आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
उपनिर्वाचन

स्थानीय तह उपनिर्वाचन : १२ स्थानमा जसपा नेपालको उम्मेदवारी

जोगाउला आफ्नो साख ?
बुधबार, ०५ मङ्सिर २०८१, २१ : ००
बुधबार, ०५ मङ्सिर २०८१

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले मंसिर १६ गते हुने स्थानीय तहको उपचुनावमा १२ स्थानमा उम्मेदवारी दिएको छ । उम्मेदवारी दिएका १२ मध्ये १० वडा अध्यक्ष पद, एक नगरप्रमुख र एक गाउँपालिला प्रमुख पदका लागि हो ।

उपनिर्वाचन हुन लागेका स्थानीय तहका ४४ पदमध्ये एउटामा यसअघि जसपा नेपालले जितेको थियो । रौतहटको गढीमाई नगरपालिका–८ मा जसपा नेपालबाट निर्वाचित वडाअध्यक्षको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।  

जसपा नेपालका प्रवक्ता मनिष सुमनले जहाँ संगठन छ, जहाँ जित्ने सम्भावना छ, त्यहाँमात्र उम्मेदवारी दिएको जनाए । उनले भने, ‘सबै ठाउँमा उम्मेदवारी दिएर काम छैन । हाम्रो जहाँ सम्भावना छ, त्यहाँमात्र उम्मेदवारी दिएका छौँ ।’

उपनिर्वाचनका लागि उम्मेदवारी दिएका १२ स्थानमध्ये अधिकांशमा जित्ने आफूहरूको लक्ष्य रहेको सुमनको भनाइ छ । उनले मधेस प्रदेशमा जसपा नेपालले उम्मेदवारी दिएका सबै ठाउँमा जित्ने दाबी गरे ।

त्यस्तै, मोरङको ग्रामथान गाउँपालिका र कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर एक पनि जित्ने उनको दाबी छ । उनले हेटौँडा महानगरको वडा नम्बर १२ मा पनि जसपा नेपालको अवस्था राम्रो रहेको बताए ।

उपनिर्वाचनमा जसपा नेपालको मुख्य प्रतिस्पर्धी कांग्रेस र एमाले नै रहने सुमनको भनाइ छ ।

यसअघि उम्मेदवारी नदिएको ठाउँमा पनि अहिले उम्मेदवारी

२०७९ को स्थानीय चुनावमा उम्मेदवारी नदिएको ठाउँमा पनि जसपा नेपालले उपनिर्वाचनका क्रममा उम्मेदवारी दिएको छ । कीर्तिपुर नगरपालिका र मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा जसपा नेपालले २०७९ को स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएको थिएन । तर ती दुवै ठाउँमा अहिले जसपा नेपालले उम्मेदवारी दिएको छ ।

त्यस्तै, ओखलढुंगाको मोलुङ्ग गाउँपालिका वडा नम्बर ५ पनि जसपा नेपालको उम्मेदवारी दिएको छ, जहाँ २०७९ को निर्वाचनमा उसले उम्मेदवारी दिएको थिए ।

रौतहटको ईशनाथ नगरपालिका वडा नं ७, हेटौंडा उपमहानगरपालिका वडा नं  १२ र कीर्तिपुर वडा नं ४ को अध्यक्षमा अघिल्लो निर्वाचनमा उम्मेदवारी नदिए पनि जसपा नेपालले यो पटक उम्मेदवार खडा गरेको छ । यी ठाउँमा जित्ने अवस्था देखेरै उम्मेदवारी दिन लगाएको प्रवक्ता सुमनले दाबी गरे ।

कहाँ कहाँ दिएको छ उम्मेदवारी ?

जसपा नेपालले कीर्तिपुर नगरपालिका प्रमुखमा दीपक महर्जनलाई उम्मेदवार बनाएको छ । २०७९ मा भएको चुनावमा जसपा नेपालले कीर्तिपुर नगर प्रमुखमा उम्मेदवारी दिएको थिएन । यसपटक पार्टी विभाजन भए पनि कीर्तिपुर नगरपालिकामा जसपा नेपालले उम्मेदवारी दिएको हो ।

त्यस्तै मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा जसपा नेपालबाट सुरेशकुमार राजवंशी उम्मेदवार बनेका छन् । ओखलढुंगा मोलुङ्ग गाउँपालिका वडा नंं ५ को अध्यक्षमा इन्द्रबहादुर दर्जी, सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं १ को अध्यक्षमा धिरेन्द्र कुमार साह, डाक्नेश्वरी वडा नं ४ को अध्यक्षमा देवेन्द्रप्रसाद यादव, धनुषाको धनुषाधाम नगरपालिका वडा नं १ को अध्यक्षमा अजयकुमार यादवलाई जसपा नेपालले उम्मेदवार बनाएको छ ।

यसैगरी महोत्तरीको रामगोपालपुर वडा नं २ को अध्यक्षमा मो. नजामुद्दिन खान, रौतहटको ईशनाथ नगरपालिका वडा नं ७ को अध्यक्ष पदमा शेख अब्दुल अहद, रौतहटको गढीमाई नगरपालिका वडा नं ८ को अध्यक्ष पदमा सन्देशप्रसाद यादव, काठमाडौंको कीर्तिपुर नगरपालिका वडा नं ४ को अध्यक्ष पदमा राजीव महर्जन, हेटौंडा उपमहानगरपालिका वडा नं  १२ को अध्यक्ष पदमा छविलाल वाइवा र कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं १ को अध्यक्ष पदमा रामबहादुर कुर्मी चौधरीले उम्मेदवारी दिएका छन् ।

२०७९ को निर्वाचनमा जसपाको शक्ति कति ?

२०७९ को स्थानीय चुनावमा जसपा नेपालले विभिन्न पद गरी ४५५ स्थानमा चुनाव जितेको थियो । त्यसमध्ये कोशीमा अध्यक्षमा दुई, उपाध्यक्षमा दुई, वडाध्यक्षमा २०, महिला सदस्यमा १९, दलित महिला सदस्यमा २४, वडा सदस्यमा ४५ जना निर्वाचित भएका थिए ।

मधेस प्रदेशमा जसपा नेपालबाट प्रमुखमा सात, अध्यक्षमा १७, उपप्रमुखमा नौ, उपाध्यक्षमा १६, वडाध्यक्षमा २१२, महिला सदस्यमा २१६, दलित महिला सदस्यमा २१३, वडा सदस्यमा ४३१ जना निर्वाचित भएका थिए । बागमती प्रदेशमा वडा अध्यक्षमा एक र सदस्यमा दुई जना जसपा नेपालबाट निर्वाचित भएका थिए ।

गण्डकी प्रदेशमा जसपा नेपालबाट वडा सदस्य तीन, महिला सदस्य तीन, दलित महिला सदस्य तीन, खुला सदस्यमा ६ जना विजयी भएका थिए । त्यस्तै, लुम्बिनी प्रदेशबाट प्रमुख एक, अध्यक्ष दुई, उपप्रमुख दुई, उपाध्यक्ष एक, वडाध्यक्ष ४२, महिला सदस्य ३९, दलित महिला सदस्य ३६ र खुला सदस्य ७२ जना जसपा नेपालबाट निर्वाचित भएका थिए ।

सुदूरपश्चिम प्रदेशमा जसपा नेपालबाट वडाध्यक्ष दुई, महिला सदस्य तीन, दलित महिला सदस्य दुई, वडा सदस्य दुई जना निर्वाचित भएका थिए ।

२०७९ मा भएको स्थानीय चुनावमा सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ को अध्यक्षमा जसपा नेपालबाट लक्ष्मण देव साहले उम्मेदवारी दिएका थिए । उनले ४३८ मत ल्याएर तेस्रो स्थान हासिल गरेका थिए ।

त्यतिबेला वडा अध्यक्षमा कांग्रेसका प्रितमलाल चौधरी ५३५ मत ल्याएर निर्वाचित हुँदा एमालेका धिरेन्द्रकुमार साह दोस्रो स्थानमा रहेका थिए ।

सोही गाउँपालिको वडा नम्बर ४ मा पनि कांग्रेसले जितेको थियो भने जसपा नेपाल दोस्रो स्थानमा सीमित रहेको थियो । कांग्रेसका हरिप्रसाद राय ३३३ मतका साथ विजयी हुँदा जसपा नेपालका महेन्द्र यादव २६९ मत ल्याएर दोस्रो भएका थिए ।

धनुषाको धनुषाधाम नगरपालिका वडा नं १ को अध्यक्षमा कांग्रेसका विश्वनाथ यादव ६१८ मत ल्याएर विजयी हुँदा जसपा नेपालका देवनारायण यादव ३२५ मत ल्याएर चौथो स्थानमा रहेका थिए । आसन्न उपनिर्वाचनमा जसपा नेपालले यहाँ अजय यादवलाई उम्मेदवार बनाएको छ ।

महोत्तरीको रामगोपाल वडा नम्बर २ को अध्यक्षमा माओवादीबाट मुकेश यादवले ४३३ मत ल्याएर विजयी हुँदा जसपा नेपालका सकिबुल खाँ ३४२ मत ल्याएर तेस्रो स्थानमा रहे । दोस्रो स्थानमा कांग्रेसका जानिफ खाँ रहेका थिए । जसपा नेपालले यो उपचुनावमा मो. नजामुद्दिन खानलाई यहाँ उम्मेदवार बनाएको छ ।

रौतहटको गढीमाई नगरपालिका वडा नं ८ को अध्यक्षमा यसअघि जसपा नेपालकै रामाज्ञा राय यादव ७६४ मत ल्याएर निर्वाचित भएका थिए । उनको निधन भएपछि अहिले त्यहाँ उपचुनाव हुन लागेको हो । तर रामाज्ञा यादवकी श्रीमती जितनी यादव एमालेबाट उम्मेदवार बनेकी छन् । जसपा नेपालले सन्देशप्रसाद यादवलाई उम्मेदवार बनाएको छ । अघिल्लो निर्वाचनमा यहाँ नेपाली कांग्रेस ५६१ मतका साथ दोस्रो स्थानमा थियो ।

त्यस्तै शुद्धोधन गाउँपालिका वडा नं १ मा जसपा नेपालले रामबहादुर कुर्मी चौधरीलाई उम्मेदवार बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप