एक्लै लड्ने घोषणा गरेका कांग्रेस–एमालेले किन गरे चार पदमा चुनावी तालमेल ?
काठमाडौँ । एक्लाएक्लै चुनाव लड्ने घोषणा गरेका नेकपा एमाले र नेपाली कांग्रेसले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका केही पदमा घोषित रूपमै ‘तालमेल’ गरेका छन् ।
निर्वाचन आयोगले उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ताको समय तोकेको थियो । उम्मेदवारी दर्ता गर्ने क्रममै कांग्रेस र एमालेले दुई जिल्ला समन्वय समिति, एक पालिका उपाध्यक्ष र एक वडाध्यक्षमा एक अर्कालाई सघाउने गरी उम्मेदवारी दिएका छन् ।
माओवादी केन्द्रको गढ मानिने रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष र सोही पालिकाको वडा नम्बर २ मा कांग्रेसले उम्मेदवार खडा गरेको छैन । जबकि उपाध्यक्षका उम्मेदवार एमालेकै भए पनि कांग्रेसको चुनाव चिह्न लिएकी छन् । उपाध्यक्ष पदमा कांग्रेसले उम्मेदवार नउठाउने सहमति अनुसार कांग्रेसको निर्वाचन चिह्न र एमालेको उम्मेदवार उठाइएको हो ।
यो पालिकाको २ नम्बर वडाध्यक्षमा एमालेका उम्मेदवार एमालेकै चुनाव चिह्न ‘सूर्य’बाट चुनाव लड्दैछन् । वडा अध्यक्षमा पनि कांग्रेसले आफ्नो उम्मेदवार नउठाएर एमालेलाई सहयोगको नीति लिएको हो ।
यो पालिकाको उपाध्यक्ष पदमा एमालेले जिल्ला उपसचिव केशकुमारी तुलाचनलाई उम्मेदवार बनाएर रुख चिह्नबाट चुनाव लडाएको हो । पुथा उत्तरगंगाको वडा नम्बर २ का वडाध्यक्ष पदमा एमालेका जीवन रोका उम्मेदवार बनेका छन् । उनी सूर्य चिह्नबाट चुनाव लड्दैछन् । वडामा कांग्रेसले आफ्नो उम्मेदवार नउठाएर एमालेलाई सघाउने नीति लिएको हो ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम कांग्रेस र एमालेबिच एक्लाएक्लै चुनाव लड्ने केन्द्रीय नीति भए पनि स्थानीयस्तरमा एकअर्कामा सहयोग हुनु सामान्य बताउँछन् । ओखलढुंगा र कैलाली जिसस प्रमुखमा कांग्रेसले जित्ने प्रस्ट मत रहेकाले एमालेले उम्मेदवार नउठाएको गौतमको भनाइ छ ।
रुकुमपूर्वका दुई पदमा मात्रै होइन, नेपाली कांग्रेस र एमालेबिच जिल्ला समन्वय समिति ओखलढुंगा र कैलालीमा पनि चुनावी तालमेल भएको छ ।
‘जिससमा कांग्रेसको प्रस्ट बहुमत छ । त्यस्तो अवस्थामा हाम्रो उम्मेदवार उठाउन जरुरी भएन’, गौतमले रातोपाटीसँग भने, ‘स्थानीय जनमत र सम्भाव्य परिणामलाई ध्यानमा राखेर स्थानीय पार्टी कमिटीहरूले एक अर्कालाई सहयोग र समर्थन गर्ने वातावरण बनाए, त्यसलाई केन्द्रले अनुमोदन गरेको हो ।’
यद्यपि गौतमले एमालेको केन्द्रीय नीति एक्लाएक्लै प्रतिस्पर्धा गर्ने रहे पनि त्यसरी प्रतिस्पर्धा गर्दा रिजल्ट नआउने भएकाले रुकुमपूर्वको पुथा उत्तरगंगामा स्थानीयस्तरमा तालमेल भएको बताए ।
मंसिर १६ गते देशभरका ४४ स्थानमा उपनिर्वाचनका लागि मतदान हुँदैछ ।
रुकुमपूर्वका दुई पदमा मात्रै होइन, नेपाली कांग्रेस र एमालेबिच जिल्ला समन्वय समिति ओखलढुंगा र कैलालीमा पनि चुनावी तालमेल भएको छ ।
कांग्रेसलाई सहयोग गर्ने मनसायले ओखलढुंगाको जिसस प्रमुखमा नेकपा एमालेले आफ्नो उम्मेदवार नै उठाएन । तत्कालीन जिल्ला समन्वय प्रमुख डिल्लीराम खनालको डेढ वर्षअघि निधन भएसँगै रिक्त रहेको पदमा निर्वाचन हुन लागेको हो ।
ओखलढुंगा जिसस प्रमुखमा एमालेले उम्मेदवार नउठाएपछि कांग्रेसले जिल्ला समन्वय समिति प्रमुखमा टेकराज भट्टराईलाई उम्मेदवार बनायो । प्रतिस्पर्धी एमालेले उम्मेदवारी नदिएपछि त्यहाँ कांग्रेसका भट्टराई निर्विरोध भइसकेका छन् ।
उपनिर्वाचनअन्तर्गत मनोनयन दर्ताको अघिल्लो दिन शनिबार कांग्रेसको पार्टी कार्यालय ओखलढुंगामा बसेको सत्ता गठबन्धन दल नेपाली कांग्रेस र एमालेको जिल्लास्तरीय बैठकले कांग्रेसलाई समन्वय प्रमुखमा सघाउने र आफ्नो उम्मेदवार नउठाउने निर्णय गरेको थियो । उता सुदूरपश्चिमको कैलाली जिसस प्रमुखमा कांग्रेसका टीका चौधरी दुवै दलको साझा उम्मेदवार बनेकी छन् ।
उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिन एमाले कैलाली अध्यक्ष यज्ञ ढुंगाना र कैलाली कांग्रेस सभापति नारायणदत्त भट्टले संयुक्त हस्ताक्षर गर्दै कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने सहमति गरेअनुसार आफ्नो पार्टीको उम्मेदवार नउठाएको एमाले अध्यक्ष ढुंगानाको भनाइ छ ।
१३ वटा स्थानीय तह रहेको कैलालीमा जिल्ला समन्वय समिति निर्वाचनका लागि कुल २६ मत संख्या छ । कांग्रेसका आठ, नागरिक उन्मुक्ति पार्टीका सात, एमालेका पाँच, माओवादीका तीन, नेकपा एकीकृत समाजवादीका एक र एक जना स्वतन्त्र मत संख्या कैलालीमा छ । यसअघि निर्वाचित जिल्ला समन्वय समिति प्रमुख पदम कलेलको ०७९ साल पुस २३ गते मृत्यु भएपछि रिक्त पदमा मंसिर १६ मा निर्वाचन हुन लागेको हो ।
नेपाली कांग्रेस रुकुमपूर्वका सभापति केसरमान बुढा माओवादी गढ भत्काउन तालमेल गरेको बताउँछन् । ‘यहाँ माओवादीसँग एक्लाएक्लै लड्दा चुनाव जित्न सकिने अवस्था छैन । त्यसकारण हामी दुई दलले गठबन्धन गरेका हौँ’, बुढाले रातोपाटीसँग भने, ‘त्यही भएर कांग्रेसको चुनाव चिह्नमा एमालेको उम्मेदवार खडा गरेका हौँ ।’
नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा स्थानीय उपनिर्वाचन केन्द्रीय समन्वय समितिका सदस्य मधु आचार्य केही स्थानमा भएको तालमेललाई समग्रमा गठबन्धन भन्न नमिल्ने बताउँछन् ।
‘यो गठबन्धन होइन । गठबन्धन भनेको ओभरअल यसलाई यो, उसलाई यो भन्ने हो । तर केहीकेही ठाउँमा स्थानीय आवश्यकताका आधारमा तालमेल हुन सक्छ’, आचार्यले भने, ‘तर त्यो पनि उम्मेदवारी दर्ताकै क्रममा गर्ने कुरा हाम्रो थिएन । बरु उम्मेदवारी दिइसकेपछि आवश्यकताअनुसार व्यावहारिक किसिमको तालमेल हुनसक्थ्यो ।’
आचार्यले केही ठाउँमा उम्मेदवार नै नउठाइ गठबन्धन भयो भनिएकोबारे आफूले वस्तुगत अवस्था बुझिनसकेको भए पनि नोमिनेसनमै गठबन्धनकै शैली अपनाउनु राम्रो सङ्केत नभएको बताए । ‘गठबन्धन शैली नोमिनेसनकै बेलामा देखिनु राम्रो लक्षण अवश्य होइन । त्यसैले यो कसरी, किन भनेर पार्टीभित्र अध्ययनको विषय बन्छ’, आचार्यको भनाइ छ ।
पुथा उत्तरगंगा माओवादीको गढ
पुथा उत्तरगंगा माओवादीको बलियो आधार क्षेत्र मानिन्छ । २०७९ को स्थानीय तह निर्वाचनमा त्यहाँ कांग्रेस–एमाले उम्मेदवारभन्दा माओवादी उम्मेदवार दोब्बर मत ल्याएर विजयी भएका थिए । २ वर्षअघिको निर्वाचनमा यो गाउँपालिकामा माओवादी केन्द्रकी भूपेन्द्र बुढा ४ हजार ५९ मत ल्याएर निर्वाचित भएकी थिइन् । कांग्रेसका कमलाकुमारी मल्लले २ हजार १० र एमालेका धर्म घर्ती बुढाले १ हजार ८ सय १२ मत प्राप्त गरेका थिए ।
पुथामा ११ हजार १८० मतदाता छन् । माओवादी केन्द्रबाट विजयी बुढाको बागलुङमा भएको सवारी दुर्घटनामा ज्यान गएपछि उपनिर्वाचन हुन लागेको हो ।
तालमेलबारे के भन्छन् जिल्लाका नेता ?
नेपाली कांग्रेस रुकुमपूर्वका सभापति केसरमान बुढा माओवादी गढ भत्काउन तालमेल गरेको बताउँछन् । ‘यहाँ माओवादीसँग एक्लाएक्लै लड्दा चुनाव जित्न सकिने अवस्था छैन । त्यसकारण हामी दुई दलले गठबन्धन गरेका हौँ’, बुढाले रातोपाटीसँग भने, ‘त्यही भएर कांग्रेसको चुनाव चिह्नमा एमालेको उम्मेदवार खडा गरेका हौँ ।’
उनले पुथा उत्तरगंगामा चाहेर पनि माओवादीसँग तालमेल गर्न सक्ने अवस्था नरहेको बताए ।
नेकपा एमाले रुकुमपूर्वका अध्यक्ष लीलामणि गौतम कांग्रेसले भन्दा अघि नै उपाध्यक्ष उम्मेदवारका रूपमा जिल्ला उपसचिव तुलाचनलाई अघि सारेकाले उनकै नाममा सहमति जुटेको बताए । ‘यहाँ हामी एक्लाएक्लै चुनाव लड्दा केही वडाबाहेक अन्य जितेको अवस्था थिएन तर अहिले हाम्रो उम्मेदवार कांग्रेसको चुनाव चिह्नमा जाँदा जित्ने देखिन्छ’, गौतमले भने, ‘वडामा हाम्रो उम्मेदवार र हाम्रो चुनाव चिह्न छ ।’
गौतम पनि यसरी चुनाव लड्दा माओवादीको गढ भत्काउन सकिने बताउँछन् । ‘एक्लै लड्दा जित्न नसक्ने भएपछि बलियो उम्मेदवार लिएर कांग्रेस–एमालेबिच गठबन्धन भएको हो । यसरी जाँदा हाम्रो गठबन्धनले माओवादी गढ भत्कन्छ भन्ने हाम्रो विश्वास छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिद्धार्थ बैंकका ग्राहकलाई हार्ड रक क्याफेमा १०% सम्मको छुट
-
सौर्य जहाज दुर्घटना : पीडित परिवारको न्यायका लागि महासंघले खबरदारी गर्ने
-
कर्णाली प्रदेश : संसदीय समितिले बल्ल पाए नेतृत्व
-
गणतन्त्रलाई बलियो बनाउन स्वच्छ प्रशासन आवश्यक : प्रदेश प्रमुख खापुङ
-
‘कुस्ती’ मा दिकिला शेर्पा अनुबन्धित
-
सरकारले सेटिङमा सिमेन्टको मूल्य बढाएको आरोप