जाडोमा कस्ता रोगको जोखिम हुन्छ र कसरी जोगिने ? (भिडियोसहित)
जाडो मौसममा विशेष गरी बच्चा, वृद्धवृद्धा र दीर्घरोगीमा बढी समस्या देखिन्छ । त्यसमा पनि फोक्सोको समस्या सबैभन्दा बढी हुने गर्दछ । दोस्रोमा छालाको समस्या, तेस्रोमा ब्लड प्रेसरसँग सम्बन्धित समस्या हुने गर्छ ।
सामान्य भाषामा भन्नुपर्दा जाडो समयमा धेरैजसो व्यक्तिमा रुघाखोकी लाग्ने गर्दछ । चिसो महिनामा फोक्सोको ‘सेल्फ क्लिनिङ मेकानिजम’ कमजोर हुनाले खोकी लाग्छ । हामीले श्वास लिँदा प्रदूषित हावादेखि लिएर हावामा भएका भाइरस, ब्याक्टेरिया, फन्गाई फोक्सोमा पुग्छ । यी जीवाणु फोक्सोमा पुगेमा संक्रमण हुन्छ ।
गर्मीमा फोक्सोको ‘सेल्फ क्लिनिङ मेकानिजम’ अर्थात् ‘सिलिया’को मोमेन्ट राम्रो हुन्छ । त्यसले गर्दा हाम्रो फोक्सो त्यति दूषित हुन पाउँदैन । तर चिसो याममा ‘इन्फेक्सन’ केही बढी हुने भएकाले फोक्सो सम्बन्धी रोग बढी लाग्छ ।
यसैगरी, गरी मुटु सम्बन्धी रोग पनि चिसो याममा बढी हुन्छ । किनकि चिसोले हाम्रो ‘ब्लड भिस्कोसिटी’ बढ्छ । भिस्कोसिटी भनेको चिसो हुँदा रगत बाक्लो हुने वा ‘भिस्कस’ हुने भनेर बुझिन्छ । रगत बाक्लो भयो भने क्लटिङ (जम्ने) हुने सम्भावना बढी हुन्छ । परिणामस्वरुप हर्टअट्याक भइदिने, प्यारालाइसिस भइदिने जस्ता समस्या देखिन्छ ।
चिसो महिनामा नसा खुम्चिने गर्दछ । नसा खुम्चियो भने ब्लड प्रेसर बढ्छ । ब्लड प्रेसर बढ्दा हाम्रो शरीरमा नकारात्मक असर देखिन्छन् । त्यसैगरी बाथ रोग भएका बिरामीलाई जोर्नीसँग सम्बन्धित समस्या हुन्छ । जोर्नीमा एक किसिमको तरल पदार्थ हुन्छ । जसलाई हामीले ‘साइनोभियल फ्लुड’ भन्छौँ । जाडो याममा रगत बाक्लो भएपछि बाथरोग लागेको मान्छेलाई हातखुट्टा चलाउँदा बढी पीडा हुने गर्दछ । जोर्नीहरू कडा भएर आउने, हिँड्न गाह्रो हुने, दुख्ने, सुन्निनेजस्ता समस्या देखा पर्छ । जाडो याममा फोक्सो, मुटु, बाथ रोगदेखि लिएर छाला सम्बन्धी समस्या देखिन्छ ।
छालासँग सम्बन्धित समस्या भनेको छाला सुक्खा हुने हो । कसै–कसैलाई छालाको एलर्जी हुने गर्दछ । छालामा कत्ला–कत्ला भएर कोट्याउँदा सेतो हुन्छ । यसले शरीरमा ढुसीजन्य किटाणु विकास गर्दछ ।
जाडो याममा शरीरको ईम्यून सिस्टम नै कमजोर हुन्छ । ईम्यून सिस्टम कमजोर भएका धेरैजसो व्यक्तिलाई यो मौसममा विभिन्न किसिमको संक्रमण हुन्छ ।
हाम्रोजस्तो भौगोलिक अवस्था भएको देशमा तराईदेखि हिमालसम्म कठ्याङ्ग्रिने जाडो हुन्छ । जाडोमा शरीरलाई न्यानो बनाउने लुगा लगाउनुपर्छ । चिसो महिनामा कोठालाई न्यानो बनाउन, आफूलाई तातो बनाउन दाउरा बाल्ने, हिटर राख्ने गर्छौं, एसी लगाउँछौँ । यसले गर्दा हाम्रो शरीरमा नकारात्मक असर पार्छ । विशेषगरी तराई र हिमाली क्षेत्रमा कोइला बाल्ने, दाउरा बाल्ने, झ्याल ढोका थुन्ने, कोठालाई न्यानो बनाउने गरिन्छ । आगो वा हिटर निभाउन वा बन्द गर्न बिर्सेर सुत्ने अनि मृत्युवरण गरेका घटना सुनेका छौँ ।
जहाँ हावाको आवातजावत छैन, त्यहाँ आगो बाल्नु हुँदैन । कुनै पनि किसिमको फ्युल बाल्नु हुँदैन । फ्युल बाल्ने, आगो बाल्ने भनेको गुड भेन्टिलेसन भएको ठाउँमा हो । कतिपयले बन्द कोठामा हिटर बाल्छन् । तर त्यो राम्रो होइन । लामो समयसम्म इलेक्ट्रिक हिटर प्रयोग गरेमा वरिपरिको हावा सुक्खा हुन्छ, त्यो सुक्खा हावाले नकारात्मक असर गर्छ । पिनास, फोक्सो, छालासँग सम्बन्धी समस्या देखा पर्छ । घरभित्र कोइला, आगो, हिटर सकेसम्म प्रयोग नगर्ने, प्रयोग गर्नै परेमा भेन्टिलेटर भएको हुनुपर्यो । हावाको आवतजावत हुनुपर्यो । इलेक्ट्रिक हिटर बाल्ने भए भाँडामा पानी पनि राख्नु पर्छ ।
यस्तै, जाडो याममा सहरी क्षेत्रमा प्रायःले गिजर प्रयोग गर्छन् । यसले कार्बन मोनोअक्साइड ग्याँस उत्पन्न हुन्छ । यदि बाथरुममा कमजोर भेन्टिलेसन छ वा हावाको आवतजावत छैन भने ग्याँस गिजर प्रयोग गर्दा विषाक्त ग्याँस बन्छ । त्यो भनेको हाम्रो शरीरका लागि एकदम हानिकारक हो । मकहाँ प्रत्येक वर्ष ५ देखि ६ जना व्यक्तिलाई बेहोसी अवस्थामा ल्याउँछन् । यस्तो समस्या कार्बन मोनोअक्साइडको कारण भएको हो । गिजर प्रयोग गर्नुपरेमा हावा आवतजावत हुनुपर्छ । यदि कुनै किसिमको गन्ध आउँछ भने तुरुन्त झ्याल ढोका खोल्नुस्, तुरुन्त गिजरलाई बन्द गर्नुस् र त्यहाँ नबस्नुस् । यदि तपाईंको घरको बाथरुममा कसैले ग्याँस गिजर प्रयोग गरिरहेको छ भने बाहिर कोही मान्छे सचेत भएर बस्नुस् । धेरै समय लाग्यो भने बाथरुमभित्रको मान्छे लाडेको पनि हुन सक्छ । यस्ता स–साना विषयलाई ध्यान दिनुपर्छ ।
कस्तो अवस्थामा अस्पताल जाने ?
हाम्रोजस्तो मुलुकमा दमका बिरामी बढी छन् । दमलाई सीओपीडी, अस्थमा भन्छौँ । सीओपीडी र अस्थमाको बिरामीलाई जाडो याममा अलिकति गाह्रो हुन्छ । यदि आफूलाई सास फेर्न असहज भयो, ज्वरो आयो, खकार पाकेको आउन थल्यो, भित्रबाट असहजता मससुस भयो भने तुरुन्त अस्पताल पुग्नुपर्छ । समयमै अस्पताल पुग्न सकेन भने निमोनिया हुन सक्छ । यसको उपचार समयमा गर्न सकेन भने मृत्यु पनि हुन सक्छ ।
साधारण रुघाखोकी लाग्यो भने घरमै निको हुन सक्छ । तर ज्वरो आयो, पाकेको खकार आउन थाल्यो, सास छिटो–छिटो चल्न थाल्यो, आफूलाई असहज महसुस भयो भने तुरुन्त अस्पताल जाने र चिकित्सकलाई भेट्ने गर्नुपर्छ ।
यस्तै, छाती कस्सिएर आयो, हिँड्दाखेरी सास फुल्ने भयो, दुखाई देब्रे हाततिर, घाँटीतिर सर्ने भयो भने तुरुन्त अस्पताल जानुपर्छ । अत्यधिक चिसोमा बाहिर ननिस्कने, तातो हुन कपडा लगाउने, सकेसम्म मौसम अनुकूल आफूलाई राख्ने गर्नुपर्छ ।
रुघाखोकी लामो समयसम्म लागेमा के गर्ने ?
तपाईंलाई रुघाखोकी लाग्ने समस्या बढी छ भने भ्याक्सिन लगाउनु पर्छ । चिसोबाट जोगिने भ्याक्सिन होइन कि धेरैजसोलाई जाडो याम वा सिजन परिवर्तन हुँदा भाइरल फिभर हुन्छ । त्यो फ्लुको भ्याक्सिन हुन्छ । दसैँ–तिहारपछि त्यो भ्याक्सिन लगाउन उयुक्त समय हुन्छ । यो बेलामा भ्याक्सिन लिँदा वर्षभरि रुघाखोकी लाग्ने सम्भावना कम हुन्छ ।
दीर्घरोगी, क्यान्सर, मुटु रोगीलाई एक पटक निमोनियाको खोप पनि लगाउनुस् भनेर सल्लाह दिन्छौँ, जुन पाँच वर्षमा एक पटक लगाइन्छ ।
(कन्सल्टेन्ट फिजिसियन डा. झासँग रातोपाटीकर्मी सरिता थारूले गरेको कुराकानीमा आधारित)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चारै तिर सडक तर टोड्के पुग्नै सकस
-
इजरायली सैनिकमाथि जिहादी समूहद्वारा मोर्टार प्रहार
-
सचिवहरुको बैठक : ‘राजस्व चुहावट’ रोक्न कम्मर कस्ने
-
एकाधिकार दुरुपयोग गरेको आरोप : के गुगलले बेच्नु पर्ला क्रोम ब्राउजर ?
-
पुटिनले गरे नयाँ परमाणु नीतिमा हस्ताक्षर
-
१२ बजे, १२ समाचार : मन्त्रिपरिषद् बैठक रोकेर कांग्रेस-एमाले शीर्ष नेताबिच छलफलदेखि प्रसाईंको गिरफ्तारीसम्म