जलवायुसम्बन्धी एसिया प्रशान्त क्षेत्र स्तरीय सम्मेलन सुरु
काठमाडौँ । पूर्वाधार विकासलाई दिगो तथा वातावरणमैत्री बनाउन नवीनतम प्रविधिको उपयोग गरी जल, वातावरण, आवास, यातायात, पर्यावरण, पूर्व सूचना प्रविधिलगायत विशिष्टीकृत विषयमा परामर्श गर्न तीन दिने एसिया प्रशान्त क्षेत्र स्तरीय सम्मेलन सुरु भएको छ ।
सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एन्ड इन्जिनियरिङ फर्म (स्काएफ) नेपालको आयोजनामा सुरु भएको सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका २० भन्दा बढी देशका पाँच सयभन्दा धेरै प्रतिनिधिको सहभागिता छ ।
विश्वभरिका सम्पूर्ण परामर्शदाताको अन्तर्राष्ट्रिय संस्था (फिडिक) का अध्यक्ष क्याथरीन काराकात्सानीसले अजरबैजानको बाकुमा विश्व जलवायु सम्मेलन चलिरहेका बेला नेपालमा सुरु भएको एसिया प्रशान्त क्षेत्र स्तरीय यो सम्मेलन उपलब्धिमूलक हुने विश्वास व्यक्त गरिन् । सम्मेलनबाट आउने निष्कर्षले आगामी दिनमा वातावरणको संरक्षणमा सहयोग गर्ने उनको भनाइ थियो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले वातावरणलाई सन्तुलित रूपमा कायम राख्दै दिगो पूर्वाधार विकासका काम गर्न सम्मेलनले दिशानिर्देश गर्ने बताए । सम्मेलनबाट आउने सुझावले सरकारलाई पनि सहयोग गर्ने उनको भनाइ थियो । नेपालमा संरक्षित ४६ प्रतिशत वनले वातावरणलाई सन्तुलित बनाउन सहयोग गरेको सचिव शर्माले सुनाए ।
फिडिकका एसिया प्रशान्त क्षेत्रीय अध्यक्ष शशीधर धवन, फिडिकका एसिया प्रशान्त क्षेत्रको बोर्ड सदस्य टङ्कलाल अधिकारी, नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंह, आयोजक स्काएफका अध्यक्ष ठाकुरप्रसाद शर्मा, महासचिव कमल कार्की, उपमहासचिव एवं सम्मेलन निर्देशक मन्दाकिनी कार्कीलगायतले पूर्वाधार विकाससँगै वातावरणलाई पनि संरक्षित गरिनुपर्नेमा जोड दिएका थिए । यस्तो अन्तर्राष्ट्रिय सम्मेलन यसअघि सन् २००९ मा नेपालले आयोजना गरेको थियो ।
सम्मेलनमा सात वटा अलग अलग विषयमा कार्यपत्र प्रस्तुतिसहित समूहगत छलफल हुने जनाइएको छ । प्राविधिक सत्रको यो कार्यक्रम मङ्गलवार र बुधवार हुनेछ । कार्यक्रमको सारांश प्रतिवेदनका रूपमा स्काएफ नेपालले सरकारसमेतलाई बुझाउने जनाइएको छ ।
सम्मेलनको उद्घाटन उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह र भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले गर्ने कार्यक्रम रहेकामा पूर्व सभामुख दमननाथ ढुङ्गानाको आइतबार निधन भएपछि आज शोक बिदा दिइएका कारण फिडिकका अध्यक्ष क्याथरीनले उद्घाटन गरेका थिए ।