नेताहरूको स्मरणमा दमननाथ ढुंगाना
काठमाडौँ । पूर्वसभामुख दमननाथ ढुंगानाको पशुपतिनाथस्थित आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
आर्यघाटमा नेपाली सेनाको एक टुकडीले दिवंगत ढुंगानाको सम्मानमा शोक सलामी अर्पण गरेको थियो । ढुंगानाको पार्थिव शरीरमा उनका छोराहरूले दागबत्ती दिए । कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुंगानाको आइतबार ८३ वर्षको उमेरमा उपचारका क्रममा पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा निधन भएको थियो ।
अन्त्येष्टि गर्नु अघि ढुंगानाको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली दिँदै नेताहरूले स्मरण गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरूले ढुंगानाकाे स्मरण गरेका हुन् ।
प्रधानमन्त्री ओलीले ढुंगानाको आदर्शबाट आफूहरू प्रेरित भइरहने बताए । उनले ढुंगानालाई संसदीय प्रणालीलाई सुदृढ बनाउने उन्नत र व्यवस्थित सोच भएको व्यक्तित्वको रूपमा पनि चित्रण गरे । जनप्रतिनिधिहरूको संस्था संसद्लाई कसरी सुदृढ गर्ने भन्ने कुरामा ढुंगानासँग उन्नत र व्यवस्थित सोच रहेको उनको भनाई थियो ।
प्रधानमन्त्री ओलीले भने,‘ उहाँ अत्यन्त मृदुभाषी व्यक्तित्व, सबैका प्रिय हुनुहुन्थ्यो । हामी उहाँका आर्दशहरुबाट प्रेरित रहनेछौँ । उहाँले देखाउनुभएको बाटो लोकतन्त्रको पक्षमा दुढतापूर्वक उभिन्छौँ । उहाँलाई हामी राष्ट्रिय सम्मानका साथ बिदाइ गर्छौं ।’
यस्तै नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्व. दमननाथ ढुंगानाले सरकार बहुमतको र संसद् विपक्षीको भन्नेकुरा स्थापित गराएको बताएका छन् । उनले कांग्रेसबाट सभामुख बनेको र निष्पक्ष रूपमा काम गरेको बताए । उनले पार्टीलाई अप्ठ्यारो बनाएको महसुस त्यो बेलाम गरेपनि अहिले आएर होइन भन्नेकुरा भान भएको बताए ।
उनले भने, ‘उहाँले निष्पक्ष रूपमा काम गर्नुभयो । पार्टीलाई त वास्तवमा अफ्ठ्यारोमै पारेको जस्तो लाग्थ्यो । तर थाहा पाउन दिनुभएन वास्तवमा । सभामुखको काम नै त्यही हो । प्रतिपक्षको सदन र सरकार बहुमतको भन्नेकुरा उहाँले स्थापित गराउनु भयो ।’ सभापति देउवाले देशले एउटा इमान्दार र ठुलो व्यक्ति गुमाएको बताए ।
यस्तै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्व. ढुंगानाले शान्ति सम्झौता र संविधान सभाको वातावरण बनाउन अविस्मरणीय योगदान गरेको बताए ।उनले स्व। ढुंगानालाई नेपालको लोकतान्त्रिक आन्दोलनको एउटा ऐतिहासिक व्यक्तित्वको रूपमा नेपाली जनताले सधैँ सम्झी रहने बताए । दमननाथ ढुंगाना र पद्यरत्न तुलाधरले शान्ति सम्झौताको वातावरण र संविधान सभाको वातावरण बनाउन र देशलाई लोकतान्त्रिक गणतन्त्रमा ल्याउन खेलेको भूमिका अविस्मरणीय रहेको बताए ।
उनले भने, ‘आदरणीय दमननाथ ढुंगाना नेपालको लोकतान्त्रिक आन्दोलनको एउटा ऐतिहासिक व्यक्तित्वको रूपमा नेपाली जनताले सधैँ सम्झी राख्नेछन् । उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्दै गर्दा शोकाकुल परिवारजन र आफन्तजनप्रति समवेदना प्रकट गर्दछु ।’ अध्यक्ष प्रचण्डले नेपाली जनताले लोकतान्त्रिक व्यक्तित्वको रूपमा ढुंगानालाई सधैँ स्मरण गर्ने बताए ।
यस्तै सभामुख देवराज घिमिरेले स्व. ढुंगानाले संसद्लाई बलियो बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले संसद्लाई कसरी बलियो बनाउने भन्ने प्रेरणाको श्रोतको रूपमा स्व. ढुंगानालाई आफूले लिएको बताए । उनले प्रजातन्त्र आइसकेपछि संसदीय मूल्य, मान्यतालाई प्रभावकारी ढंगबाट कार्यान्वयन गर्न अगुवाइ गर्ने व्यक्तिका रूपमा आफूले चिनेको बताए ।
उनले भने, ‘प्रजातन्त्र आइसकेपछि संसदीय मूल्य, मान्यतालाई प्रभावकारी ढंगबाट कार्यान्वयन गर्न अगुवाइ गर्ने एउटा व्यक्ति हो । उहाँबाट हामी सबैले सिक्नुपर्ने संसद् सञ्चालन र संसद्को भूमिकाको बारेमा सिक्नुपर्ने एउटा अभिभावकको रूपमा सम्झिन्छु । उहाँ अरूलाई दुःख नहोस् भन्ने चाहने, सबै दुःख आफूले व्यहोर्ने र आफू नै उदाहरण बन्ने एउटा राम्रो उदाहरण पनि हो ।’ स्व. ढुंगानालाई संसद् सञ्चालन र संसद्को भूमिकाको बारेमा सिक्नुपर्ने एउटा अगुवाको रूपमा आफूले सम्झिने उनले बताए ।
यस्तै मन्त्रीपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले पूर्वसभामुख स्व. ढुंगानालाई संसदीय मूल्यमान्यता स्थापित गराउने व्यक्तिको रूपमा आफूले लिएको बताएका छन् । उनले स्व.ढुंगाना कानुनी क्षेत्रमा वरिष्ठ अधिवक्ता भइ संवैधानिक, कानुनी, राजनीतिक पक्षका मुद्दाहरुमा बहस गरेको बताए । उनले समन्वयकारी भूमिका निर्वाह गर्ने व्यक्तिका रूपमा आफूले स्मरण गर्ने बताए ।
उनले भने, ‘उहाँका जीवनका विभिन्न आयामहरु छन् । कानुनी क्षेत्रको पनि एउटा राम्रो वरिष्ठ अधिवक्ता भएर संवैधानिक, कानुनी, राजनीतिक पक्षका मुद्दाहरुमा पनि बहस गर्नुभयो । मेरै इजलासमा पनि म जिल्ला न्यायाधीश हुँदा बहस गर्नुभएको थियो, काठमाडौँमा । सभामुखको हैसियतले संसदीय मूल्यमान्यता स्थापित गराउनु भयो ।’
मन्त्रीपरिषद्का पूर्वअध्यक्ष रेग्मीले स्व. ढुंगानाले समाज र राष्ट्रको लागि कानुनी क्षेत्रदेखि राजनीतिक, संसदीय क्षेत्रको पद्धतिमा बसेर गरेको योगदान स्मरणीय रहेको बताए ।
यस्तै कांग्रेसका महामन्त्री गगनकुमार थापाले हरेक राजनीतिक नेताहरूले पूर्वसभामुख स्व. ढुंगानाबाट निष्ठाको पाठ सिक्न जरुरी रहेको बताएका छन् । उनले आफ्नो पार्टीबाट सभामुख भएपछि पार्टीप्रति झुकाव राख्नुपर्ने आफूहरुको ठानेको भएपनि उनले त्यस्तो नगरी निष्ठाको राजनीति गरेको बताए । नेपालका हरेक संघ र संस्थामा राजनीतिक मान्छेहरु जोडिएको कारण विकास हुन नसकेको उल्लेख गर्दै उनले जुन दलबाट भएपनि संस्थाको नेतृत्वमा पुगेपछि शतप्रतिशत इमान्दारिता देखाउनुपर्ने कुरा स्व.ढुंगानाबाट सिक्नुपर्ने बताए ।
उनले भने, ‘पछिल्लो समयमा उहाँले नेपालमा शान्ति स्थापना गर्ने कुरामा गरेको योगदान सम्झन्छु । अझ त्योभन्दा पनि महत्त्वपूर्ण कुरा के भने उहाँले संसदको सभामुख भइसकेपछि उहाँले हाम्रो पार्टीको सदस्यता त्यागेर सभामुखको आसनमा बस्नुभयो । र उहाँले संसद्मा सभामुखको भूमिका निर्वाह गर्नुभयो । हामीले त्यो कुरा बुझेनौँ । हाम्रो पार्टीबाट सभामुख हुनुभएका व्यक्तिको हामीप्रति अलि बढी झुकाव हुनुपर्दछ भन्ने हामीले ठान्यौँ । उहाँको भूमिकालाई हामीले जसरि बुझ्नुपथ्र्यो त्यसरी बुझ्न चुक्यौँ ।’ उनले उदार प्रजातन्त्रमा विश्वास गर्ने मान्छेले उनीबाट निष्ठा सिक्न जरुरी रहेको बताए ।
यस्तै गृहमन्त्री रमेश लेखकले पूर्वसभामुख स्व. ढुंगानाको निधनले मुलुकले असल नेता गुमाएको बताए । स्व. ढुंगाना असल राजनीतिज्ञ, संविधानविद् एवं समाजको सबै विषयमा विशिष्ट योगदान दिएको व्यक्ति रहेको उनले बताए । उनले लोकतन्त्र प्राप्तिको आन्दोलनमा ढुंगानाले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उनलाई गुमाउनु पीडादायी भएको बताए । उनले पूर्वसभामुख ढुंगानाले नै सरकार सत्तापक्षको र सदन प्रतिपक्षको हुन्छ भन्ने संसदीय व्यवस्थाको विश्वव्यापी मान्यतालाई नेपालमा लागू गरेको बताए ।
गृहमन्त्री लेखकले भने, ‘दमननाथ ढुंगाना अत्यन्त असल राजनीतिज्ञ, संविधानविद् र समाजको सबै विषयमा विशिष्ट योगदान दिनुभएको असल नेता, असल व्यक्तित्व हुनुहुन्थ्यो । मुलुक र समाजले एउटा अत्यन्त असल नेता गुमाउनुपरेको छ । त्यसकारण यो एकदम पीडादायी अवस्था हो ।’
स्व.ढुंगानाले सशस्त्र द्वन्द्वको अन्त्य गरी मुलुकमा शान्ति स्थापनाको लागि समेत महत्त्वपूर्ण भूमिका खेलेको गृहमन्त्री लेखकको भनाइ छ ।
यस्तै कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले पूर्वसभामुख स्व. ढुंगानाको जीवन चरित्र सार्वजनिक रुपमा आजका राजनीतिक खेलाडीहरूले अनुकरण गर्नुपर्ने बताएका छन् । उनले स्व. ढुंगाना सादगी नेता रहेको बताए ।
उनले भने, ‘उहाँ सादगी नेचरको मान्छे हो, उहाँको जीवन चरित्र सार्वजनिक रुपमा आजका राजनीतिक खेलाडीहरूले अनुकरण गर्नुपर्छ । त्यो नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ । पार्टीको निश्चित दायराभित्र अनेक घटनाहरू, उतारचढाव हुन्छन्, त्यसबारेमा केही भन्न चाहन्न । ’
नेता सिटौलाले कांग्रेस राजनीतिमा हठ गर्नेहरूलाई स्व. ढुंगानाले कहिल्यै प्रश्रय नदिएको उल्लेख गरे । स्व. ढुंगाना गतिशील विचार बोकेर हिँड्ने व्यक्ति भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऐन महरमाथि ‘बलात्कार’ मुद्दामा अनुसन्धान गर्न अदालतको आदेश
-
एनआरएनएको एकता महाधिवेशन गराउन भन्दै अघि बढे घले, कार्यविधि पारित
-
बढुवा भएका २५ एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
-
भारतमा पुष्पक रेल दुर्घटना : मृत्यु हुनेको संख्या ११ पुग्यो
-
सर्वत्र आलोचनापछि पासाङलाई उपाध्यक्ष बनाउने प्रचण्डको योजना स्थगित
-
अर्शदीप सिंहले रचे इतिहास