बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन विशेष

रुकुम पूर्वमा कांग्रेसको चुनाव चिह्नमा एमालेको उम्मेदवार, स्वामित्व कसको ?

मङ्गलबार, ०४ मङ्सिर २०८१, २३ : ४४
मङ्गलबार, ०४ मङ्सिर २०८१

बुटवल । आसन्न स्थानीय तहको उपनिर्वाचनमा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवार बनेकी केश कुमारी तुलाचन कुन दलप्रति जिम्मेवार रहने भन्नेबारे प्रश्न उठेको छ । एमाले जिल्ला उपसचिव रहेकी तुलाचनले नेपाली कांग्रेसको चुनाव चिह्न लिएर उपनिर्वाचनमा उम्मेदवारी दिएकी छन् । उम्मेदवारी दर्ता गरेसँगै उनी घरदैलो गर्न थालिसकेकी छन् ।

तुलाचनले जितेको खण्डमा कांग्रेसको चुनाव चिह्न लिएका कारण उनी आधिकारिक रूपमा कांग्रेसकै जनप्रतिनिधि बन्नेछिन् । तर, योसँगै उनले एमालेको जिल्ला उपसचिवको भूमिका निर्वाह समेत गर्नेछिन् । एमाले रुकुम पूर्वका निवर्तमान जिल्ला अध्यक्ष टोपबहादुर वली यसलाई सामान्य रूपमा लिनुपर्ने बताउँछन् । तुलाचनले एमाले पार्टी छाडेर नभइ पार्टीकै निर्देशन अनुसार कांग्रेसको चुनाव चिह्न लिएर उम्मेदवारी दिएको प्रस्ट्याउँछन् ।

तुलाचनले चुनाव जितेको अवस्थामा उनी प्राविधिक रूपमा कांग्रेकै जनप्रतिनिधि गणना हुने भए पनि व्यावहारिक रूपमा एमालेमै रहने वलीको भनाइ छ । यसअघि, २०७४ सालको निर्वाचनमा हृदयेश त्रिपाठीले नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ बाट सूर्य चुनावचिह्न लिएर चुनाव लडेजस्तै तुलाचनले कांग्रेसको चुनाव चिह्न लिएर उम्मेदवारी दिएको वलीको तर्क छ ।

कांग्रेस–एमालेबिच भएको सहमति अनुसार तुलाचन विजयी भए कांग्रेस कै जनप्रतिनिधिका रूपमा रेकर्ड रहने नेपाली कांग्रेस रुकुम पूर्वका सभापति केशरमान रोकाले बताए । उनले भने, ‘उहाँ निर्वाचित भएमा रेकर्डमा कांग्रेसको जनप्रतिनिधिका रूपमा रहनुहुन्छ तर पार्टीगत रूपमा उहाँ एमालेमै आवद्ध रहनुहुन्छ ।’

माओवादीको गढ भत्काउन भन्दै नेपाली कांग्रेसको चुनाव चिह्न लिएर एमालेबाट उम्मेदवारी दिइन लगाइएको रोकाले खुलाए । ११ हजार १८० मतदाता रहेको पुथा उत्तरगंगामा एमाले र कांग्रेसको साझा उम्मेदवार तुलाचनसँगै माओवादीबाट नरपुरा बुढा पुन, नेकपा एकीकृत समाजवादीबाट सुनिता बुढामगर, स्वतन्त्रबाट कोपिला पुन बुढा, मोहनभक्त बुढा, भीमकुमारी पुन र श्रीदेवी सुनार विक गरी उपाध्यक्ष पदमा ७ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

जहाँ माओवादीको उम्मेदवार नरपुरा बुढा पुन र कांग्रेस–एमाले गठबन्धनको उम्मेदवार तुलाचनबिच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । यो माओवादीको आधार इलाका हो । २०७९ मा सम्पन्न स्थानीय तह निर्वाचनमा प्राप्त मत हेर्ने हो भने कांग्रेस र एमालेको मत जोड्दा पनि माओवादीलाई जित्न असम्भव देखिन्छ । 

२०७९ को निर्वाचनमा यो गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रका भुपेन्द्रा बुढा ४ हजार ५९ मत पाएर निर्वाचित भएकी थिइन् । उनको बाग्लुङ्गमा सवारी दुर्घटना परी मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो ।
त्यतिबेला माओवादी केन्द्रकी बुढाले ४ हजार ५९ मत प्राप्त गर्दा कांग्रेसका कमलाकुमारी मल्लले २ हजार १० र एमालेका धर्म घर्ती बुढाले १ हजार ८१२ मत प्राप्त गरेका थिए । माओवादी रुकुम पूर्व जिल्ला संयोजक कुमारी बरालले दुई दल मिले पनि आफूहरूलाई जित्न सक्ने मत नभएको रातोपाटीलाई बताइन् । उनले आफ्नो पुरानो मतलाई कायम राख्दै नयाँ मत तान्न आफ्नो पार्टीले रणनीति बनाएको जानकारी दिइन् ।

एमाले जिल्ला कमिटीका निवर्तमान अध्यक्ष वलीले रुख चुनाव चिह्न हुँदा कांग्रेसका सबै कार्यकर्तालाई मत हाल्न सहज हुने र  एमाले जिल्ला उपसचिव नै उम्मेदवार भएका कारण एमालेको मत पनि एकत्रित हुने भएकाले कांग्रेसको चुनाव चिह्नमा एमालेको उम्मेदवार खडा गरिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र केसी
लेखकबाट थप