बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

कर प्रणालीलाई लगानीमैत्री बनाउन चेम्बरको जोड

सोमबार, ०३ मङ्सिर २०८१, १७ : ५६
सोमबार, ०३ मङ्सिर २०८१

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले कर प्रणालीलाई लगानीमैत्री बनाउन जोड दिएको छ । चेम्बरले सोमबार राजश्व नीति र कर प्रणालीबारे अन्तरक्रिया कार्यक्रम गर्दै कर प्रणालीलाई लगानीमैत्री बनाउन जोड दिएको हो । 

अन्तरक्रियामा आन्तरिक राजश्व विभाग, निजी क्षेत्रका प्रतिनिधि लगायत सरोकारवालासँग छलफल गरेको थियो । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपालको कर प्रणालीलाई लगानीसँग जोड्नुपर्ने बताए । ‘कर प्रशासन र कर नीति सहज र सरल भयो भने लगानीमैत्री वातावरण बन्छ,’ उनले भने, ‘लगानी वृद्धि भएर निजी क्षेत्रले नाफा कमाए मात्रै कर वृद्धि गर्न सकिन्छ । ’

मुलुकमा पुँजी निर्माण भएर रोजगारी सिर्जना, उत्पादन वृद्धि हुनेगरी सरल र सहज नीति बनाउनुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिए ।  

अर्थतन्त्रमा झण्डै ८१ प्रतिशत हिस्सा ओगट्ने निजी क्षेत्रलाई सहजीकरण र स्थिर नीतिगत व्यवस्था गरे दिगो अर्थतन्त्रको विकास र राजश्व संकलनको लक्ष्य पुरा गर्न समस्या नहुने अध्यक्ष अग्रवालको भनाई छ ।

कार्यक्रममा आन्तरिक राजश्व विभागका महानिर्देशक रामप्रसाद आचार्यले कर प्रणालीलाई लगानीसँग जोड्न सरकारले पनि काम गरिरहेको बताए । मुलुकका लगानीको वातावरण छैन भन्ने भाष्यलाई चिर्नुपर्ने महानिर्देशक आचार्यको भनाई छ । ‘लक्ष्य अनुसारको उपलब्धि हासिल गर्न नसकिए पनि अर्थतन्त्र अहिले ठिक ठाउँमा रहेको छ,’ उनले भने, ‘राजश्व प्रणाली र सरकारको खर्च प्रणालीमा सुधार हुँदै आएको छ ।’

सरकार र निजी क्षेत्रको सहकार्य मार्फत आर्थिक उपलब्धि हासिल गर्नुपर्नेमा महानिर्देशक आचार्यको जोड छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप