मङ्गलबार, ०४ मङ्सिर २०८१
ताजा लोकप्रिय
नेपाल प्रिमियर लिग क्रिकेट

सुदूरपश्चिम रोयल्स र एसपीएबिच ‘एजुकेशन पार्टनर’ का लागि सहकार्य सम्झौता

मङ्गलबार, ०४ मङ्सिर २०८१, १३ : ३४
मङ्गलबार, ०४ मङ्सिर २०८१

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) बिच ’एजुकेसन पार्टनर’ का लागि सहकार्य सम्झौता भएको छ । सुदूरपश्चिमको शिक्षा क्षेत्रमा अलग पहिचान बनाएको एसपीए र रोयल्सबिच मंगलबार सम्झौता भएको हो ।

सम्झौता पत्रमा सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्रप्रताप शाह र एसपीएका प्रबन्ध निर्देशक सुवास शाहीले हस्ताक्षार गरे । एसपीएले नेपालमा क्यान निलम्बनमा रहँदा फ्रेन्चाइज लिगको अवधारणामा धनगढी प्रिमियर लिग आयोजना गरेर नेपाली क्रिकेटलाई जीवन्त राखेको थियो ।

यसबाहेक एसपीए कपले पनि नेपालको घरेलु क्रिकेटमा ठुलो योगदान दिएको थियो । धनगढीलाई सिटी अफ क्रिकेटको पहिचान दिन एसपीएले निरन्तर परिश्रम गर्दै आएको छ । सम्झौतापछि रोयल्सका मालिक शाहले एसपीएको प्रभाव शिक्षासँगै खेलकुदमा पनि उत्तिकै महत्वपूर्ण रहेको बताए ।

’एसपीएको नाम शिक्षा क्षेत्रसँगै खेलकुदमा पनि उत्तिकै सुनेका छौं । हामीले सुदूरपश्चिमको क्रिकेट विकास गर्ने लक्ष्य राख्दा एसपीएसँग सहकार्य गर्न पाउनु सौभाग्यको कुरा हो । लामो समयदेखि शिक्षा र खेलकुदलाई बढावा दिइरहेको संस्थासँग जोडिन पाउँदा निकै खुसी छु,’ शाहले भने ।

यसैगरी, एसपीएका प्रबन्ध निर्देशक शाहीले पनि सुदूरपश्चिम क्षेत्रको क्रिकेट विकासमा हातेमालो गर्न पाउँदा खुसी लागेको बताए । ‘हामी क्रिकेटको माध्यमबाट खेलकुद क्षेत्रलाई नयाँ उचाईमा पू¥याउन सक्छौं । हामी सबै एक भएर आउँदा लक्ष्य प्राप्तिका लागि थप सहज हुन्छ । हामी सबैले फाप्ला अन्तर्राष्ट्रिय रंगशालामा खेल आयोजना गर्ने सपना देखेका छौं र हाम्रो सहकार्यले त्यसलाई वास्तविकतामा परिणत गर्नेछ,’ शाहीले भने ।

एनपीएल मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौँमा आयोजना हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान) को‌ आयोजनामा हुने प्रतियोगितामा आठवटा टोली सहभागी हुनेछन् । सुदूरपश्चिम रोयल्सको मार्की खेलाडीमा कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी रहेका छन् ।

मेन्टरमा अस्ट्रेलियाका ब्राड हज र मुख्य प्रशिक्षकमा जगत टमाटा रहेका छन् । सुदूरपश्चिम रोयल्सको दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद, अमित श्रेष्ठ, ब्रान्डन म्याकमलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इङ्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्यान्ड) र रोहन मुस्तफा (यूएई) छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप