इन्डियन प्रिमियर लिग खेल्ने यी चर्चित पाकिस्तानी क्रिकेटर ! अपवाद हुन् अजहर महमुद
काठमाडौँ । विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) मा पाकिस्तानी खेलाडीहरूले खेलेको देख्न पाइँदैन । यी दुई राष्ट्रबिचको तनावपूर्ण राजनीतिक सम्बन्धका कारण कुनै पनि क्लबले पाकिस्तानी खेलाडीलाई खरिद गर्दैनन् ।
समग्रमा आईपीएलमा पाकिस्तानी खेलाडीहरूमाथि प्रतिबन्ध लगाइएको छ । तर, केही चर्चित पाकिस्तानी खेलाडीहरूले यसअघि आईपीएल खेलिसकेका छन् । यी खेलाडीहरूले सन् २००८ मा सम्पन्न आईपीएलको पहिलो संस्करणमा सहभागिता जनाएका थिए ।
पहिलो संस्करणपछि भने कुनै पनि पाकिस्तानी खेलाडीले आईपीएल खेलेका छैनन् । सन् २००८ पछि यी दुई देशबिचको राजनीतिक सम्बन्धका कारण पाकिस्तानी खेलाडीलाई आईपीएल खेल्नबाट रोक लगाइएको थियो ।
खासमा, सन् २००८ मा मुम्बईमा भएको आतंककारी आक्रमणपछि यी दुई राष्ट्रबिचको सम्बन्ध झनै खराब बन्न पुगेको थियो । सन् २००८ को नोभेम्बर २६ तारिखमा१० जना आतंककारीले मुम्बईमा आक्रमण गरेका थिए ।
त्यो विवाद बढ्दै गएपछि त्यसको प्रभाव आईपीएलमा पनि परेको थियो । त्यसपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले पाकिस्तानी खेलाडीलाई आईपीएल खेल्नबाट रोक लगाउने निर्णय गरेको थियो ।
आईपीएलमा मात्र होइन, भारत–पाकिस्तान राजनीतिक सम्बन्धको असर समग्र क्रिकेटमै पर्ने गरेको देखिन्छ । सन् २०१२–१३ सिजनपछि यी दुई राष्ट्रबिच द्विपक्षीय क्रिकेट शृङ्खला पनि आयोजना भएको छैन ।
यी दुई राष्ट्र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)द्वारा आयोजित प्रतियोगिताहरूमा मात्र आपसमा भिड्ने गरेका छन् । तर, आईसीसीद्वारा आयोजित प्रतियोगिताहरूमा पनि यी दुई टोलीबिचको सम्बन्ध भने सुमधुर देखिँदैन । अहिले च्याम्पियन्स ट्रफीमा पनि यसको प्रभाव देखिएको छ ।
जे होस, आईपीएलको पहिलो संस्करणमा भने पाकिस्तानी खेलाडीहरूले सहभागिता जनाएका थिए । पाकिस्तानी खेलाडीलाई ठुलो रकममा विभिन्न आईपीएल क्लबले आबद्ध गरेका थिए । यो समाचारमा आईपीएल खेल्ने पाकिस्तानी खेलाडीको विषयमा चर्चा गर्न खोजिएको छ ।
सोएब अख्तर
आफ्नो समयका चर्चित पाकिस्तानी बलर हुन्, सोएब अख्तर । कुनै समय विश्वभरका प्रभावशाली ब्याट्सम्यानहरु पनि तिब्रगतिका बलर सोएब अख्तर भनेपछि थर्कमान हुन्थे । उनले सन् २००८ मा आयोजित आईपीएलको पहिलो संस्करण खेलेका थिए ।
उनलाई कोलकाता नाइट राइडर्सले एक करोड ७० लाख भारतीय रुपैयाँमा खरिद गरेको थियो । उनले आईपीएलको त्यो संस्करणमा तीनवटा खेल खेल्दै पाँच विकेट पनि लिएका थिए । उनले दिल्ली डेयरडेभिल्सविरुद्धको गरेको बलिङ अहिले पनि आईपीएल समर्थकको स्मरणमा ताजै हुनु पर्छ ।
