आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
कर्णाली प्रदेश

सुध्रिएन कर्णालीको विकास बजेट कार्यान्वयन, चार महिनामा जम्मा ४ प्रतिशत खर्च

बुधबार, ०५ मङ्सिर २०८१, १६ : ००
बुधबार, ०५ मङ्सिर २०८१

सुर्खेत । कर्णाली प्रदेश सरकारको विकास बजेट कार्यान्वयनको अवस्था कछुवा गतिमा छ । चालु आर्थिक वर्षको चार महिना बित्दा पनि पुँजीगत बजेट कार्यान्वयनको अवस्थामा सुधार हुन नसकेको हो ।

प्रदेश लेखा नियन्त्रकको कार्यालयका अनुसार कात्तिक मसान्तसम्म सरकारले जम्मा ४ प्रतिशत अर्थात् ९० करोड ३२ लाख २ हजार ९९३ रुपैयाँमात्रै विकास बजेट कार्यान्वयन गरेको छ । जबकि चालु आर्थिक वर्षमा पुँजीगततर्फ सरकारले १८ अर्ब ७५ करोड ५१ लाख ६८ हजार रुपैयाँ वार्षिक बजेट विनियोजन गरिएको छ ।

प्रदेश सरकारले गत वर्ष (०८०/८१) मा समीक्षा अवधिमा ५.२९ प्रतिशत विकास बजेट कार्यान्वयन गरेको थियो । यो वर्ष विकास बजेट कार्यान्वयनको अवस्था गत वर्षको तुलनामा कमजोर देखिएको हो । असोज मसान्तसम्म ७६ करोड १३ लाख ५८ हजार ९१३ रुपैयाँ विकास बजेट कार्यान्वयन गरेको सरकारले कात्तिक महिनाभर १४ करोड १८ लाख ४४ हजार ८० रुपैयाँ कार्यान्वयन गरेको छ ।

चालु आर्थिक वर्षमा सबैभन्दा बढी १० अर्ब १७ करोड ८२ लाख २४ हजार विकास बजेट रहेको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले पनि अपेक्षा अनुसार खर्च गर्न सकेको छैन । यो मन्त्रालयले कात्तिक मसान्तसम्म ४.८७५ अर्थात् ४९ करोड ६१ लाख ५९ हजार ७१०.४१ रुपैयाँ कार्यान्वयन गरेको छ । कात्तिक महिनामा मात्र यो मन्त्रालयले ९ करोड बराबरको बजेट कार्यान्वयन गरेको छ ।

बजेट कार्यान्वयनका सुधार नआउनुको पछाडि चालु आर्थिक वर्षका योजना अझै कार्यान्वयनमा नजानु नै मुख्य कारण रहेको कर्मचारी बताउँछन् । मन्त्रालयका एक कर्मचारीले भने, ‘चालु वर्षका सबै योजना ठेक्का प्रक्रियामा अघि बढेको भए बजेट कार्यान्वयनको अवस्थामा केही सुधार देखिन्थ्यो । अझै एक सयभन्दा बढी योजनाको ठेक्का लाग्नै बाँकी छ ।’

योजना कार्यान्वयनसँगै भुक्तानीको प्रक्रिया अघि बढेपछि बजेट कार्यान्वयनमा सुधार आउने हो । मंसिर सकिएपछि मात्रै केही सुधार आउने ती कर्मचारीले बताए ।

विकासे गतिविधि र धेरै योजना रहेको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको वार्षिक विकास बजेट दुई अर्ब ६० करोड ९० लाख ३ हजार रुपैयाँ छ । चार महिनाको अवधिसम्म यो मन्त्रालयले जम्मा २.६६८ प्रतिशत अर्थात् ६ करोड ९६ लाख ६४८ रुपैयाँमात्रै विकास बजेट कार्यान्वयन गरेको छ । यो मन्त्रालयका धेरैजसो योजना अहिलेसम्म कार्यान्वयनमा गएकै छैनन् । ११ सय योजना रहेको मन्त्रालयले ५० प्रतिशत योजना अझै कार्यान्वयन गर्न सकिरहेको छैन ।

जलस्रोत तथा ऊर्जामन्त्री विजया बुढाले प्राविधिक कारणले योजना कार्यान्वयनमा ढिलाइ भएको बताइन् । यो मन्त्रालयले कात्तिक महिनामा मात्र विकास बजेट जम्मा ८७ लाख रुपैयाँ खर्च गरेको देखिन्छ ।

दुई अर्ब ७२ करोड ७८ लाख बराबरको पुँजीगत बजेट रहेको सामाजिक विकास मन्त्रालयले भने अन्य मन्त्रालयको हकमा बजेट कार्यान्वयनमा सुधार गरेको देखिन्छ । यो मन्त्रालयले अहिलेसम्म १०.४९१ अर्थात् २८ करोड ६१ लाख ६६ हजार ३०४ रुपैयाँ कार्यान्वयन गरेको छ । यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले २.०६४ प्रतिशत अर्थात् २ करोड ३० लाख १२ हजार ८८२ रुपैयाँ कार्यान्वयन गरेको छ । यो मन्त्रालयसँग १ अर्ब ११ करोडभन्दा बढी वार्षिक पुँजीगत बजेट छ ।

४९ करोड ५१ लाख ५० हजार बजेट रहेको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले अहिलेसम्म ३.१२१ प्रतिशत अर्थात् १ करोड ५४ लाख १२ करोड रुपैयाँमात्रै कार्यान्वयन गर्न सकेको छ । ४ करोड ४१ लाख ४० हजार पुँजीगत बजेट रहेको कानुन मन्त्रालयले १.८६६ प्रतिशत, ६ करोडभन्दा बढी बजेट रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ५.४८७ प्रतिशत पुँजीगत बजेट खर्च गरेका छन् ।

सरकारले पुँजीगत बजेट कार्यान्वयनको अवस्था सुधार नगरे पनि चालुतर्फ अर्थात् तलबभत्ताको बजेट खर्चमा भने वृद्धि गरेको छ । लेखा नियन्त्रकको कार्यालयका सूचना अधिकारी ललित थापाका अनुसार कात्तिक मसान्तसम्म चालुतर्फको बजेट १४.०३९ प्रतिशत अर्थात् १ अर्ब ७४ करोड १५ लाख ६५ हजार ३१२ रुपैयाँ खर्च भएको छ । जुन गत वर्षको समीक्षा अवधिको तुलनामा तीन प्रतिशतले बढी हो । गत वर्ष यो अवधिसम्म ११ प्रतिशत खर्च भएको थियो ।

  • के भन्छन् सरकारका प्रवक्ता ?

सरकारका प्रवक्ता विनोदकुमार शाह आन्तरिक काममा बलियो तरिकाले सक्रिय भएकाले सुरुवाती चरणमा विकास बजेट कमजोर देखिए पनि अन्तिमसम्म विगतभन्दा सुधार हुने दाबी गर्छन् ।

रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘राज्यको बजेट राम्रोसँग कार्यान्वयन हुनुपर्छ भन्ने पक्षमा अहिलेको सरकार छ ।’

त्यसका लागि कार्यविधि निर्माण, कानुनी प्रावधान, बेथिति नहोस् भनेर फिल्ड भिजिट गरेर सही तरिकाले सतर्कता अपनाउनेतर्फ सरकार केन्द्रित रहेको शाहको भनाइ छ ।

‘कामै नभएको होइन, बजेट कार्यान्वयनमा लैजानुभन्दा पहिला गरिनुपर्ने तयारी व्यवस्थित गर्नुपर्छ भनेर हामी लागेका छौँ,’ उनले भने, ‘अन्तिममा गत वर्षभन्दा पुँजीगत बजेट धेरै हुन्छ, यो मेरो दाबी हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप