कांग्रेसले उपनिर्वाचन जितेर जनताको विश्वास आर्जन गर्नुपर्छ : नैनसिंह महर
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले उपनिर्वाचनमा जित हासिल गर्दै पार्टीले जनताको विश्वास आर्जन गर्नुपर्ने बताएका छन्।
पार्टीको सय दिने विशेष अभियानअन्तर्गत कांग्रेस जिल्ला कार्यसमिति इलामद्वारा आयोजित कार्यक्रममा महरले आम निर्वाचनको दुई वर्षपछि यही मंसिर १६ मा हुने उपचुनाव मिनी चुनाव भएको भन्दैकांग्रेसले आफूलाई सक्षम साबित गर्न जितको विकल्प नभएको बताए।
‘मंसिर ५ को उपनिर्वाचन मिनी चुनाव हो। आम निर्वाचन भएको ठीक दुई वर्षपछि उपनिर्वाचन हुँदैन । कांग्रेस संसद्को सबैभन्दा ठूलो दल हो। कांग्रेसले आफ्नो हैसियत राख्न जनताको विश्वास आर्जन गर्न जरुरी छ। त्यसका लागि पार्टी एकबद्ध भएर सक्रिय हुनुपर्छ। कोही कतै चुक्नु हुँदैन। हामी चुकेनौं भने जित सुनिश्चित छ,’ उनले भने।
पार्टीभित्रका आन्तरिक विकृति हटाउने र आफैँ शक्तिशाली पार्टी बनेर एक्लै चुनाव लड्नका लागि वातावरण सिर्जना गर्ने उद्देश्यका साथ थालिएको सय दिने अभियानको बीचमा उपनिर्वाचन भइरहेको उनको भनाइ छ । उपनिर्वाचनको परिणामले सय दिने कार्यक्रम कति प्रभावशाली बन्न सफल भयो भन्ने झल्किने उनले बताए।
‘कांग्रेस बाहेक देशका पुराना राजनीतिक शक्ति सधैँ अस्थिरतामा रमाए। हाम्रो धेरै समय उनीहरूलाई समेट्दै देशमा स्थिरता कायम गर्न मै बित्यो। नयाँ राजनीतिक शक्तिको रूप उदय हुँदा नै उदांगो भइसकेको छ। हामीले उनीहरूका पात्र, प्रवृत्ति र चरित्र देखिसकेका छौं,’ उनले भने, ‘अब कांग्रेसले जित्नुको विकल्प छैन। राजनीतिक स्थिरता कायममा ठूलो भूमिका खेलेको कांग्रेस अब जनताको विकास र समृद्धिको अभीष्ट पूरा गर्न केन्द्रीत हुनुपर्छ। र, हुन्छ।’
पार्टीको संगठन चुस्त–दुरुस्त बनाउने, जनताका गुनासा सुन्ने र आफूलाई परिष्कृत गर्दा सहजै शक्तिशाली पार्टी बन्न सकिने महरको भनाइ छ।
सरकार पनि आफ्नो प्रतिबद्धताप्रति जिम्मेवार हुनुपर्ने महरको भनाइ छ। ‘हिजो कांग्रेस एमाले गठबन्धन हुँदा सात बुँदे सहमति भएको थियो। सहमति अनुरूप कति काम भए–भएनन् ? बेला बखत त्यसको समीक्षा गर्दै सहमति अनुरूप पनि काम गर्दै अगाडि बढ्नुपर्छ। सत्ता सहयात्रा गर्दाको सहमतिको असर पार्टीलाई पर्नु हुँदैन,’ उनले भने।
संविधान संशोधनलगायत विषयमा सरकार गम्भीर बन्नुपर्ने उनको भनाइ छ। ‘योबीचमा अन्डर१९ विश्वकप क्रिकेट खेल्ने मौका मिलेको, बंगलादेशसँग ४० मेगावाट विद्युत् बिक्री सुरु गरिएको, चीनमा पहिलो पटक इलामको चिया निर्यात सुरु भएको छ। यी देश विकासका लागि राम्रा पक्ष हुन्। यस्ता जनताका पक्षमा हुने काम पनि सरकारले गर्नुपर्छ,’ उनले भने।
महरले इलामका सम्भावनाको विकासमा पनि सरकार गम्भीर बन्नुपर्ने बताए । इलाम अलैंची, अदुवा, अर्थोडक्स चिया, अकबरे खुर्सानी, ओलन (दूध), अम्लिसो, आलु र अतिथि सत्कारमा प्रख्यात रहेकाले यी कुराको ब्रान्डिङ गर्दै विश्व बजारसम्म पुर्याउन सक्नुपर्ने उनले बताए।
कृषिमा उर्वर इलामले थुप्रै सम्भावना बोकेकाले राज्यले त्यसको सही सदुपयोग गर्न सक्नुपर्ने उनको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी एकताबद्ध भएर जानुको विकल्प छैन : सिटौला
-
क्रियाशील सदस्यहरूले नै क्रियाशील सदस्यताको महत्त्व नै बुझाउन सकेनन् : उपप्रधानमन्त्री सिंह
-
एकताबद्ध भएर जानुको विकल्प छैन : सिटौला
-
पाँच महिनामा एक अर्बभन्दा बढीको सिमेन्ट भारततर्फ निर्यात
-
ख्रीष्टमसको अवसरमा राक्सिराङमा २ दिन सार्वजनिक बिदा
-
पुष्पाले तोड्यो बाहुबलीको रेकर्ड