१० बजे १० समाचार : ओली जोडिएको विषयमा छानबिनको माग, दुर्गा प्रसाईंका ‘चेलाहरू’ समेत अपराधमा
आज मिति २०८१ साल मंसिर महिनाको ५ गते बुधबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–
१. रास्वपाको बैठक
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री केपी शर्मा ओली जोडिएको विषयमा छानबिन गर्न माग गरेको छ । रास्वपाको बुधबार बसेको केन्द्रीय समिति बैठकपछि जारी विज्ञप्तिमा एमाले अध्यक्षसमेत रहेका ओलीसँग जोडिएको विवादास्पद विषयमा केही व्यक्तिहरूसमेत पक्राउ भएको सन्दर्भमा सत्य तथ्य छानबिन गरी वास्तविकता प्रकाशमा ल्याउन सरकारसँग माग गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा पनि जाहेरी परेको छ । लामिछाने र पूर्वडीआईजी छविलाल जोशीसहित १० जनाविरुद्ध सहारा चितवन बहुउद्धेश्यीय सहकारी संस्थाका बचतर्कताले जाहेरी दिएका हुन् ।
२. प्रसाईंका ‘चेला’हरु पनि अपराधमा
भक्तपुरस्थित दुर्गा प्रसाईंको घरबाट पक्राउ गरिएका ९ जनालाई प्रहरीले मुद्दा चलाउने भएको छ । प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानमा आबद्ध ९ जनालाई मुद्दा चलाउने निर्णय गरिएको सीआईबीका एसपी होविन्द्र बोगटीले रातोपाटीलाई बताए ।
काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति, नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद अधिकारीको इजलास उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
३. ३१ जनाको उम्मेदवारी फिर्ता
स्थानीय तह उपनिर्वाचनका लागि आइतबार मनोनयन दर्ता गराएकामध्ये ३१ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन आयोगले बुधबार राति विज्ञप्ति जारी गरेर यसबारे जानकारी गराएको हो ।
४. नेपाल भ्रमणमा भारतका स्थल सेनाध्यक्ष
भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी बुधबार नेपाल भ्रमणमा आएका छन् । नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्न उनी नेपाल आएका हुन् ।
द्विवेदीको भ्रमणका क्रममा दुई देशबिच भएका विभिन्न सम्झौताको विषयमा समेत छलफल हुने स्रोतले जनाएको छ । पाँच दिनसम्म नेपालमै रहने उनले भारतीय सेनामा लागु भएको ‘अग्निपथ योजना’बारे पनि छलफल गर्ने बताइएको छ ।
५. बीआरआईबारे एमाले र पत्रकार सम्मेलन
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सत्ता साझेदार नेपाली कांग्रेस र एमालेबिच बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई)बारेको बुझाइमा केही भिन्नता रहेको बताएका छन् । बुधबार एमाले प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले बीआरआईबारे यस्तो टिप्पणी गरेका हुन् ।
६. बजगाईंको अभिव्यक्ति फिर्ता
नेपाली काङ्ग्रेसका सांसद राजेन्द्र बजगाईंले आफ्नै पार्टीका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेविरुद्ध दिएको अभिव्यक्ति फिर्ता लिएको सार्वजनिक गरेका छन् ।
बजगाईंले पाण्डे लक्षित आफूले दिएको अभिव्यक्तिले चोट पुगेको भन्दै सामाजिक सञ्जाल एक्समार्फत माफी माग्दै अभिव्यक्ति फिर्ता लिएको बताएका हुन् ।
७. कम्बोडियातर्फ सभामुख र एमाले नेता
निराशा चिर्ने र उत्साह जगाउने भन्दै नेकपा एमालेले मंसिर ७ गते काठमाडौँमा गर्ने जागरण सभाका कमाण्डर तथा एमाले स्थायी कमिटी सदस्य राजन भट्टराई कम्बोडिया उडेका छन् ।
यसैगरी सभामुख देवराज घिमिरे पनि कम्बोडियाको सोही कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।
८. अखिल क्रान्तिकारीमा अनिश्चय
मंसिर २३ र २४ गतेका लागि सारिएको नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन नहुने सङ्केत देखिएको छ । नेतृत्व छनोटको विषयलाई पार्टीका उच्च नेताहरूले नै प्रतिष्ठाको विषय बनाएपछि सम्मेलन अनिश्चित भएको हो ।
९. रातोपाटीको नयाँ श्रृङ्खला
रातोपाटीमा आजदेखि ‘प्रथम महिला’ भिडियो शृङ्खला प्रसारण सुरु भएको छ । पहिलो श्रृङ्खलामा राष्ट्रिय विभूति सीताको जीवनकथाको महत्त्वपूर्ण पाटोलाई प्रस्तुत गरिएको छ ।
१०. अर्थतन्त्र
मंगलबार ५१ अंकले घटेको सेयर बजार (नेप्से)मा बुधबार ९ अंकको वृद्धि देखिएको छ । २७०५ बिन्दुबाट सुरु भएको कारोबार तीव्र उतारचढावका बिच परिसूचक २७११.७५ बिन्दुमा पुगेको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक वर्षको अवधिमा भत्ता तथा अन्य सुविधा शीर्षकमा ४४ लाख ९७ हजार रुपैयाँ बुझेका छन् । राष्ट्र बैंकको गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनअनुसार गभर्नरले एक वर्षमा १६ लाख ३२ हजार तलब बुझेका छन् । त्यस्तै ३ लाख ३३ हजार रुपैयाँ सञ्चालक समितिको बैठक भत्ता लिएका छन् ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँकेमा लागु औषधसहित दुई जना पक्राउ
-
‘बबल एन्ड क्र्यास’को कथा
-
सामाजिक सञ्जाल नियमन गर्ने विधेयक संसदमा पेस गर्ने सरकारको निर्णय
-
नागरिकमा आशा जगाउने काम गरिरहेका छौँ : उपप्रधानमन्त्री सिंह
-
आशिका तामाङलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति
-
पोखरेलका पूर्व स्वकीय सचिव अनिलविरुद्ध अदालतमा मुद्दा दर्ता