स्थानीय तह उपनिर्वाचन : माओवादीको ८ सिट दाउमा
काठमाडौँ । मंसिर १६ मा हुन गइरहेको स्थानीय तह उपनिर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले अघिल्लो पटक जितेको ८ सिट दाउमा परेको छ ।
२०७९ को निर्वाचनमा माओवादीले तत्कालीन सत्ता गठबन्धन दल नेपाली कांग्रेससँग केही स्थानमा तालमेल र केही स्थानमा एकल प्रतिस्पर्धा गरेको थियो ।
सातै प्रदेशमा रिक्त विभिन्न ४४ पदका लागि निर्वाचन आयोगले निर्वाचन गर्दैछ । यद्यपि तीमध्ये कम्तीमा १२ सिट जित्ने माओवादीको दाबी छ । अघिल्लो पटक ४४ स्थानमध्ये २९ स्थानमा माओवादीले उम्मेदवारी दिएको थियो ।
संसद्को तेस्रो शक्ति रहेको माओवादीले अघिल्लो निर्वाचनमा रुकुम (पूर्व)को पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष र हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष जितेको थियो ।
यसैगरी, महोत्तरीको रामगोपालपुर नगरपालिका– २, मकवानपुरको हेटौंडा उपमहानगरपालिका– १२, पुथा उत्तरगंगा गाउँपालिका– २, जाजरकोटको कुशे गाउँपालिका– ७, कालिकोटको तिलागुफा नगरपालिका– ४, र दार्चुलाको दुहुँ गाउँपालिका– ५ को वडाध्यक्ष यसअघि माओवादी केन्द्रले जितेको थियो । योपटक केही स्थानबाहेक प्रमुख तीन दल कांग्रेस, एमाले, माओवादी भिन्नाभिन्नै चुनावी प्रतिस्पर्धामा उत्रिन लागेकाले रोचक हुने देखिन्छ । अघिल्लोपटक ४४ स्थानमा माओवादीको मतपरिणाबारे संक्षिप्तमा प्रस्तुत गरिएको छ ।
कोशी प्रदेश
ताप्लेजुङको सिरिजंघा –३ मा माओवादी केन्द्रले उम्मेदवारी दिएको थिएन । यहाँ कांग्रेसको उम्मेदवार दीलप्रसाद वोखिमलले ४०३ मत ल्याएर जितेको थियो । निकटतम प्रतिस्पर्धी एमालेका कुमारी सावादेनले ३९९ पाएकी थिइन् । अम्बि साउदेनलाई माओवादीले उम्मेदवार बनाएको छ ।
झापाको कन्काइ नगरपालिका–६ मा माओवादीका उम्मेदवार रेवतबहादुर रेग्मीले २९४ मत पाएर तेस्रो स्थान हासिल गरेको थियो । एमालेका दीर्घबहादुर थापाले ५०८ ल्याएर विजयी भएका थिए । माओवादीले यसपटक गणेश थापालाई उठाएको छ ।
मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा माओवादीका उम्मेदवार विजयकुमार सरदारले २ हजार ७२७ ल्याएर तेस्रो स्थान चित्त बुझाएको थियो । यहाँ नेपाली कांग्रेसका जयप्रकाश गच्छदार थारुले ७ हजार ६०५ ल्याएर विजयी भएका थिए । योपटक माओवादीले नमोनारायण माझीलाई उठाएको छ ।
तेह्रथुमको लालीगुराँस नगरपालिका–८ मा माओवादीले उम्मेदवारी दिएन । अघिल्लो पटक यहाँ कांग्रेसका उम्मेदवार तेजमान लिम्बुले ५२४ मत ल्याएर विजयी भएका थिए । माओवादीले वडाध्यक्षमा कुमार बराइलीलाई उठाएको छ ।
सुनसरीको गढी गाउँपालिका–६ माओवादीका उम्मेदवार कुशेश्वर खेरवार ४२४ मतसहित दोस्रो भएका थिए । एमालेका सदानन्द उराँव झागरले ७१२ मत ल्याइ विजयी भएका थिए । यहाँ माओवादीले कुसेश्वर खेरवारलाई उठाएको छ ।
ओखलढुंगाको मोलुङ गाउँपालिका–५ मा माओवादीका उम्मेदवार मानबहादुर सुनुवारले जम्मा ३० मत पाएका थिए । यहाँ कांग्रेसका उम्मेदवार गोपीकृष्ण कार्कीले ३८४ पाएर विजयी भएका थिए । दोस्रो र तेस्रोमा क्रमशः एमाले र एकीकृत समाजवादी भएका थिए । यहाँ मानबहादुर सुनुवारलाई माओवादीले उम्मेदवार बनाएको छ ।
उदयपुरको त्रियुगा नगरपालिका–१२ मा माओवादीका नविनकुमार वान्तवा राईले ४०४ मत पाएर तेस्रो भएका थिए । यहाँ कांग्रेसका चुडाराज काफ्लेले ४३९ मत पाएर विजयी भएका थिए । एमाले माओवादीभन्दा ४ मतले अगाडि रहेको थियो । योपटक माओवादीले नविन वान्तवा राईलाई उम्मेदवार बनाएको छ ।
उदयपुरको बेलका नगरपालिका–९ मा माओवादीका उम्मेदवार हरिबहादुर श्रेष्ठ जोशी १७६ मत सहित चौथो स्थानमा रहेको थियो । यहाँ कांग्रेसका उम्मेदवार पदमबहादुर खड्काले ६७१ मत ल्याएर जितेको थियो । दोस्रो र तेस्रो स्थानमा क्रमशः एमाले र जसपा नेपालका उम्मेदवार रहेका थिए । माओवादीले यहाँ भरत घिमिरेलाई उठाएको छ ।
मधेस प्रदेश
सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ मा ६३ मतसहित माओवादीका उम्मेदवार चन्द्रकान्त साह छैटौ स्थानमा रहेको थियो । यहाँ कांग्रेसका उम्मेदवार प्रितमलाल चौधरी ५३५ मत पाएर विजयी भएका थिए । एमाले, जसपा, लोसपा र जनमत पार्टी क्रमशः दोस्रो, तेस्रो, चौथो र पाचौं स्थानमा रहेका थिए । माओवादीबाट यसपटक प्रमोदकुमार चन्द उम्मेदवार बनेका छन् ।
यसैगरी डाक्नेश्वरी नगरपालिका–४ मा माओवादीका उम्मेदवार वौवालाल रामले जम्मा १८ मत पाएका थिए । यहाँ कांग्रेसका उम्मेदवार हरिप्रसाद यादवले ३३३ मत पाएर विजयी भएका थिए । जसपा, लोसपा, जनमत र एमाले क्रमशः दोस्रो, तेस्रो, चौंथो र पाचौं स्थानमा रहेका थिए । यहाँ माओवादीले विन्दादेवी रामलाई उम्मेदवार बनाएको छ ।
यस्तै धनुषाको धनुषाधाम नगरपालिका–१ माओवादीका उम्मेदवार सुनिल कापर केवटले ३६९ मत ल्याएर तेस्रो भएका थिए । यहाँ कांग्रेसका विश्वनाथ यादवले ६१८ मत ल्याएर विजयी भएका थिए । सुनीलकुमार कापरलाई माओवादीले उम्मेदवार बनाएको छ ।
महोत्तरीको रामगोपालपुर नगरपालिका–२ माओवादीका मुकेशकुमार यादवले ४३३ ल्याएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका मोहम्मद जनिफ खाँले ३७५ पाएका थिए । योपटक माओवादीले आइपीकुमारी यादवलाई उम्मेदवार बनाएको छ ।
रौतहटको ईशनाथ नगरपालिका–७ मा माओवादीले उम्मेदवारी दिएको थिएन । यहाँ एमालेका शेख खलीउल्लाहले ६८३ मत ल्याएर विजयी भएका थिए । कांग्रेस दोस्रो र एकीकृत समाजवादी तेस्रो भएको थियो ।
राजपुर नगरपालिका–६ मा माओवादीका नुरुल हक मन्सुरी १७ मतसहित पाचौ स्थानमा पुगेको थियो । कांग्रेसका शेख मोजरे आलमले ५३४ मत ल्याएर विजयी भएका थिए ।
रौतहटको गढीमाई नगरपालिका–८ मा माओवादीका उम्मेदवार सर्वजीत महरा चमारले १० मत पाएर छैटौं स्थानमा पुगेका थिए । यहाँ जसपा नेपालका उम्मेदवार रामाज्ञा राय यादव ७६४ मतसहित विजयी भएका थिए ।
बागमती प्रदेश
काठमाडौँको कीर्तिपुर नगरपालिकाका प्रमुखमा माओवादीका प्रा.डा.शिवशरण महर्जन चार हजार ९० मतसहित तेस्रो स्थानमा चित्त बुझाएका थिए । यहाँ कांग्रेसका राजकुमार नकर्मीले ९ हजार ४३ मत ल्याएर विजयी भएका थिए । योपटक पनि माओवादीबाट महर्जन नै उम्मेदवार बनेका छन् । उनलाई एकीकृत समाजवादीले समर्थन गरेको छ ।
कीर्तिपुर नगरपालिका–१ मा माओवादीका उम्मेदवार विनोदकुमार महर्जन २७३ मतसहित तेस्रो स्थानमा पुगेका थिए । यहाँ पनि कांग्रेसका उम्मेदवार हिरालाल महर्जत कांग्रेस ७७८ मतसहित विजयी भएका थिए । योपटक माओवादीबाट अष्टमान महर्जन उठेका छन् ।
यस्तै कीर्तिपुर नगरपालिका–४ मा माओवादीका उम्मेदवार राकेश बुढाथोकी ७३ मतसहित पाँचौँ स्थानमा पुगेको थियो । अघिल्लो निर्वाचनमा यहाँ स्वतन्त्र उम्मेदवार श्यामकुमार अधिकारी एक हजार ३८० मतसहित विजयी भएका थिए । यहाँ माओवादीले नारायण बिष्टलाई उठाएको छ ।
काठमाडौँ महानगरपालिका–१६ मा माओवादीले उम्मेदवारी दिएको थिएन । यहाँ कांग्रेसका उम्मेदवार मुकुन्द रिजालले चार हजार १९ मत ल्याएर विजयी भएका थिए । यसपटक माओवादीले एकीकृत समाजवादीका उम्मेदवारलाई समर्थन गरेको छ ।
दोलखाको गौरीशंकर गाउँपालिका अघिल्लो निर्वाचनमा अध्यक्षमा उम्मेदवारी दिएकोले उपाध्यक्ष कांग्रेसलाई छाडेको छ । अघिल्लो पटक यहाँ कांग्रेसका उम्मेदवार श्यामसुन्दर तामाङले चार हजार ७४१ मत ल्याएर विजयी भएको थियो । निमलेकी शेर्पालाई माओवादीले उम्मेदवार बनाएको छ ।
नुवाकोटको ककनी गाउँपालिका–२ मा माओवादीका उम्मेदवार कृष्ण घिमिरे ७३४ मतसहित दोस्रो स्थानमा चित्त बुझाएको थियो । यहाँ कांग्रेसका उम्मेदवार तिलकबहादुर लामाले आठ हजार ८८ मत ल्याइ विजयी भएको थियो । मिलन घिमिरेलाई योपटक माओवादीले उम्मेदवार बनाएको छ ।
यसैगरी मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२ मा माओवादीका ललितबहादुर घलान एकहजार ३७१ मत ल्याएर विजयी भएको थियो । दोस्रोमा कांग्रेसका अर्जुनप्रसाद तिवारीले एक हजार ३४० मत पाएको थियो । यहाँ माओवादीले रविन प्रधानलाई उम्मेदवार बनाएको छ ।
गण्डकी प्रदेश
गोरखाको गोरखा नगरपालिका– ५ माओवादीका उम्मेदवार सावित्री थापा रानाले २७४ मत ल्याएर तेस्रो स्थानमा चित्त बुझाएको थियो । यहाँ एमालेका उम्मेदवार खिलबहादुर रानाले ४५३ मत ल्याएर जितेका थिए । योपटक माओवादीले विष्णु राना मगरलाई उम्मेदवार बनाएको छ ।
लुम्बिनी प्रदेश
गुल्मीको मुसिकोट नगरपालिका–१ मा माओवादीले उम्मेदवारी दिएको थिएन । यहाँ कांग्रेसका मोहन घिमिरे एक हजार १८२ मत ल्याएर विजयी भएका थिए । माओवादीले योपटक दुर्गा विकलाई उम्मेदवार बनाएको छ ।
रोल्पाको रुन्टीगढी गाउँपालिका–४मा माओवादीका शिवलाल रोकले २०३ मत पाएको थियो । अघिल्लो पटक यहाँ कांग्रेसका उम्मेदवार टंकबहादुर पुनले ४८८ मत ल्याएर विजयी भएका थिए । यहाँ माओवादीले नरेशजंग शाहीलाई उम्मेदवार बनाएको छ ।
पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष(रुकुमपूर्व) मा माओवादीका भूपेन्द्र बुढा चार हजार ५९ ल्याएर विजयी भएका थिए । उनको निकटतम प्रतिस्पर्धी कांग्रेसका कमलाकुमारी मल्ल कांग्रेस दुई हजार १० मत पाएका थिए । यहाँ माओवादीले ज्ञानदेवी पुनलाई उम्मेदवार बनाएको छ ।
यस्तै पुथा उत्तरगंगा–२(रुकुमपूर्व) माओवादीका जसबहादुर श्रीपालीले २३४ मत ल्याएर विजयी भएका थिए । कांग्रेसका कर्णबहादुर बुढाले १७९ मत पाएका थिए । जगत घर्तीलाई माओवादीले उम्मेदवार बनाएको छ ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ मा माओवादीका उम्मेदवार नरबहादुर गुप्ताले १०२ मत ल्याएर पाचौ स्थानमा पुगेका थिए । यहाँ कांग्रेसका तिलक राम यादव एक हजार ३२ मत ल्याएर विजयी भएका थिए । यहाँ माओवादीले रफिक महोम्मत खान मुसलमानलाई उम्मेदवार बनाएको छ ।
यस्तै बर्दियाको ठाकुरबाबा नगरपालिका–४ मा माओवादीका अमरबहादुर थापाले ४२१ मत पाएका थिए । यहाँ एमालेका सूर्यबहादुर बिष्टले एकहजार २०९ मत ल्याएर जितेका थिए । दोस्रोमा एमाले रहेको छ । माओवादीले योपटक शेरबहादुर थारुलाई उम्मेदवार बनाएको छ ।
कर्णाली प्रदेश
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५ मा माओवादीका तीर्थ बहादुर खत्री ४३४ मतसहित दोस्रो स्थानमा रहेका थिए । यहाँ कांग्रेसका अल बहादुर खत्री ४६२ मतसहित विजयी भएका थिए । यहाँ माओवादीले जसिराम बस्नेतलाई उम्मेदवार बनाएको छ ।
दैलेखको महाबु गाउँपालिका अध्यक्षमा माओवादीले उम्मेदवारी दिएको थिएन । यहाँ कांग्रेसका लछुमन गुरुङ दुई हाजार ९७९ मत ल्याएर विजयी भएको थियो । यहाँ माओवादीका जग बराल उम्मेदवार छन् ।
दैलेखको दुल्लु नगरपालिका–१३ मा माओवादीका डम्बर बहादुर शाही ७७३ पाएका थिए । विजयी उम्मेदवार एमालेका बिर्ख बहादुर शाहीले ८२२ मत पाएका थिए । धकेन्द्र शाही माओवादीबाट उम्मेदवार छन् ।
जाजरकोटको नलगाड नगरपालिकामा कांग्रेस र माओवादीले चुनावी तालमेल गरेको थियो । प्रमुखमा माओवादीका उम्मेदवारले जितेको थियो । उपप्रमुख कांग्रेसकी उम्मेदवार सरिता सिंह पाँच हजार ४०६ मत ल्याएर विजयी भएकी थिइन् । योपटक देवका लामिछाने माओवादीबाट उम्मेदवार रहेकी छिन् ।
जाजरकोटको कुशे गाउँपालिका–७ मा माओवादीका मनबहादुर घर्ती ३८० मतसहित विजयी भएका थिए । कांग्रसका खम्बबहादुर सिंहले ३१८ मत पाएका थिए । गोरख नेपाली माओवादीका उम्मेदवार छन् ।
हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा माओवादीका चन्द्रसिंह कार्की तीन हजार २६९ मत ल्याएर विजयी भएकी थिइन् ।
कालीकोटको तिलागुफा नगरपालिका–४ माओवादीका परबहादुर शाहीले २३४ मत ल्याएर विजयी भएका थिए ।
यस्तै डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ मा माओवादीका जंगबहादुर रोकाया १०२ मत ल्याएर दोस्रो स्थानमा पुगेका थिए । यहाँ एमालेको उम्मेदवार नन्दलाल रोकाले १०८ मत ल्याएर विजयी भएका थिए ।
सुदूरपश्चिम प्रदेश
कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा माओवादीले उम्मेदवारी दिएको थिएन । यहाँ कांग्रेसका महेन्द्र खड्काले एकहजार १०२ मत ल्याएर विजयी भएका थिए । नानाराम कोली माओवादीका उम्मेदवार छन् ।
दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ५ मा माओवादीका मनोरथ भट्ट ५८२ मतसहित विजयी भएका थिए । दोस्रोमा एमाले रहेको छ । कांग्रेसले माओवादीलाई समर्थन गरेको थियो ।
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा माओवादीका टंकबहादुर नेपालीले जम्मा ४९ मत पाएका थिए । यहाँ कांग्रेसका पुष्पराज जोशी ५१३ मतसहित विजयी भएका थिए । यहाँ माओवादीका देवीलाल थापा उम्मेदवार रहेका छन् ।
बझाङको सुर्मा गाउँपालिका–४ मा माओवादीले उम्मेदवारी दिएको थिएन । यहाँ एमालेका सर्जन बहादुर बोहराले ६२९ मत ल्याएर विजयी भएका थिए ।
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा माओवादीका सुरेश बहादुर रोकाया १२ हजार ३४ मत ल्याएर तेस्रो स्थानमा पुगेका थिए । यहाँ कांग्रेसकी मैना जोशीले एकहजार ८१० मत ल्याएर विजयी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिद्धार्थ बैंकका ग्राहकलाई हार्ड रक क्याफेमा १०% सम्मको छुट
-
सौर्य जहाज दुर्घटना : पीडित परिवारको न्यायका लागि महासंघले खबरदारी गर्ने
-
कर्णाली प्रदेश : संसदीय समितिले बल्ल पाए नेतृत्व
-
गणतन्त्रलाई बलियो बनाउन स्वच्छ प्रशासन आवश्यक : प्रदेश प्रमुख खापुङ
-
‘कुस्ती’ मा दिकिला शेर्पा अनुबन्धित
-
सरकारले सेटिङमा सिमेन्टको मूल्य बढाएको आरोप