बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
अलमलमा अखिल

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन नहुने सङ्केत, नेतृत्व छनोट शीर्ष नेताहरूको प्रतिष्ठाको विषय बन्यो

बुधबार, ०५ मङ्सिर २०८१, १४ : ०२
बुधबार, ०५ मङ्सिर २०८१

काठमाडौँ । मंसिर २३ र २४ गतेका लागि सारिएको नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन नहुने सङ्केत देखिएको छ । नेतृत्व छनोटको विषयलाई पार्टीका उच्च नेताहरूले नै प्रतिष्ठाको विषय बनाएपछि सम्मेलन अनिश्चित भएको हो । 

असोज (१०–१४) सम्म त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा सञ्चालन भएको सम्मेलन अन्तिम समयमा उमेर हद लगाउने कि नलगाउने विषयमा विवाद बढेपछि स्थगित भएको थियो । क्रान्तिकारीभित्र उमेर हदको विपक्षमा खासगरी उपाध्यक्ष तहका निवर्तमान पदाधिकारी उभिएका छन् । तल्लो तहका नेताहरू उमेर हदको पक्षमा छन् ।

उमेर हदको विषय टुङ्ग्याएर नेतृत्वका बारेमा सहमतिको प्रयास गर्ने, सहमति नभएको खण्डमा चुनावमा जाने तयारीका साथ असोज १० गते सम्मेलनको उदघाटन भएको थियो ।

उमेर हद र नेतृत्वको विषय पेचिलो बन्दै गएपछि समय अभावको कारण देखाउँदै सम्मेलन नै स्थगित गरिएको थियो । पार्टी नेतृत्वले क्रान्तिकारीमा आफू अनुकूलको नेतृत्व ल्याउन चाहेपछि सम्मेलन अनिश्चयको घेरामा धकेलिएको एक नेताले बताए । ती नेताका अनुसार उपमहासचिव वर्षमान पुन लगायत अधिकांश पदाधिकारी अहिले निर्वाचनको विपक्षमा उभिएका छन् ।

निर्वाचन प्रक्रियामा आफ्ना मान्छे पराजित हुने स्थिति देखिएपछि पदाधिकारी मनोनीत हुनुपर्ने भन्दै उपमहासचिव पुन केही दिनअघि ५/÷७ जनाको नाम लिस्ट बोकेर पार्टी अध्यक्ष प्रचण्डलाई भेट्न गएको बुझिएको छ । पुन लगायत अधिकांश पदाधिकारीले निर्वाचन प्रक्रियामा गए झन् भाँडभैलो हुने भन्दै अध्यक्ष प्रचण्डलाई दबाब दिएको ती नेताको दाबी छ ।

‘मंसिरको तेस्रो साता तोकिएको सम्मेलन हुने सम्भावना निकै न्यून छ । उपमहासचिव पुनले आफू अनुकूल व्यक्तिलाई नेतृत्वमा ल्याउन अध्यक्ष प्रचण्डसँग लविङ गरिराख्नुभएको छ,’ ती नेताले भने ।

पुनले पदाधिकारीमा क–कसलाई ल्याउने भनेर ५/७ जनाको नाम लिस्ट नै बोकेर केही दिनअघि अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ लगायतका नेताहरूसँग छलफल गरेको उनको दाबी छ ।

‘वर्षमानमात्र होइन, निर्वाचन गर्न नहुने पक्षमा अधिकांश पदाधिकारी उभिएका छन् । अहिले अध्यक्ष प्रचण्ड नै घेराबन्दीमा पर्नुभएको छ’, ती नेताले भने ।

नेतृत्वको स्वार्थ बाझिँदा सम्मेलन नै नहुने स्थितिमा पुगेपछि संगठनका इन्चार्ज हिमाल शर्मा र क्रान्तिकारीका निवर्तमान अध्यक्ष पञ्चा सिंहले गत शुक्रबार अध्यक्ष प्रचण्डलाई भेटेर निर्धारित समयमै सम्मेलन सम्पन्न गर्न सुझाव दिएका थिए । उनीहरूले निर्वाचन प्रक्रियाबाट नेतृत्व टुङ्गो लगाउन प्रचण्डलाई सुझाव दिएको बुझिएको छ ।

इन्चार्ज शर्माले निर्वाचन प्रक्रियाबाटै नेतृत्वको टुङ्गो लगाउन प्रचण्ड सकारात्मक भएको दाबी गरे । सहमति वा मनोनयन प्रक्रियाबाट विवाद समाधान नहुने भन्दै उनले आफूले निर्वाचन प्रक्रियाबाटै समस्याको हल खोज्न सुझाव दिएको उनको भनाइ छ ।

‘नेतृत्व तहमा स्वार्थ अलगअलग होलान् । इन्चार्जको हैसियतले निर्धारित समयमै सम्मलेन सम्पन्न गर्न केही दिन अघि अध्यक्ष प्रचण्डलाई भेट्न गएको हो’, रातोपाटीसँग शर्माले भने, ‘निर्वाचन प्रक्रियाबाटै विवाद समाधान गर्न उहाँ (प्रचण्ड) सकारात्मक हुनुहुन्छ ।’

निर्वाचन प्रक्रिया बाहेक अन्य विकल्पमा गए संगठनमा झन् भाँडभैलो हुन सक्छ भनेर आफूले सुझाव दिएको शर्माले बताए । ‘हाम्रो जोड उमेर हद विवाद समाधान गरी निर्वाचन प्रक्रियाबाटै नेतृत्व छनोट गर्ने पक्षमा हुन्छ । संगठनको अनावश्यक झमेलामा पार्टी फस्नुहुँदैन,’ उनले भने ।

