शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
पुस्तक समीक्षा

अन्ततः नोम चोम्स्कीले भनेको सत्य साबित भयो !

बुधबार, ०५ मङ्सिर २०८१, ११ : ०४
बुधबार, ०५ मङ्सिर २०८१

गएको ५० वर्षदेखि नोम चोम्स्की सम्भवतः संसारकै सर्वाधिक प्रतिबद्ध, अविराम सम्मानित बौद्धिक व्यक्तिका रूपमा समकालीन अमेरिकी विदेश नीतिको प्रखर आलोचकका रूपमा मानिन्छन् । अनवरत प्रकाशित भइरहेका विविध पुस्तक, लेख, अन्तर्वार्ता र भाषणमा उनी बारम्बार वासिङटनले दुनियाँमाथि थोपरिरहेको खर्चिलो र अमानवीय रबैयाको भण्डाफोर गरिरहेका छन् ।

उनको विचारमा यो रबैयाले दशौँ लाख मानिसलाई क्षति पुर्‍याइरहेको त छ नै, साथै यो आधारभूत अमेरिकी मान्यताका विरुद्धमा समेत छ । उनीहरूको पछिल्लो पुस्तक ‘द मिथ अफ अमेरिकी आइडियलिजम्’को भूमिकामा सह–लेखक नाथन जे रबिन्सन लेख्छन्, ‘यो पुस्तक चोम्स्कीमा अन्य पुस्तकको सार खिच्न र एउटै पुस्तकमा समेटेर अमेरिकी विदेशनीतिको आलोचनाबारे मानिसलाई जानकारी गराउन लेखिएको हो ।’ पुस्तकले यस भावलाई प्रशंसनीय ढंगले लागु गरेको छ ।

पुस्तकको नामजस्तै यो पुस्तकले अमेरिकी विदेशनीतिले आफूलाई लोकतन्त्र, स्वतन्त्रता, कानुनी शासन, मानवाधिकारजस्ता आदर्शले निर्देशित भएको भनी गर्ने गरेको दाबीलाई प्रमुख निसाना बनाएको छ । यस्तो दाबी गर्नेले कहिलेकाहीँ अमेरिकाले अन्य मुलुकमा गर्ने गरेका प्रहारलाई ठुलो लक्ष्य हासिल गर्नका लागि सदीक्षापूर्वक काम गर्दागर्दै भएका अनपेक्षित तथा खेदजनक कामको रूपमा लिने गर्छन् ।

अमेरिकी जनतालाई उनीहरूका नेताले निरन्तर आफ्नो मुलुक विश्व–व्यवस्थाका लागि ‘अपरिहार्य मुलुक’ भएको तथा ‘स्वतन्त्रताका लागि आजसम्म संसारले जानेसम्मको सबैभन्दा महान् शक्ति’ भएको स्मरण गराउने गरेका छन् । साथै ‘अमेरिकी विदेश नीतिको केन्द्र’मा सधैँ नैतिक सिद्धान्त हुने आश्वासन दिने गरेका छन् । यस्ता आत्मश्लाघाले भरिएका अभिव्यक्ति नेताहरूको समूह र संस्थापनका बुद्धिजीवीले निरन्तर गुन्जाइरहन्छन् ।

केही फरक मतका बाबजुद, ‘द मिथ अफ् अमेरिकन आइडियलिजम’ असाध्यै महत्त्वपूर्ण पुस्तक हो । यसले हामीलाई चोम्स्कीको चिन्तन–शैली चिनाउँछ ।

चोम्स्की र रबिन्सनका लागि यस्ता दाबी वाहियात हुन् । अमेरिकी गणतन्त्रले आफ्नो शैशवकालमा आफ्नो कथित ‘मेनिफेस्ट डेस्टिनी’ पूरा गर्न आदिवासी जनतामाथि नरसंहारको अभियान नै चलायो । यति मात्रै नभएर हुर्कंदै जाँदा यसले विश्वभर क्रूर तानाशाहहरूलाई सघायो, विभिन्न देशका लोकतान्त्रिक प्रक्रियालाई अवरुद्ध पार्न हस्तक्षेप गर्‍यो, इन्डोचाइना, ल्याटिन अमेरिका र मध्यपूर्वमा भएका विविध युद्धलाई उसले कि त छद्म रूपमा सघायो, वा आफैँ युद्धमा सहभागी भयो ।

यी सबै कुकर्म गर्दा उसले स्वतन्त्रता, लोकतन्त्र, मानवअधिकार र अन्य उच्च आदर्शको रक्षाका लागि गरिएको झुटो दाबी गरिरह्यो । कोही–कसैले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्नासाथ अमेरिकी अधिकारी तुरुन्तै खण्डन गर्न अघि सर्छन् तर उनीहरू आफैँले भने अन्तर्राष्ट्रिय अपराध न्यायालय, समुद्री सन्धि लगायत कैयन् अन्तर्राष्ट्रिय सन्धि र संस्था मान्न अस्वीकार गर्छन् ।

सन् १९९९ मा अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले सर्बियामा आक्रमण गरेको वा सन् २००३ मा राष्ट्रपति जर्ज डब्ल्यु बुसले इराकमा हमला गर्दा, संयुक्त राष्ट्रसंघको बडापत्रलाई उल्लंघन गर्न किञ्चित अप्ठेरो मान्दैनन् । कहिलेकाहीँ माइलाई नरसंहार, अबु घ्राइब जेलको दुव्र्यवहार तथा सीआईएका यातना कार्यक्रमजस्ता नृशंस कुकृत्यको भण्डाफोर भइहालेमा पनि तल्लो तहका अधिकारीलाई सामान्य कारबाही गरेर टार्ने गर्ने गरिन्छ । जबकि मुख्य दोषी तथा योजनाकार नेता भने संस्थापनको सम्मानीत सदस्यकै रूपमा रहिरहन्छन् ।

चोम्स्की र रबिन्सनले भेला गरेको ढोंगको अभिलेख असाध्यै मर्मस्पर्शी छ । साथै उक्त फेहरिस्त विश्वासयोग्य पनि छ । कुनै पनि स्वतन्त्र चिन्तन गर्न सक्ने पाठक, यो पुस्तकलाई सरासर पचाएर आफ्ना कुकर्मको औचित्य सिद्ध गर्न अमेरिकी नेताहरूले गर्ने गरेका फुस्रा तर्कमा विश्वास गरिरहन सक्दैन ।

आमजनताको न्यूनतम सहभागिता तथा खास स्वार्थहरूको भूमिकाबारे लेखकको तर्क पनि निसन्देह मान्न सकिन्छ, तर बृहत्तर आलोकमा हेर्दा उनीहरूले भनेभन्दा अझ जटिल तस्बिर देखापर्छ ।

अमेरिकी अधिकारीहरू यस्तो व्यवहार किन गर्छन् भन्ने व्याख्यामा भने पुस्तक त्यति चित्त बुझ्दो लाग्दैन । चोम्स्की र रबिन्सनका अनुसार ‘नीति निर्माणमा आमजनताको पहुँच नगण्य छ’ साथै ‘अमेरिकी विदेशनीति बनाउने तथा कार्यान्वयन गर्ने काम सानो समूहले गर्ने गर्छ, जसले आन्तरिक स्रोतबाट शक्ति हासिल गरिरहेको हुन्छ ।’ लेखकद्वयको बुझाइमा अमेरिकी विदेश–नीतिले ठुला व्यापारिक निगमहरूको सेवा गर्ने गर्छ ।
‘मिलिट्री–इन्डस्ट्रियल कम्प्लेक्स’, ऊर्जा कम्पनीहरू, बैंकहरू, लगानी फर्महरू तथा मुख्य निगमहरूको हितमा अमेरिकी विदेश नीतिको प्रयोग हुने गरेको छ । उनीहरू लेख्छन्, ‘नीति निर्माणको क्षेत्रमा संलग्न तथा हाम्रो दैनन्दिन जीवनमा असर पार्न सक्ने ठुला व्यापारिक साम्राज्यको व्यवस्थापन गर्ने बुद्धिजीवीको हितमा यसले काम गर्ने गर्छ ।’

आमजनताको न्यूनतम सहभागिता तथा खास स्वार्थहरूको भूमिकाबारे उनीहरूको तर्क पनि निसन्देह मान्न सकिन्छ, तर बृहत्तर आलोकमा हेर्दा उनीहरूले भने भन्दा अझ जटिल तस्बिर देखापर्छ । अहिलेलाई सजिलो गरी बुझ्नलाई हामी यसरी पनि हेर्न सक्छौँ— जब निगमको नाफा र राष्ट्रिय सुरक्षाको स्वार्थ जुध्न पुग्छ, तब व्यापारिक स्वार्थले पछि हट्नुपर्ने हुन्छ । उदाहरणका लागि जब डिक चेनीले सन् १९९० ताका हाल्लिबर्टन नामको तेल व्यापारसम्बन्धी कम्पनी चलाए, त्यसबखत उनी इरानमा नाकाबन्दी लगाउने अमेरिकी नीति विरुद्ध गुनासो गर्थे । किनभने उनलाई इराकमा व्यापार गर्न त्यो नीति अवरोधकका रूपमा तेस्रिन्थ्यो ।

अन्य अमेरिकी तेल कम्पनीहरू पनि त्यहाँ लगानी गर्न चाहन्थे नै, तर अमेरिकी नाकाबन्दी दृढता साथ कायम रह्यो । यसै गरी एप्पलजस्ता टेक कम्पनी चीनलाई विकसित प्रविधिमा पहुँच दिनबाट रोक्ने अमेरिकी नीतिको विरोध गर्छन् । यस्ता प्रतिबन्ध गलत पनि हुन सक्छन्, तर यो सन्दर्भमा भन्न खोजिएको मुख्य कुरा विदेशनीति सधैँ व्यापारिक स्वार्थमा मात्रै केन्द्रित हुन्छ भन्नु गलत हो ।

चोम्स्की र रबिन्सनले अरु महाशक्तिले पनि अमेरिकाकै शैली अपनाउँछन् भन्ने स्वीकार गरेका छन् । यस्ता महाशक्तिले आफ्नै बृहत् नैतिक भाष्य खडा गरेका हुन्छन् । जस्तै : ‘ह्वाइट मेन्स बर्डन’, ‘सभ्यताको महाअभियान’, ‘समाजवादको रक्षा’ आदि । यस्ता भाष्य क्रूर कामलाई पनि सान्दर्भिक साबित गर्न प्रयोग हुने गरेका छन् ।

यस्तो व्यवहार आधुनिक निगम पुँजीवाद र अझ मिलिट्री–इन्डस्ट्रिअल कम्प्लेक्स सुरु हुनु अघिदेखि नै अस्तित्वमा छ । अर्थात् यसबाट के बुझ्न सकिन्छ भने यस्तो व्यवहार अमेरिकाको खास व्यापारिक स्वार्थसँग भन्दा पनि महाशक्ति भइरहने चाहनासँग बढी जोडिन्छ ।

गैरपुँजीवादी शक्तिले पनि यस्तै व्यवहार देखाउँछ भने हामीले बुझ्नुपर्छ, त्यहाँ त्यस्तो केही खास चिज छ, जसले राज्यलाई आफ्नो प्रतिस्पर्धीभन्दा माथि हुनका लागि मूल्य–मान्यता समेत त्याग्ने हदसम्म जान तयार बनाउँछ । यथार्थवादीका लागि त्यो भनेको डर हो । आफ्नो प्रतिस्पर्धी आफूभन्दा बलिया भएको खण्डमा आफूमाथि घातक रूपमा बल प्रयोग हुन सक्छ भन्ने डर हुने गर्छ ।

नीति कार्यान्वयन गर्ने मानिसबारे पनि लेखकद्वयले गरेको चित्रण अति नै सामान्य लाग्न सक्छ । उनीहरूका अनुसार अमेरिकी अधिकारीहरू सनकी छन्, उनीहरू आफूले गरेको काम खराब हो भन्ने थाहा हुँदाहुँदै पनि स्वार्थका कारण अरुको क्षतिको नजर अन्दाज गर्छन्, तर वास्तविकता अलि भिन्न छ । विदेशनीतिमा सम्बन्धित धेरैले आफूले गरेको काम अमेरिका र अन्ततः संसारको हितमा रहेको ठानेका हुन्छन् । वैदेशिक मामलाको सञ्चालन असाध्यै अप्ठेरो लेनदेन हो । उनीहरू आफैँ झुक्किएका पनि हुन् सक्छन् ।

अमेरिकाले गत शताब्दीमा धेरै गलत काम गर्‍यो भन्नेमा चोम्स्की र रबिन्सन ठिक छन्, तर अमेरिकाले केही राम्रो पनि गरेकै होला । अमेरिकी विदेशनीतिका राम्रा पक्षको उल्लेख नहुनु यो पुस्तकको सबैभन्दा ठुलो सीमा हो ।

अन्य अमेरिकी विदेशनीतिका गम्भीर अध्येता र आलोचकले पनि यस्ता विचार राख्छन् । जस्तै : विचारक तथा आलोचक हान्स मोर्गेनथाउले राजनीतिमा नैतिक शुद्धता जोगाउन असम्भव हुन सक्नेबारे सहजै स्वीकार गरेका छन् । चोम्स्की र रबिन्सन आफूले खोजेजस्तो नीतिको नकारात्मक परिणामबारे खासै केही भन्दैनन् । तिनीहरूको दुनियाँमा नैतिक मान्यता र फाइदाजनक विषयको लेनदेन खासै भेटिँदैन ।

‘द मिथ अफ् अमेरिकन आइडियलिजम्’ले दुई पहेली खडा गरेको छ, तर एउटाको मात्रै विस्तारमा व्याख्या गरिएको छ । पहिलो पहेली हो— अमेरिकी जनताहरू किन यस्ता खर्चालु, प्रायः असफल हुने र नैतिक रूपमा डरलाग्दा नीतिहरूलाई सहन्छन् ? त्यस्ता अभियानहरूमा खर्च हुने खर्बौं डलरले आमनागरिकलाई अन्य तरिकाबाट धेरै लाभान्वित गराउन सक्थ्यो । तथापि मतदाताहरू किन यस्तै नीति बोक्ने नेताहरूलाई जिताइरहन्छन् ?

यसको जवाफ दुई पत्रमा खापिएको छ । जवाफ चित्तबुझ्दो देखिन्छ । पहिलो, आमनागरिकसँग नीतिमा प्रभावकारी प्रभाव पार्ने राजनीतिक संयन्त्र छैन, निरिह अमेरिकी संसद्ले अमेरिकी राष्ट्रपतिलाई युद्धको घोषणालगायत केही मामलामा विशेषाधिकार दिएको छ । दोस्रो, राज्यका निकाय सूचनालाई वर्गीकरण गरेर, गोप्य राखेर आमसहमति निर्माणमा ज्यादा समय व्यतीत गर्छन् ।

सूचना चुहाउनेलाई मुद्दा लगाउँछन्, जनतालाई ढाँट्छन् । कहिलेकाहीँ केही गल्ती हुन पुग्यो भने पनि स्वीकार गर्न मान्दैनन् । तिनीहरूलाई आमसञ्चारमाध्यमले पनि सघाउँछन् । उनीहरू सरकारी भाष्यलाई नै दोहोर्‍याइरहेका हुन्छन् । र, सरकारी भाष्यमा बिरलै मात्र सवाल उठाउँछन् ।

यस्ता विषयमा म आफैँले पनि लेखेको हुँदा मलाई उनीहरूले विदेशनीतिले कसरी आफूलाई प्रस्तुत गर्छ र आफ्नो मान्यताको रक्षा गर्छ भन्नेबारे गरेको चित्रण यथार्थ सम्मत पाएको छु । चोम्स्की र रबिन्सनको विश्वास अनुसार धेरैभन्दा धेरै अमेरिकीले सरकारको काम–कारबाहीबारे बुझ्न थाले भने उनीहरूले आवाज उठाउन सक्छन् र परिवर्तनको माग गर्न सक्छन् । यसमा मलाई पनि ठ्याक्कै त्यस्तै लाग्छ ।

सबै सचेत व्यक्तिले आवाज उठाउँदा अझ स्वार्थी, अल्पदृष्टिको, अनैतिक विदेशनीतिको वकालत गर्दै त्यस्तै निर्माण गरिने सम्भावना पनि हुन्छ । आममानिसले चोम्स्की र रबिन्सनले उठाएका विषय अझ महँगा र व्यावहारिक रूपमा अप्ठेरा पाए भने त्यस विपरीत निर्णय गर्ने सम्भावना झनै बढ्छ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नितान्त स्वार्थबाहेक अरु केहीमा सरोकार नराख्ने सार्वजनिक रूपमा बताएका थिए । यद्यपि उनले आधाभन्दा धेरै इलेक्टोरल जित्न सफल भए ।

समाचारका स्रोतहरूको दायरा बढ्दै जाँदा र मूलधारका सञ्चारमाध्यमप्रति बढ्दो अविश्वासले परम्परागत शासक वर्गको आमसहमति निर्माण गर्ने क्षमता घट्दै गएको हो कि भनेर पनि प्रश्न गर्ने ठाउँ छ । यस सन्दर्भमा हेर्दा, समस्या सहमति निर्माणको हो वा विगतमा सार्वजनिक सहमति लिइएका खास नीतिहरूमा हो ? त्यसबारे हामीले थप पर्गेल्नुपर्ने हुन्छ ।

एलोन मस्क, पिटर थिल वा जेफ बेजोसजस्ता व्यक्तिहरू नयाँ कुलीन वर्गको मूलका रूपमा उदाउँछन् भने उनीहरूले कम हस्तक्षेपवादी विदेशनीतिलाई समर्थन गर्ने सम्भावना हुन सक्छ । जुन चोम्स्की र रबिन्सनले हेर्न खोजेकोसँग केही हदसम्म मिल्न जान्छ । त्यसो भयो भने के चोम्स्की र रबिन्सन अझै पनि उनीहरूले समर्थन गर्ने नीतिका लागि सहमति निर्माण गर्ने नयाँ कुलीन वर्गको क्षमतालाई अस्वीकार गर्न सक्छन् त ?
दोस्रो पहेली चाहिँ विस्तारमा व्याख्या गरिएको छैन । यसको चासो बाँकी दुनियाँका बारेमा छ, अमेरिकी नीतिले संसारलाई नै खतरामा पार्दै छ भने किन बाँकी संसार यसलाई रोक्न अघि सर्दैन त ? अमेरिका आजका दिनमा गम्भीर प्रतिद्वन्द्वीहरूको सामना गरिरहेको छ, तर आज यससँग केही वास्तविक र उत्साहित सहयोगी पनि छन् । यसका कुनै साझेदार अवसरवादी पनि हुन सक्छन् । अमेरिकी व्यापक शक्ति देखेर त्रासमा आएका पनि हुन सक्छन् ।

प्रत्येक अमेरिका पक्षीय नेता स्वार्थी दलाल वा ठग नै हुन् भन्नु सत्य होइन । मध्यपूर्वजस्ता ठाउँमा मानिस अमेरिकी गतिविधिका कारण गहिरो र जायज रूपमा रुष्ट भएका समुदायलाई भिन्न राखेर हेर्ने हो भने विश्वव्यापी सर्वेक्षणले आज पनि अमेरिकाको पक्षमा आश्चर्यजनक समर्थन र प्रशंसा देखाएकै छ । अमेरिकी वैश्विक छवि विगतमा उल्लेख्य रूपमा बलियो नै देखिन्छ । जर्ज डब्ल्यु बुसका पालामा अमेरिकाप्रतिको विश्वसनीयता केही खस्केको भए पनि बाराक ओबामा राष्ट्रपति भए लगत्तै ह्वात्तै बढेको थियो ।

पक्कै पनि आफ्ना कर्मलाई जायज ठहर्‍याउन अमेरिकी अधिकारीले दोहोर्‍याउने गरेका खोक्रा र दोहोरिरहने अर्थहीन तर्कभन्दा चोम्स्कीको दृष्टिकोण भरपर्दो र प्रभावकारी नै छ ।

विश्वका धेरै भू–भागमा मुख्य सरोकारको विषय अमेरिकी शक्तिको दमनकारी प्रयोग हुन्छ कि भन्ने होइन । बरु अमेरिकी शक्ति घट्ला वा स्थिर रहला भन्ने हो । अमेरिकाले गत शताब्दीमा धेरै गलत काम गर्‍यो भन्नेमा चोम्स्की र रबिन्सन ठिक छन्, तर अमेरिकाले केही राम्रो गरेकै होला । अमेरिकी विदेशनीतिका राम्रा पक्षको उल्लेख नहुनु यो पुस्तकको सबैभन्दा ठुलो सीमा हो ।

केही फरक मतका बाबजुद, ‘द मिथ अफ अमेरिकन आइडियलिजम’ असाध्यै महत्त्वपूर्ण पुस्तक हो भन्नेमा कुनै शंका छैन । यसले हामीलाई चोम्स्कीको चिन्तन शैली चिनाउँछ, साँच्चै कसैले यो पुस्तक पढेर वा अमेरिकी अधिकारीले कहिलेकाहीँ फरेन अफेयर्स, एटलान्टिक जस्ता जर्नलमा लेखेका फुटकर लेख–रचना पढेर कुनबाट बढी सिक्न सक्छन् भन्ने हो भने हामी निर्धक्क भन्न सक्छौँ– चोम्स्की र रबिवन्सनले सही भनिरहेका छन् ।

मैले आफ्नो व्यावसायिक जीवन सुरु गर्दाका बखत यस्तो लेख्न पक्कै सक्दिनथेँ होला । आज धेरै अनुभव र जानकारीहरू हासिल गर्दै जाँदा मेरो सोचाइ पनि विकास हुँदै गएको छ । साँच्चै भन्ने हो भने कुनै समय वामपन्थी बहसमा मात्र सीमित अमेरिकी विदेशनीतिको आलोचनात्मक दृष्टिकोण आज सर्वाधिक विश्वसनीय मुद्दा बनेको छ । यसले सबैतिर स्वीकार्यता पनि हासिल गरिरहेको छ ।

पक्कै पनि आफ्ना कर्मलाई जायज ठहर्‍याउन अमेरिकी अधिकारीले दोहोर्‍याउने गरेका खोक्रा र दोहोरिरहने अर्थहीन तर्कभन्दा चोम्स्कीको दृष्टिकोण भरपर्दो र प्रभावकारी नै छ ।
(फरेन पोलिसीबाट)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

स्टेफेन एम वाल्ट
स्टेफेन एम वाल्ट
लेखकबाट थप