रारा–गमगढी सडक सरकारको प्राथमिकतामा : मुख्यमन्त्री कँडेल
मुगु । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गमगढीदेखी रारासम्मको सडकलाई स्तरोन्नतिसहित पक्की गर्न प्रदेश सरकारले प्राथमिकतामा राख्ने बताएका छन् ।
बुधबार मुगुको सदरमुकाम गमगढीमा आयोजित सर्वदलीय बैठकमा कँडेलले पर्यटकीय दृष्टिले कर्णालीकै प्रशस्त सम्भावना बोकेको राराजाने पहुँचमार्गलाई सहज बनाउन प्रदेश सरकारले विशेष प्राथमिकतामा राख्ने बताएका हुन् । अहिले उक्त सडकको अवस्था नाजुक छ ।
रारा पुगेपछि पर्यटकले जति आनन्द लिन सक्छन् त्यतिनै पहुँच मार्गलाई सहज बनाउन प्रदेश सरकारको ध्यान जाने उनको भनाइ थियो ।
प्रदेश सरकारले रारामा पर्यटकलाई आकर्षित गर्न ताल वरिपरि ४५ करोडको लागतमा साइकल लेनको निर्माण गरिरहेको छ ।
त्यसलाई समयमै सम्पन्न गर्न स्थानीय राजनीतिक दलहरूले खबरदारी गर्न पनि कँडेलले आग्रह गरे ।
उनले भने, ‘प्रदेश सरकारले रकम विनियोजन गरेपनि निर्माण व्यवसायीले समयमा काम सम्पन्न नगर्दा त्यसको अपजस सरकारले खेप्नुपरेको छ, तपाईँहरुले पनि समयमा सम्पन्न गर्नेतर्फ खबरदारी गर्नुहोला ।’
मुगुको छायानाथ मन्दिर, चंखेली हिमाललाई पर्यटकीय दृष्टिले उत्कृष्ट बनाउन तथा जडीबुटीको सम्भावनालाई सदुपयोग गर्न सरकारलाई सुझाव दिन पनि कँडेलले आग्रह गरे ।