विधान संशोधन, स्थानीय तह उपनिर्वाचनको तयारीका विषयमा छलफल गर्न कात्तिक २६ गतेदेखि जारी पदाधिकारी बैठकमा विद्यार्थीको सम्मेलनबारे पनि छलफल हुने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । तर निर्वाचन गर्ने कि नगर्ने भन्नेबारे नेतृत्व तहमा कुनै मतभेद नदेखिएको उनको दाबी छ ।

‘विद्यार्थीको सम्मेलनको विषयमा सोमबार बस्ने पदाधिकारी बैठकमा छलफल हुन्छ । नेतृत्व छनोटको अधिकार हामीले संगठनलाई नै छोडेका छौँ । नेतृत्व तहमा कुनै विवाद छैन’, सापकोटाले भने ।

उपमहासचिव हरिबोल गजुरेलले फेरि देशभरका प्रतिनिधिलाई बोलाएर सम्मेलन हुने सम्भावना नरहेको बताए । सम्मेलन गर्ने अवसर विद्यार्थीको हातबाट फुत्किसकेको उनको भनाइ छ ।

‘नेतृत्व छनोट अघि विधान सम्मेलन गर्ने भनिएको थियो । उमेर हद टुङ्ग्याएर नेतृत्व छनोट गर्ने भनिएको थियो,’ गजुरेलले भने, ‘तर विद्यार्थी नेताहरूले मान्नुभएन । अधिकांशको माग उमेर हदको पक्षमा छ । अब फेरि देशभरका प्रतिनिधि बोलाएर सम्मेलन हुने सम्भावना छैन ।’ उनले यस विषयमा अब पार्टीले आवश्यक निर्णय गर्ने बताए ।

तर विद्यार्थी नेताहरूले निर्वाचन प्रक्रियामा जान नदिन सुनियोजित रूपमा पार्टी नेतृत्वले उमेर हदको विवाद निकालेको जिकिर गरेका छन् । निर्वाचन प्रक्रियामा गए नेताहरूको स्वार्थ अनुकूको नेतृत्व नआउने देखिएपछि भाँजो हालिएको नेताहरूको आरोप छ ।

‘हामी जसरी पनि निर्वाचनको पक्षमा छौँ । तर नेताहरूले आफू अनुकूलको नेतृत्व नआउने देखिएपछि सुनियोजित रूपमा भाँजो हाल्न खोजिएको छ । तर सफल हुन दिँदैनौँ । जसरी पनि निर्वाचन प्रक्रियामा लगेरै छाड्छौं’, एक विद्यार्थी नेताले भने ।

यता निवर्तमान उपाध्यक्ष एवं केन्द्रीय कार्यालय प्रमुख केशव रावलले आफूहरू ३२ वर्षे उमेर हदको विपक्षमा रहेको बताए । जिल्ला, विश्वविद्यालय, प्रदेश सबै ठाउँमा उमेर हद लागु नभएको अवस्थामा एकैपल्ट केन्द्रमा उमेर हदको व्यवस्था लागु गर्ने कुरा आफूलाई मान्य नहुने उनको भनाइ छ ।

रावलसहितका केही नेता स्थगित बन्दसत्र मंसिर २३ मै सम्पन्न गर्न र नेतृत्व चयनका लागि निर्वाचन सुनिश्चित गर्न माग राख्दै मंगलबारदेखि केन्द्रीय कार्यालय पेरिसडाँडामा आमरण अनशन बसेका छन् । आफ्नो माग पूरा नभएसम्म अनशन जारी राख्ने रावलले बताए । अनशनमा रावलसहित केन्द्रीय सदस्यहरू खकेन्द्र रावल, जनक ढुंगाना लगायत छन् ।

पार्टीका उपमहासचिव गजुरेल भने अब आएर अनशन बस्नुको कुनै औचित्य नभएको बताउँछन् । अर्का उपमहासचिव गिरिराजमणि पोखरेलले विद्यार्थीको अनशन र राष्ट्रिय सम्मेलनको विषयमा पदाधिकारी बैठकमा कुनै छलफल नभएको बताए ।

‘बैठक विधानमाथि उठेका प्रश्नको सम्बोधन गर्न र स्थानीय तह उपनिर्वाचनको सम्बन्धमा छलफल गर्न बोलाइएको हो । विद्यार्थीको मागको सम्बन्धमा कुनै छलफल भएको छैन’, पोखरेलले भने ।

असोज १३ गते क्रान्तिकारीको बन्दसत्रमा ३० र ३२ वर्ष उमेर हदको प्रस्ताव आएको थियो । प्रस्तावित उमेर हदमध्ये कुनैमा पनि सहमति नभएपछि बैठक स्थगित भएको थियो । उमेर हद लागु भएमा निवर्तमान उपाध्यक्ष, महासचिव र अधिकांश उपमहासचिव प्रतिस्पर्धाबाट बाहिरिनेछन् । त्यही भएर निवर्तमान पदाधिकारी उमेर हदको विपक्षमा देखिएका छन् ।

वैधानिक केन्द्रीय समिति भङ्ग भइसकेको र नयाँ नेतृत्व छनोट प्रक्रिया अवरुद्ध भएकाले संगठन अहिले अध्यक्षमण्डलको भरमा चलिरहेको छ ।

क्रान्तिकारीको भावी अध्यक्ष बन्ने दौडमा केशव रावल, मदन भुल, नरेश रेग्मी, जिपी मैनाली, दिपेश पुन, पवन कार्की, नारायण खनाल, मदन भट्टराईलगायत छन् । असोज १६ गते बसेको अध्यक्ष मण्डलको बैठकले सम्मेलन स्थगित भएको निर्णय गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप