बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
स्थानीय तह उपनिर्वाचन

फ्ल्यास ब्याक : २० पदमा उम्मेदवारी दिएको एकीकृत समाजवादीको कति छ शक्ति ?

मङ्गलबार, ०४ मङ्सिर २०८१, १७ : ००
मङ्गलबार, ०४ मङ्सिर २०८१

काठमाडौँ । मंसिर १६ गते हुने उपनिर्वाचनका लागि माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले २० पदका लागि मात्र उम्मेदवारी दर्ता गराएको छ ।

सबै पदमा उम्मेदवारी दर्ता गर्न हच्किएको सो पार्टीले दुई पालिका उपाध्यक्ष र ३ देखि ५ वडा जित्ने दाबी गरेको छ भने बाँकी पदमा प्रतिस्पर्धामात्र हुने आन्तरिक विश्लेषण गरेको छ ।

स्थानीय तह उपनिर्वाचनमा दुई जिल्ला समन्वय समितिसहित, नगरप्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षगरी ४४ पदमा मतदान हुँदैछ । अघिल्लो निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितको गठबन्धनमा निर्वाचन लडेको एकीकृत समाजवादीले यो उपनिर्वाचनमा भने अहिलेसम्म कीर्तिपुरको मेयर र सोही नगरको वडा नम्बर १ मा माओवादीसँग तालमेल गरेको छ ।

एकीकृत समाजवादीले अब हुने उपनिर्वाचनमा उम्मेदवारी दिएका २० स्थानमध्ये २०७९ को स्थानीय तह निर्वाचनमा १३ वटा स्थानमा उम्मेदवारी दिएको थियो त्यसमध्ये पनि केही स्थानमा माओवादी केन्द्रसँग तालमेल गरेको थियो ।  

कोशी प्रदेश  

कोशी प्रदेशको मोरङ जिल्ला ग्रामथान गाउँपालिका अध्यक्षमा एकीकृत समाजवादीले दिलबहादुर विश्वकर्मालाई उम्मेदवार बनाएको छ । यसअघिको निर्वाचनमा नेकपा एकीकृत समाजवादीले त्यहाँ राकेश चौधरीलाई अध्यक्षको उम्मेदवार बनाएको थियो ।

चौधरीले त्यसवेला १३९ मत मात्र पाएका थिए ।

त्यहाँ नेपाली कांग्रेसका जयप्रकाश गच्छदार थारुले ७ हजार ६०५ पाएर निर्वाचित हुँदा नेकपा एमालेका शिवनारायण माझीले ६ हजार ९३ मत पाएका थिए ।

मंसिर १६ मा हुने सुनसरीको गढी गाउँपालिका वडा नम्बर ६ को उपनिर्वाचनमा यसपटक एकीकृत समाजवादीले डोमी उरावलाई उम्मेदवार बनाएको छ । अघिल्लो निर्वाचनमा पनि डोमी नै उम्मेदवार बन्दा उनले १२३ मत मात्र पाएकी थिइन् ।

यो पटक उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १२ को वडा अध्यक्षमा निर्मला चौधरी उठाएको एकीकृत समाजवादीले अघिल्लो निर्वाचनमा आफ्नो उम्मेदवार नै उठाएको थिएन । कोशी प्रदेशमा सात पदमा हुने उपनिर्वाचनमध्ये एकीकृत समाजवादीले तीन पदमा मात्र उम्मेदवारमा सीमित भएको छ ।   

ताप्लेजुङको गिरीजंघा वडा नम्बर ६, झापाको कन्काइ वडा नम्बर ६, तेह्रथुमको लालिगुराश नगरपालिका वडा नम्बर ९, ओखलढुंगाको मोलुङ ५, उदयपुरको बेलका ९ मा यसपटक उम्मेदवारी नै दिएको छैन ।

अघिल्लो निर्वाचनमा ओखलढुंगाको मोलुङ गाउँपालिका वडा नम्बर ५ मा किशान खत्रीलाई उम्मेदवार बनाएको सो पार्टीले ३५ मत प्राप्त गरेका थियो ।

मधेस प्रदेश

उपनिर्वाचनका लागि एकीकृत समाजवादीले रौतहट जिल्लाको ईशनाथ नगरपालिका वडा नम्बर ७ को वडा अध्यक्षमा सदरे आलमलाई उम्मेदवार बनाएको छ । जबकि यसअघिको निर्वाचनमा पनि आलम नै उम्मेदवार बनेका थिए । त्यसवेला उनले ३२७ प्राप्त गरेका थिए ।

जबकि अघिल्लो निर्वाचनमा एमालेका शेख खलीउल्लाहले ६८३ मत प्राप्त गरी निर्वाचित हुँदा दोस्रो स्थानमा नेपाली कांग्रेसका शेख अब्दुल खलिकले ५७८ प्राप्त गरेका थिए ।

यसअघि यो स्थानमा एकीकृत समाजवादीबाट जिकरुलाह नै उम्मेदवार बन्दा उनले ३२० मत प्राप्त गरेका थिए ।

त्यस्तै एकीकृत समाजवादीले गढीमाई नगरपालिका वडा नम्बर ८ को वडा अध्यक्षका लागि वजरंगी प्रसाद यादवलाई उम्मेदवार दोहोर्‍याएको छ । यसअघि यादवले ५१९ प्राप्त गरेका थिए । जहाँ जसपा नेपालका रामाज्ञा राय यादव ७६४ मतसहित निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका वैधनाथ ठाकुर लोहारले ५६१ ल्याउँदै दोस्रो स्थान प्राप्त गरेका थिए । उपनिर्वाचनमा यो पार्टीले धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर १ को वडा अध्यक्षमा गोपाली साहलाई उम्मेदवार बनाएको छ । यसअघि सो पार्टीले महेन्द्र यादवलाई उम्मेदवार बनाएकोमा ३९ मत पाएका थिए ।

यो प्रदेशको सात पदमा हुने निर्वाचनमा एकीकृत समाजवादीले ३ पदमा मात्र उम्मेदवारी दिएको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका १ र ४, महोत्तरीको रामगोपालपुर नगरपालिका २, रौतहटको राजपुर नगरपालिका ६ मा उम्मेदवार नै उठाएको छैन ।

बागमती

बागमती प्रदेशमा दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष पदमा एकीकृत समाजवादीले रविना खड्कालाई उम्मेदवार बनाएको छ भने नुवाकोट जिल्ला ककनी गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्षका लागि मान बहादुर लामालाई अघि सारेको छ ।

त्यस्तै मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को वडा अध्यक्षका लागि बलराम वललाई उम्मेदवार बनाएको छ । काठमाडौँ महानगरपालिका वडा नम्बर १६ को वडा अध्यक्षका लागि मिन बहादुर मानन्धरलाई उम्मेदवार बनाएको एकीकृत समाजवादीले यसअघि लक्ष्मण गमाललाई उम्मेदवार बनाएको थियो । उनले १ हजार ५८९ मत पाएका थिए ।

कीर्तिपुरकै वडा नं. ४ को वडा अध्यक्षका लागि रीता खड्का उम्मेदवार बनाएको एकीकृत समाजवादीले कीर्तिपुरको मेयरमा माओवादी उम्मेदवारलाई सघाउने छ । यसअघि वटुकृष्ण थापा मेयरको उम्मेदवार बन्दा १ हजार १५३ मत प्राप्त गरेका थिए ।

कीर्तिपुरको वडा नम्बर १ मा एकीकृत समाजवादीले उम्मेदवार नै उठाएको छैन । यसअघि कीर्तिपुर नगरपालिका १ मा एकीकृत समाजवादीका रोहित महर्जनले ६३ मत पाएका थिए ।  लुम्बिनीका उपनिर्वाचन हुने कुनैपनि पदमा एकीकृत समाजवादीले उम्मेदवारी दिएको छैन ।  

कर्णाली प्रदेश

उपनिर्वाचनमा कर्णाली प्रदेशको दैलेख जिल्ला महावु गाउँपालिका अध्यक्ष पदका लागि जगत हमाल उम्मेदवार बनाएको एकीकृत समाजवादीले अघिल्लो पटक जंगबहादुर शाहीलाई उम्मेदवार बनाएको थियो । त्यसबेला शाहीले माओवादीसँगको तालमेलमा २ हजार २६८ मत प्राप्त गरेका थिए ।

जहाँ कांग्रेसका लछुमन गुरुङ २ हजार ९७९मतसहित निर्वाचित हुँदा एमालेका हरि प्रसाद उपाध्याय २५१९मतसहित दोस्रो भएका थिए ।

त्यस्तै दुल्लु नगरपालिका वडा नं १३ को वडा अध्यक्षका लागि जगत शाहीलाई उम्मेदवार बनाएको यो पार्टीले यहाँको स्थानीय जनमत परीक्षण गर्नेछ ।  

जाजरकोट जिल्लाको नलगाड नगरपालिका उपप्रमुखमा उपनिर्वाचनमा एकीकृत समाजवादीले जमना शाहीलाई उम्मेदवार बनाएको छ । यसअघि उसले भीम प्रसाद शर्मालाई उम्मेदवार बनाउँदा ३६ मत पाएका थिए ।

त्यस्तै कुसे गाउँपालिका वडा नं. ७ को वडा अध्यक्षका लागि वीर बहादुर सिंहलाई उम्मेदवार बनाएर जनमत परीक्षण गर्न लागेको पार्टीले हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष पदका लागि सौभाग्य शाहीलाई अघि सारेको छ । त्यस्तै डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं ५ को वडा अध्यक्षका लागि धन बहादुर घर्ती र रूकुमपश्चिमको सानीभेरी गाउँपालिका वडा नं ५ को वडा अध्यक्षका लागि हंशराज पुरीलाई अघि बढाएको छ ।

उपनिर्वाचनमा एकीकृत समाजवादीले कर्णालीमा आठ पदमध्ये कालिकोटको तिलगुफा वडा नम्बर ४ मा मात्र उम्मेदवारी दिएको छैन ।

सुदूरपश्चिम

सुदूरपश्चिम प्रदेशमा बाजुरा जिल्लाको स्वामीकार्तिकखापर गाउँपालिका उपाध्यक्ष पदमा एकीकृत समाजवादीले जवा शाहीलाई र कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर ६ को वडा अध्यक्षका लागि जीतेन्द्र चन्दलाई उम्मेदवार बनाएको छ ।

भिमदत्त ६ मा यो पार्टीले चन्दलाई दोहोर्‍याएको हो । यसअघिको निर्वाचनमा उनले २३२ मत प्राप्त गरेका थिए । बझाङको सुर्मा गाउँपालिका वडा नम्बर ४, डोटीको पुर्वीचौकी गाउँपालिका वडा नम्बर ६, दार्चुलाको दुहु र ५ कैलाली जिससमा उम्मेदवार नै उठाउने हिम्मत नै गरेको छैन ।

के भन्छन् नेता भट्टराई ?

मंसिरको उपनिर्वाचनमा एकीकृत समाजवादीले अधिकांश पदमा एक्लै निर्वाचन लडेर केही स्थान जित्ने दाबी गरेको छ ।

सो पार्टीका उपमहासचिव रामकुमार भट्टराईले पार्टीका तर्फबाट उम्मेदवारी दिएका २० पदमध्ये ५ देखि सात पद आफ्ना पार्टीका उम्मेदवारले जित्ने दाबी गरे ।

‘दुई पालिकाका उपाध्यक्ष गौरीशंकर र बाजुराको स्वामिकार्तिकमा हामी जित्छाँै’, भट्टराईले भने, ‘वडाहरूमा पनि ३ देखि ५ वटा जित्ने देखिन्छ ।’

उनले रौतहटका २ वटा वडा, उदयपुरको त्रियुगा १२, कामपा १६, डोल्पाको त्रिपुरा सुन्दरी ५, नुवाकोटको ककनी २ मा जित्ने सम्भावना रहेको बताए । त्यसबाहेक अन्य स्थानमा प्रतिस्पर्धा हुने भट्टराईको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप