जलवायु परिवर्तनको प्रभावबाट जोगिन सबै एकजुट हुनुपर्छ : ऊर्जामन्त्री खड्का

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जलवायु परिवर्तनको प्रभावबाट जोगिन सबै एकजुट हुनुपर्ने बताएका छन् । विश्वभरका परामर्शदाताहरूको अन्तर्राष्ट्रिय संस्था ‘फिडिक’ को एसिया प्रशान्त क्षेत्रीयस्तरको तीनदिने अन्तर्राष्ट्रिय सम्मेलनको आज समापन गर्दै मन्त्री खड्काले जलवायु परिवर्तनबाट निम्तिएका विपद् तथा वातावरणीय असन्तुलनलाई न्यूनीकरण गर्न सबैको साथ र सहयोगको खाँचो रहेको बताए ।
“संयुक्त प्रयासबाट मात्र हामी हाम्रो ग्रहलाई जोगाउन र उज्ज्वल भविष्य निर्माण गर्न सक्छौँ, त्यसका लागि हामी सबैको हातेमालो जरुरी छ, दीगो विकासका लागि सबै एकजुट हुनुपर्छ”, मन्त्री खड्काले भने ।
उनले विश्व समुदाय र सम्बन्धित संस्थाहरूसँग जलवायु परिवर्तनका चुनौतीहरूलाई न्यूनीकरण गर्नका लागि दिगो समाधानका उपाय र प्रविधि हस्तान्तरणलाई अघि बढाउन सहयोगका लागि आग्रह समेत गरे ।
कार्यक्रममा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु अनुकूलनका लागि दिगो विकासका नीति आवश्यक रहेको बताए। उनले उच्च पहाडदेखि तराईसम्मका समुदायले खाद्य सुरक्षा, पानी अभाव र विपद् व्यवस्थापनमा चुनौती सामना गरिरहेको भन्दै जलवायु अनुकूलनका लागि दीर्घकालीन योजना र दिगो विकास नीतिहरू आवश्यक रहेको बताए ।
मन्त्री ठकुरीले नेपालमा जलवायु परिवर्तनका असरहरू गम्भीररूपमा देखा परेको औँल्याउँदै हिमाली क्षेत्रका हिउँ र हिमनदी द्रुत गतिमा पग्लिरहेकोले जलप्रवाहलाई नै अस्थिर बनाएको उल्लेख गरे ।
तीन दिने सम्मेलनमा २३ देशका विज्ञहरूको सहभागितामा पूर्वाधार विकासलाई दिगो तथा वातावरणमैत्री बनाउन नवीनतम प्रविधिको उपयोग गरी जल, वातावरण, आवास, यातायात, पर्यावरण, पूर्वसूचना प्रविधिलगायत विशिष्टीकृत विषयमा बहस र छलफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