वरीयता सूचीमा पछाडि रहेकालाई बढुवा गर्न डीआईजीको दरबन्दी थप्न प्रस्ताव
काठमाडौँ । नेपाल प्रहरीमा जनपद समूहतर्फ ३ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)को दरबन्दी थप्न प्रस्ताव गरिएको छ । गृह मन्त्रालयले जनपदतर्फ ३ जनाको दरबन्दी थप्नुपर्ने प्रस्ताव सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको छ । तर, प्रहरी प्रधान कार्यालयले प्राविधिकतर्फ केन्द्रीय विधि विज्ञान प्रयोगशाला र सूचना प्रविधि निर्देशनालयमा पनि डीआईजी राख्न प्रस्ताव गरेको छ । तर, सो प्रस्ताव भने गृह मन्त्रालयमा नै अलपत्र छ ।
विधिविज्ञान र सूचना प्रविधि निर्देशनालयमा आवश्यक भएर नै डीआईजी राख्न प्रस्ताव गरिएको प्रहरी प्रवक्ता (डीआईजी) दानबहादुर कार्कीले रातोपाटीलाई बताए । उनले भने,‘जनपदतर्फ उपत्यका ट्राफिक प्रहरी कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भरतपुरस्थित नेपाल प्रहरी शिक्षालयमा डीआईजीको दरबन्दी राख्न प्रस्ताव गरेका छौँ ।’
केन्द्रीय विधि विज्ञान प्रयोगशालामा डीआईजी राख्नुपर्ने प्रस्ताव लामो समयदेखि गृहमन्त्रालयस्थित प्रहरी शाखामा अड्किएको हो । जनपद समूहतर्फ भने नयाँ प्रस्ताव मगाएर गृहले हतार–हतार अर्थ मन्त्रालयमा पठाएको प्रहरीका उच्च अधिकृतहरू बताउँछन् ।
प्रहरीमा अहिले ८ वटा प्रहरी नायव महानिरीक्षक (डीआईजी)को दरबन्दी रिक्त छ । रिक्त दरबन्दीमा शक्तिकेन्द्र निकट रहेकाहरू बढुवामा छुट्ने भएपछि थप ३ जनाको दरबन्दी स्वीकृतिका लागि प्रस्ताव गरिएको प्रहरी अधिकृतहरू बताउँछन् ।
बढुवामा मेरिट सूचीमा पछाडि रहेका ३ जनालाई गृहमन्त्री रमेश लेखकले दरबन्दी थपेर बढुवा गर्न खोजेका हुन् । एसएसपीहरु राजेन्द्र प्रसाद भट्ट, दिनेश कुमार आचार्य र गोविन्द थपलियालाई डीआईजीमा बढुवा गर्न खोजिएको जानकारहरु बताउँछन् । उनीहरू मेरिट सूचीमा पछाडि छन् । वरीयतामा पछाडि रहेकाहरू छुट्ने भएपछि डीआईजीको रिक्त ८ पदमा बढुवा सिफारिस रोकिएको छ ।
एसएसपी राजेन्द्र भट्ट वरीयता सूचीको ११ औँ नम्बरमा छन् । दिनेश आचार्य १२ औँ र गोविन्द थपलिया १४ औँ नम्बरमा छन् । आचार्य गृहमन्त्रीका नातेदार हुन् । दिनेश आचार्य प्रहरी महानिरीक्षक वसन्त कुँवर निकट मानिन्छन् । उनीहरू २०५४ चैत १८ मा प्रहरीमा प्रवेश गरेका थिए । उनीहरूसँगै सेवा प्रवेश गरेका दान बहादुर कार्की, डा. मनोज केसी र राजन अधिकारी डीआईजीमा बढुवा भइसकेका छन् । कार्कीसहितका ३ जना २०८१ चैत १४ मा डीआईजीमा बढुवा भएका थिए । ईश्वर कार्की र अरुण पौडेल पनि सो समूहबाट डीआईजी बढुवाको प्रतिस्पर्धामा छन् ।
डीआईजीमा बढुवा हुन प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरसँगै प्रहरीमा प्रवेश गरेका वरिष्ठ उपरिक्षहरु प्रतिस्पर्धामा छन् । भोला बहादुर रावल, ध्रुवराज राउत र गणेश चन्द आईजीपी कुँवरसँगै २०५१ चैत ५ मा इन्स्पेक्टरबाट प्रहरीमा प्रवेश गरेका हुन् । शक्तिकेन्द्रले रुचाए मात्र बढुवा हुने संस्कारका कारण मेरिट लिस्टको टप थ्रिमा रहेका उनीहरुको बढुवा अझै अन्यौल छ । यसपटक बढुवामा छुटेमा उनीहरू एसएसपीमै अवकाशमा जानेछन् । भोला बहादुर रावल र ध्रुव राज राउत २०७८ मंसिर १२ मा एसएसपी भएका हुन् ।
मेरिट लिस्टको चौथो नम्बरमा सिद्ध्री विक्रम शाह, पाँचौँमा सुशिल सिंह राठौर र छैटौँ नम्बरमा उमा प्रसाद चतुर्वेदी छन् । उनीहरू २०७९ साउन १ मा एसएसपीमा बढुवा भएका थिए । हिमालय कुमार श्रेष्ठ, डम्बर बहादुर बिक र ओमबहादुर राना बढुवाको सातौँ, आठौँ र नवौँ नम्बरमा छन् । उनीहरू २०५३ पुस ५ मा राष्ट्रिय अनुसन्धान विभागमा सेवा प्रवेश गरेर प्रहरीको जनपद समूहतर्फ स्थानान्तरण भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली प्रदेश सभा बैठक बस्दै, कस्तो छ दलहरूको तयारी ?
-
शुभमन गिललाई उप–कप्तान बनाएपछि पूर्वक्रिकेटर आक्रोशित
-
‘सरकार र प्रदेश सभालाई छुट्ट्याएर हेर्नै मिल्दैन’
-
नेकपा एमालेमा पहिरो, ५९ जना नेता कार्यकर्ताद्वारा सामूहिक राजीनामा
-
शिक्षक दरबन्दी पुनरवलोकन समितिले गर्यो शिक्षामन्त्रीलाई ब्रिफिङ
-
अध्यादेशपछि थापाथली र सिनामंगलका सुकुम्बासीले जग्गा पाउलान् ?