बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
स्थानीय तह उपनिर्वाचन

दुई रणनीतिका साथ ३४ स्थानमा राप्रपाको उम्मेदवारी, कति छ शक्ति ?

मङ्गलबार, ०४ मङ्सिर २०८१, १७ : १६
मङ्गलबार, ०४ मङ्सिर २०८१

काठमाडौँ । मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ३४ जना उम्मेदवार खडा गरेको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले दुई रणनीतिका साथ पार्टीले उपनिर्वाचनमा उम्मेदवार खडा गरेको रातोपाटीलाई जानकारी दिए । 

‘सकेसम्म उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउने र नसके विगतको भन्दा धेरै अर्थात् भोट बढाउने पार्टीको रणनीति छ’, मङ्गलवार दिउँसो श्रेष्ठले भने । 

राप्रपाले झापाको कन्काइ नगरपालिका वडा नम्बर–६ को अध्यक्ष पदमा नारायण प्रसाद निरौला, तेह्रथुमको लालीगुराँस गाउँपालिका–८ को अध्यक्षमा रत्नबहादुर श्रीपाली, मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा दिनेश कुमार थन्दार, सुनसरीको गढी गाउँपालिका वडा नम्बर ६ को अध्यक्षमा कविता कुमारी उराव, ओखलढुंगाको मोलुङ गाउँपालिका वडा नम्बर ५ को अध्यक्ष पदमा चन्द्रमणि दाहाल, उदयपुरको त्रियुगा नगरपालिका–१२ को अध्यक्ष पदमा लालबाबु साह, बेलका नगरपालिका–९ मा टीका प्रसाद फुयल, सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ मा सतिश कुमार चौधरी थारु, डाक्नेश्वरी–४ मा राम कुमार यादवको उम्मेदवारी रहेको छ । 

यसैगरी धनुषाको धनुषाधाम नगरपालिका–१ मा राम देव सिंह दनुवार, महोत्तरीको रामगोपालपुर नगरपालिका–२ मा मो मनान खाँ, रौतहटको ईशनाथ नगरपालिका–७ मा श्री मदन शाह, रौतहटको गढीमाई नगरपालिका–८ मा रामवालक साह, रौतहटकै राजपुर नगरपालिका–६ मा रामनारायण प्रसाद जयसवाल उम्मेदवार रहेका छन् । 

यसैगरी दोलखाको गौरीशंकर गाउँपालिकाकाको उपाध्यक्ष पदमा मनकुमारी श्रेष्ठ, नुवाकोटको ककनी गाउँपालिका–२ मा खेमबहादुर थापा, काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा श्यामकृष्ण श्रेष्ठ, कीर्तिपुर नगरपालिका–१ मा सुरेन्द्र प्रसाद उप्रेती, कीर्तिपुर नगरपालिका–४ मा विजेस बस्नेत, कीर्तिपुर नगरपालिकाको मेयरमा ध्रुव बस्नेत, मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ मा प्रेम बहादुर भोलन, गोरखाको गोरखा नगरपालिका–५ मा कल्पना राना, गुल्मीको मुसीकोट नगरपालिका–१ मा इश्वरी खाती, कपिलवस्तुको शुद्धोधन–१ मा इनताज अहमद धोबी, रोल्पाको रुन्टीगन्टी गाउँपालिका–४ मा पहल बहादुर वली, बर्दियाको ठाकुरबाबा नगरपालिका–४ मा रत्न बहादुर शाही, कालीकोटको तिलगुफा नगरपालिका–४ मा गोगन बहादुर शाही, हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा संगीता शाही, जाजरकोटको कुसे गाउँपालिका–७ मा लालबहादुर खत्री, दैलेखको दुल्लु नगरपालिका–१३ मा रेशम बहादुर मल्ल, दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा सुर्जे रावत, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा सुनादेवी थापा भोटे (धामी) र कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा सुशील कुमार भट्ट उम्मेदवार रहेका छन् । 

तयारी नपुगेको कारण राप्रपाले ४२ मध्ये ८ स्थानमा भने उम्मेदवारी दिएको छैन । उपनिर्वाचन नगरपालिका र गाउँपालिका तहमा अध्यक्ष/उपाध्यक्ष/उपमेयर पदमा हुन लागेको हो भने वडा तहमा अध्यक्ष पदमा हुन लागेको हो । 

कहाँ कति छ राप्रपाको जनमत ?

विगतको नतिजाको तथ्याङ्क हेर्दा उपनिर्वाचन हुन लागेको स्थानमा बलियो जनाधार देखिँदैन । २०७९ साल वैशाखमा भएको स्थानीय तह निर्वाचनको तथ्यांकअनुसार ताप्लेजुङको सिरिजंघा –३ मा राप्रपाको उम्मेदवार नै दिएनन् । जहाँ यो पटक पनि उम्मेदवार छैन । 

यस्तै झापाको कन्काइ नगरपालिका–६ मा राप्रपाका दिलिपकुमार कार्कीले १९ मत मात्रै पाएका थिए भने जहाँ एमालेका दीर्घबहादुर थापा ५०८ मतका साथ विजयी भएका थिए । यो स्थानीय तहमा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओलीले ४४० र माओवादी केन्द्रका रेवतबहादुर रेग्मीले २९४ मत पाउँदा नेपाली कांग्रेसका केशव विमलीले २०९ मत पाएका थिए । 

यसैगरी मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा राप्रपाका पखुलाल विश्वासले ४४७ मत पाएका थिए भने नेपाली कांग्रेसका जयप्रकाश गच्छदार थारु ७ हजार ६०५ मतका साथ विजयी भएका थिए । यसैगरी तेह्रथुमको लालीगुराँस नगरपालिका–८ मा राप्रपाको उम्मेदवार नै थिएनन् भने सुनसरीको गढी गाउँपालिका–६ मा पनि उम्मेदवार थिएनन् । यस्तै ओखलढुङ्गाको मोलुङ गाउँपालिका–५ मा राप्रपाका चन्द्रमणि दाहालले ५ मतमात्र पाएका थिए । जहाँ राप्रपाले फेरि उम्मेदवार उठाएको छ । सो निर्वाचनमा नेपाली कांग्रेसको गोपीकृष्ण कार्की ३८४ मतका साथ विजयी भएका थिए । 

उदयपुरको त्रियुगा नगरपालिका–१२ मा राप्रपाका होमनाथ पोखरेलले १० मत पाउँदा नेपाली कांग्रेसका चुडाराज काफ्ले ४३९ मतका साथ विजयी भएका थिए । 

यसैगरी उदयपुरकै बेलका नगरपालिका–९ मा पनि राप्रपाका उम्मेदवार रामकुमार खड्काले २७ मत पाउँदा नेपाली कांग्रेसका पदमबहादुर खड्का ६७१ मतका साथ विजयी भएका थिए । यस्तै सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ र डाक्नेश्वरी नगरपालिका–४ मा  राप्रपाको उम्मेदवार थिएनन् । 

धनुषाको धनुषाधाम नगरपालिका–१ मा राप्रपाका रामदेव सिंह दनुवार उम्मेदवार त थिए तर उनले १६ मतमात्र पाउँदा नेपाली कांग्रेसका विश्वनाथ यादवले ६१८ मत पाएर विजय हासिल गरेका थिए । यस्तै महोत्तरीको रामगोपालपुर नगरपालिका–२, रौतहटको ईशनाथ नगरपालिका–७, राजपुर नगरपालिका–६, गढीमाई नगरपालिका–८ मा राप्रपाले उम्मेदवार नै खडा गरेको थिएन । 

यस्तै काठमाडौँको कीर्तिपुर नगरपालिकाका प्रमुखमा राप्रपाका जितबहादुर विष्टले ५७२ मत पाएका थिए भने विजयी भएका कांग्रेसका राजकुमार नकर्मीले ९०४३ मत पाएका थिए । यस्तै कीर्तिपुर नगरपालिका–१ मा राप्रपाका सुरेन्द्र प्रसाद उप्रेतीले ३९ मत पाउँदा विजयी भएका कांग्रेसका हिरालाल महर्जनले ७७८ मत पाएका थिए । 

यसैगरी कीर्तिपुर नगरपालिका–४मा राप्रपाका राजकुमार केसी ८५ मत पाउँदा विजयी भएका स्वतन्त्र उम्मेदवार श्यामकुमार अधिकारीले १३८० मत पाएका थिए । यसैगरी काठमाडौँ महानगरपालिका–१६ मा राप्रपाका बिन्दिका गुरुङलाई ५५७ मत प्राप्त हुँदा विजयी भएका कांग्रेसका मुकुन्द रिजालले ४०१९ मत पाएका थिए । 

यसैगरी दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा राप्रपाकी यशोधा पाठकले २४ मतमात्रै पाएकी थिइन् । जबकि विजयी बनेका कांग्रेसका श्यामसुन्दर तामाङले ४७४१ मत पाएका थिए । यसैगरी नुवाकोटको ककनी गाउँपालिका–२ मा राप्रपाका गोविन्द घिमिरेले २०३ मत पाउँदा विजयी भएका कांग्रेसका तिलकबहादुर लामाले ८८८ मत पाएका थिए । 

यसैगरी मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ मा राप्रपाका सरनसिं थिङले १८३ मत पाएका थिए भने विजयी भएका माओवादी केन्द्रका ललितबहादुर घलानले १३७१ मत प्राप्त गरेका थिए । यसैगरी गोरखा नगरपालिका–५ मा एमालेका खिलबहादुर रानाले ४५३ मत पाएर विजय हासिल गरेकोमा राप्रपाका ज्ञानेन्द्रजंग शाहले जम्मा २३ मत पाएको निर्वाचन आयोगले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । 

यसैगरी गुल्मीको मुसिकोट नगरपालिका–१(गुल्मी), पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष(रुकुमपूर्व) र पुथा उत्तरगंगा–२(रुकुमपूर्व) मा राप्रपाको उम्मेदवार नै थिएन भने  शुद्धोधन गाउँपालिका–१(कपिलवस्तु) मा सुब्बा थारुको ३१ रहेको छ । जबकि सो स्थानमा कांग्रेसका तिलक राम यादवले १०३२ मत पाएका थिए । 

यसैगरी बर्दियाको ठाकुरबाबा नगरपालिका–४ मा राप्रपाका बमबहादुर हमालले २५ मत पाउँदा कांग्रेसका सूर्यबहादुर बिष्ट १२०९ मतका साथ विजयी भएका थिए । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्षमा समेत राप्रपाका सुशील कुमार भट्टले ४८७ मतमात्रै पाएका थिए । जहाँ कांग्रेसका महेन्द्र खड्का ११०२ मतका साथ विजयी भएका थिए । यसैगरी दार्चुलाको दुहुँ गाउँपालिका–५ मा उम्मेदवार नहुँदा डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा पनि प्रकाश थापाले १ मतमात्रै पाएका थिए । जबकि सो स्थानमा नेपाली कांग्रेसका पुष्पराज जोशीले ५१३ मत पाएर विजयी हासिल गरेका थिए । 

यसैगरी बझाङको सुर्मा गाउँपालिका–४, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा राप्रपाको २०७९ मा उम्मेदवार नै थिएन भने रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५ मा पनि उम्मेदवार थिएन । 

यस्तै  दैलेखको महाबु गाउँपालिका अध्यक्षमा भने राप्रपाका रजबहादुर सिंहले उम्मेदवारी दिएपनि जम्मा १२ मत पाएका थिए । जहाँ कांग्रेसका लछुमन गुरुङ २९७९ मतका साथ विजयी भएका थिए । यसैगरी दैलेखको दुल्लु नगरपालिका–१३ मा उम्मेदवार नहुँदा जाजरकोटको नलगाड नगरपालिका उपप्रमुखमा राप्रपाका उम्मेदवार डम्बर कुमारी बानियाँको मात्र ४८ मत थियो । जहाँ कांग्रेसकी सरिता सिंह ५४०६ मतका साथ विजयी भएकी थिइन् । 

यसैगरी जाजरकोटको कुशे गाउँपालिका–७, हुम्लाको सर्केगाड गाउँपालिका (उपाध्यक्ष), कालीकोटको तिलागुफा नगरपालिका–४, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ मा पनि राप्रपाको उम्मेदवारी थिएन । 

राप्रपाले अघिल्लो निर्वाचनमा उम्मेदवारी नदिएको स्थानमा अहिले उम्मेदवार खडा गरेको र संगठन पनि राप्रपा बनाइएकाले प्रभाव छाड्न सकिने दाबी गरेको छ । प्रवक्ता श्रेष्ठले कीर्तिपुर, काठमाडौँ महानगपालिका वडा नम्बर–१६ जस्ता स्थानमा पार्टीले जित्नेगरी तयारी गरेको दाबी गर्दै अन्य स्थानमा पनि राम्रो उपस्थिति देखाउने दाबी गरे । 

श्रेष्ठले यस्तो दाबी गरेपनि विगतको तथ्याङ्क हेर्दा राप्रपालाई उपनिर्वाचन जित्न मात्रै नभएर भोट बढाउन पनि निकै चुनौती हुने देखिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप