बुधबार, ०५ मङ्सिर २०८१
ताजा लोकप्रिय

हेटौँडा–१२ मा १२ जनाको उम्मेदवारी कायम

बुधबार, ०५ मङ्सिर २०८१, १५ : ५७
बुधबार, ०५ मङ्सिर २०८१

हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१२ को अध्यक्ष पदका उपनिर्वाचनका लागि १२ जनाको उम्मेदवारी कायम भएको छ । आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि दल तर्फबाट ९ र स्वतन्त्रबाट ३ जनाको उम्मेदवारी कायम भएको हो ।

गत मंसिर २ मा सञ्चालन भएको मनोनयन दर्ताको कार्यक्रममा वडा अध्यक्ष पदका लागि १४ जनाको उम्मेदवारी परेको थियो । दल तर्फबाट ९ र स्वतन्त्रबाट परेको ५ जनाको उम्मेदवारीमध्ये २ जनाले मनोनयन फिर्ता गरेका हुन् । स्वतन्त्र तर्फबाट उम्मेदवारी दिएका कुमार पोखरेल र युनिश लामा सिन्तानले मनोनयन फिर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अधिकृत कमल सञ्जेलका अनुसार साँझ ५ बजेसम्ममा उम्मेदवारको नामावली अनुसार चुनाव चिन्ह प्रदान गरिने छ ।

कार्यालयका अनुसार मंसिर १६ मा हुने उपनिर्वाचनका लागि एमालेले राजेश नगरकोटी, कांग्रेसका तर्फबाट अर्जुनप्रसाद तिवारी, माओवादी केन्द्रले रवि कुमार प्रधानलाई रास्वपाबाट आशा वीर बल, राप्रपाबाट प्रेम बहादुर भोलन, जसपाबाट छविलाल वाईबा, मंगोल नेशनल अर्गनाइजेशनबाट दीपा लामा, नेमकिपाबाट फुलमाया तितुङ र नेकपा एकीकृत समाजवादीबाट बलराम बलको उम्मेदवारी कायम रहेको छ भने स्वतन्त्रबाट अर्जुन घलान, गीताकुमारी नेवार, छत्र प्रकाश अधिकारी उम्मेदवारी कायम रहेको छ । हेटौँडा–१२ को वडा अध्यक्ष पदको निर्वाचनमा कुल ८ हजार ५३ मतदाता रहेका छन् । उक्त निर्वाचनका लागि २ मतदानस्थलमा ९ वटा केन्द्रहरू निर्धारण गरिएको छ ।

२०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका माओवादी केन्द्रका ललित बहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख बनेसंगै हेटौँडा–१२ को वडा अध्यक्ष पद रिक्त रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप