सोमबार, ०३ मङ्सिर २०८१
ताजा लोकप्रिय
अलबिदा !

किसुनजीको ‘प्यारो’ ढुंगाना : जो विरासतको पछि कहिल्यै लागेनन्

सोमबार, ०३ मङ्सिर २०८१, २० : ००
सोमबार, ०३ मङ्सिर २०८१

काठमाडौँ । ‘किसुनजी’ (कृष्णप्रसाद भट्टराई)लाई सधैँ दमनजी (दमननाथ ढुंगानाले)ले दुःख पाउला भन्ने चिन्ता हुन्थ्यो,’ सोमबार दिउँसो वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालले रातोपाटीसँग सुनाए ।

पारदर्शिताको वकालत गर्ने र भ्रष्टाचार सम्बन्धी खबरदारी गर्ने निकाय ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका पूर्वअध्यक्ष श्रीहरि अर्याल लामो समय ढुंगानाको सङ्गतमा रहे । लोकतान्त्रिक व्यवस्था, नागरिक सर्वाेच्चता, सुशासन, अभिव्यक्ति र वैयक्तिक स्वतन्त्रमा ढुंगानाजस्तै अडान राख्ने अर्याल विगत सम्झदै दमननाथ ढुंगानाको मुक्तकण्ठले प्रशंसा गर्छन् ।

सन्त नेता तथा लोकतन्त्रका लागि अथक लडेर बिदा भएका पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले ढुंगानालाई देखाएको स्नेह पनि अर्यालले सम्झिए । भट्टराईले अर्याललाई भनेका थिए रे– ‘दमनजीलाई सम्झाउनू ।’

रातोपाटीसँग संक्षिप्त टेलिफोन संवादमा अर्यालले थपे, ‘किसुनजीले भन्नुभएको थियो– उहाँ (दमननाथ) कुनै पद पनि लिनुहुन्न । कुनै पद पनि नखाने तथा चुनाव पनि हार्नुभयो । वकालतकै क्षेत्रमा थप काम गरे हुन्थ्यो ।’

ढुंगानाको लोकतान्त्रिक पद्धति र यसको आचरणप्रति अपार श्रद्धा र विश्वास रहेको मात्र होइन, व्यवहारमै देखिने गरेको अर्याल सम्झन्छन् ।

‘किसुनजीको उहाँ (दमननाथ ढुंगाना) साह्रै प्यारो हुनुहुन्थ्यो । तर, जति प्यारो भए पनि किसुनजीबाट केही कुरा प्राप्त गर्न उहाँले पटक्कै चाहनुभएन,’ अर्यालले भने ।

ढुंगाना लोकतन्त्र र नागरिक स्वतन्त्रताका लागि सधैँ लडिरहे । उनी वैयक्तिक स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता तथा नागरिक सर्वाेच्चतामा पक्षमा सधैँ उभिइरहे । कहिले संसदमा सभामुखको भुमिकामा उभिए, कहिले सडक तथा कहिले न्यायालयमा उभिएर जनताको पक्षमा बोलिरहे, उभिइरहे ।

अर्याललाई लागेको छ– ढुंगानाले चाहेको भए सभामुखमात्र होइन, अन्य सम्मानका पद सहजै प्राप्त गर्न सक्थे । उनलाई जुनसुकै देशको राजदूत भएर विदेशमा जान समस्या थिएन । सर्वाेच्च पदमा पुग्न पनि समस्या थिएन । ‘हार हुने चुनाव लड्न’ उनलाई बाध्यता थिएन ।

‘उहाँ चुनाव नलडेर पनि धेरै ठुल्ठुला पदमा पुग्न सक्नु हुन्थ्यो । राजदूत बन्न उहाँलाई कुनै समस्या थिएन । अन्य आकर्षक लाग्ने सम्माननीय पद चाहेको भए पाउन पनि समस्या थिएन,’ अर्यालले भने, ‘तर उहाँले कोहीसँग गएर कुनै पद माग्नुभएन ।’

विरासत बनाउनै चाहेनन्

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ जन्माउने भूमिकामा सक्रिय ढुंगानाले २०४८ सालको निर्वाचन काठमाडौँ क्षेत्र नम्बर २ बाट जिते, र सभामुख भए । त्यसपश्चात् उनी २०५२ मा अर्काे निर्वाचन र २०७४ मा भक्तपुरबाट निर्वाचन लडे तर, सफल भएनन् ।

सभामुख हुँदा ढुंगानाले ‘संसदीय व्यवस्थामा सरकारको सत्ता, प्रतिपक्षको संसद्’ भन्ने मान्यता स्थापित गराए । त्यो छविकै कारण संसदीय व्यवस्थामा उनको सम्मान एकदमै ‘उच्च’ छ । संसदीय प्रक्रियामा प्रतिपक्षको आवाज दबिन थालेपछि उनको नाम पहिलो नम्बरमा आउँछ । उनले बनाएको ‘थ्यौरी’को सदनमा बारम्बार उच्चारण हुन्छ ।

ढुंगानाको नाम राजनीतिमा मात्र होइन, मानव अधिकारको रक्षा र शान्तिको पक्षमा पनि उत्तिकै छ । जनयुद्धमा रहेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने र संविधान सभाबाट संविधान जारी गर्नेमा उनको भूमिका शीर्ष नेताको भन्दा कम छैन ।

‘उहाँ (दमननाथ ढुंगाना) स्वतन्त्रताको लडाइँ कसैका लागि लड्ने होइन, आफ्नै लागि लड्ने हो भन्नुहुन्थ्यो,’ ढुंगानासँग बाल्यकालदेखि सङ्गत गरेका वरिष्ठ पत्रकार किशोर नेपाल भन्छन्, ‘दमन दाइ नेपाली लोकतान्त्रिक आन्दोलनका अथक योद्धा हुनुहुन्थ्यो र उहाँका लागि सबैभन्दा प्रियनै व्यक्तिको स्वतन्त्रता थियो ।’

राजनीतिमा पनि नाम, न्याय क्षेत्रमा पनि नाम, सडकमा पनि नाम, सदनमा पनि नाम । यस्ता व्यक्तिले आफ्नो लिगेसी छाडेर जाँदा उत्तराधिकारी किन बनाएन भन्ने प्रश्न स्वाभाविक रूपमा आउँछ ।

वरिष्ठ पत्रकार नेपालले रातोपाटीसँग भने, ‘उहाँको परिवारबाट कोही पनि राजनीतिमा छैनन् । भूपादिदी अर्थात् भुवन कोइराला ढुंगाना उहाँको श्रीमती, जो आफैँमा साहित्यकार हुनुहुन्छ । एक जना छोरा प्रोफेसर हुनुहुन्छ लन्डनमा । छोरी नीतिका ढुंगाना लयर हुनुहुन्छ । छोरा निमेष ढुंगाना आफ्नो व्यवसाय गरेर बस्नुभएको छ ।’

हुन पनि धेरै नेता तथा समाजका प्रतिष्ठित व्यक्तित्वले आफ्नो उत्तराधिकारी छाडेर जाने गरेका छन् । धेरै स्वर्गीय नेताहरूले विरासत सुम्पिएका छन् । उदाहरणकै रूपमा नेपाली राजनीतिका शिखर पुरूष विपी कोइरालाका छोराहरू प्रकाश कोइराला, डा शशांक कोइराला विरासत धान्न आए । नेपाली राजनीतिका लौह पुरूष गणेशमान सिंहका छोरा प्रकाशमान सिंह पनि राजनीतिमा छन् ।

एमालेका स्वर्गीय नेता मदन भण्डारीको उत्तराधिकारी बनेर श्रीमती विद्यादेवी भण्डारी राजनीतिमा आइन्, जो २ पटक यो देशको राष्ट्रपति बनिन् । यस्तै, स्वर्गीय पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पुत्री सुजाता कोइरालालाई राजनीतिमा अघि बढाए । कांग्रेसका नेता महेन्द्र नारायण निधिले छोरा विमलेन्द्र निधिलाई राजनीतिमा अघि बढाए । पूर्वराष्ट्रपति रामवरण यादवका छोरा पनि कांग्रेस राजनीतिमा सक्रिय छन् । एमालेकै नेता रविन्द्र अधिकारीको देहावसान पश्चात् पत्नी विद्या भट्टराई राजनीतिमा छिन्, जो देशको शिक्षामन्त्री पनि हुन् । लामो समय जनताको मुक्तिका लागि मर्नसमेत तयार भएर जनयुद्ध गरेका पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नै छोरी तथा बुहारी तथा भाइलाई राजनीतिमा ल्याएका छन् । यस्तै, पूर्वप्रधानमन्त्री तथा नेसपा (नयाँ शक्ति)का अध्यक्ष बाबुराम भट्टराईले पनि छोरीलाई राजनीतिमा ‘विरासत धान्नेगरी’ अघि बढाएका छन् ।

माथिका केही उदाहरण हेर्दा दमननाथ ढुंगानामा भने विरासतको उत्कट चाहना नदेखिएको निकटहरूले दिने अभिव्यक्तिबाट स्पष्ट हुन्छ ।

‘दमन दाइले सत्ताको सुख कहिल्यै भोग्नुभएन । उहाँको स्वाभिमानलाई कसैले चुनौती दिन सक्दैन,’ वरिष्ठ पत्रकार नेपालले भने, ‘उहाँ कर्मयोगी हुनुभएकाले पनि सुविधाहरूसँग उहाँ सधैँ तर्सिनुभयो ।’

वरिष्ठ अधिवक्ता श्रीहरि अर्याल पनि ढुंगानाले विरासत बनाउने कुरा कहिल्यै नगरेको स्मरण गर्छन् । ‘सभामुखबाट निवृत्त भएपछि उहाँले कुनै सरसुविधा लिनुभएन,’ अर्यालले थपे, ‘उहाँले विरासत बनाउने कुरा पनि गर्नुभएन । आफ्नो ब्रह्मले देखेको कुरा राष्ट्र र जनताको हित र शान्तिको पक्षमा काम गर्नुभयो ।’

अर्यालका शब्दमा समाज हाँक्ने र राजनीतिक अवसरमा बस्नेहरूमध्ये ढुंगाना एक अपवाद हो, जसले सधैँ विरासत र अवसरको राजनीतिलाई आफ्नो आचरण बनाउन चाहेन ।

‘उहाँले लोकतन्त्रको मूल्य–मान्यतामा कुनै सौदावाजी गर्न तयार हुनुभएन, वैयक्तिक स्वतन्त्रलाई उहाँले उच्च महत्त्व दिनुहुन्थ्यो । उहाँले लोकतान्त्रिक मूल्य–मान्यतालाई व्यवहारमै लागु गर्नुभयो,’ अर्यालले भने ।

सडकमा, सदन र सर्वाेच्च अदालत (न्यायालय)मा सधैँ नागरिक स्वतन्त्रताका लागि लडेका ‘लोकतन्त्रका उनै सच्चा योद्धा’ ढुंगाना आइतबार दिउँसो १ बजे यो संसारबाट सदाका लागि बिदा भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोमन आचार्य
रोमन आचार्य
लेखकबाट थप