बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय
राजनीति

उपचुनावकै मुखमा लोसपाले बोलायो स्थानीय तहका जनप्रतिनिधिको भेला

बुधबार, ०५ मङ्सिर २०८१, ०७ : ३०
बुधबार, ०५ मङ्सिर २०८१

काठमाडौँ । स्थानीय तहको उपनिर्वाचनमा भाग नलिएको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले स्थानीय जनप्रतिनिधिको भेला बोलाएको छ ।

लोसपा नेपालले मंसिर ५ गते स्थानीय जनप्रतिनिधिहरूको भेला काठमाडौँमा बोलाएको छ । २०७९ को स्थानीय चुनावमा लोसपा नेपालबाट १६ जना पालिका प्रमुख, १२ जना उपप्रमुख, १०३ जना वडा अध्यक्ष, एक जना जिल्ला समन्वय समितिका सभापति र दुई जना उपसभापति निर्वाचित भएका थिए ।

स्थानीय तहमा भइरहेको कामकाजको अनुभव, सेवा प्रवाह, शिक्षा, स्वास्थ्य, कृषिलगायतको क्षेत्रमा भएका काम तथा दलित, विपन्न वर्गका लागि अघि सारिएका योजनाबारे भेलामा छलफल हुने लोसपा नेपालका महासचिव डा.सुरेन्द्र झाले बताए ।

लोसपा नेपालले उपनिर्वाचनमा भाग नलिए पनि त्यसको बारेमा विचार विमर्श गर्ने बताउँदै झाले मंसिर १६ हुन गइरहेको स्थानीय तहको उपचुनावमा लोसपा नेपालको भूमिकाबारे पनि जनप्रतिनिधिहरूसँग छलफल गरेर एउटा निर्णय लिने जानकारी दिए ।

प्राविधिक कारणले लोसपा नेपालले उपनिर्वाचनमा भाग नलिएको उनको भनाइ छ । उनले भने, ‘लोसपा नेपालले उपनिर्वाचनमा भाग लिएको छैन तर पार्टीसँग रहेको आफ्नो मत कहाँ दिने भन्ने विषयमा पनि छलफल हुन्छ ।’

स्थानीय तहमा लोसपा नेपालको अवस्था के कस्तो छ, उपचुनावमा कुन पार्टीको अवस्था कस्तो छ भन्नेबारे स्थानीय जनप्रतिनिधिहरूलाई राम्रोसँग हुने भएकाले उनीहरूको राय बुझेरमात्र थप निर्णय लिने महासचिव झाले बताए ।

तमलोपाबाट राजपा र राजपाबाट जसपा हुँदै लोसपा बनेको हो । विभिन्न पार्टीसँग एकता र सहकार्य गरिरहेका कारण महाधिवेशन भएको थिएन । आगामी वैशाखमा हुने महाधिवेशनलाई लोसपा नेपालले पहिलो महाधिवेशन भनेको छ ।

सदस्यता वितरण अभियानलाई प्रभावकारी बनाउन प्रतिनिधि सभा निर्वाचन क्षेत्रलाई आधार मानेर पार्टीद्वारा केन्द्रीय प्रतिनिधि एक–एक जना खटाइने निर्णय यसअघि नै भइसकेको महासचिव झाले जानकारी दिए ।

त्यस्तै, सदस्यता वितरण अभियानको समय पनि थप गरिएको उनको भनाइ छ । सदस्यता वितरण अभियानलाई थप सुदृढ बनाउन मंसिरमसान्तसम्म त्यसलाई निरन्तरता दिने उनले बताए ।

गत जेठ ११ गतेदेखि सुरु भएको सदस्यता वितरण अभियान पाँच महिनासम्म सञ्चालन भएको थियो । मंसिर मसान्तसम्म एक महिना म्याद थप गरिएको छ । २०८२ वैशाखमा हुने पहिलो महाधिवेशनलाई लक्षित गरी यो अभियान सुरु गरिएको हो । यो अभियान अवधिमा पाँच लाख सदस्यता वितरण गर्ने लक्ष्य राखिएको छ ।

२०८२ को वैशाखमा महाधिवेशन गर्ने गरी लोसपा नेपालले संगठनको कामलाई तीव्रता दिएको छ । तत्कालीन तमलोपाको प्रथम महाधिवेशन २०७३ मा भएको थियो । त्यसयता महाधिवेशन भएको छैन । तमलोपाबाट राजपा र राजपाबाट जसपा हुँदै लोसपा बनेको हो । विभिन्न पार्टीसँग एकता र सहकार्य गरिरहेका कारण महाधिवेशन भएको थिएन । आगामी वैशाखमा हुने महाधिवेशनलाई लोसपा नेपालले पहिलो महाधिवेशन भनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप