बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
स्थानीय तह उपनिर्वाचन

२०७९ लाई फर्केर हेर्दा : उपनिर्वाचनमा एमालेले उम्मेदवारी दिएका ४२ पदमा कस्तो छ जनाधार ?

४२ मध्ये ७ सिटमा जित्दा २२ सिटमा निकटतम प्रतिस्पर्धी थियो एमाले
मङ्गलबार, ०४ मङ्सिर २०८१, १५ : ५९
मङ्गलबार, ०४ मङ्सिर २०८१

काठमाडौँ । स्थानीय तहका रिक्त ४४ पदमध्ये दुई जिल्ला समन्वय समितिका अध्यक्षबाहेक ४२ पदमा नेकपा एमालेले उम्मेदवारी दिएको छ । तीमध्ये २०७९ को स्थानीय तहमा एमालेले ७ स्थानमा जित हासिल गरेको थियो ।

अहिले उम्मेदवारी दिएका ४२ पदमध्ये स्थानीय तह निर्वाचन २०७९ मा २२ पदमा एमाले दोस्रो स्थानमा अर्थात् निकटतम प्रतिस्पर्धी थियो ।

एमालेको जनमत कहाँ कस्तो ?

नेकपा एमालेले ताप्लेजुङको सिरिजंगा गाउँपालिका–३ को वडा अध्यक्षमा कुमारी सावादेनलाई उम्मेदवार बनाएको छ । सो वडामा २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका दीलप्रसाद वोखिम ४०३ मतसहित विजयी हुँदा एमाले उम्मेदवार सावादेनले ३९९ मत पाएकी थिइन् । त्यतिबेला झिनो मतले पराजित सावादेनलाई एमालेले उपनिर्वाचनमा पनि उम्मेदवार बनाएको हो ।

झापाको कन्काइ नगरपालिका–६ को वडा अध्यक्ष पदमा यसअघि एमालेका दीर्घबहादुर थापा ५०८ मतसहित निर्वाचित भएका थिए । यो वडामा अहिले एमालेले तुलाराम बस्नेतलाई उम्मेदवार बनाएको छ । अघिल्लो निर्वाचनमा यो वडामा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली ४४० मतसहित दोस्रो स्थानमा थिए ।

मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा नेकपा एमालेले तुल्सीराम विश्वासलाई उम्मेदवार बनाएको छ । अघिल्लो निर्वाचनमा यहाँ नेपाली कांग्रेसका जयप्रकाश गच्छदार थारु ७ हजार ६०५ मतसहित निर्वाचित हुँदा नेकपा एमालेका शिवनारायण माझीले ६ हजार ९३ मत पाएका थिए ।

तेह्रथुमको लालीगुराँस नगरपालिका–८ को वडा अध्यक्षमा नेकपा एमालेले बुद्धबहादुर लिम्बुलाई उम्मेदवार बनाएको छ । अघिल्लो निर्वाचनमा यो वडाको अध्यक्ष पदमा नेपाली कांग्रेसका तेजमान लिम्बु ५२४ मतसहित निर्वाचित हुँदा एमालेका तुलसीराम खनालले ४१३ मत पाएका थिए । यो वडा अध्यक्ष पदमा कांग्रेस र एमालेको मात्र उम्मेदवारी परेको थियो ।

सुनसरीको गढी गाउँपालिका–६ को वडा अध्यक्ष पदमा एमालेले शन्तु उराउलाई उम्मेदवार बनाएको छ । २०७९ को निर्वाचनमा यहाँ एमालेका सदानन्द उराँव झागर ७१२ मतसहित निर्वाचित हुँदा नेकपा माओवादी केन्द्रका कुशेश्वर खेरवारले ४२४, नेपाली कांग्रेसका तिलेश्वर चौधरीले ४१६, जसपा नेपालका रामनारायण साहुले ३५६ मत पाएका थिए ।

ओखलढुंगाको मोलुङ गाउँपालिका–५ को वडा अध्यक्षमा यसअघि नेपाली कांग्रेसका गोपीकृष्ण कार्की ३८४ मतसहित निर्वाचित भएका थिए । यहाँ नेकपा एमालेका गोपाल नेपाल ३७० मतसहित दोस्रो स्थानमा थिए । अहिले एमालेले यो वडा अध्यक्ष पदमा गंगाबहादुर तामाङलाई उम्मेदवार बनाएको छ ।

अघिल्लो निर्वाचनमा त्रिपक्षी प्रतिस्पर्धा भएको उदयपुरको त्रियुगा नगरपालिका–१२ को वडा अध्यक्ष पदमा नेपाली कांग्रेसका चुडाराज काफ्ले ४३९ मतसहित निर्वाचित हुँदा नेकपा एमालेका रमेश राउत क्षेत्रीले ४०८ र नेकपा माओवादी केन्द्रका नविनकुमार वान्तवा राईले ४०४ मत पाएका थिए । यो वडाको अध्यक्ष पदका लागि एमालेले अहिले लक्ष्मीनारायण चौधरीलाई उम्मेदवार बनाएको छ ।

उदयपुरकै बेलका नगरपालिका–९ मा एमालेले मोहन खड्कालाई उम्मेदवार बनाएको छ । अघिल्लो निर्वाचनमा यहाँ नेपाली कांग्रेसका पदमबहादुर खड्का ६७१ मतसहित विजयी हुँदा नेकपा एमालेका रणजित राईले ५४८ मत पाएका थिए । त्यतिबेला यो वडामा मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेस र एमालेबिच नै भएको थियो ।

मधेस प्रदेश अन्तर्गत सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ को वडा अध्यक्षमा एमालेले भगवाणी साहलाई उम्मेदवार बनाएको छ । अघिल्लो निर्वाचनमा यहाँ नेपाली कांग्रेस, नेकपा एमाले र जसपा नेपालबिच मुख्य प्रतिस्पर्धा देखिएको थियो । त्यतिबेला नेपाली कांग्रेसका प्रितमलाल चौधरी ५३५ मतसहित निर्वाचित हुँदा नेकपा एमालेका धिरेन्द्रकुमार साहले ४६९ र जसपा नेपालका लक्ष्नदेव साहले ४३८ मत पाएका थिए ।

यस्तै, डाक्नेश्वरी नगरपालिका–४ को वडा अध्यक्ष पदमा एमालेले संजय यादवलाई उम्मेदवार बनाएको छ । २०७९ को निर्वाचनमा यहाँ नेपाली कांग्रेसका हरिप्रसाद यादव ३३३ मतसहित निर्वाचित हुँदा जसपा नेपालका महेन्द्र यादव २६९ मतसहित निकटतम प्रतिस्पर्धी थिए । यहाँ एमालेका उम्मेदवार उपेन्द्र रामले २५ मतमात्र प्राप्त गरेका थिए ।

धनुषाको धनुषाधाम नगरपालिका–१ को वडा अध्यक्ष पदमा नेकपा एमालेले प्रमोद यादवलाई उम्मेदवार बनाएको छ । उनी २०७९ को निर्वाचनमा पनि उम्मेदवार थिए । त्यतिबेला नेपाली कांग्रेसका विश्वनाथ यादव ६१८ मतसहित निर्वाचित हुँदा एमाले प्रमोद यादवले ३७७ मत पाएका थिए । यहाँ नेकपा माओवादी केन्द्रका सुनिल कापर केवटले ३६९ र जसपा नेपालका देवनारायण यादवले ३२५ मत पाएका थिए ।

महोत्तरीको रामगोपालपुर नगरपालिका–२ मा एमालेले मो. सकिबल खानलाई उम्मेदवार बनाएको छ । अघिल्लो निर्वाचनमा यहाँ एमालेको जनाधार कमजोर देखिएको थियो । त्यतिबेला नेकपा माओवादी केन्द्रका मुकेशकुमार यादव ४३३ मतसहित निर्वाचित हुँदा नेपाली कांग्रेसका मोहम्मद जनिफ खाँले ३७५, जसपा नेपालका सकिबुल खाँले ३४२ र नेकपा एमालेका कादिर हुसैनले २८७ मत पाएका थिए ।

रौतहटको ईशनाथ नगरपालिका–७ को वडा अध्यक्षमा एमालेले शेख अनवारलाई उम्मेदवार बनाएको छ । यो वडाको अध्यक्षमा यसअघि एमालेकै शेख खलीउल्लाह ६८३ मतसहित निर्वाचित भएका थिए । त्यतिबेला नेपाली कांग्रेसका शेख अब्दुल खलिकले ५७८ र नेकपा एकीकृत समाजवादीका सदरे आलमले ३२७ मत पाएका थिए ।

रौतहटकै राजपुर नगरपालिका–६ को वडा अध्यक्षमा यसअघि नेपाली कांग्रेसका शेख मोजरे आलम ५३४ मतसहित निर्वाचित भएका थिए । अहिले एमालेले यहाँ मो. नसिम अख्तरलाई उम्मेदवार बनाएको छ । अघिल्लो निर्वाचनमा यहाँ एमालेको जनाधार कमजोर देखिएको थियो । त्यतिबेला जसपा नेपालका मोहम्मद नसिम अख्तर ४६५ मतसहित दोस्रो स्थानमा रहँदा नेकपा एकीकृत समाजवादीका जिकरुलाहले ३२० र नेकपा एमालेका उदयनारायण जैसवालले २८४ मत पाएका थिए ।

अघिल्लो निर्वाचनमा एमालेको जनाधार कमजोर देखिएको अर्को स्थान रौतहटको गढीमाई नगरपालिका–८ पनि हो । यहाँ एमालेले जिउती देवी यादवलाई उम्मेदवार बनाएको छ । अघिल्लो निर्वाचनमा यहाँ जसपा नेपालका रामाज्ञा राय यादव ७६४ मतसहित निर्वाचित हुँदा नेपाली कांग्रेसका वैधनाथ ठाकुर लोहारले ५६१, नेकपा एकीकृत समाजवादीका बजरंगी प्रसाद यादवले ५१९, लोसपा नेपालका इस्लाम महम्मद नटले २४१ र नेकपा एमालेका रामएकवाल ठाकुर लोहारले २९ मतमात्र पाएका थिए ।

बागमती प्रदेश अन्तर्गत कीर्तिपुर नगरपालिकाका प्रमुखमा एमालेले सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाएको छ । अघिल्लो निर्वाचनमा यहाँ नेपाली कांग्रेसका राजकुमार नकर्मी ९ हजार ४३ मतसहित निर्वाचित हुँदा एमालेका केशवरत्न बज्राचार्यले ५ हजार ५०७ मत पाएका थिए । त्यतिबेला माओवादी केन्द्रका प्रा.डा.शिवशरण महर्जनले ४ हजार ९० र नेकपा एकीकृत समाजवादीका वटुकृष्ण थापाले एक हजार १५३ मत पाएका थिए ।

कीर्तिपुर नगरपालिकाकै वडा नम्बर १ को वडा अध्यक्षमा एमालेले हर्ष महर्जनलाई उम्मेदवार बनाएको छ । उनी २०७९ को स्थानीय तह निर्वाचनमा पनि यही वडाको अध्यक्ष पदमा उम्मेदवार बनेर पराजित भएका थिए । यहाँ यसअघि नेपाली कांग्रेसका हिरालाल महर्जन ७७८ मतसहित निर्वाचित भएका थिए । एमालेका हर्ष महर्जनले ५८२ र माओवादी केन्द्रका विनोदकुमार महर्जनले २७३ मत पाएका थिए ।

कीर्तिपुर नगरपालिका–४ को वडा अध्यक्ष पदमा एमालेले बद्री बुढाथोकीलाई उम्मेदवार बनाएको छ । यहाँ यसअघि स्वतन्त्र उम्मेदवार श्यामकुमार अधिकारी एक हजार ३८० मतसहित निर्वाचित भएका थिए । त्यतिबेला नेपाली कांग्रेसका राजेन्द्र बानियाले एक हजार ५७ र एमालेका ईश्वरकुमार बास्कोटाले २३६ मत पाएका थिए ।

काठमाडौँ महानगरपालिका–१६ को वडा अध्यक्ष पदमा एमालेले लक्ष्मीरत्न तुलाधरलाई उम्मेदवार बनाएको छ । २०७९ को निर्वाचनमा पनि एमालेले तुलाधरलाई नै उम्मेदवार बनाएको थियो । त्यतिबेला यहाँ कांग्रेसका मुकुन्द रिजाल ४ हजार १९ मतसहित निर्वाचित हुँदा एमालेका तुलाधरले ३ हजार ३१० र नेकपा एकीकृत समाजवादीका लक्ष्मण गमालले एक हजार ५८९ मत पाएका थिए ।

दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेले उमा लुंगेली मगर शेर्पालाई उम्मेदवार बनाएको छ । यसअघि पालिका उपाध्यक्षमा नेपाली कांग्रेसका श्यामसुन्दर तामाङ ४ हजार ७४१ मतसहित निर्वाचित हुँदा एमालेकी मुना शिवाकोटी केसीले ३ हजार २८१ मत पाएकी थिइन् ।

यस्तै, नुवाकोटको ककनी गाउँपालिका–२ को वडा अध्यक्ष पदमा एमालेले यमबहादुर लामालाई उम्मेदवार बनाएको छ । अघिल्लो निर्वाचनमा यहाँ कांग्रेसका तिलकबहादुर लामा ८८८ मतसहित निर्वाचित भएका थिए । त्यतिबेला माओवादी केन्द्रका कृष्ण घिमिरेले ७३४, एमालेका प्रेम बहादुर तामाङले २०५, राप्रपाका गोविन्द प्रसाद घिमिरेले २०३ मत पाएका थिए ।

२०७९ को निर्वाचनमा हेटौंडा उपमहानगरपालिका–१२ को वडा अध्यक्षमा माओवादी केन्द्रका ललितबहादुर घलान एक हजार ३७१ मतसहित निर्वाचित भएका थिए । यहाँ एमालेले अहिले राजेश नगरकोटीलाई उम्मेदवार बनाएको छ, जो अघिल्लो निर्वाचनमा पराजित भएका थिए । त्यतिबेला नेपाली कांग्रेसका अर्जुनप्रसाद तिवारीले एक हजार ३४० र एमालेका राजेश नगरकोटीले एक हजार ३२५ मत पाएका थिए ।

गण्डकी प्रदेश अन्तर्गत उपनिर्वाचन हुन लागेको स्थानीय तहको एकमात्र सिट हो– गोरखा नगरपालिका– ५ को वडा अध्यक्ष पद । यहाँ दुर्गामाया थापा रानालाई उम्मेदवार बनाएको छ । अघिल्लो निर्वाचनमा यो वडा अध्यक्ष पदमा एमालेकै उम्मेदवार खिलबहादुर राना ४५३ मतसहित निर्वाचित भएका थिए । त्यतिबेला नेपाली कांग्रेसकी गीता थापामगरले ४२८ र माओवादी केन्द्रकी सावित्री थापा रानाले २७४ मत पाएका थिए ।

लुम्बिनी प्रदेश अन्तर्गत गुल्मीको मुसिकोट नगरपालिका–१ को वडा अध्यक्षमा एमालेले दलबहादुर थापालाई उम्मेदवार बनाएको छ । अघिल्लो निर्वाचनमा यहाँ कांग्रेसका मोहन घिमिरे एक हजार १८२ मतसहित निर्वाचित हुँदा एमालेका नारायणबहादुर थापाले एक हजार १४३ मत पाएका थिए ।

रोल्पाको रुन्टीगढी गाउँपालिका–४ को वडा अध्यक्षमा एमालेले वेगम पुनलाई नै उम्मेदवार बनाएको छ, जो यसअघि झिनो मतले पराजित भएका थिए । त्यतिबेला कांग्रेसका टंकबहादुर पुनले ४८८ मतसहित निर्वाचित हुँदा एमालेका वेगम पुनले ४८०, माओवादी केन्द्रका शिवलाल रोकाले २०३ मत पाएका थिए ।

r

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षमा एमालेले केशकुमारी तुलाचनलाई उम्मेदवार बनाएको छ । यसअघि यो पालिका उपाध्यक्षमा माओवादी केन्द्रकी भूपेन्द्र बुढा ४ हजार ५९ मतसहित निर्वाचित हुँदा कांग्रेस उम्मेदवार कमलाकुमारी मल्लले २ हजार १० र एमालेको धर्म घर्ती बुढाले एक हजार ८१२ मत पाएका थिए ।

पुथा उत्तरगंगा–२ को वडा अध्यक्षमा एमालेले जीवन रोकालाई उम्मेदवार बनाएको छ । यहाँ अघिल्लो निर्वाचनमा माओवादी केन्द्रका जसबहादुर श्रीपाली २३४ मतसहित निर्वाचित हुँदा कांग्रेसका कर्णबहादुर बुढाले १७९ मत पाएका थिए । अघिल्लो निर्वाचनमा यो वडा अध्यक्ष पदमा एमालेले उम्मेदवारी दिएको थिएन ।

कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१को वडा अध्यक्ष पदमा यसअघि नेपाली कांग्रेसका तिलक राम यादव एक हजार ३२ मतसहित निर्वाचित भएका थिए । यहाँ अहिले नेकपा एमालेले मोहम्मद ताहिर मुसलमानलाई उम्मेदवार बनाएको छ । यसअघि एमालेका उम्मेदवार अब्दुल मोजीब खाँले यहाँ ८८९ मत पाएका थिए ।

बर्दियाको ठाकुरबाबा नगरपालिका–४ को वडा अध्यक्षमा एमालेले विष्णुप्रसाद देवकोटालाई उम्मेदवार बनाएको छ । यो वडामा यसअघि नेपाली कांग्रेसका सूर्यबहादुर बिष्ट निर्वाचित भएका थिए । बिष्टले एक हजार २०९ मत पाउँदा एमालेका नारायण अधिकारीले ५८० र माओवादी केन्द्रका अमरबहादुर थापाले ४२१ मत पाएका थिए ।

सुदूरपश्चिम प्रदेश अन्तर्गत कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ को वडाध्यक्ष पदमा एमालेले बहादुर चन्दलाई उम्मेदवार बनाएको छ । २०७९ को निर्वाचनमा यहाँ कांग्रेसका महेन्द्र खड्का ११०२ मतसहित निर्वाचित हुँदा एमालेका जनकराज अवस्थीले ६९८ मतमात्र पाएका थिए । त्यतिबेला यहाँ माओवादी केन्द्रले उम्मेदवारी दिएको थिएन ।

दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ५ को वडा अध्यक्षमा एमालेले मानसिंह बडाललाई नै उम्मेदवार बनाएको छ, जो अघिल्लो निर्वाचनमा पराजित भएका थिए । त्यतिबेला माओवादी केन्द्रका मनोरथ भट्ट ५८२ मतसहित निर्वाचित हुँदा एमालेका बडालले ३०२ मत पाएका थिए । यहाँ अघिल्लो निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रबिच तालमेल भएको थियो ।

डोटीको पूर्वीचौकी गाउँपालिका वडा नम्बर ६ को वडा अध्यक्ष पदमा देवबहादुर थापालाई एमालेले उम्मेदवार बनाएको छ । यसअघि यहाँ नेपाली कांग्रेसका पुष्पराज जोशी ५१३ मतसहित निर्वाचित हुँदा एमालेका देवबहादुर भण्डारीले ३८७ र माओवादी केन्द्रका टंकबहादुर नेपालीले ४९ मत पाएका थिए ।

बझाङको सुर्मा गाउँपालिका वडा नम्बर ४ को वडा अध्यक्ष पदमा एमालेले लखी चन्द बोहोरालाई उम्मेदवार बनाएको छ । यसअघि यहाँ एमालेका सर्जन बहादुर बोहरा ६२९ मतसहित निर्वाचित हुँदा कांग्रेसका लोकबहादुर बोहराले ६०४ मत पाएका थिए ।

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा एमालेले सुलोचना कुमारी भण्डारी बोहरालाई उम्मेदवार बनाएको छ । उनी यसअघि पराजित भएकी थिइन् । अघिल्लो निर्वाचनमा यहाँ कांग्रेसकी मैना जोशी एक हजार ८१० मतसहित निर्वाचित हुँदा एमालेकी भण्डारीले एक हजार ६३७, माओवादीका सुरेश बहादुर रोकायाले एक हजार २१३ मत पाएका थिए ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ५ को वडा अध्यक्षमा एमालेले अमृत खत्रीलाई उम्मेदवार बनाएको छ । यसअघि एमालेले यहाँ उम्मेदवारी दिएको थिएन । त्यतिबेला कांग्रेसका अल बहादुर खत्री ४६२ मतसहित निर्वाचित हुँदा माओवादी केन्द्रका तीर्थ बहादुर खत्रीले ४३४ मत पाएका थिए ।

दैलेखको महाबु गाउँपालिका अध्यक्षमा एमालेले जंगबहादुर शाहीलाई उम्मेदवार बनाएको छ । यसअघि यहाँ कांग्रेसका लछुमन गुरुङ २ हजार ९७९ मतसहित निर्वाचित हुँदा एमालेका हरि प्रसाद उपाध्यायले २ हजार ५१९, एकीकृत समाजवादीका जंगबहादुर शाहीले २ हजार २६८ मत पाएका थिए ।

 यस्तै, दैलेखको दुल्लु नगरपालिका वडा नम्बर १३ को वडा अध्यक्ष पदमा लालबहादुर शाहीलाई उम्मेदवार बनाएको छ । यहाँ यसअघि एमालेले नै वडा अध्यक्ष पद जितेको थियो । त्यतिबेला एमालेका बिर्ख बहादुर शाही ८२२ मतसहित निर्वाचित हुँदा माओवादीका डम्बर बहादुर शाहीले ७७३ मत पाएका थिए । यहाँ अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसले उम्मेदवारी दिएको थिएन ।

यस्तै, जाजरकोटको नलगाड नगरपालिका उपमेयरमा एमालेले सुनिता बोहरालाई नै उम्मेदवार बनाएको छ । उनी अघिल्लो निर्वाचनमा पराजित भएकी थिइन् । त्यतिबेला कांग्रेसकी सरिता सिंह ५ हजार ४०६ मतसहित निर्वाचित हुँदा एमालेकी बोहराले ३ हजार ३९३ मत पाएकी थिइन् । अघिल्लो निर्वाचनमा यहाँ कांग्रेस र माओवादी केन्द्रबिच तालमेल भएको थियो ।

जाजरकोटको कुशे गाउँपालिका वडा नम्बर ७ को वडा अध्यक्ष पदमा एमालेले डम्बर बहादुर घर्तीलाई उम्मेदवार बनाएको छ । अघिल्लो निर्वाचनमा यहाँ माओवादी केन्द्रका मनबहादुर घर्ती ३८० मतसहित निर्वाचित हुँदा कांग्रेसका खम्बबहादुर सिंहले ३१८ र एमालेका प्रसाद सिंहले १४८ मत पाएका थिए ।

हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदमा एमालेले जाना शाहीलाई उम्मेदवार बनाएको छ । अघिल्लो निर्वाचनमा यहाँ माओवादी केन्द्रका चन्द्रसिंह कार्की ३ हजार २६९ मतसहित निर्वाचित हुँदा एमालेका जुन कुमारी फडेराले एक हजार ६४ मत पाएकी थिइन् ।

कालीकोटको तिलागुफा नगरपालिका वडा नम्बर ४ को वडा अध्यक्ष पदमा एमालेले ऐन बहादुर शाहीलाई उम्मेदवार बनाएको छ । यो वडामा मुख्य दल नेपाली कांग्रेस र नेकपा एमालेको जनाधार निकै कमजोर देखिन्छ । यसअघि यहाँ माओवादी केन्द्रका परबहादुर शाही २३४ मतसहित निर्वाचित भएका थिए । त्यतिबेला नेमकिपाका दीपबहादुर शाहीले १६१ र एमालेका धनसरा शाहीले ४ र कांग्रेसका मते बहादुर शाहीले ३ मतमात्र पाएका थिए ।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ५ को वडा अध्यक्षमा एमालेले नरबहादुर रोकायालाई उम्मेदवार बनाएको छ । यसअघि यहाँ एमालेकै नन्दलाल रोका १०८ मतसहित निर्वाचित भएका थिए । त्यतिबेला माओवादीका जंगबहादुर रोकायाले १०२ र कांग्रेसका नरबहादुर झाँक्रीले ८२ मत पाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुदर्शन आचार्य
सुदर्शन आचार्य

आचार्य रातोपाटीका वरिष्ठ उपसम्पादक हुन् ।

लेखकबाट थप