पूर्वडीआईजी जोशी : पहिले कार्यालय प्रमुख, अहिले त्यहीँ हिरासतमा बास !

काठमाडौँ । छविलाल जोशी २०७३ मा जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुख थिए । कार्यालयमा उनको गाडी प्रवेश गर्दा सलामी दिइन्थ्यो । हतियार प्रदर्शन गरेर कार्यालय प्रमुखलाई दिने सलामीलाई फौजमा ‘अर्पण सस’ भनिन्छ । तर, अहिले समय फेरिएको छ ।
मङ्गलवार साँझ इन्स्पेक्टर दीपकबाबु केसीले उनलाई पोखराबाट काठमाडौँ ल्याए । थुनुवाको रुपमा आफूलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा लगेपछि जोशीले भने– ‘समयको चक्र यस्तै रहेछ ।’
सुर्यदर्शन र सुप्रिम सहकारीको अनुसन्धानको क्रममा पोखरामा रहेका जोशीसँग स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनबारे बयान लिन उनलाई प्रहरीले काठमाडौँ ल्याएको हो । २०७३ माघमा काठमाडौँ प्रहरी प्रमुखको कमान्ड समालेका जोशी त्यहीबाट डीआईजी भएर निस्केका थिए ।
समयको चक्रले घुमाएर उनी अहिले त्यही कार्यालयको हिरासतमा पुगेका छन् । जोशी पुगेपछि उनीसँग काम गरेका चालक, बडीगार्ड र सहयोगीहरू पुगे । सबैले सलाम गरे । मुसुक्क हाँस्ने पुरानो बानीलाई निरन्तरता दिँदै जोशी बोले, ‘के गर्ने पहिले यहीँ सलाम खाइयो, अहिले हिरासतमा आइपुगेँ ।’
काठमाडौँ प्रहरीमा थुनुवा राख्ने दुई तलाको हिरासत कक्ष छ । जोशीलाई माथिल्लो तलामा राखिएको छ । उनलाई सहजीकरण गर्न एक जना जवान सँगै राखिएको छ । कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारी उनीभन्दा तल्लो तलामा बस्छन् ।
पूर्वडीआईजी जोशी, पूर्व गृहमन्त्री लामिछाने र सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राई व्यापारिक साझेदार हुन् । उनीहरुले सञ्चालन गरेको गोरखा मिडिया नेटवर्कमा पाँच वटा सहकारीबाट ६५ करोड ५४ लाख अवैध तरिकाले आएको सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिको निष्कर्ष छ ।
काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट छविलाल जोशीको नाममा १ करोड ३० लाख ऋण निकासा भएको भेटिएको छ । अनुसन्धान अधिकृतहरुसँग जोशीले त्यसबारे चासो राखेर सोधेका छन्, ‘मेरो हस्ताक्षर देखिन्छ ?’
अनुसन्धान अधिकृतहरुले निवेदकमा उनको नाम मात्रै भएको कागज देखाउँदै भन्छन्, ‘नाम मात्र छ हजुर, हस्ताक्षर छैन् ।’ शंखमुलस्थित उनकै घरबाट बरामद भएको सफ्टवेयरबाट उनले स्वर्णलक्ष्मीबाट लिएको रकम फिर्ता गरेको पनि भेटिएको छ ।
उनलाई भेट्न हिरासतमा पुग्नेहरूसँग छविलाल भन्छन्– ‘जीबीले केके गरे थाहा भएन ।’ सरकारले रविलाई प्रतिशोध लिँदा आफू बिचमा परेको छविको बुझाई छ । जोशीलाई भेटेर निस्केका एक जना उनका छिमेकीले रातोपाटीसँग भने, ‘अरूको कारण आफूलाई बलि चढाएको उहाँको बुझाइ छ ।’
साँझ रोटी खाने छविलाल जोशी हिरासतमा चिकेन करी र अण्डा नियमित खान्छन् । प्रहरी परिसर भित्र हिँडडुल गर्न रुचाउँछन् । उनी सकेसम्म क्यान्टिनमै पुगेर खाना खान खोज्ने गरेको अनुसन्धान अधिकृतहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मे त्हलें प्रीब पर्व’ मनाउँदै गुरुङ समुदाय
-
मर्यादित र सभ्य तरिकाले होली मनाउन सभामुख घिमिरेको अपिल
-
होली पर्वको अवसरमा हुने विकृतिलाई निरुत्साहित गर्न अध्यक्ष दाहालको आग्रह
-
आज होली पर्व, हिमाली तथा पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै
-
युरोपीयन युनियनसँग पनि चर्को भन्सार असुल्ने ट्रम्पको घोषणा
-
होलीमा खेलिने रङहरू जस्तै नेपाली समाज पनि विविधतापूर्ण छ : सभापति देउवा