त्यो खेलमा कोलकाता नाइट राइडर्सले ६ विकेट गुमाएर एक सय ३३ रनमात्र बनाउन सकेको थियो । तर, सोएब अख्तरको घातक बलिङसामु निरीह बनेको दिल्ली डेयरडेभिल्सले १७.५ ओभरमै अलआउट हुनुअघि एक सय १० रनमात्र बनाउन सकेको थियो ।
त्यो खेलमा कोलकाता २३ रनले विजयी भएको थियो । सोएब अन्तरले तीन ओभरमा केवल ११ रन खर्चिएर चार विकेट हात पारेका थिए । त्यसैले प्लेयर अफ दि म्याचको पुरस्कार पनि उनले नै पाएका थिए ।
सोएब मलिक
सोएब मलिक आफ्नो समयका प्रभावशाली पाकिस्तानी अलराउन्डर थिए । उनी पाकिस्तानका लागि ११ हजारभन्दा बढी अन्तर्राष्ट्रिय रन बनाउने ब्याट्सम्यान हुन् । उनले पाकिस्तानका लागि दुई सयभन्दा बढी विकेट पनि लिएका छन् ।
उनी पाकिस्तानी टोलीका पूर्वकप्तान पनि हुन् । सोएब मलिकले पनि आईपीएलको पहिलो संस्करण खेलेका थिए । उनलाई दिल्ली डेयरडेभिल्सले दुई करोड भारतीय रुपैयाँमा क्लबमा आबद्ध गरेको थियो । उनले आईपीएलको पहिलो संस्करणमा सात खेल खेल्दै ५२ रन बनाएका थिए ।
त्यो आईपीएलमा उनले मुम्बई इन्डियन्सविरुद्ध सर्वाधिक २४ रन बनाएका थिए । यसका अतिरिक्त सोएब मलिकले पाँचवटा क्याच पनि लिएका थिए । उनले आईपीएलको त्यो संस्करणको दुई खेलमा एक–एक विकेट पनि लिएका थिए ।
मिसबाह–उल–हक
आफ्नो समयका चर्चित पाकिस्तानी क्रिकेटर हुन्, मिसबाह–उह–हक । उनले पाकिस्तानका लागि तीन वटै ढाँचाको अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए । उनी पाकिस्तानका लागि ११ हजारभन्दा बढी अन्तर्राष्ट्रिय रन बनाउने खेलाडी पनि हुन् ।
मिसबाह–उह–हकले पनि पहिलो संस्करणको आईपीएलमा सहभागिता जनाएका थिए । यी दायाँहाते ब्याट्सम्यानलाई पहिलो संस्करणको आईपीएलमा रोयल च्यालेन्जर्स बैंगलोरले टोलीमा आबद्ध गरेको थियो । उनले पहिलो संस्करणमा आठ खेल खेलेका थिए ।
मिसबाह–उह–हकले आठ खेलमा कुल एक सय १७ रन बनाएका थिए । उनले दिल्ली डेयरडेभिल्सविरद्ध केवल २५ बलमा सर्वाधिक ४७ रन बनाएका थिए । उनका लागि रोयल च्यालेन्जर्स बैंगलोरले ५२ लाख भारतीय रुपैयाँ खर्चिएको थियो ।
सोहेल तनविर
सोहेल तनविर आफ्नो समयका प्रभावशाली बलिङ अलराउन्डर हुन् । उनले पनि पाकिस्तानका लागि तीन वटै ढाँचाको अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए । उनले पाकिस्तानका लागि एक सय २५ भन्दा बढी अन्तर्राष्ट्रिय विकेट लिएका छन् ।
तीव्र गतिका यी बलरले पनि इन्डियन प्रिमियर लिगको पहिलो संस्करण खेलेका थिए । उनलाई राजस्थान रोयल्सले आफ्नो टोलीमा अनुबन्ध गरेको थियो । राजस्थान रोयल्सले उनका लागि ४१ लाख भारतीय रुपैयाँ खर्चिएको थियो ।
राजस्थान रोयल्सलाई पहिलो संस्करणको उपाधि चुमाउन उनले महत्त्वपूर्ण योगदान गरेका थिए । राजस्थान रोयल्सले फाइनलमा चेन्नई सुपर किङ्सलाई तीन विकेटले हराएको थियो । सन् २००८ को आईपीएलमा सोहेल नतविर सबैभन्दा बढी विकेट लिने बर पनि बनेका थिए ।
उनले आईपीएलको पहिलो संस्करणमा कुल ११ खेल खेल्दै २२ विकेट लिएका थिए । उनले चेन्नई सुपर किङ्सविरुद्धको खेलमा चार ओभरमा केवल १४ रन खर्चिएर ६ विकेट लिएका थिए । त्यसपछि आईपीएलमा ११ वर्षसम्म यस्तो उपलब्धि हासिल गर्ने उनी एकमात्र खेलाडी बनेका थिए ।
साहिद अफरिदी
अन्तर्राष्ट्रिय क्रिकेटमा निकै सम्मानपूर्वक लिइने नाममध्ये एक हो, साहिद अफरिदी । उनी आफ्नो समयका प्रभावशाली अलराउन्डर हुन् । उनको ब्याटिङ जति आक्रामक हुन्थ्यो बलिङ पनि उत्तिकै धारिलो ।
साहिद अफरिदीले पाकिस्तानका लागि तीन वटै ढाँचाको क्रिकेट खेलेका थिए । उनी पाकिस्तानका लागि ११ हजारभन्दा बढी अन्तर्राष्ट्रिय रन बनाउने खेलाडी हुन् । यसका अतिरिक्त उनले पाकिस्तानका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा पाँच सयभन्दा बढी विकेट पनि लिएका छन् ।
आफ्नो समयका यी प्रभावशाली क्रिकेटरले पनि आईपीएलको पहिलो संस्करण खेलेका थिए । उनलाई डेक्कन चार्जर्सले आफ्नो टोलीमा अनुबन्ध गरेको थियो । डेक्कन चार्जर्सले उनका लागि दुई करोड ७१ लाख भारतीय रुपैयाँ खर्चिएको थियो ।
पाकिस्तानी टोलीका पूर्वकप्तानसमेत रहेका साहिद अफरिदीले आईपीएलको पहिलो संस्करणमा १० खेल खेलेका थिए । १० खेलको नौ पालीमा उनले ८१ रन बनाएका थिए । उनको उच्च स्कोर ३३ रन र स्ट्राइक रेट एक सय ७६ भन्दा माथि रहेको थियो ।
साहिद अफरिदीले आईपीएलको पहिलो संस्करणमा नौ विकेट पनि लिएका थिए । बलिङतर्फ उनको उत्कृष्ट प्रदर्शन भने २८ रन खर्चिएर तीन विकेट रहेको थियो । समग्रमा आईपीएलमा उनको प्रदर्शन सन्तोषजनक रहेको थियो ।
मोहम्मद आसिफ
पाकिस्तानका पूर्वक्रिकेटर मोहम्मद आसिफ पनि इन्डियन प्रिमियर लिग खेल्ने निकै कम पाकिस्तानी क्रिकेटरमध्ये एक हुन् । उनी आफ्नो समयका चर्चित बलिङ अलराउन्डर थिए । उनले पाकिस्तानका लागि तीन वटै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए ।
मोहम्मद आसिफले पाकिस्तानका लागि एक सय ६० भन्दा बढी अन्तर्राष्ट्रिय विकेट लिएका छन् । सन् २००८ को आईपीएलमा उनी दिल्ली डेयरडेभिल्समा आबद्ध थिए । दिल्ली डेयरडेभिल्सले उनलाई दुई करोड ६१ लाख भारतीय रुपैयाँमा टोलीमा आबद्ध गरेको थियो ।
सलमान बट
सलमान बट पाकिस्तानी टोलीका पूर्वखेलाडी हुन् । उनी आफ्नो समयका प्रभावशाली बायाँहाते ब्याट्सम्यान थिए । उनले पाकिस्तानका लागि टेस्ट, एकदिवसीय अन्तर्राष्ट्रिय र टी–२० अन्तर्राष्ट्रिय गरी तीन वटै ढाँचाको क्रिकेट खेलेका छन् ।
सलमान बटले पाकिस्तानका लागि पाँच हजारभन्दा बढी अन्तर्राष्ट्रिय रन बनाएका छन् । उनी पनि आईपीएल खेल्ने निकै कम पाकिस्तानी खेलाडीको सूचिमा पर्छन् । उनले कोलकाता नाइट राइडर्सबाट सन् २००८ को आईपीएल खेलेका थिए ।
सलमान बटका लागि कोलकाताले करिब ४१ लाख भारतीय रुपैयाँ खर्चिएको थियो । प्रतियोगितामा उनको प्रदर्शन सन्तोषजनक थियो । आईपीएलको त्यो संस्करणमा उनले कुल एक सय ९३ रन बनाएका थिए । उनले एक अर्धशतक पनि प्रहार गरेका थिए ।
कमरन अकमल
कमरन अकमल आफ्नो समयका चर्चित पाकिस्तानी विकेटकिपर ब्याट्सम्यान हुन् । पाकिस्तानी टोलीको थुप्रै अन्तर्राष्ट्रिय सफलतामा उनको महत्त्वपूर्ण योगदान रहेको छ । उनले पाकिस्तानका लागि तीन वटै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् ।
कमरन अकमल पाकिस्तानका लागि ६ हजार पाँच सयभन्दा बढी अन्तर्राष्ट्रिय रन बनाउने खेलाडी पनि हुन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा ११ शतक र २७ वटा अर्धशतक प्रहार गरेका छन् । उनी पनि आईपीएल खेल्ने पाकिस्तानी क्रिकेटर हुन् ।
सन् २००८ मा सम्पन्न आईपीएलको पहिलो संस्करणमा उनी राजस्थान रोयल्समा आबद्ध थिए । उनलाई राजस्थान रोयल्सले ६० लाख भारतीय रुपैयाँमा आबद्ध गरेको थियो । राजस्थान रोयल्सलाई पहिलो संस्करणको उपाधि चुमाउन पनि उनको भूमिका महत्त्वपूर्ण रहेको थियो ।
युनिस खान
विश्वका चर्चित ब्याटिङ अलराउन्डरमध्ये एक हुन्, युनिस खान । उनी पाकिस्तानी टोलीका पूर्वखेलाडी हुन् । उनले पाकिस्तानका लागि तीन वटै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए । उनी पाकिस्तानका लागि १७ हजार पाँच सयभन्दा बढी अन्तर्राष्ट्रिय रन बनाउने खेलाडी हुन् ।
युनिस खानले अन्तर्राष्ट्रिय क्रिकेटमा ४१ शतक र ८३ अर्धशतक पनि प्रहार गरेका छन् । पाकिस्तानी टोलीका सर्वकालिन महान क्रिकेटरको सूचिमा पनि उनको नाम आउँछ । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा विकेट पनि लिएका छन् ।
यी प्रभावशाली क्रिकेटर पनि आईपीएल खेल्ने थोरै पाकिस्तानी खेलाडीको सूचिमा पर्छन् । उनले सन् २००८ मा राजस्थान रोयल्सबाट आईपीएल खेलेका थिए । राजस्थानले उनलाई ९३ लाख भारतीय रुपैयाँमा आबद्ध गरेको थियो । त्यो संस्करणको उपाधि पनि राजस्थान रोयल्सले नै जितेको थियो ।
मोहम्मद हाफिज
मोहम्मद हाफिज पाकिस्तानका पूर्वअलराउन्डर हुन् । उनी ब्याटिङ, बलिङ र फिल्डिङ तीन वटै विधामा अब्बल थिए । उनले पाकिस्तानका लागि तीन वटै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । उनले पाकिस्तानका लागि १२ हजार पाँच सयभन्दा बढी अन्तर्राष्ट्रिय रन बनाएका छन् ।
मोहम्मद हाफिजले अन्तर्राष्ट्रिय क्रिकेटमा २१ शतक र ६४ वटा अर्धशतक पनि प्रहार गरेका छन् । यसका अतिरिक्त उनले दुई सय ५० भन्दा बढी अन्तर्राष्ट्रिय विकेट पनि लिएका छन् । उनी पनि आईपीएल खेल्ने निकै कम पाकिस्तानी क्रिकेटरमा पर्छन् ।
मोहम्मद हाफिजले कोलकाता नाइट राइडर्सको तर्फबाट पहिलो संस्करणको आईपीएल खेलेका थिए । कोलकाता नाइट राइडर्सले उनलाई ४१ लाख भारतीय रुपैयाँमा आबद्ध गरेको थियो ।
उमर गुल
उमर गुल पाकिस्तानी टोलीका पूर्वखेलाडी हुन् । उनले पाकिस्तानी टोलीको थुप्रै सफलतामा महत्त्वपूर्ण योगदान गरेका छन् । उनी क्षमतावान बलिङ अलराउन्डर थिए । उनले पाकिस्तानका लागि तीन वटै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् ।
उनले पाकिस्तानका लागि चार सयभन्दा बढी अन्तर्राष्ट्रिय विकेट लिएका छन् । टोलीलाई आवश्यक पर्दा रन बनाउन पनि उनी खप्पिस थिए । उनी पनि इन्डियन प्रिमियर लिग खेल्ने पाकिस्तानी क्रिकेटरमध्ये एक हुन् ।
उमर गुलले कोलकाता नाइट राइडर्सको तर्फबाट पहिलो संस्करणको आईपीएल खेलेका थिए । आईपीएलको त्यो संस्करणमा केही खेलमा कोलकातालाई जित दिलाउन उनको भूमिका महत्त्वपूर्ण रहेको थियो । उनले किङ्स–११ पन्जाबविरुद्ध २३ रन खर्चिएर चार विकेट लिएका थिए ।
अजहर महमुद
आफ्नो समयका चर्चित बलिङ अलराउन्डर अजहर महमुद पनि इन्डियन प्रिमियर लिग खेल्ने पाकिस्तानी क्रिकेटर हुन् । उनले पाकिस्तानका लागि टेस्ट र एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए ।
पाकिस्तानी टोलीको केही महत्त्वपूर्ण सफलतामा उनको पनि गतिलो योगदान रहेको छ । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा तीन शतक र चार अर्धशतक प्रहार गरेका छन् । उनले टेस्ट क्रिकेटमा ३९ र एकदिवसीय अन्तर्राष्ट्रियमा एक सय २३ विकेट पनि लिएका छन् ।
प्रथम श्रेणीको क्रिकेट र लिस्ट ‘ए’ क्रिकेटमा पनि उनको प्रदर्शन उत्कृष्ट थियो । उनी आईपीएल खेल्ने अपवाद पाकिस्तानी खेलाडीमा पर्छन् । सन् २०१२ को आईपीएलमा उनलाई किङ्स–११ पञ्जाबले दुई लाख अमेरिकी डलरमा किनेको थियो ।
त्यसपछि सन् २०१५ मा उनलाई कोलकाता नाइट राइडर्सले खरिद गरेको थियो । त्यतिबेला कोलकाताले जेम्स निसामको स्थानमा उनलाई भित्र्याएको थियो । उनले कोलकाताका लागि केही खेल पनि खेलेका थिए ।
अन्य कुनै पनि पाकिस्तानी क्रिकेटर दुई सिजन आईपीएल क्लबमा आबद्ध भएका थिएनन् । अजहर मेहमुदले पनि फरक परिस्थितिका कारण आईपीएलको अक्सनमा सहभागी हुने अवसर पाएका थिए । खासमा त्यतिबेला उनी बेलायतको नागरिकता वाहक थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुम्कीबासमा पुल भाँचिँदा यातायात अवरुद्ध
-
प्रधानमन्त्री ओलीले संसद् भंग गरेर ०८७ सम्म सरकारमा बस्ने चाहना राखे : माधव नेपाल
-
यो अप्राकृतिक सरकार भएकाले अब चल्न सक्दैन : प्रचण्ड
-
तस्बिरमा हेर्नुहोस् सेनाको गोरखा–काठमाडौँ एकीकरण पदयात्रा
-
भुक्तानी नपाएको भन्दै राष्ट्रिय भेला बोलाएपछि व्यवसायीसँग अर्थमन्त्री ‘आक्रोशित’
-
योजना कार्यान्वयनमा जनस्तरबाट निगरानी बढाउनुहोस् : मुख्यमन्त्री आचार्य