बोली फेर्दै प्रचण्ड : ‘म्याजिक नम्बर’ देखाएर फेरि सत्तामा पुग्ने दाउ
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसअघि आफैँले जनाएको प्रतिबद्धता विपरीत अभिव्यक्ति दिएका छन् ।
यसअघिको '०८४ अघि सत्तामा नफर्किने' अभिव्यक्तिलाई प्रचण्डले माओवादी केन्द्र काठमाडौँ–काभ्रे सम्पर्क मञ्चद्वारा गत शनिबार आयोजित कार्यक्रममा खण्डन गरेका हुन् ।
कार्यक्रममा फेरि सत्तामा फर्किने संकेत गर्दै प्रचण्डले कांग्रेस–एमाले गठबन्धन उल्ट्याएर बन्ने सरकार आफ्नै हुने दाबी गरेका थिए । माओवादीले पाएको ३२ अंकलाई उनले फेरि ‘म्याजिक नबर'को संज्ञा दिए ।
‘मैले ३२ अंकको संख्यालाई जादुयी नम्बर भयो भनेको थिएँ । मेरो यही भनाइले उनीहरू अझ बढी उद्वेलित र तरंगित पनि भए होलान्,’ प्रचण्डले भने, ‘मैले त्यो नभनेको भए पनि हुन्थ्यो होला । तर पनि म के भन्छु भने– अहिले हाम्रो संख्या फेरि पनि म्याजिक नै छ । किनभने हामीसँग ३२ अंक भएकाले प्रमुख विपक्षी दलको नेता हाम्रो पार्टीकै छ ।’
विपक्षी दललाई ‘गभर्मेन्ट इन वेटिङ’ भनिने उल्लेख गर्दै प्रचण्डले यो सरकारलाई उल्ट्याएर बन्ने सरकार आफूहरूकै हुने दाबी गरे । ‘त्यसकारण हामी चिन्तित हुने कुनै कुरा छैन’, उनले भनेका थिए ।
कात्तिक २८ गते प्रचण्डले कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित ‘प्रचण्डपथ : सडक कि सत्ता !’ विषयक कन्क्लेभ कार्यक्रममा अहिलेको सत्ता समीकरण भत्काउने पक्षमा नरहेको दाबी गरेका थिए ।
‘यो अहिलेको समीकरण छिटोभन्दा छिटो भत्काएर नयाँ समीकरण बनाउनतिर लागेको होला भन्ने एउटा भाष्य बनाउन खोजिएको छ । आज यो फोरमबाट प्रस्टसाथ भन्न चाहन्छौँ । हामी समीकरण भत्काउने पक्षमा छैनौँ,’ प्रचण्डले भनेका थिए ।
सत्ता गठबन्धनलाई सुझावको शैलीमा उनले ‘नभत्किनोस् है’ भन्दै देश झन संकटमा जाला कि भन्ने डर आफूलाई लागेको बताएका थिए । ‘त्यसकारण उहाँहरूको सरकार ढालेर हत्त न पत्त अर्को सरकारमा जानेतिर होइन, हामी जनतातिरै अहिले रमाएका छौँ । ठिक छ तपाईंहरू ०८४ सम्मै मिलेर जानोस् । हाम्रो शुभकामना छ’, उनले भनेका थिए ।
सत्ता छोड्नु पर्दाको पीडा आफूमा विल्कुल नभएको जिकिर गर्दै प्रचण्डले कांग्रेस–एमालेसँग हिँड्दाहिँड्दै बिग्रिन थालेको माओवादीलाई जनतामा पुर्याएकोमा धन्यवाद दिएका थिए ।
गत असार ८ गते काठमाडौँ–काभ्रे सम्पर्क समितिले प्रयोग गरेको मञ्चबाटै प्रचण्डले प्रधानमन्त्रीको हैसियतमा पहिलोपटक ‘म्याजिक नम्बर’को रहस्योद्घाटन गरेका थिए । तामाङ राष्ट्रिय मुक्ति मोर्चाको भेलालाई सम्बोधन गर्दै उनले माओवादी केन्द्रले प्राप्त गरेको ३२ अङ्क जादुमयी नम्बर भएकाले सरकारबाट हटाउन सजिलो नभएको दाबी गरेका थिए ।
त्यतिबेला प्रचण्डले तरिका मिले पाँचै वर्ष सरकारमा बस्ने पनि बताएका थिए । ‘मैले जे देखेको छु, सबै परिस्थिति र तरिका मिल्यो भने पूरै अवधि सरकारमा बसिन्छ । ढुक्क भएर काम गरे हुन्छ,’ उनले भनेका थिए, ‘हामीलाई हटाउन सजिलो छैन । हामीसँग जादुवाला ३२ नम्बर छ । त्यो जादुले अनेक गरेर मिलाइहाल्छ । त्यसकारण थोरै छ भनेर चिन्ता गर्नुपर्ने अवस्था छैन ।’
तर त्यतिबेला जादुयी नम्बरबारे उनले चर्चा गरेको एक सातामै उनी नेतृत्वको सरकार धरापमा पर्यो । असार १७ गते राति कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच ७ बुँदे सहमति भएसँगै उनी सत्ताच्यूत हुन पुगे ।
रातारात सत्ता उलटफेर भएपछि असार २८ गते प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत माग्दै गठबन्धनप्रति पीडा, आक्रोश पोखेका थिए । उनले आफू तत्काल सत्तामा नफर्किने संकेत पनि दिएका थिए ।
त्यसो त ओली सरकार बनेको सय दिन नपुग्दै प्रमुख प्रतिपक्ष दलको नेताका हैसियतले भदौ ११ गते संसदमा सम्बोधनका क्रममा प्रचण्डले सुशासन, सामाजिक न्याय, समृद्धि र जनजीविकाको सवालमा सरकार पूरै असफल भएको टिप्पणी गरेका थिए । सत्ता गठबन्धनका नेताहरूलाई उनले बिचैमा झगडा गरेर नयाँ सरकार गठनका लागि फकाउन नआउन पनि भनेका थिए ।
खासगरी प्रधानमन्त्री ओलीप्रति कडा रूपमा प्रस्तुत भएका प्रचण्डले भनेका थिए, ‘साथीहरूलाई लागेको होला, सरकार छोड्न पर्दा नेकपा माओवादी केन्द्र पक्कै घाइते भएको होला । बरु, हामीले ठुलो मानसिक र वैचारिक उन्मुक्ति महसुस गरेका छौँ । माओवादीको ध्यान अब सत्तामा छैन, तपाईंहरूको षड्यन्त्रको प्रतिरोधमा छ ।’
उनले आन्दोलन पुनर्गठनमा आफू केन्द्रित रहेको भन्दै त्यही पुनर्गठनका बलमा भोलि माओवादी एक्लैले सरकारको नेतृत्व गर्ने तहमा पुग्ने दाबीसमेत गरेका थिए । ‘कृपया त्यतिबेलासम्म मिलिदिनुहोला,’ उनले भनेका थिए, ‘फेरि बिचैमा झगडा गरेर लौ न प्रचण्डजी भन्दै फकाउन र फुर्क्याउन नआउनुहोला ।’
सत्ता गुमाएलगत्तै प्रचण्डले साउन १ गते समाजवादी मोर्चाको बैठक राख्न लगाएर ओली सरकारविरुद्ध देशव्यापी प्रतिरोध गर्ने चेतावनी दिएका थिए । साउन १० देखि १५ गतेसम्म बसेको पदाधिकारी बैठकमा अब आफ्नो ध्यान सरकारतिर नभइ विचारको विकास, पार्टी निर्माणका लागि जनतामा जाने प्रतिबद्धता उनले जनाएका थिए ।
विगतमा प्रचण्डले सत्ता प्राप्तिका लागि देखाएको आशक्तिका कारण उनको प्रतिवद्धता कार्यान्वयन हुनेमा अधिकांश नेताले आशङ्का गरेका थिए । साउन २५ देखि ३१ गतेसम्म बसेको माओवादी स्थायी समिति बैठकले ०८४ को निर्वाचनमा एकल प्रतिस्पर्धा गर्ने निर्णय गरेको थियो ।
समाजवादी विचारको विकास र कार्यक्रम र केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्न भदौ महिनाभर प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त परामर्श समिति बैठक बस्यो । बैठकमा बोल्ने अधिकांशले तत्काल प्रचण्डको विकल्प नभएको भन्दै पार्टीलाई बलियो बनाउन समाजवादी कार्यक्रम लिएर जनतामा जानुपर्ने सुझाव दिएको थियो ।
कात्तिक १० गते काठमाडौँमा ओली सरकारविरुद्ध पहिलोपटक गरेको खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले भ्रष्टाचारी, दलाल, बिचौलियालाई संरक्षण गर्ने अहिलेको सरकार माओवादीले नभइ आफैँ कुहिएर झर्ने टिप्पणी गरेका थिए । अहिलेको सरकार ढाल्नका लागि नभई खबरदारी गर्न माओवादी सडकमा आएको उनको तर्क थियो ।
यस्तै असोज १० गते अनेरास्ववियु क्रान्तिकारीको २३ औं सम्मेलनलाई कीर्तिपुरमा सम्बोधन गर्दै प्रचण्डले ओली नेतृत्वको सरकार केही समयमै ढल्ले भएकाले त्यतिबेला के गर्ने भन्नेबारे सोच्नुपर्ने बताएका थिए ।
अध्यक्ष प्रचण्डले पुनः सत्तामा फर्किन खुट्टा उचालेपछि माओवादी नेताहरू चिन्तित देखिएका छन् । प्रतिपक्षमा पुगेपछि पार्टीप्रति बढ्दै गएको उत्साह फेरि मर्ने हो कि भन्नेमा आशंका बढ्दै गएको छ । प्रचण्डको अभिव्यक्तिको सम्बन्धमा वास्तविकता नबुझी अहिले केही भन्न नसक्ने उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले बताए ।
‘उहाँ(प्रचण्ड)ले कुन सन्दर्भमा भन्न खोज्नुभएको हो, अहिले मलाई हेक्का छैन । वास्तविकता बुझेरमात्रै तपार्ईंलाई जवाफ दिन सक्छु,’ सापकोटाले भने, ‘यद्यपि यी सबै विषयमा पार्टीको बैठकमा छलफल होला ।’
यसै विषयमा मंगलबार बस्ने पदाधिकारी बैठकमा छलफल हुुने सचिव देवेन्द्र पौडेलले बताए । खास बैठकको एजेण्डा विधान संशोधन र स्थानीय तह उपनिर्वाचनको भए पनि चुनावी तालमेल तथा प्रचण्डको अभिव्यक्तिको विषयमा बैठकमा छलफल हुने पौडेलको भनाइ छ ।
‘खास बैठकको एजेण्डा विधान संशोधन, स्थानीय तह उपनिर्वाचन लगायतको विषयमा छ । तर अघिल्लो बैठकले चुनावमा एक्लै लड्ने र अब पार्टीको ध्यान सरकारमा भन्दा जनतामा केन्द्रित हुने निर्णय गरेको थियो । यसबारे मंगलबार बस्ने पदाधिकारी बैठकमा छलफल हुन्छ’, उनले भने ।
२०७२ देखि निरन्तर सत्तामा रहेका प्रचण्ड सत्ता र शक्तिको पर्यायजस्तै बनेका छन् । ०७० को दोस्रो संविधान सभा निर्वाचनबाट माओवादी सानो अंकको साथ तेस्रो दलमा खुम्चियो । यद्यपि त्यतिबेला कांग्रेस र एमालेलाई पालैपालो खेलाउँदै प्रचण्ड दुई पटक प्रधानमन्त्री बन्न सफल भए । यो अवधिमा दुई पटक प्रतिनिधि सभाको निर्वाचन भयो । प्रत्येक निर्वाचनमा पार्टीको आकार घट्दै गए पनि अध्यक्ष प्रचण्ड सत्तामै रमाइरहेको आरोप पार्टीभित्र र बाहिर लाग्दै आएको छ ।
०७४ सालको निर्वाचनमा एमालेसँग मिलेर बनेको नेकपालाई नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमै जनअनुमोदित पहिलो र सर्वाधिक लोकप्रिय मत पाउने पार्टी बनाउन प्रचण्डको प्रमुख भूमिका रह्यो । तर तत्कालीन अध्यक्ष केपी ओलीसँग देखिएको सत्ता र शक्ति संघर्षका कारण तीन वर्ष नपुग्दै पार्टी एकता भताभुङ्ग भयो ।
नेकपा विघटपछि फेरि माओवादी केन्द्र बिउँताएर अध्यक्ष बनेका प्रचण्डले २०७८ सालमा भएको आठौँ महाधिवेशनबाट नेपाली विशेषताको २१ औं शताब्दीको समाजवादी कार्यदिशा त अनुमोदन गराए तर त्यसअनुसारको संगठन निर्माण र कार्यक्रम ल्याउन नसक्दा पार्टी नै भुत्तो हुन पुग्यो ।
फलस्वरुप ०७९ को निर्वाचनमा माओवादी ३२ अंक साथ तेस्रो दलमै खुम्चियो । पार्टीलाई आफ्नै खुट्टामा उभिने गरी संगठनलाई चलायमान बनाउनुभन्दा पनि कांग्रेस–एमालेको वैशाखी टेकेर सत्ता प्राप्तिको भर्याङ बनाएको आरोप पार्टीभित्रैबाट प्रचण्डमाथि लाग्यो । सशस्त्र माओवादी जनयुद्धले जन्माएको ‘प्रचण्ड’ शान्ति प्रक्रियामा आएपछि ‘पुष्पकमल’मै फर्किएको भन्दै माओवादी नेताहरूले नै टिप्पणी गर्न थालेका छन् ।
यसअघि परामर्श समितिबाट आएका सुझावको आधारमा राजनीतिक दस्तावेज पारित गरी पार्टीको भावी कार्यनीति, नेतृत्व, विचार, संगठन, कार्यक्रम र कार्यदिशाबारे छिनोफानो गर्न प्रचण्डले पुस २ देखि ७ गतेसम्म केन्द्रीय समिति बैठक बोलाइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिद्धार्थ बैंकका ग्राहकलाई हार्ड रक क्याफेमा १०% सम्मको छुट
-
सौर्य जहाज दुर्घटना : पीडित परिवारको न्यायका लागि महासंघले खबरदारी गर्ने
-
कर्णाली प्रदेश : संसदीय समितिले बल्ल पाए नेतृत्व
-
गणतन्त्रलाई बलियो बनाउन स्वच्छ प्रशासन आवश्यक : प्रदेश प्रमुख खापुङ
-
‘कुस्ती’ मा दिकिला शेर्पा अनुबन्धित
-
सरकारले सेटिङमा सिमेन्टको मूल्य बढाएको आरोप