मालढुङ्गा-बेनी सडक ११ गतेसम्म दैनिक ६ घण्टा बन्द
पर्वत । उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुङ्गा-बेनी खण्ड दैनिक छ घण्टा बन्द गरिने भएको छ । सडक कालोपत्र तथा स्तरोन्नतिका लागि मङ्सिर ११ गतेसम्म दैनिक छ घण्टा सवारी आवागमन बन्द गरिने भएको हो ।
सडकको प्रवेश बिन्दुमा पर्ने पर्वतको कुश्मा नगरपालिका-१ मालढुङ्गामा सडकको क्षेत्राधिकारमा पर्ने ढुङ्गा फुटाएर पन्छाउन र मालढुङ्गाबाट लस्तीसम्म कालोपत्र गर्न ‘प्राइमकोट’ बिछ्याउन सवारीसाधन बन्द गर्न लागिएको बेनी-जोमसोम-कोरला सडक आयोजना कार्यालयले जनाएको छ ।
आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंले जिल्ला प्रशासन कार्यालय पर्वतमा आइतबार बसेको आयोजना, जनप्रतिनिधि, सुरक्षा अधिकारी र निर्माण कम्पनीका प्रतिनिधिको बैठकले सोमबारदेखि आठ दिनसम्म बिहान १० देखि दिउँसो ४ बजेसम्म सवारीसाधन आवतजावत रोकेर निर्माण गर्ने निर्णय भएको जानकारी दिए ।
म्याग्दी र मुस्ताङ आवतजावत गर्ने सवारीसाधनको चापका कारण निर्माण प्रभावित भएकाले समय तालिका बनाइएको उनले बताए । सडक फराकिलो बनाउन किनारामा रहेको ठूलो ढुङ्गा फुटाउने, सबबेस, बेस राखेको मालढुङ्गा-लस्ती खण्डको चार किलोमिटर दूरीमा प्राइमकोट बिछ्याउने र कालोपत्र गर्ने तयारी भइरहेको चापागाईंले बताए ।
सो सडक खण्ड अवरुद्ध हुँदा मालढुङ्गा-बागलुङ–बेनी वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरिएको सूचना अधिकारी चापागाईंले सुझाव दिए । अन्य सवारीका लागि सडक अवरुद्ध भए पनि अत्यावश्यक एम्बुलेन्स, दमकल र शववाहन सञ्चालनमा भने सहजीकरण गरिने आयोजनाले जनाएको छ ।
कुश्मा–१ मालढुङ्गाबाट जलजला गाउँपालिका-८, ७, ४ र ३ नम्बर वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने सडक कालोपत्र गर्न सञ्चालित यो आयोजनाको हालसम्मको भौतिक प्रगति ६२ प्रतिशत रहेको छ ।
१३ किलोमिटर दुरीको बेनी-मालढुङ्गा सडकलाई ११ मिटर फराकिलो बनाएर अस्फाल्ट प्रविधिको कालोपत्र र ढलान गर्न बेनी-जोमसोम-कोरला सडक आयोजना र एपेक्स-खड्का-कृष्ण जेभीबीच २०७७ चैतमा ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता भएको थियो ।
३० महिनामा काम सम्पन्न गर्ने गरी सम्झौता भए पनि निर्माण व्यवसायीले विभिन्न कारण देखाउँदै ढिलाइ गरेको हो । यो सडक चालु आर्थिक वर्षभित्र पूर्ण रुपमा सम्पन्न गर्नेगरी काम गर्न निर्माण व्यवसायीलाई आयोजना कार्यालयले निर्देशनसमेत दिएको छ । यो सडक भएर म्याग्दी, मुस्ताङ र पर्वतको जलजला गाउँपालिकाका स्थानीय बासिन्दाका साथै पर्यटक र तीर्थयात्री आवतजावत गर्दछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्राको विनिमयदर : पाउण्डको मूल्य घट्यो, अन्य कसको कति ?
-
पोर्चुगललाई बराबरीमा रोक्दै क्रोएशिया क्वार्टरफाइनलका लागि सुरक्षित
-
स्पेनको अपराजित यात्रा कायमै
-
कार्तिकमा सबैभन्दा बढी घर जग्गा कारोबार झापामा, अन्य जिल्लामा कति ?
-
मध्यपूर्व तनाव : शरणार्थीका लागि खाद्यान्न बोकेका १०९ लरी लुटिए
-
मालढुङ्गा-बेनी सडक ११ गतेसम्म दैनिक ६ घण्टा बन्द