बीआरआई परियोजना स्वीकार गर्न सकिँदैन : अध्यक्ष ठाकुर
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ अर्थात् ‘बीआरआई’ परियोजनालाई स्वीकार गर्न नसकिने बताएका छन् । पार्टीका स्थानीय जनप्रतिनिधिहरूको बैठकमा पुगेका अध्यक्ष ठाकुरले रातोपाटीसँगको कुराकानीमा बीआरआई परियोजना नेपालको हितमा छैन, त्यसलाई स्वीकार गर्न नसकिने बताए ।
मङ्सिर १७ गतेदेखि प्रधानमन्त्री केपी शर्मा ओलीले गर्न लागेको चीनको भ्रमणमा बीआरआईको विषयमा छलफल हुने बताइरहँदा सत्ताधारी दल लोसपाका अध्यक्ष ठाकुरको यस्तो भनाइ बाहिर आएको हो । ऋण लिन हतार गर्नु हुँदैन, ऋण लिएर परियोजना सञ्चालन गर्दा त्यसले नेपाललाई नोक्सान मात्र गर्ने भएकाले त्यसलाई त्यतिकै स्वीकार गर्न नसकिने उनले बताए ।
‘चीनले अनुदानमा दियो भने ठिक छ नत्र ऋणमा लिन सकिँदैन’ अध्यक्ष ठाकुरले भने । प्रधानमन्त्री ओली चीन भ्रमणमा जाँदा यो विषयमा कुरा गर्छन् भन्ने आफूलाई विश्वास लागेको बताए । प्रधानमन्त्री ओलीले पहिलो भ्रमण भारतबाट नगरेर चीनबाट गरेको सन्दर्भमा अध्यक्ष ठाकुरले यो सरकारको विषय भएको र आ–आफ्नो सुविधाअनुसार भ्रमण तय गर्ने गरेको प्रतिक्रिया दिए ।
लोसपा नेपालले स्थानीय तहको उपचुनावमा भाग लिएको छैन । पार्टीले उपचुनावमा कसलाई मत हाल्छ भन्ने जिज्ञासामा उनले हालसम्म आफूहरूसँग कसैले मत नमागेको प्रतिक्रिया दिए । उनले भने, ‘हालसम्म कुनै दलले हामीसँग मत मागेका छैनन्, दलहरूले मत मागेपछि मात्र कसलाई मत दिने भनी हामीले डिसिजन गर्छौं ।’
लोसपा नेपालले उपचुनावमा भाग नलिए पनि ठाउँ–ठाउँमा स्वतन्त्र उम्मेदवारी दिन लगाएको पार्टी निकट स्रोतले जनाएको छ । तर उम्मेदवारी कहाँ कहाँ दिइएको भन्ने बारेमा सो पार्टीले जानकारी गराएको छैन ।
अहिले लोसपा नेपालका स्थानीय जनप्रतिनिधिहरूको बैठक चलिरहेको छ । २०७९ को स्थानीय चुनावमा लोसपा नेपालबाट १६ जना पालिका प्रमुख, १२ जना उपप्रमुख, १०३ जना वडा अध्यक्ष, एक जना जिल्ला समन्वय समितिका सभापति र दुई जना उपसभापति निर्वाचित भएका थिए ।
स्थानीय तहमा भइरहेको कामकाजको अनुभव, सेवा प्रवाह, शिक्षा, स्वास्थ्य, कृषिलगायतको क्षेत्रमा भएका काम तथा दलित, विपन्न वर्गका लागि अघि सारिएका योजनाबारे भेलामा छलफल हुने लोसपा नेपालले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धरौटीमा छुटेका रवि घर पुगे, शुक्रबार काठमाडौंं जिल्ला अदालत उपस्थित हुने
-
अख्तियारको कार्यालय पुगेर खामभित्र घुस दिने सापकोटाविरूद्ध मुद्दा दायर
-
टीकापुर जग्गा हिनामिना प्रकरणमा ८७ जना दोषी ठहर
-
१२ बजे, १२ समाचार : रवि ६५ लाख धरौटी बुझाएर थुनामुक्तदेखि दुर्गा प्रसाईंका सहयोगीले ३ लाख बुझाउन नसक्दा कारागार चलानसम्म
-
जिप तोडफोड गर्नेविरुद्ध आपराधिक उपद्रव मुद्दा
-
रुपन्देहीमा विभित्र मुद्दामा फरार १२ जना पक्राउ