रास्वपाको विडम्बना : रविकै वरिपरि रूमल्लिँदा उपनिर्वाचनसहित महत्त्वपूर्ण एजेन्डा छायाँमा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको वरिपरि घुम्दा पार्टीका अन्य महत्त्वपूर्ण एजेन्डा छायाँमा परेका छन् । सहकारीको बचत हिनामिना सम्बन्धी संसदीय छानबिन विशेष समितिले तयार पारेको प्रतिवेदनको आधारमा सभापति लामिछाने प्रहरी हिरासतमा छन् । सोही कारण सिङ्गो पार्टी पङ्क्ति उनको बचाउमा लाग्दा उपनिर्वाचन, संगठन विस्तार, महाधिवेशन केन्द्रित गतिविधि लगायतका विषय ओझेलमा परेका छन् ।
यतिबेला रास्वपाको देखिने प्राथमिकतामा सडक आन्दोलन छ । यही मंसिर ८ देखि सडक संघर्षमा निस्कने घोषणा पार्टीले गरिसकेको छ ।
‘सभापतिज्यूलाई हिरासतमा पुर्याएपछि हामी आत्तिएको सत्य हो,’ रास्वपाका एक नेताले रातोपाटीसँग भने, ‘हामीले पार्टीभित्र प्रणाली बनाउन सकेकै रहेनछौँ । त्यसैले सभापतिकै विषयमा हामी रूमल्लिएका छौँ ।’
स्थापनाको छोटो समयमै २१ सिटसहित संसद्को चौथो ठुलो दल बनेको रास्वपा जुन रफ्तारमा उदायो, उही गतिमा अगाडिको राजनीतिक मार्गचित्र भने कोर्न सकेन ।
यतिसम्म कि इलाम उपनिर्वाचनबाट झस्किएको रास्वपाले मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनमा पनि उम्मेदवार उठाउनै सकेन । पार्टीले प्रत्यक्ष जितेको ७ मध्ये ४ सिट काठमाडौँ जिल्लाबाटै हो । तर, काठमाडौँकै कीर्तिपुर नगरपालिकामा पार्टीले उम्मेदवार फेला पार्नै सकेन । रास्वपाको प्राथमिक एजेन्डा सभापति लामिछाने मात्र हुन् भन्ने यसले पनि देखिन्छ । उनी नहुँदा पार्टी अहिले ‘रानो हराएको माहुरी’ बन्न पुगेको छ ।
उपनिर्वाचनको मुखमा उम्मेदवार जिताउने अभियानमा सिङ्गो पार्टी होमिनुभन्दा पनि सडक आन्दोलनको रूपरेखा कोर्न लागिपरेको छ । निर्वाचन आउन केही दिनमात्र बाँकी रहँदा उम्मेदवार उठाएको स्थानीय तहमा पुगेर जितको माहोल बनाउन केन्द्रीय नेताहरू लाग्नुभन्दा पनि पोखरा, बुटवल, काठमाडौँ आउजाउ तथा हिरासतमा रहेका सभापतिसँग रणनीतिक छलफल गर्न व्यस्त छन् ।
यतिमात्र होइन, पोखरामा प्रहरी हिरासतमा रहेका सभापति लामिछानेको निर्देशन र एजेन्डा बमोजिम केन्द्रीयदेखि लिएर अन्य संरचनात्मक बैठक बस्ने र ‘सडक तताउने’ ध्येयमा पार्टी छ । ४४ पदमा (जिल्ला समन्वय सहित) हुने उपनिर्वाचनमा अधिक स्थान जितेर ‘ग्रास रूट’बाटै पार्टी स्थापित गराउन अघि बढ्नुपर्ने समयमा रास्वपाको ध्येय भने ‘व्यक्तिवाद’ केन्द्रित छ । जुनसुकै मूल्य चुकाएर भए पनि सभापति लामिछानेको पक्षमा निरन्तर लाग्नेमात्र ‘बिजनेस’ रास्वपाले बनाएको रास्वपाकै नेता–कार्यकर्ता बताउँछन् ।
काठमाडौँ क्षेत्र नम्बर ५ बाट रास्वपाको टिकट लिएर २०७९ को प्रतिनिधि सभा निर्वाचन लडेका नेता डा.प्रणय शम्शेर राणा पार्टीको पछिल्लो गतिविधिप्रति असन्तुष्टि पोख्छन् । सामाजिक सञ्जाल ‘एक्स’मा लेख्दै उनले ४ सांसद जितेको काठमाडौँ मै पूरा उम्मेदवारी नभएको विषयमा असन्तुष्टि जनाएका छन् । विभिन्न बहानाबाजीमा नलागी केन्द्रीय पदाधिकारी तथा सदस्यहरूसमक्ष पार्टीलाई नियमित कर्मतर्फ फर्काउने काममा लाग्न उनले अनुरोध गरेका छन् ।
‘विभिन्न बहानाबाजीमा पार्टी स्थापनाको २ वर्ष हुँदासम्म पनि अधिवेशन नगर्नुको उपज हो यो सबै । कहिले संगठन चाहिन्न भन्दियो, कहिले क्षेत्र खारेज ! असर त प¥यो नि, हैन ?,’ राणाले लेखेका छन्, ‘अहिले पनि नियमित काम ठप्प परेर वैशाखमा केन्द्रीय अधिवेशन सम्पन्न हुन्छ ? केही त ढंगले गरौँ !’
उनले पार्टी नियमित पार्टी क्रियाकलापमा कहिले फर्किने भन्दै सामाजिक सञ्जालमा प्रश्न गरेका छन् । उनको प्रश्न आफैँमा पार्टी रवि लामिछानेलाई बचाउ गर्नभन्दा माथि उठ्न नसकेको प्रमाण हो ।
राजनीतिक वृत्त, सामाजिक सञ्जाल तथा चिया पसलसम्म रास्वपा भनेको ‘रविको एकल ब्रान्ड’ भन्ने बहस चल्ने गर्दछ । राप्रपा आफैँले देखाएको व्यवहारले पनि यसलाई थप पुष्टि गर्ने आधार उपलब्ध गराएको छ । दोहोरो नागरिकताको विषयमा सभापति लामिछानेले गृहमन्त्री पद गुमाउँदा रास्वपा सरकारबाट बाहिरिएको घटनाक्रमले होस् वा पुनः लामिछानेले गृहमन्त्री नपाउँदा रास्वपाका कोही पनि सरकारमा नजाने भन्ने अडान होस्, ‘रास्वपा अर्थात् रविको एक्लो ट्रेडमार्क’ भन्ने आधार बनाएको थियो ।
त्यसमाथि स्थानीय तहको उपनिर्वाचन लडाउन कीर्तिपुर लगायत अन्य स्थानीय तहमा उम्मेदवारसमेत नपाउने वातावरण बन्दा रास्वपा राजनीतिक दल बन्नभन्दा पनि सभापति लामिछानेलाई बचाउनमात्र चिन्तित भएको देखियो । जसलाई रास्वपाको अर्का एक नेता स्वीकार गर्छन् ।
‘हामीले गल्तीबाट सिक्न सकेनौँ । बन्दै गरेको दलमाथि प्रहार हुन्छ भन्ने राजनीतिक चेतना हामीमा कमी भएकै हो,’ ती नेताले भने, ‘हामी राजनीतिक प्रणाली विकसित गर्ने र दल बन्नेभन्दा पनि अन्य विषयमा रूमल्लिएको स्वीकार गर्नै पर्छ ।’
उपनिर्वाचनका लागि कमन्डारको जिम्मेवारी पाएका केन्द्रीय सदस्य तथा सांसद गणेश पराजुली भने पार्टीको संयन्त्र नबनेको ठाउँमा उम्मेदवार उठाउने कुरा सहज नहुने बताउँछन् । पार्टी महाधिवेशनको तयारीसहित संगठन विस्तारमा लागेको भन्दै पार्टीभित्रकै फरक मतलाई पनि सम्मान गर्नुपर्ने उनको भनाइ छ ।
‘यो उपनिर्वाचन हो र यसका सीमितता छन् । पार्टीको चुनावी रणनीति आफ्नै हुन्छ र आफ्नो शक्ति, संगठनको आधारमा उम्मेदवारी दिने हो । कीर्तिपुरमा उम्मेदवार नउठाएको सत्य हो,’ पराजुलीले भने, ‘यसमा अन्यथा लिनु पर्दैन । पार्टीभित्र सबैलाई बोल्ने छुट छ तर, बोल्ने जति सबै निर्णय प्रक्रियामा समावेश नहुने भएकाले उहाँहरूलाई फरक लाग्नु सामान्य हो ।’
संसदीय छानबिन समितिले सहकारीको पैसा मिडियामा ल्याउन नभइ सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा आएको पैसा खर्च गर्नमा जीवी राई, छविलाल जोशीसहित रवि लामिछाने पनि दोषी देखिएको उल्लेख गरेको छ । समितिले यी तीनै जनालाई कारबाहीको सिफारिससमेत गरेको छ ।
सोही प्रतिवेदनको आधारमा पहिले जोशी, त्यसपछि लामिछाने पक्राउ परेका हुन् । रविलाई पोखरामा बयान लिएर बुटवल पु¥याइ त्यहाँ पनि बयान लिइएको छ । हाल सभापति लामिछाने कास्की प्रहरीको हिरासतमा छन् ।
सहकारीको प्रतिवेदन बनेपछि रास्वपाले सभापति लामिछानेले क्लिन चिट पाएको भन्दै खुसियाली मनाएको थियो । सभापति लामिछाने पक्राउ परेपछि रास्वपाले यसलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै सडक संघर्षको बाटो रोजेको छ । त्यसैले पनि रास्वपा भनेको रविमात्र भन्ने भाष्य स्थापित गर्न खोजिएको धेरैको बुझाइ छ ।
संसदीय दलका उपनेतासमेत रहेका रास्वपा शीर्ष नेता विराजभक्त श्रेष्ठ राज्यसंयन्त्रले पूर्वउपप्रधानमन्त्री भइसकेका तथा चौथो ठुलो दलको सभापतिमात्र नभएर संसदीय दलको नेतालाई प्रतिशोधपूर्ण तरिकाले हिरासतमा लिएपश्चात् क्रिया प्रतिक्रियाको रूपमा लिनुपर्ने बताउँछन् । सभापति लामिछाने पक्राउ परेपछि सुरूवातका दिनमा एकमात्र एजेन्डा सभापतिमात्र बनाए पनि त्यसपश्चात् पार्टी विस्तारै अन्य राजनीतिक एजेन्डा र कार्यदिशामा अघि बढिसकेको उनको भनाइ छ ।
‘सभापतिज्यूलाई राज्यले प्रतिशोध साँधेपछि सुरूको समयमा उहाँको रिहाइ एकमात्र प्राथमिकता थियो । तर, सभापति पक्राउ परेपश्चात् बसेको पहिलो केन्द्रीय समिति बैठकपश्चात् पार्टीले आफ्नो अन्य एजेन्डा र काम नियमित गरिरहेको छ,’ श्रेष्ठले भने, ‘जिल्ला भेला भएको छ । गुण–दोष जे जस्तो भए पनि उपनिर्वाचन परिचालन समिति बनेर त्यसले काम गरेको छ । पार्टीले सरकारविरूद्ध खबरदारी पनि गरिरहेको छ ।’
रास्वपाले सभापति लामिछानेलाई हिरासत बाहिर ल्याउन चाहेको छ । लामिछानेले प्रमाण नष्ट नगर्ने, भागेर कतै नजाने तथा थप फौजदारी मुद्दा लाग्ने घटना नघटाउने भएकाले पनि उनलाई हिरासत मुक्त गर्न उसले माग गर्दै आएको छ ।
सांसद तथा केन्द्रीय सदस्य गणेश पराजुली पनि राज्यको चौथो ठुलो शक्तिका सभापतिलाई गल्ती नै नभइ जबरजस्ती फसाएर राजनीतिक प्रतिशोध साँधेपछि जनताको पक्षबाट त्यसको विरूद्धमा लड्न सडकमै उपस्थित हुनुपरेको तर्क गर्छन् । स्थानीय तह उपनिर्वाचनमा पनि ४४ मध्ये २७ पदमा उम्मेदवार उठाएको भन्दै उनी विरोधीहरूले कसरी रास्वपा कमजोर बनाउन सकिन्छ भनेर गलत भाष्य र प्रचार गरिरहेको बताउँछन् ।
‘सभापतिलाई बचाउनमात्र लाग्यो, अन्य एजेन्डा र क्रियाकलापमा ध्यान दिएन भनेर अपव्याख्या गर्नु भनेको विरोधीहरूले हाम्रो विषयमा भ्रम छरेका हुन् । सत्य के भने रास्वपा सडकबाट यो भ्रष्ट सरकारको खबरदारी गर्ने काममा छ,’ पराजुलीले भने, ‘जनताको आवाज, निर्वाचन क्षेत्रको विषय तथा संसदीय गतिविधिमा उत्तिकै सक्रिय छ । अहिले तपाईंसँग कुरा गर्दै म सिंहदरबार समिति बैठकमा पुग्दैछु ।’
पार्टीभित्र र बाहिर सभापति लामिछानेलाई हिरासत मुक्त गर्नुपर्ने दबाबमा रास्वपाका शीर्ष नेताहरू छन् । विशेषगरी उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेलाई केन्द्रीय समितिले जिम्मेवारी दिएर आन्दोलन र संवाद समिति संयोजक बनाएको छ । तर, उनीहरूले निरीह भएर पत्रकार सम्मेलनमा ‘प्रधानमन्त्रीले ५ मिनेट पनि भेटको समय नदिएको’ गुनासो गरे । त्यसमाथि केन्द्रीय समिति बैठकमा आफ्नै कार्यकर्ता पुगेर रविलाई प्रहरीको हिरासतबाट बाहिर निकाल्न नसके पद छाड्न दबाब दिएपछि पार्टी पङ्क्ति थप दबाबमा रहेको एक नेता बताउँछन् ।
‘राजनीतिक संवादले मात्र अहिले अवस्था पार नलाग्न सक्छ । दबाब हामीलाई छ,’ ती नेताको तर्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्साइडर ट्रेडिङविरुद्ध बोर्डको ‘एक्सन’पछि सकारात्मक छैन सेयर बजार
-
थोरै सङ्ख्यामा पशु पालेरै मासिक एक लाख बढी आम्दानी
-
रवि लामिछानेविरुद्ध आज अभियोग पत्र दर्ता गरिने
-
मुग्लिङ–नौबिसे सडक आजदेखि दिउँसो ३ घण्टा बन्द हुने
-
दुई जिल्ला कार्यक्षेत्र भएको कार्यालयमा एकमात्र कर्मचारी
-
संसारभर महिलाहरूको अधिकार कसरी खोसिँदै छ ?