शुक्रबार, २६ पुस २०८१
ताजा लोकप्रिय

म्यान सिटीका सफल प्रशिक्षक ग्वार्डिओला सम्झौता नवीकरणका लागि तयार

बुधबार, ०५ मङ्सिर २०८१, १० : ३७
बुधबार, ०५ मङ्सिर २०८१

काठमाडौँ । इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओला क्लबसँग थप एक वर्षका लागि सम्झौता नवीकरण गर्न सहमत भएका छन् । तर, म्यानचेस्टर सिटीले भने हालसम्म यस विषयमा आधिकारिक रूपमा केही बताएको छैन ।

५३ वर्षीय स्पेनिस नागरिक ग्वार्डिओला सन् २०१६ देखि म्यानचेस्टर सिटीको प्रमुख प्रशिक्षक रहँदै आएका छन् । थप एक वर्ष सम्झौता अवधि थप भएमा प्रशिक्षक ग्वार्डिओलाले म्यान सिटीमा लगातार १० वर्ष प्रमुख प्रशिक्षकको भूमिका निर्वाह गर्नेछन् ।

ग्वार्डिओला म्यानचेस्टर सिटीका सफल प्रशिक्षकमध्ये एक हुन् । ग्वार्डिओलाले प्रशिक्षकको भूमिकामा म्यानचेस्टर सिटीलाई १८ वटा महत्त्वपूर्ण ट्रफी जिताइसकेका छन् । यो अवधिमा उनले म्यानचेस्टर सिटीलाई ६ वटा प्रिमियर लिग उपाधि पनि चुमाएका छन् ।

जारी सिजनको अन्त्यसँगै म्यानचेस्टर सिटीसँग ग्वार्डिओलाको सम्झौता अवधि समाप्त हुँदै छ । त्यसैले म्यानचेस्टर सिटीले उनीसँग सम्झौता नवीकरणको प्रस्ताव राख्दै आएको थियो । तर, ग्वार्डिओलाले भने आधिकारिक रूपमा केही जवाफ फर्काएका थिएनन् ।

अहिले आएरसम्झौता अवधि एक वर्ष थप्न ग्वार्डिओला तयार भएको समाचार बाहिरिएको हो । ग्वार्डिओलाकै प्रशिक्षकत्वमा म्यानचेस्टर सिटीले एकै सिजन तीनवटा ठुला प्रतियोगिताको उपाधि पनि चुमेको थियो । म्यानचेस्टर सिटीले एकै सिजन प्रिमियर लिग, एफए कप र च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।  

यस्तो उपलब्धि हासिल गर्ने म्यानचेस्टर सिटी दोस्रो इङ्लिस क्लब (पुरुषतर्फ) बनेको थियो । उनकै प्रशिक्षकत्वमा म्यानचेस्टर सिटी लगातार चारपटक प्रिमियर लिगको उपाधि चुम्ने पहिलो क्लब पनि बनेको थियो ।

यसका अतिरिक्त म्यानचेस्टर सिटी एकै सिजन एक सय अंकसहित प्रिमियर लिगको उपाधि जित्ने क्लब पनि बनेको थियो । जारी सिजनको प्रिमियर लिग तालिकामा भने म्यानचेस्टर सिटी हालसम्म दोस्रो स्थानमा आसीन छ ।

सहभागी टोलीहरुले ११–११ खेल खेलिसक्दा लिभरपुल २८ अंकसहित तालिकाको पहिलो स्थानमा आसीन छ । म्यानचेस्टर सिटी २३ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । म्यानचेस्टर सिटीले हालसम्म सात खेलमा विजयी, दुई खेलमा बराबरी र दुई खेलमा हारको नतिजा निकालेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप