१२ बजे, १२ समाचार : चीनसँगको बीआरआई सम्झौताबारे कांग्रेस र एमालेबिच कुरा नमिलेकोदेखि चितवन प्रहरीमा रविबारे उजुरीसम्म
उता, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध चितवन प्रहरीमा पनि जाहेरी परेको छ । लामिछाने र पूर्वडीआईजी छविलाल जोशीसहित १० जनाविरुद्ध सहारा चितवन बहुउद्धेश्यीय सहकारी संस्थाका बचतर्कताले जाहेरी दिएका हुन् ।
२. प्रसाईंका ‘चेला’हरुको अपराध
भक्तपुरस्थित दुर्गा प्रसाईंको घरबाट पक्राउ परेका ९ जनालाई प्रहरीले मुद्दा चलाउने भएको छ । प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानमा आबद्ध ९ जनालाई मुद्दा चलाउने निर्णय गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता एवं एसपी होविन्द्र बोगटीले रातोपाटीलाई बताए ।
यसैबिच, काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति, नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद अधिकारीको इजलास प्रसाईंलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
३. ३१ जनाको उम्मेदवारी फिर्ता
स्थानीय तह उपनिर्वाचनका लागि आइतबार मनोनयन दर्ता गराएकामध्ये ३१ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन आयोगले बुधबार अबेर विज्ञप्ति जारी गरेर यसबारे जानकारी दिएको हो ।
४. नेपाल भ्रमणमा भारतका स्थल सेनाध्यक्ष
भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी बुधबार नेपाल भ्रमणमा आएका छन् । नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्न उनी नेपाल आएका हुन् । द्विवेदीको भ्रमणका क्रममा दुई देशबिच भएका विभिन्न सम्झौताको विषयमा समेत छलफल हुने स्रोतले जनाएको छ । पाँच दिनसम्म नेपालमै रहने उनले भारतीय सेनामा लागु भएको ‘अग्निपथ योजना’बारे पनि छलफल गर्ने बताइएको छ ।
५. बीआरआईबारे एमाले र पत्रकार सम्मेलन
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सत्ता साझेदार नेपाली कांग्रेस र एमालेबिच बेल्ट एन्ड रोड इनिसियटिभ्स (बीआरआई)बारेको बुझाइमा केही भिन्नता रहेको बताएका छन् । बुधबार एमाले प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले बीआरआईबारे यस्तो टिप्पणी गरेका हुन् ।
६. बजगाईंको अभिव्यक्ति फिर्ता
नेपाली काङ्ग्रेसका सांसद राजेन्द्र बजगाईंले आफ्नै पार्टीका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेविरुद्ध दिएको अभिव्यक्ति फिर्ता लिएको सार्वजनिक गरेका छन् । बजगाईंले पाण्डे लक्षित आफूले दिएको अभिव्यक्तिले चोट पुगेको भन्दै सामाजिक सञ्जाल एक्समार्फत माफी माग्दै अभिव्यक्ति फिर्ता लिएको बताएका हुन् ।
७. सभामुख र एमाले नेता कम्बोडियातर्फ
निराशा चिर्ने र उत्साह जगाउने भन्दै नेकपा एमालेले मंसिर ७ गते काठमाडौँमा गर्ने जागरण सभाका कमाण्डर तथा एमाले स्थायी कमिटी सदस्य राजन भट्टराई कम्बोडिया उडेका छन् । यसैगरी, सभामुख देवराज घिमिरे पनि कम्बोडियाको सोही कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।
८. अखिल क्रान्तिकारीमा अनिश्चय
मंसिर २३ र २४ गतेका लागि सारिएको नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन नहुने सङ्केत देखिएको छ । नेतृत्व छनोटको विषयलाई पार्टीका उच्च नेताहरूले नै प्रतिष्ठाको विषय बनाएपछि सम्मेलन अनिश्चित भएको हो ।
९. रातोपाटीको नयाँ श्रृङ्खला
रातोपाटीमा आजदेखि ‘प्रथम महिला’ भिडियो शृङ्खला प्रसारण सुरु भएको छ । पहिलो श्रृङ्खलामा राष्ट्रिय विभूति सीताको जीवनकथाको महत्त्वपूर्ण पाटोलाई प्रस्तुत गरिएको छ ।
१०.अर्थतन्त्र
मंगलबार ५१ अंकले घटेको शेयर बजार मापक (नेप्से)मा बुधबार ९ अंकको वृद्धि देखिएको छ । २७०५ बिन्दुबाट सुरु भएको कारोबार दिनमा तीव्र उतारचढावबिच नेप्से परिसूचक २७११.७५ बिन्दुमा कायम हुन पुगेको छ ।
उता, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक वर्षको अवधिमा भत्ता तथा अन्य सुविधा शीर्षकमा ४४ लाख ९७ हजार रुपैयाँ बुझेका छन् । राष्ट्र बैंकको गत आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदनअनुसार गभर्नरले एक वर्षमा १६ लाख ३२ हजार तलब बुझेका छन् । त्यस्तै ३ लाख ३३ हजार रुपैयाँ सञ्चालक समितिको बैठक भत्ता लिएका छन् ।
११. पश्चिम अमेरिकामा शक्तिशाली ‘बम’ आँधी
पश्चिमी अमेरिकामा शक्तिशाली ‘बम’ आँधीले जनजीवन प्रभावित बनाएको छ । आँधीको झम्टाइमा परी एक जनाको मृत्यु भएको छ भने ६ लाख मानिस विजुलीविहीन भएका छन् । वासिङ्टनमा रुख ढलेर एक महिलाको मृत्यु भएको हो । आँधीले रुख र बिजुलीका पोल ढालेपछि करिब ६ लाख मानिस अन्धकारमा परेका बताइएको छ । बुधबार ओरेगन, वाशिंगटन र क्यालिफोर्नियामा ८० किलोमिटर प्रतिघण्टा (५० माइल प्रतिघण्टा)को गतिमा बोम्बले अधिक वर्षा एवं हुरी ल्याएको थियो । उक्त तीब्र गतिको हावाहुरी र अधिक वर्षा शुक्रबारसम्म जारी रहने अनुमान गरिएको छ ।
१२. नेपाल विजयी
डेविस कपमा नेपालले जित हात पारेको छ । बहराइनको मानामामा नेपालले गुआमलाई २–१ ले हराएको हो । पुरुष एकलतर्फ नेपालका प्रदीप खड्काले गुआमका लिरेन्स डानियल्सलाई ६-२ र ६-२ को सोझो सेटमा हराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतसहित ५ देशमा नियुक्त भएका राजदूतहरूले लिए शपथ
-
अल्लू अर्जुनको घरमा तोडफोड गर्नेले पाए जमानत
-
जनार्दन शर्माको निष्कर्ष– ओली सरकार असफल, गम्भीर राजनीतिक संकटको खतरा देखियो !
-
विकासलाई भोटसँग साट्ने प्रवृत्तिले समस्या बनाएको छ : मुख्यमन्त्री लामा
-
मस्क अमेरिकाको राष्ट्रपति बन्न सक्लान् ?
-
‘विषाक्त समाजमा बाँच्न डर लाग्छ, मर्न डर लाग्दैन’