भन्ने बित्तिकै यो पुरानो चाइनिज चिकित्सा एउटा प्रविधि हो ।

यो विधि कस्तो रोग वा समस्यामा प्रयोग हुन्छ ?
यो चाइनिज मेडिसिनको एउटा हाँगा हो । अकुपञ्चर उपचार विधिबारे मानिसमा एउटा भ्रम छ– यो दुखाइ कम गर्ने उपचार विधिमात्रै हो भन्ने ।

शरीरको कुनै भाग दुखेमा अकुपञ्चर गरेमा सञ्चो हुन्छ भन्ने सोचाइ छ । तर त्यो भ्रममात्र हो । अकुपञ्चर एउटा चिकित्सा विधि हो, जसको माध्यमबाट ३ सयदेखि ५ सय प्रकारका रोगको उपचार गर्न सक्छौँ । विश्व स्वास्थ्य संगठनले पनि अकुपञ्चरको माध्यमबाट सय या सयभन्दा बढी रोगको उपचार गर्न सकिन्छ भनेको छ । अकुपञ्चरका माध्यमले विभिन्न प्रकारका रोग जस्तै, हाडजोर्नीसँग सम्बन्धित रोग, नसा सम्बन्धी रोग, स्त्रीसँग सम्बन्धी रोग, मानसिक रोग, पेटसँग सम्बन्धित रोगलगायत धेरै किसिमका रोग उपचार गर्न सक्छौँ ।

अकुपञ्चर विधिबाट उपचार प्रक्रिया कति लामो हुन्छ ?
रोगको प्रवृत्ति हेरर वा बिरामीको प्रकृति हेरर कति दिन लाग्छ भन्ने कुरा निर्धारण हुन्छ । रोग कति पुरानो छ वा कति छिप्पिसकेको छ भन्ने विषयसँग उपचारको अवधि भर पर्छ । सामान्यतया अकुपञ्चर पाँच दिन पनि गर्न सक्छौँ, सात दिन पनि गर्न सक्छौँ । पन्ध्र दिनको कोर्स पनि हुन सक्छ । कसै–कसैलाई ३० पटक, ५० पटक वा ६० पटक पनि गर्नुपर्ने हुन्छ  । सामान्यतया अकुपञ्चर १५ दिनदेखि लिएर ६ महिनासम्म लाग्न सक्छ ।

कसैलाई तीन महिना यो विधिबाट उपचार गर्नुपर्ने हुन्छ । यसको अर्थ त्यस्तो बिरामी ९० दिनसम्म उपचारका लागि आउनुपर्छ भन्ने होइन । तीन महिनामा हामीले ३० दिन उपचार गरेका हुन्छौँ । अझ प्रस्ट शब्दमा भन्नुपर्दा पाँच दिन रेगुलर बोलाउने, त्यसपछि हप्तामा तीन पटक, त्यसपछि हप्तामा दुई पटक, हप्तामा १ पटक गर्दै तीन महिनामा सामान्यतय ३० पटक उपचार गरेका हुन्छौँ । रोगको प्रवृत्ति हेरेर कति दिनसम्म अकुपञ्चर गर्ने भन्ने  छुट्ट्याउँछौँ । सुरुमै अकुपञ्चर १५ दिनमात्रै गरे पुग्छ वा सात दिनमात्रै गरेर पुग्छ भन्न हामीलाई गाह्रो हुन्छ ।

अन्य उपचार विधिबाट सफल नभएपछि अकुपञ्चर विधिबाट उपचार गराउन आउने बिरामी बढी हुन्छन् कि सुरु मै यही विधि अपनाउन आउने बिरामी बढी हुन्छन् ?

म विदेशबाट पढेर फर्किएको समयतिर यो उपचार विधिबारे धेरैलाई जानकारी दिएन । विभिन्न अस्पताल गएर, धामी–झाँक्रीकोमा पुगेर निको नभएपछि मात्रै अकुपञ्चर ‘ट्राइ’ गरौँ भनेर आउने गर्थे । यो हिसाबले आउने बिरामीको प्रतिशत धेरै थियो । ९० प्रतिशतभन्दा बढी बिरामी थिए यस्ता । अहिले आएर ५० प्रतिशतको हाराहारीमा सुरुमै अकुपञ्चर विधिमा आउने बिरामी छन् ।

dr. rosan karmacharya

हाम्रोमा सबै अकुपञ्चरका विशेषज्ञ हुनुहुन्छ । सुरुमै समस्या भएर आउने बिरामीको रोग पहिचान गर्ने चिकित्सकहरू छन् । अन्य ठाउँमा गएर परीक्षण गराएर रोग यो लागेको छ भनेर आइराख्नु पर्दैन, सिधै हाम्रोमा आइसकेपछि हामीले नै रोग पहिचान गर्न सक्छौँ ।

यो उपचार पद्धति सबै उमेरका लागि उपयुक्त छ ?

अकुपञ्चर उपचार विधिमा कुनै उमेर छैन । हामीले नवजात शिशुदेखि लिएर वृद्धवृद्धाको उपचार पनि गछौँ । यसमा त्यस्तो कुनै उमेर समूह भन्ने हुँदैन ।

एक पटक उपचार गरेपछि त्यो रोग दोहोरिने सम्भावना कति रहन्छ ?

मेरोमा आउने बिरामीलाई के भन्छु भने रोग निको पार्न सजिलो छ । निर्मूल पार्न असाध्यै गाह्रो छ । मान्छेलाई एक पटकमात्रै रोग लाग्दैन । मान्छेलाई एक पटकमात्रै ज्वरो आउँदैन । एक पटकमात्रै रुघाखोकी लाग्दैन । मान्छेले एक पटक रोग लागिसकेपछि एक पटक औषधि सेवन गरेरमात्रै निको हुँदैन । हामीले एक पटक उपचार गरिसकेपछि बिरामीलाई सबै कुरा सिकाएका हुन्छौँ । तपाईंले यो खानु हुन्छ, यो खानु हुँदैन, यस्तो विषयबाट टाढा रहनुपर्छ । हामीले सिकाएका व्यायामहरू नियमित रूपमा गर्नु पर्‍यो । यदि हामीले सिकाएका कुराहरू राम्रोसँग लागु गरेमा रोग दोहोरिने सम्भावना एकदम न्यून हुन्छ ।

हामीले हेर्दा यो उपचार विधिमा मसिनो सुईले शरीरका विभिन्न भागमा खोपेको देखिन्छ । यसले बिरामीलाई पीडा हुँदैन ?

सुईले खोप्दा पीडा हुन्छ कि हुँदैन भन्ने धेरै मानिसमा कौतुहलता छ । तपाईं कुनै अस्पताल जानु भयो ल्याब टेस्ट वा भनौँ कुनै परीक्षणका लागि तपाईंको रगत निकालिन्छ । रगत निकाल्दा कसैलाई एकदमै दुख्ने हुन्छ, कसैले रगत निकालेको थाहा नै पाउँदैनन् । सुई त खोपेकै हुन्छ । राम्रो विज्ञ भएको अकुपञ्चरमा जानु हुन्छ भने अकुपञ्चरको माध्यमबाट उपचार गर्दा दुखाइ हुँदैन । विज्ञ छैन, अनुभव छैन भने त दुखाउन पनि सक्छ । त्यो त सुई हो ! भनेपछि सुईलाई कसरी प्रयोग गर्ने, कसरी उपचार गर्ने भन्ने एउटा विज्ञले जानेको हुन्छ । जानेको मान्छेले गर्दा दुखाइ हुँदैन । यदि दुखाइ भइहाले पनि एकदमै कम हुन्छ ।

यदि साँच्चै नै दुखाइ हुने भए त यति धेरै बिरामी आउँदैनथे होला । यो विधि संसारबाट हराएर जान्थ्यो होला । तर पछिल्लो समय यो उपचार विधि झनै प्रसिद्ध हुँदै गएको छ । बिरामीले के बुझ्नु पर्‍यो भने तपाईं विज्ञकोमा उपचार गर्न जानु हुन्छ भने तपाईंलाई दुखाइ हुँदैन ।

शरीरको कुनकुन भागमा सुईले ‘पञ्चर’ गरिन्छ ?

यसको पछाडि चाइनिज मेडिसिनको आफ्नै सिद्धान्त छ । त्यो सिद्धान्त अनुसार हाम्रो शरीरमा यस्ता केही बिन्दु पत्ता लगाइएका छन्, जसमा हामीले अकुपञ्चरको नियम अनुसार उपचार गर्न जान्यो भने धेरै किसिमका रोगको उपचार गर्न तथा निको पार्न सकिन्छ । यसमा धेरै सिद्धान्त छन् । सामान्य व्यक्तिले यी विषय बुझ्दैनन् । यसमा ‘चि’को कुरा आउँछ, ‘इन्ह्याङ’ भन्छ । ‘ब्यालेन्स’को कुरा आउँछ । हाम्रो शरीरमा त्यस्ता केही ‘च्यानल्स’ हुन्छन् । चाइनिस मेडिसिनमा ‘मेडिडियन्स’ भन्छ । त्यो ‘मेडिडियन्स’ बाट ‘चि’ को ‘इनर्जी’ फ्लो हुन्छ । कतिपय ठाउँमा त्यो ‘चि’ छालामाथि आउँछ, फेरि भित्र जान्छ भन्छौँ । जहाँ–जहाँ त्यो छालाको नजिक आउँछ, त्यो ठाउँलाई ‘अकुपञ्च’ भनिएको छ । हामीले त्यो भागमा ‘निडलिङ’ गरेर त्यो ‘चि’को फ्लोलाई रेगुलर गराउँछौँ । त्यो रेगुलर गराएर कतै ‘ब्लकेट’ छ, कतै अवरोध छ भने त्यसलाई हटाउँछौँ । त्यो हटाउने एउटा तरिका छ  । त्यो एउटा चिकित्सा विधि हो । त्यस्ता ३ सयभन्दा बढी बिन्दु छन् । अहिले एक हजारभन्दा बढी बिन्दु भनिन्छ । कसै–कसैले आफ्नो बिन्दुहरू पत्ता लगाएका छन् । वास्तविक ‘क्लासिक’ चाइजिन मेडिसिनको पुस्तकहरूमा जाने हो भने या पहिलाको अनुसार जाने हो भने केही बढी मात्रमा त्यस्ता ‘अकुपञ्च’ छन् ।

यो विधि सबैको पहुँचमा छ त ?

यो महँगो विधि होइन । मान्छे अस्पताल गइसकेपछि पैसा सकियो, धेरै महँगो होला कि भन्ने सोच पाएको छु । यो त्यति धेरै खर्चिलो विधि होइन । नरदेवी आयुर्वेद अस्पतालमा पनि यो सेवा छ । सरकारी निकायमा सस्तो पर्छ । विज्ञको अनुसार पनि यसको उपचार दर भर पर्छ ।

dr. suraj karmavharya

जस्तो कि कसैलाई १५ पटक अकुपञ्चर गर्नु परेमा प्रतिसेसनमा ८ सयदेखि लिएर १२ सय रुपैयाँसम्म लाग्छ । कसै–कसैले दुई हजारले पनि गरेका छन् । कसै–कसैले एक सय रुपैयाँमा पनि गरिदिएको छ । भनेपछि यसलाई नियमन गर्ने कार्य कुनै संस्थाले गरेको छैन । विज्ञहरूले अकुपञ्चर गर्दा १२ देखि १४ सय रुपैयाँसम्म लिने गरेका छन् । त्यति महँगो त होइन ।

अकुपञ्चर उपचार विधिमा ‘साइड इफेक्ट’ को जोखिम कति हुन्छ ?

वास्तवमा भन्दा अकुपञ्चर प्रविधि ‘साइड इफेक्ट’रहित उपचार विधि हो । मेरो १८/१९ वर्षको अनुभवमा यसबाट साइड इफेक्ट हुँदैन । चाइनामा पढ्दा पनि त्यहाँ धेरै बिरामी आउँथे । यसको साइड इफेक्ट हत्तपत्त पाउँदैनौँ । हो, अब गर्न नजान्नेले गर्‍यो भने हुन सक्ला तर जान्ने विज्ञले गरेमा यसको कुनै साइड इफेक्ट छैन ।

अकुपञ्चर विधिबाट उपचार गर्दा रोग तत्काल निको हुने हो ?

चीनमा इमरजेन्सी वार्डमै अकुपञ्चरको विभाग पनि हुन्छ । धेरै रक्तश्राव भएर आयो, धेरै दुखाइ भएर आयो वा धेरै वान्ता भएर आयो भने त्यस्तोमा यो प्रविधिको प्रयोगबाट तुरुन्तै रोक्न सक्छौँ । दुखाइ निको पार्न अकुपञ्चर विधिको धेरै ठुलो भूमिका छ ।

अकुपञ्चर सेवा नेपालमा कहाँकहाँ छ ?

अकुपञ्चर सेवा ब्लु लोटस हस्पिटल त्रिपुरेश्वरमा छ । त्यसपछि ओम ब्लु लोटस हेल्थ होममा पनि यो सेवा उपलब्ध छ । यो हाम्रो सिस्टर अर्गनाइजेन नै हो । यस्तै भक्तपुर, ठिमीमा ब्लु लोटस हेल्थ होमको शाखा छ । चाबहिल चुच्चेपाटीमा पनि छ । यो सेवा धेरै ठाउँमा पाउन सकिन्छ । हाम्रो अस्पतालमा विज्ञहरूले दिने सेवा पाउन सक्नु हुन्छ, जुन अरु ठाउँमा पाउन मुस्किल नै छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया