बुधबार, ०५ मङ्सिर २०८१
ताजा लोकप्रिय
स्थानीय तह उपनिर्वाचन

उपनिर्वाचनबाट ‘विरासत’ जोगाउनुपर्ने चुनौतीमा कांग्रेस : यस्तो थियो २०७९ को अवस्था

मङ्गलबार, ०४ मङ्सिर २०८१, १८ : ३१
मङ्गलबार, ०४ मङ्सिर २०८१

काठमाडौँ । उपनिर्वाचनमा मतदानको दिन आउन १२ दिनमात्र बाँकी रहँदा सत्तामा रहेको दल नेपाली कांग्रेस २६ सिट जोगाउनुपर्ने चुनौतीमा छ । निर्वाचन आयोगले निकालेको कार्यतालिका अनुसार यहीँ मंसिर १६ गते ४४ पद रिक्त रहेका विभिन्न स्थानीय तहमा उपनिर्वाचन हुँदैछ । त्यसमध्ये सबैभन्दा धेरै कांग्रेसले गुमाएको स्थानीय तहमा उपनिर्वाचन हुन लागेको हो ।

पार्टी महामन्त्री समेत रहेका स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समिति संयोजक विश्वप्रकाश शर्मा नतिजा आउँदा कांग्रेस पहिलो दल बनेर उभिने दाबी गर्छन् । उनी विगतको विरासत जोगाउने चुनौति भएको स्वीकार गर्दै एमालेसँग ‘सरकारमा सहकार्य र मैदानमा प्रतिस्पर्धा’ गरेर अधिक स्थान कांग्रेसले जित्ने बताउँछन् ।

‘देशरभरको तथ्यांक र आन्तरिक तयारी उम्मेदवारी चयनमा देखिएको हार्दिकता लगायत सबै समीकरण हेर्दा उपनिर्वाचन पश्चात् नेपाली कांग्रेस पहिलो दलको रुपमा उभिन्छ‚’ महामन्त्री शर्माले भने ।

कांग्रेसले २०७९ को स्थानीय तहबाट जितेका ओखलढुंगा र कैलाली जिल्ला समन्वय समिति प्रमुख गुमाएको थियो । उपनिर्वाचनका लागि मंसिर २ गते भएको मनोनयन दर्ताका क्रममा एमालेसँग अघोषित भएको सहकार्यबाट ओखलढुंगा जिसस प्रमुखमा निर्विरोध र कैलालीमा पनि कांग्रेसले जिसस प्रमुख जित्ने अवस्था बनेको छ ।

यसबाहेक कांग्रेसले मुख्य रूपमा काठमाडौँको कीर्तिपुर नगरपालिका प्रमुख, जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख, मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष, दैलेखको महाबु गाउँपालिका अध्यक्ष, दोलखाको गौरिशंकर गाउँपालिकाका उपाध्यक्ष, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष गुमाएको छ । यहबाहेक वहुसंख्यक वडामा पनि अध्यक्ष गुमाएको छ ।

‘तयारी मिहिन ढंगबाट हामीले गरेका छौँ । म भर्खर पनि कीर्तिपुरमा तयारी बैठक र निर्वाचनका तयारीका लागि आवश्यक कार्यालय उद्घाटन गरेको आउँदै छु‚’ केन्द्रीय सदस्य तथा उपनिर्वाचन संयोजन समिति सदस्य मधु आचार्य भन्छन्‚ ‘देशैभर तयारी हामीले गरिरहेका छौँ ।’

कांग्रेसले सातै प्रदेशका विभिन्न स्थानमा हुन लागेको उपनिर्वाचनका लागि केन्द्रीय सहमहामन्त्री तथा नेताहरूलाई जिम्मेवारी तोकेर काम गरिरहेको छ ।

०७९ को स्थानीय तह निर्वाचनको लेखाजोखा

कोशी प्रदेशको ताप्लेजुङ जिल्ला सिरिजंगा गाउँपालिका–३ को वडा अध्यक्ष पदमा उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनका लागि कांग्रेसले भीमकुमार लम्सम्वालाई उम्मेदवार बनाएको छ । यो वडामा २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका दीलप्रसाद वोखिम ४०३ मतसहित विजयी भएका थिए । उक्त निर्वाचनमा एमाले उम्मेदवार कुमारी सावादेनले ३९९ मत पाएकी थिइन् ।

झापाको कन्काइ नगरपालिका–६ को वडा अध्यक्ष पदका लागि कांग्रेसले रामगोपाल ओलीलाई उम्मेदवार बनाएको छ । विगतमा यो वडा कांग्रेसले जितेको हैन । यहाँ कांग्रेस तेस्रो भएको थियो । नेपाली कांग्रेसका उम्मेदवार केशव विमलीले २०९ मत पाएका थिए । जबकि पहिलो हुने दल एमालेका उम्मेदवार दीर्घबहादुर थापाले ५०८ तथा दोस्रोमा रहेका स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओलीले ४४० मत पाएका थिए ।

मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा कांग्रेसलाई विरासत जोगाउनुपर्ने चुनौती छ । कांग्रेस नेता डा शेखर कोइरालाको गृह जिल्लामा समेत रहेको मोरङको ग्रामथानमा हाल कांग्रेसले बलराम सरदारलाई उम्मेदवार बनाएको छ । अघिल्लो निर्वाचनमा यहाँ नेपाली कांग्रेसका जयप्रकाश गच्छदार थारु ७ हजार ६०५ मतसहित निर्वाचित हुँदा नेकपा एमालेका शिवनारायण माझीले ६ हजार ९३ मत पाएका थिए ।

तेह्रथुमको लालीगुराँस नगरपालिका–८ को वडा अध्यक्षमा कांग्रेसबाट नगेन्द्र लिम्बू उम्मेदवार छन् । अघिल्लो निर्वाचनमा यो वडाको अध्यक्ष पदमा नेपाली कांग्रेसका तेजमान लिम्बु ५२४ मतसहित निर्वाचित भएका थिए । त्यसैले कांग्रेसलाई जितको सिलसिला कायम गर्न जरुरी छ । अघिल्लो निर्वाचनमा यहाँ एमालेका तुलसीराम खनालले ४१३ मत पाएका थिए ।

सुनसरीको गढी गाउँपालिका–६ को वडा अध्यक्षमा कांग्रेसले तेतर साहलाई उम्मेदवार बनाएको छ । गएको निर्वाचनमा कांग्रेस यहाँ तेस्रो बनेको थियो । यसपटक भने जितका साथ मैदान उत्रँदा एमालेनै बाधक बन्ने देखिन्छ । ०७९ को निर्वाचनमा यहाँ एमालेका सदानन्द उराँव झागर ७१२ मतसहित निर्वाचित हुँदा नेकपा माओवादी केन्द्रका कुशेश्वर खेरवारले ४२४, नेपाली कांग्रेसका तिलेश्वर चौधरीले ४१६, जसपा नेपालका रामनारायण साहुले ३५६ मत पाएका थिए ।

ओखलढुंगाको मोलुङ गाउँपालिका–५ को वडा अध्यक्षमा यसअघि नेपाली कांग्रेसका गोपीकृष्ण कार्की ३८४ मतसहित निर्वाचित भएका थिए ।  यसपटक पनि कांग्रेसले जितलाई निरन्तरता दिने तयारी गरेको छ । कांग्रेसले यहाँ घनश्याम दाहाललाई हाल उम्मेदवार बनाएको छ । गएको निर्वाचनमा यहाँ नेकपा एमालेका गोपाल नेपाल ३७० मतसहित दोस्रो स्थानमा थिए । अहिले एमालेले यो वडा अध्यक्ष पदमा गंगाबहादुर तामाङलाई उम्मेदवार बनाएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका–१२ को वडा अध्यक्ष पदमा कांग्रेसले सञ्जिव काफ्लेलाई टिकट दिएको छ । काफ्लेले कांग्रेसको विरासत जोगाउने भन्दै टिकट पाएका हुन् । ०७९ को निर्वाचनमा कांग्रेसका चुडाराज काफ्ले ४३९ मतसहित निर्वाचित भएका थिए । झिनो मतान्तरले नेकपा एमालेका रमेश राउत क्षेत्री दोस्रो भएका थिए । उनले ४०८ मत र तेस्रो भएका नेकपा माओवादी केन्द्रका नविनकुमार वान्तवा राईले ४०४ मत पाएका थिए । यस्तै उदयपुरकै बेलका नगरपालिका–९ मा कांग्रेसले नवराज बस्नेतलाई टिकट दिएको छ । बस्नेतलाई पनि विरासत जोगाउनुपर्ने चुनौती छ । किनभने २०७९ को निर्वाचनमा पार्टीबाट उम्मेदवार बनेका पदमबहादुर खड्का ६७१ मतसहित विजयी भएका थिए । यस्तै दोस्रो स्थानमा नेकपा एमालेका रणजित राईले ५४८ मत पाएका थिए ।

मधेसमा कस्तो थियो कांग्रेस ?

मधेस प्रदेश अन्तर्गत सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ र ४ को वडा यसअघि कांग्रेसले जितेको थियो । पार्टीबाट उम्मेदवार बनेका प्रितमलाल चौधरी ५३५ मतसहित निर्वाचित हुँदा नेकपा एमालेका धिरेन्द्रकुमार साहले ४६९ र जसपा नेपालका लक्ष्नदेव साहले ४३८ मत पाएका थिए । उपनिर्वाचनका लागि कांग्रेसले भुलियादेवी थरूनीलाई टिकट दिएको छ । यस्तै, डाक्नेश्वरी नगरपालिका–४ मा पार्टीले जोगिन्द्र रायलाई टिकट दिएको छ । २०७९ को निर्वाचनमा यहाँ नेपाली कांग्रेसका हरिप्रसाद यादव ३३३ मतसहित निर्वाचित भएका थिए । यहाँ जसपा नेपालका महेन्द्र यादव २६९ मतसहित निकटतम प्रतिस्पर्धी थिए । यहाँ एमालेका उम्मेदवार उपेन्द्र रामले २५ मतमात्र प्राप्त गरेका थिए ।

धनुषाको धनुषाधाम नगरपालिका–१ को वडा अध्यक्ष पदमा कांग्रेसले अशोककुमार मण्डललाई उम्मेदवार बनाएको छ । उनले कांग्रेसको विरासत जोगाउने अभिभारा पाएका छन् । २०७९ को निर्वाचनमा कांग्रेसले जित्दा विश्वनाथ यादव ६१८ मत पाएका थिए । यस्तै दोस्रो स्थानमा एमालेका प्रमोद यादवले ३७७ मत पाएका थिए । यहाँ नेकपा माओवादी केन्द्रका सुनिल कापर केवटले ३६९ र जसपा नेपालका देवनारायण यादवले ३२५ मत पाएका थिए ।

महोत्तरीको रामगोपालपुर नगरपालिका–२ मा नेकपा माओवादीले अघिल्लो चुनाव जित्दा कांग्रेस दोस्रो स्थानमा रहेको थियो । त्यसबखत पार्टी उम्मेदवार मोहम्मद जनिफ खाँले ३७५ मत पाएका थिए । हाल जितको अभिभार सहित यहाँ उनै खाँले पुनः टिकट लिएका छन् ।

मधेश प्रदेशकै रौतहटको ईशनाथ नगरपालिका–७ को वडा अध्यक्षमा कांग्रेसले शेख अब्दुल खलिकलाई टिकट दिएको छ । उनी पनि २०७९ मा निर्वाचन लडेर ५७८ मतसहित दोस्रो बनेका थिए । यहाँ एमालेका शेख खलीउल्लाह ६८३ मतसहित निर्वाचित भएका थिए । नेकपा एकीकृत समाजवादीका सदरे आलमले ३२७ मत पाएर तेस्रो बनेका थिए । रौतहटकै राजपुर नगरपालिका–६ को वडा अध्यक्षमा यसअघि नेपाली कांग्रेसका शेख मोजरे आलम ५३४ मतसहित निर्वाचित भएका थिए । त्यही जितलाई कायम गर्न भन्दै कांग्रेसले उपनिर्वाचनका लागि समसे आलमलाई टिकट दिएको छ । रौतहटकै गढीमाई नगरपालिका–८ मा भने कांग्रेसले सुवोदकुमार यादवलाई उम्मेदवार बनाएको छ । अघिल्लो निर्वाचनमा यहाँ जसपा नेपालका रामाज्ञा राय यादव ७६४ मतसहित जितेका थिए । दोस्रो स्थानमा रहेका कांग्रेस उम्मेदवार वैधनाथ ठाकुर लोहारले ५६१ मत पाएका थिए ।

महत्त्वपूर्ण बागमती : अवस्था कस्तो ?

देशभरकै एकमात्र नगरपालिका अन्तर्गत बागमती प्रदेश अन्तर्गत कीर्तिपुर नगरपालिकामा उपनिर्वाचन हुन लागेको हो । पहिले पनि कांग्रेसले जितेको यो पालिकामा यसपटक पनि त्यसैलाई निरन्तरता दिनुपर्ने दबावमा कांग्रेस छ ।

अघिल्लो निर्वाचनमा निर्वाचनमा यहाँ नेपाली कांग्रेसका राजकुमार नकर्मी ९ हजार ४३ मतसहित निर्वाचित भएका थिए । त्यसबखत एमालेका केशवरत्न बज्राचार्यले ५ हजार ५०७ मत पाएका थिए । माओवादी केन्द्रका प्रा.डा.शिवशरण महर्जनले ४ हजार ९० र नेकपा एकीकृत समाजवादीका वटुकृष्ण थापाले एक हजार १५३ मत पाएका थिए ।

कीर्तिपुरमा नगरप्रमुख मात्र होइन वडामा पनि उपनिर्वाचन हुन लागेको छ । नम्बर १ को वडा पनि कांग्रेसले जितेको थियो । त्यसबखत पार्टी उम्मेदवार हिरालाल महर्जन ७७८ मतसहित निर्वाचित भएका थिए । एमालेका हर्ष महर्जनले ५८२ र माओवादी केन्द्रका विनोदकुमार महर्जनले २७३ मत पाएका थिए । उपनिर्वाचनका लागि कांग्रेसले इच्छा महर्जनलाई उम्मेदवार बनाएको छ । यस्तै‚ कीर्तिपुर नगरपालिका–४ को वडा अध्यक्ष पदमा कांग्रेसले राजेन्द्र वानियाँलाई उम्मेदवार बनाएको छ । उनी यसअघि पनि उम्मेदवार बन्दै दोस्रो बनेका थिए । गएको निर्वाचनमा यहाँ स्वतन्त्र उम्मेदवार श्यामकुमार अधिकारी एक हजार ३८० मतसहित निर्वाचित भएका थिए ।

बागमती प्रदेश अन्तर्गत काठमाडौँ महानगरपालिका–१६ को वडा अध्यक्ष पदमा कांग्रेसले देवेन्द्र पाठकलाई उम्मेदवार बनाएको छ । अधिक मतदाता रहेको यो वडा गएको निर्वाचन पनि कांग्रेसले जितेको वडा हो । त्यसबखत कांग्रेसका मुकुन्द रिजाल ४ हजार १९ मतसहित निर्वाचित हुँदा एमालेका लक्ष्मीरत्न तुलाधरले ३ हजार ३१० र नेकपा एकीकृत समाजवादीका लक्ष्मण गमालले एक हजार ५८९ मत पाएका थिए ।

दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष पदमा पनि उपनिर्वाचन हुँदैछ । यो पालिका पनि कांग्रेसले जितेकै स्थानमा उपनिर्वाचन हुन लागेको हो । यसअघि पालिका उपाध्यक्षमा नेपाली कांग्रेसका श्यामसुन्दर तामाङ ४ हजार ७४१ मतसहित निर्वाचित हुँदा एमालेकी मुना शिवाकोटी केसीले ३ हजार २८१ मत पाएकी थिइन् । हाल कांग्रेसले श्यामसुन्दरकै पत्नी पासादिकी शेर्पालाई टिकट दिएको छ ।

यस्तै, नुवाकोटको ककनी गाउँपालिका–२ को वडा पदमा पार्टीले सूर्य तामाङलाई विरासत धान्ने जिम्मेवारीसहित टिकट दिएको छ । अघिल्लो निर्वाचनमा यहाँ पार्टीबाट टिकट लिएर लडेका तिलकबहादुर लामा ८८८ मतसहित निर्वाचित भएका थिए । त्यतिबेला माओवादी केन्द्रका कृष्ण घिमिरेले ७३४, एमालेका प्रेम बहादुर तामाङले २०५, राप्रपाका गोविन्द प्रसाद घिमिरेले २०३ मत पाएका थिए ।

२०७९ को निर्वाचनमा हेटौंडा उपमहानगरपालिका–१२ को वडा अध्यक्षमा माओवादी केन्द्र विजयी भएको थियो । त्यसबखत पार्टीबाट ललितबहादुर घलान एक हजार ३७१ मतसहित निर्वाचित भएका थिए  । दोस्रो स्थानमा भने नेपाली कांग्रेस आएको थियो । कांग्रेसका अर्जुनप्रसाद तिवारीले एक हजार ३४० मत पाएको थियो भने एमालेका राजेश नगरकोटीले एक हजार ३२५ मत पाएका थिए । हाल कांग्रेसले जित्ने आशा सहित उनै तिरवारीलाई टिकट दिएको छ ।

गण्डकीको १ मात्र स्थानीय तहमा उपनिर्वाचन

गण्डकी प्रदेश अन्तर्गत एक मात्र स्थानी तहमा उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगका अनुसार गोरखा नगरपालिका– ५ को वडा अध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो ।

२०७९ को उपनिर्वाचनमा यहाँ कांग्रेसले दोस्रो स्थानमा मत ल्याएको थियो । त्यसबखत पार्टीबाट उम्मेदवार बनेकी गीता थापामगरले ४२८ मत पाएकी थिइन् । यसपटक भने कांग्रेसले जित्ने दबाब सहित भाईकाजी आलेलाई टिकट दिएको छ । २०७९ को उपनिर्वाचनमा एमालेबाट उम्मेदवार बनेर खिलबहादुर राना ४५३ मतसहित निर्वाचित भएका थिए । त्यतिबेला माओवादी केन्द्रकी सावित्री थापा रानाले २७४ मत पाएका थिए ।

लुम्बिनी प्रदेशमा कांग्रेसको दृष्टी

लुम्बिनी प्रदेश अन्तर्गत गुल्मीको मुसिकोट नगरपालिका–१ को वडा अध्यक्ष पदमा विरासत धान्नुपर्ने दबाबमा कांग्रेस छ । अघिल्लो निर्वाचन जस्तै जित्नै पर्ने दबाबसहित उपनिर्वाचनका लागि आनन्द श्रेष्ठले टिकट पाएका छन् । अघिल्लो निर्वाचनमा यहाँ कांग्रेसका मोहन घिमिरे एक हजार १८२ मतसहित निर्वाचित हुँदा एमालेका नारायणबहादुर थापाले एक हजार १४३ मत पाएका थिए ।

रोल्पाको रुन्टीगढी गाउँपालिका–४ को वडा अध्यक्ष पनि अघिल्लो निर्वाचन कांग्रेसलेनै जितेको थियो । त्यही जितलाई कायम गर्न भन्दै भुपमणि पुन मगरले यहाँ उम्मेदवार बनेका छन् । २०७९ मा भएको निर्वाचनमा कांग्रेसका टंकबहादुर पुनले ४८८ मतसहित निर्वाचित हुँदा एमालेका वेगम पुनले ४८०, माओवादी केन्द्रका शिवलाल रोकाले २०३ मत पाएका थिए ।

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष पुथा उत्तरगंगा–२ को वडा अध्यक्षमा कांग्रेसले उम्मेदवारी दिएको छैन । यहाँ कांग्रेसले एमालेलाई सहयोग गर्ने निर्णय गरेको छ ।

कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१को वडा अध्यक्ष पदमा यसअघि नेपाली कांग्रेसका तिलक राम यादव एक हजार ३२ मतसहित निर्वाचित भएका थिए । उपनिर्वाचनका लागि त्यही जितलाई निरन्तरता दिनभन्दै दिनेशकुमार यादव (बब्लु)लाई उम्मेदवार बनाएको छ । यसअघि एमालेका उम्मेदवार अब्दुल मोजीब खाँले यहाँ ८८९ मत पाएका थिए ।

बर्दियाको ठाकुरबाबा नगरपालिका–४ पनि यसअघि कांग्रेसले जितेको हो । हाल कांग्रेसले यहाँ अमिन थारूलाई उम्मेदवार बनाएको छ । २०७९ को निर्वाचनमा यो वडामा कांग्रेसका सूर्यबहादुर बिष्ट निर्वाचित भएका थिए । बिष्टले एक हजार २०९ मत पाउँदा एमालेका नारायण अधिकारीले ५८० र माओवादी केन्द्रका अमरबहादुर थापाले ४२१ मत पाएका थिए ।

कर्णाली प्रदेशमा कस्तो छ अवस्था ?

कर्णाली प्रदेश अन्तर्गत पर्ने दैलेखको महाबु गाउँपालिका अध्यक्ष यसअघि कांग्रेसले जितेको हो । यसपटक पनि जित्ने दबाबसहित झलकबहादुर भण्डारीले टिकट पाएका छन् ।

२०७९ को निर्वाचनमा कांग्रेस लछुमन गुरुङ २९७९ले मतसहित जित हासिल गर्दा एमालेका हरि प्रसाद उपाध्याय २५१९ र एकीकृत समाजवादीका जंगबहादुर शाही २२६८ ले मत पाएका थिए ।

दैलेखको दुल्लु नगरपालिका वडा नम्बर १३ भने कांग्रेसले जितेको वडा हैन । यसपटक भने जितको दबाबसहित रेशमबहादुर शाहीले वडा अध्यक्षको उम्मेदवार बनेका छन् । गएको निर्वाचन यहाँ एमालेका बिर्ख बहादुर शाही ८२२ मतसहित जित निकाल्दा‚ माओवादीका डम्बर बहादुर शाही ७७३‚ एकीकृत समाजवादीका भीम प्रसाद शर्मा ३६ मत पाएका थिए ।

कर्णाली प्रदेश अन्तर्गत जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख कांग्रेसले इन्द्रा चन्द (सिंह) लाई टिकट दिएको छ । यसअघि पनि पार्टीबाट उम्मेदवार बनेकी कांग्रेसकी सरिता सिंह ५४०६ मत सहित विजयी हुँदा एमालेकी सुनिता बोहरा ३३९३ मत  पाएकी थिइन् । यहाँ कांग्रेस–माओवादी तालमेल थियो ।

गएको निर्वाचनमा कुशे गाउँपालिका वडा नम्बर ७ जाजरकोटको वडा अध्यक्ष माओवादीका मनबहादुर घर्ती ३८० मतसहित विजयी भएका थिए । यहाँ कांग्रसका खम्बबहादुर सिंह ३१८ मत सहित दोस्रो भएका थिए । यसपटक उपनिर्वाचनका लागि पार्टीले उनै सिंहलाई टिकट दिएको छ ।

कर्णाली प्रदेश अन्तर्गत सर्केगाड गाउँपालिका हुम्ला उपाध्यक्षमा कांग्रेसले सविता बुढालाई उम्मेदवार बनाएको छ । अघिल्लो निर्वाचनमा यहाँ माओवादीका चन्द्रसिंह कार्की ३२६९ ले मत पाउँदा एमालेका जुन कुमारी फडेरा १०६४ मत सहित दोस्रो बनेका थिए ।

कालीकोटको तिलागुफा नगरपालिका वडा नम्बर ४ मा हुने उपनिर्वाचनका लागि कांग्रेसले कैलबहादुर शाहीलाई उम्मेदवार बनाएको छ । गएको निर्वाचनमा यहाँ माओवादीका परबहादुर शाही २३४ मतसहित विजयी हुँदा नेमकिपाका दीपबहादुर शाही १६१ मत तथा कांग्रेसका मले बहादुर शाहीले ३ मत पाएका थिए ।

यस्तै‚ डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ५ मा ०७९ को निर्वाचनमा तेस्रो बनेको कांग्रेसले पहिलो बन्ने दाउँसहित राजेन्द्रप्रसाद न्यौपानेलाई टिकट दिएको छ । अघिल्लो निर्वाचनमा यहाँ एमालेका नन्दलाल रोका १०८ मत‚माओवादीका जंगबहादुर रोकाया १०२ मत तथा कांग्रेसका नरबहादुर झाँक्री ८२ मत पाएका थिए ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ५ मा कांग्रेसले मोतिराम खत्रीलाई उम्मेदवार बनाएको छ । यसअघि पनि यहाँ कांग्रेसका अल बहादुर खत्रीले ४६२ मतसहित चुनाव जितेका थिए । जबकि २०७९ को निर्वाचनमा दोस्रो बनेका माओवादी केन्द्रका तीर्थ बहादुर खत्री ४३४ मत पाएका थिए ।

सभापति देउवाको गृह प्रदेशको अवस्था कस्तो ?

पार्टी सभापति शेरबहादुर देउवाको गृह प्रदेश सुदूरपश्चिम प्रदेश अन्तर्गत कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ को वडाध्यक्ष पदमा एमालेले बहादुर चन्दलाई उम्मेदवार बनाएको छ । २०७९ को निर्वाचनमा यहाँ कांग्रेसका महेन्द्र खड्का ११०२ मतसहित निर्वाचित हुँदा एमालेका जनकराज अवस्थीले ६९८ मतमात्र पाएका थिए । त्यतिबेला यहाँ माओवादी केन्द्रले उम्मेदवारी दिएको थिएन ।

दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ५ को वडा अध्यक्षमा धनसिंह कुँवरलाई पार्टीले उम्मेदवार बनाएको छ । यसअघि ०७९ को निर्वाचनमा यहाँ कांग्रेस र माओवादी केन्द्रबिच तालमेल भएको थियो । त्यतिबेला माओवादी केन्द्रका मनोरथ भट्ट ५८२ मतसहित निर्वाचित हुँदा एमालेका बडालले ३०२ मत पाएका थिए ।

डोटीको पूर्वीचौकी गाउँपालिका वडा नम्बर ६ को वडा अध्यक्ष पदमा कांग्रेसले मोहन थापालाई टिकट दिएको छ । २०७९ को निर्वाचनमा यहाँ नेपाली कांग्रेसकै पुष्पराज जोशी ५१३ मतसहित निर्वाचित हुँदा एमालेका देवबहादुर भण्डारीले ३८७ र माओवादी केन्द्रका टंकबहादुर नेपालीले ४९ मत पाएका थिए ।

बझाङको सुर्मा गाउँपालिका वडा नम्बर ४ को वडा अध्यक्षमा एमालेका सर्जन बहादुर बोहरा ६२९ मतसहित निर्वाचित भएका थिए । दोस्रोमा कांग्रेसका लोकबहादुर बोहराले ६०४ मत पाएका थिए । उपनिर्वाचनका लागि कांग्रेसले यहाँ धीरेन्द्र पुजारालाई टिकट दिएको छ ।

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा अघिल्लो निर्वाचनमा कांग्रेसकी मैना जोशी विजयी भएकी थिइन् । यसपटकको उपनिर्वाचनमा पार्टीले सोही जितलाई निरन्तरता दिन पुत्लीसरा शाहीलाई उम्मेदवार बनाएको छ । अघिल्लो निर्वाचनमा जोशीले एक हजार ८१० मतसहित निर्वाचित हुँदा एमालेकी भण्डारीले एक हजार ६३७, माओवादीका सुरेश बहादुर रोकायाले एक हजार २१३ मत पाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोमन आचार्य
रोमन आचार्य
लेखकबाट थप