आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
प्रथम महिला भिडियो श्रृङ्खला

‘राष्ट्रिय विभूति सीता’ : कष्टै कष्टमा जीवन बिताएकी आदर्श नारीको कथा

बुधबार, ०५ मङ्सिर २०८१

काठमाडौँ । रातोपाटीमा आजदेखि ‘प्रथम महिला’ भिडियो शृङ्खला प्रसारण सुरु भएको छ ।  राष्ट्रिय विभूति सीताको जीवनकथाको महत्त्वपूर्ण पाटोलाई हामीले यस शृंखलामा प्रस्तुत गरेका छौँ ।

जगज्जननी सीता
जन्मकाल : त्रेतायुग/वैशाख शुक्ल नवमी

जन्मस्थान : जनकपुर
माता : अयोनिजा/सुनयना
पिता : राजर्षि जनक

नेपालको विकासमा पुरुषसरह महिलाको पनि ठुलो योगदान छ । नेपाली महिलाले परापूर्वकालदेखि विविध क्षेत्रमा विशिष्ट योगदान गर्दै आएका छन् । 

राजनीतिक, दार्शनिक, सांस्कृतिक, सामाजिक लगायत ज्ञान, विज्ञान, प्रविधि, कूटनीति, निजामती, प्रहरी, सेना, खेलकुद, यातायात आदि फाँटमा नेपाली महिलाले पुर्‍याउँदै आएको देन अविस्मरणीय छ । परापूर्वकालदेखि डिजिटल युग अझ भन्ने हो भने आजको एआईको अर्थात् ‘आर्टिफिसियल इन्टेलिजेन्स’ युगसम्म नेपाली महिलाको अग्रगामिता प्रशंसनीय तथा अनुकरणीय छन् । 

यो कार्यक्रम तिनै नेपाली महिलाहरूप्रति समर्पित छ, जसले चुनौतीका अनेक पहाड छिचोल्दै अभूतपूर्व उपलब्धि हासिल गर्दै गरेका छन् । आधा आकाश र आधा धर्तिका रूपमा रहेका महिलाहरूको प्रतिनिधित्व गर्ने यस कार्यक्रमको नाम ‘प्रथम नेपाली महिला’ राखेका छौँ । र, एक वर्ष चल्ने यस शृङ्खलामा पचास अग्रणी महिलाका कथा समेट्नेछौँ । 

कार्यक्रममा प्रथम नेपाली महिलाका अपूर्व उत्साह, सक्रियता, सीप, कला, प्रगति, सफलता तथा प्रशन्नताका पाटाहरू खोतल्नेछौँ । साथसाथै तत्कालीन बाधा, अडचन, उत्पीडन, अन्योल, बेथिति र सङ्घर्ष एवं आन्दोलनका पाटा पनि यहाँहरू माझ पस्कनेछौँ । 

समय क्रममा, नेपाली महिलाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्मा समेत खेल्दै आएको भूमिका नेपाली महिलाका लागि मात्रै होइन, पुरुषका लागि पनि उत्तिकै प्रेरणादायी छन् । कार्यक्रममा इतिहास र वर्तमान अनि धर्म–संस्कृति, विज्ञान प्रविधि, हिजो र आजलाई समग्रतामा ल्याउने प्रयास गर्नेर्छौँ । 

‘प्रथम नेपाली महिला’ शृङ्खलाको पहिलो एपिसोड संसारभर ‘जगत् जननी’ का रूपमा पुजिंदै आएकी, नेपालकी छोरी सीतामाथि केन्द्रित छ । 

थरीथरी रामायणमा सीता

नेपालकी ‘राष्ट्रिय विभूति सीता’ नाममै गरिमामयी ओज छ ।सीताको जन्म तथा अन्त्य दुवै रहस्यमय, रोचक, मार्मिक तथा अर्थपूर्ण छन् ।  सीताका सम्बन्धमा सबै पुराणमा एकै प्रकारका कथा छैनन् । थरीथरीका रामायणमा पनि प्रकारान्तर प्रसङ्ग छन् । 

त्यसैले ‘राष्ट्रिय विभूति सीता’ बुझ्न पुराण एवं इतिहासतिर फर्कनुपर्छ । आदर्श नारीको कतै कुरो चल्यो र त्यसमा सीताको नाम आएन भने त्यो चर्चा अधुरै हुन्छ । 

सतीसाध्वी नारीको इतिहासमा सीताको नाम देखिएन भने त्यो इतिहासप्रति नै शङ्का गर्नुपर्ने हुन्छ । आदर्श पत्नी, आदर्श माता, आदर्श भाउजु, आदर्श बुहारी र आदर्श महारानीका रूपमा सीता सदैव उदाहरणीय बनेकी छिन् । 

यिनै आदर्श, सच्चरित्रता, सतीत्व, नारीत्व, मातृवात्सल्य, प्रजावत्सल, धैर्य, सहनशीलता आदिका कारण सीता जगज्जननीका रूपमा संसारभरि पूजित छिन् । 

सीता भगवान् कहलाएका मर्यादापुरूषोत्तम रामकी पत्नी हुन् ।उनी धर्मानुरागी, आदर्शराजा दशरथकी बुहारी हुन् ।

साथै राजर्षि, विद्वान् राजा जनककी छोरी हुन् । सीता नेपालभूमिकी सौरभ हुन् ।र, पतितपावन नित्य स्मरणीय देवी हुन् । सीता यसै भूमिकी सुवास भएकीले उनलाई नेपालको राष्ट्रिय विभूति मानिएको हो ।

प्रथम नेपाली महिलाका सन्दर्भमा उनी नेपालकी पौराणिक प्रथम नेपाली महिला विभूति हुन् । आदर्शनारी सीताको जन्म र अन्त्य दुवै रहस्यमय, रोचक, मार्मिक तथा अर्थपूर्ण छन् । ‘सीता’ शब्दमै उनको जन्मकथा रहेको छ ।

जन्मकथा

शब्दकोशमा संस्कृतशब्द ‘सीता’को अर्थ अनेक देखिए तापनि सारतत्वमा अन्तर भेटिँदैन । सीताको अर्थ– जोत्दा जमिनमा परेका हलाको डोब, जोतिएको जमिन, हलोको फालीबाट धर्तीमा बन्ने रेखा आदि छन् । 

सीताको जन्मसन्दर्भ पनि यस्तै छ । राजर्षि जनकले यज्ञस्थल तयार पार्न हलो चलाउँदा त्यही धर्तीबाट सीता प्रकट भएको कथा छ । 

सीताको जन्मसम्बन्धमा पुराण आदि ग्रन्थमा एकरूपता छैन । वाल्मीकि रामायण, आनन्द रामायण, अद्भुत रामायण, देवी भागवत आदि विभिन्न ग्रन्थमा फरक–फरक वर्णन पाइन्छ । 

देवी भागवत अनुसार लङ्काधिपति रावणले आफ्नो पहिलो सन्तान (कन्या) लाई सन्दुकमा बन्द गरेर धर्तीमा गाडिदिएको थियो र त्यो थलो यही जनकपुर हो । 

मय राक्षसकी छोरी मन्दोदरीसँग विवाह गर्ने बेलामै रावणले पहिलो सन्तानबाट वंशै समाप्त हुने सुनेका कारण जन्मिनासाथ कन्यालाई गाडिदिएको थियो । 

अद्भुत रामायणका अनुसार चाहिँ त्यतिखेर रावणको अत्याचार बढेको थियो । ऋषि, तपस्वीलाई रावण असाध्यै कष्ट दिन्थ्यो । तपस्यारत ऋषिलाई वाणले घोँच्दै रगत झिकेर घैँटामा भथ्र्यो । त्यतिखेर गृत्समद ऋषि पनि त्यहीँ तपस्या गरिरहेका थिए ।

र उनी सधैँ कुशको अग्रभागबाट निस्किएका दूध घैँटामा जम्मा गर्थे । यो थाहा पाएपछि रावणले घैँटो चोरी त्यहाँको दूध आफ्नै घैँटामा भरेको थियो । रावणबाट वाक्किएकी मन्दोदरीले आत्महत्याको उद्देश्यले त्यही रगत मिसिएको दूध खाइदिइन् । 

मन्दोदरी त मरिनन्, तर त्यसबाट गर्भ रहन पुग्यो । यस गर्भलाई उनले जमिनमुनि गाडिदिएकी थिइन् । राजा जनकले हलो चलाउँदा त्यहीँ सीता फेला पारेका हुन् भन्ने मान्यता छ । 

आनन्द रामायणका अनुसार मिथिलाभूमिमा एक ब्राह्मणले सन्दुक फेला पारी राजा जनकलाई सुम्पिएका थिए ।

त्यसभित्र कन्या भएकीले उसको पालनपोषण राजा जनकबाट हुनपुग्यो । मिथिलाको जमिनमा सन्दुक गाड्ने काम रावणबाट भएको थियो । 

गाड्दाखेरि नै सीताले रावणलाई श्राप दिँदै भनेकी थिइन्— ‘म फेरि लङ्का आई तँलाई र तेरो वंशलाई सखाप पार्नेछु ।’ सोही रामायणका अनुसार भगवान् विष्णुद्वारा दिइएको महालिङ्गबाट निस्किएकी ‘पद्मा’ राजा पद्माक्षकी छोरी हुन् । 

पद्माको विवाहका निम्ति आयोजित स्वयम्वर समारोहमा दैत्यले तँछाडमछाड गर्दै कोलाहल मच्चाएका कारण उनी आगोमा विलीन भएकी थिइन् ।केही समयपछि अग्निकुण्डबाट निस्किँदा उनीमाथि रावणको कुदृष्टि परेको र उसले पछ्याउँदै आएकाले फेरि आगोमै हराएकी थिइन् । 

तर रावणले अग्निकुण्ड समेत भत्काउन लगायो, त्यहाँ पञ्चरत्न हात पार्‍यो । सन्दुकमा राखिएको पञ्चरत्नमा मन्दोदरीले कन्याका रूपमा पद्मालाई देखेकी थिइन् । यो थाहा पाएपछि रावणले जमिनमा सन्दुक बन्द गरेर गाडिदिएको हो भने त्यही गाड्ने बेलामा पद्मा अर्थात् सीताले उक्त श्राप दिएकी हुन् । 

सीताको जन्म सम्बन्धमा विभिन्न कथा रहे तापनि ती सबैको सम्बन्ध विदेह अर्थात् जनकपुरको प्राचीननाम क्षेत्र र राजर्षि जनकसँग छ । नेपालका राष्ट्रिय विभूतिमध्ये एक राजर्षि जनक ह्रस्वरोमाका पुत्र हुन् । उनको पुराणप्रसिद्ध नाम सीरध्वज हो, कुशध्वज चाहिँ उनका भाइ हुन् । 

सीरध्वज नामले पनि सीतासँगको सम्बद्धता देखाउँछ, किनभने सीरको अर्थ हलो हुन्छ । राजा जनकको झन्डामा हलो चिह्न रहेकाले उनको नाम सीरध्वज भएको हो । यज्ञका लागि जमिन जोत्दा फालीको टुप्पाका कारण सीता प्रकट भएकीले जनकको नाम सीरध्वज हुनपुगेको भनाइ पनि छ ।

राजा जनककी छोरी भएकीले सीताको नाम ‘जानकी’ पनि हो । विदेहकी महिला भएकीले उनलाई ‘वैदेही’ पनि भनियो । जनककी पत्नी सुनयना उनकी आमा हुन् । 

शिवधनु र विवाह

राजा जनकले सीताको विलक्षण शक्ति बाल्यकालमै अनुभव गरेका थिए । वीरहरूले समेत उचाल्न कठिन शिवधनुलाई सीता पूजाकोठाको सफाइका क्रममा सजिलै एक ठाउँबाट अर्को ठाउँमा सार्ने गर्थिन् । यही देखेर उनको योग्य वर प्राप्तिका लागि जनकले स्वयम्वरमा शिवधनुमा ताँदो चढाउन सक्नेलाई छोरी दिने वाचा गरेका थिए । 

स्वयम्बरका बेला विभिन्न मुलुकबाट राजा तथा राजकुमार आए । स्वयम्बरमा सहभागी हुन राजा रावण पनि आएको थियो । शिवधनुमा ताँदो चढाउनु त परै जाओस्, कसैले हल्लाउन समेत सकेनन् ।

तर, दशरथपुत्र रामले चाहिँ उचाल्नासाथ शिवधनु भाँचिन पुग्यो ।  माइतीमा जनक र सुनयनाकी प्यारी छोरी सीता विवाहपछि सासू, ससुरा, देवर आदि सबैको मन जित्न सफल भएकी थिइन् । 

सीताकी बहिनी उर्मिला, माण्डवी र श्रुतकीर्ति पनि एउटै दरबारमा लक्ष्मण, भरत र शत्रुध्नसँग विवाह भई आए । राजा जनककी सानी छोरी उर्मिलाको विवाह लक्ष्मणसित, राजा जनकका भाइ कुशध्वजका छोरी माण्डवी र श्रुतकीर्तिको विवाह क्रमशः भरत तथा शत्रुघ्नसँग भयो । चारै दाजुभाइको विवाह एउटै लगनमा भएको थियो । 

कष्टका दिनमा धैर्य

रानी कैकेयीसँग वचन हारेका राजा दशरथको आज्ञा अनुसार राम १४ वर्ष वनवास जाँदा सीता सँगै थिइन्, साथमा जिद्दी गरी लक्ष्मण पनि गएका थिए । सीताले ऋषि अत्रिका आश्रममा छँदा सती अनसूयासँग पातिव्रत्य धर्मको उपदेश पाएकी थिइन् । 

वनमा लक्ष्मणद्वारा नाक काटिएपछि रिसाएकी शूर्पणखाले राम, लक्ष्मणलाई मार्न खर, दूषण र त्रिशिराको १४ हजार सैनिक ल्याएकी थिई तर, रामले सबैलाई परास्त गरिदिए । 

यसपछि ऊ दाजु रावणलाई गुहार्न पुगी । रावण मौका छोपिरहेको थियो । एकदिन राम वनमा अलि पर गएका बेला छल गर्दै ‘मारिच’ले रामको स्वर निकाली लक्ष्मणलाई पुकार्‍यो । त्यो सुनी विह्वल हुँदै सीताले लक्ष्मणलाई कर गरी त्यता पठाइन् । 

यही बेलाको प्रतीक्षामा रावण थियो । जोगीको भेषमा आएको रावणले लक्ष्मणद्वारा बनाइएको रेखा अर्थात् लक्ष्मणरेखा पार गरेर आएमात्रै भिक्षा लिने बतायो । 

सीताले त्यसो गर्दा रावणको फन्दामा पर्न पुगिन् । आकाशमार्ग हुँदै जटायुलाई घाइते पारी रावणले सीतालाई आफ्नो अशोक वाटिकामा राखी दिनहुँ फकाइ, फुलाइ तथा डर, धाक, त्रास देखाउन थाल्यो ।

तर, सीता उसका अगाडि कहिल्यै झुकिनन् । त्यहाँ सीतालाई मन्दोदरी र त्रिजटाको कोमल बोलीले केही राहत दिएको थियो । उता राम, लक्ष्मण सीताको खोजीमा भौँतारिँदै सुग्रीवसँग मितेरी लगाई वानर सेना तयार गरेर अघि बढिरहेका थिए । 

यही सिलसिलामा रामद्वारा पठाइएका हनुमान त्यहाँ आइपुग्छन् । सीता सतीसाध्वी भएकीले उनको पीठमा बसेर पतिछेउ पुग्ने इच्छा राखिनन् । राक्षसले पुच्छरमा आगो लगाइदिएपछि हनुमानले लङ्कादहन गरिदिए । रामको सेना समुद्र तरेर लङ्का पुग्यो र भीषण युद्ध भयो । यस युद्धमा मेघनाद, कुम्भकर्ण, रावण आदि मारिए । 

सन्त स्वभावका विभीषण लङ्काका राजा बनाइए । सीता रावणको कब्जामा रहेकीले रामले सहजै स्वीकार्न मानेनन् । त्यसपछि अग्निपरीक्षा भयो, उनी निष्कलङ्क ठहरिइन् । अनि आफ्ना पतिका साथ पुष्पक विमानबाट अयोध्या फर्किइन् । अयोध्यामा पनि लोकापवादले घेर्‍यो । 

राजा रामले सीतालाई फेरि वनमा पठाइदिए । त्यतिखेर सीता गर्भवती थिइन् । वनमा मूच्र्छित सीतालाई महर्षि वाल्मीकिले आफ्नो आश्रममा आश्रय दिए । वाल्मीकिको आश्रम पनि नेपाली धर्तीमै हुनु यतिखेर सुखद सन्दर्भ बनेको छ । हाल वाल्मीकि आश्रम चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्छ । 

सीताका छोरा लव र कुश यहीँ जन्मिए, हुर्किए र शिक्षा, दीक्षादिले सम्पन्न भए । महर्षि वाल्मीकिले भक्तपुरको हनुमान घाटमा बसेर रामायण लेखेको भनाइ समेत छ । विद्वान् चैतन्यराज देवकोटाका अनुसार स्कन्द पुराणमा वाल्मीकिले वीरा, भद्र र तमसा नदीको त्रिवेणीमा बसेर रामायण लेखेको उल्लेख छ । 

त्यो ठाउँ यही हनुमानघाट हो, यहाँ वीर, भद्रा र तमसा नदीको त्रिवेणी छ । रामायणको पुस्तक च्यापेर बसेका वाल्मीकिको मूर्ति समेत रहनुले उनको दाबीलाई बल पुगेको छ । त्यहीँ वाल्मीकेश्वर महादेव मन्दिर हुनु, हनुमानले त्रिवेणीमा आई पुच्छरले जल अभिषेक गरेको उल्लेख शास्त्रमा रहनु जस्ता कारणले पनि गौरवशाली पाटो दर्शाएको छ ।

रामले अश्वमेध यज्ञ गर्दा छाडेको घोडा समात्ने वीरद्वय लव, कुश हुन् । भरत, लक्ष्मण र शत्रुघ्नको केही नलागेपछि राजा राम स्वयं घोडा छुटाउन आएका थिए । सीताको आज्ञा पाएपछि मात्रै तिनले घोडा छाडे ।  अश्वमेध यज्ञकै सिलसिलामा अयोध्या पुगेका यी बालकले दरबारमा रामायण सुनाउँदा राम भावविह्वल हुनपुगेका थिए । 

लव, कुश आफ्ना छोरा भएको थाहा पाएर सीताको खोजीमा दौडिए ।रामले सीतासँग भेट गरी अयोध्या जान त भने तर त्यसपूर्व फेरि सतीत्वको किरिया खानुपर्ने सुन्दा त्यहीं भएका महर्षि वाल्मीकिले महारानी सीता शुद्ध, पवित्र भएको विश्वास जगाए ।

उनले रामलाई आग्रहसाथ भनेका थिए– ‘मैले हजारौं वर्ष तपस्या गरेको छु, यदि सीता दुष्ट आचरणकी भए मलाई त्यो तपस्याको कुनै फल प्राप्त नहोस् !’

बहुवर्षसहस्राणि तपश्चर्या मया कृता ।

नोपाश्नीयां फलं तस्या दुष्टेयं यदि मैथिली ।।

पटक–पटकको परीक्षा नारीहृदयलाई सह्य भएन र सीताले यदि म सती हुँ, पतिव्रतामा अडिग नारी हुँ भने हे धर्तीमाता मलाई आफ्नो शरणमा लिनू, भनी प्रार्थना गरिन् । यत्तिकैमा त्यहाँको धर्ती फाट्यो र दिव्य सिंहासन प्रकट हुनपुग्यो, महापराक्रमी नागले शिरमा सिंहासन धारण गरेका थिए, त्यसमा विराजमान सीता बिस्तारै रसातलतिर गइन् । 

त्यतिबेला आकाशबाट पुष्पवृष्टि भइरहेको थियो, सीताको जयजयकार भयो जस्ता वर्णन रामायणमा छन् । धर्तीबाट जीवनकथा थालेकी सीताको अन्त्य पनि धर्तीमै समाहित भएर हुनपुग्यो । आदर्शनारीका रूपमा पतिव्रता सीताको चरित्र अद्भुत छ ।

कष्टै कष्टमा जीवन बिताएकी सीता उदात्त चरित्रका कारण संसारभरि पुजित छिन्, उनको नाम मात्रै लिँदा पनि जन्म सार्थक हुने धारणा व्यापक छ । 

रामलाई भगवान् विष्णुको अवतार मानिए झैं सीतालाई लक्ष्मीको अवतार मानिन्छ । रामसँगै उनको नाम जप्ने संसारमा धेरै छन् । अझ भन्ने हो भने रामको नाम अगावै उनको नाम उच्चारण गरिन्छ– ‘पतितपावन सीताराम’ । सीताको सम्बन्ध नेपाल भूमिसँग हुनु र यहाँ राष्ट्रिय विभूतिका रूपमा चर्चा गर्न पाइनु अहोभाग्यको विषय ठान्नुपर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया