माओवादी आन्दोलनले दमननाथलाई सम्झिनैपर्ने कारण
२०४६ को राजनीतिक परिवर्तनपछि माओवादीका मुख्य नेताहरू चुनाव नलड्ने नीति थियो । तर संसदीय मोर्चा हेर्ने जिम्मेवारी मलाई दिइएको थियो । सोही विषयमा दमननाथ ढुंगानाजीसँग मेरो भेटघाट भइराख्थ्यो । दमनजी समकालीन नेपाली इतिहासको एउटा विशिष्ट लोकतान्त्रिक व्यक्तित्व हुनुहुन्थ्यो ।
पञ्चायतकालको अन्त्य बेलादेखि बहुदलकाल हुँदै माओवादी जनयुद्ध र पछिल्लो कालखण्डसम्म व्यक्तिगत रूपमा उहाँसँग मेरो असाध्यै निकटको सम्बन्ध रह्यो । उहाँको आकस्मिक निधनबाट म असाध्यै दुःखी भएको छु ।
उहाँको विषयमा मूल्याङ्कन गर्नुपर्दा मेरो आफ्नै बुझाइ छ । उहाँ आफ्नो विचार, राजनीति, निष्ठा, नैतिकता, कटिबद्धपूर्ण र प्रतिबद्ध व्यक्ति हुनुहुन्थ्यो । हाम्रो राजनीति अहिले स्खलित भएको बेला छ । मान्छे एउटा भन्छ, अर्को गर्छ । लोकतान्त्रिक भनेर अलोकतान्त्रिक हर्कत गर्छ । कम्युनिस्ट भन्छ, गैरकम्युनिस्ट हर्कत गर्छ ।
दमनजीले आफ्नो निरन्तर उदारवादी लोकतन्त्रको पक्षधरता सुरूदेखि अन्तिमसम्म निष्ठापूर्वक कायम राख्नुभयो । उदाहरणका निम्ति ०४६ सालको राजनीतिक परिवर्तनपछि ०४८ सालमा उहाँ सभामुख बन्नुभयो । म पनि संयुक्त जनमोर्चाको संयोजकको नाताले संसदीय गतिविधि नियालिराखेको हुन्थेँ ।
यस अर्थमा मैले दमननाथ ढुंगानाजीलाई तीन खण्डमा सम्झेको छु । पहिलो, उहाँले त्यतिबेला धैर्यतापूर्वक संसद सञ्चालन गर्नुहुन्थ्यो । संसद विपक्षीहरूकै हो भन्ने मान्यता राख्नुहुन्थ्यो । त्यो उहाँको निष्ठाको परिचय थियो ।
०५२ सालपछि जब हामीले संसदीय व्यवस्था पूर्ण छैन, गणतन्त्र ल्याउनु पर्छ र संविधान सभाबाट संविधान बनाउनुपर्छ भन्ने विषय उठायौँ । उहाँ कांग्रेसमा रहे पनि निरन्तर संविधान सभाको पक्षधर बन्नुभयो ।
दोस्रो, कम्युनिस्ट आन्दोलनभित्र माओवादीमा पनि संविधान सभाबारे त्यति प्रस्ट थिएन । कांग्रेस र एमालेतिर त संविधान सभाको कुरै गर्न चाहदैनथे । त्यतिबेला पनि उहाँमात्रै त्यस्तो व्यक्ति सम्झन्छौँ, जसले माओवादीलाई समेट्न संविधान सभा निर्वाचन उपयुक्त हुन्छ भनेर अडान लिनुभएको थियो ।
तेस्रो, माओवादीलाई हेर्ने दृष्टिकोण कांग्रेसको नकारात्मक थियो । हामीलाई उनीहरू बाटो बिराएका मुर्खहरू, आतङ्ककारीहरू भन्ने सोचका साथ हेर्थे । तर उहाँ(दमननाथ) आफैँ राजनीतिशास्त्री, कानुनको जानकार र एउटा ज्ञान भएको व्यक्ति भएकाले पनि विद्रोह किन हुन्छ भन्ने राम्रो जानकार हुनुहुन्थ्यो ।
जनयुद्धकालमा रोल्पा लगायत तत्कालीन माओवादीको आधार क्षेत्रमा पुगेर केन्द्रीय तहका नेतासँग भेटेर उहाँले ‘जबसम्म खाओवादी रहन्छन्, त्यतिबेलासम्म माओवादी जन्मन्छन्’ भन्नुहुन्थ्यो । माओवादी भनेको समाजको विकृतिको उपज हो भन्ने उहाँको भनाइ थियो । यसको अर्थ उहाँ असाध्यै निष्ठा र अडानमा उभिने व्यक्तित्व रहेको मेरो बुझाइ हो ।
उहाँको देहान्त भएपछि धेरैले शान्ति प्रक्रियामा यो गर्नुभयो वा त्यो गर्नुभयो भन्न खोज्छन् । यथार्थ कुरो– नेपालको शान्ति प्रक्रिया, माओवादी जनयुद्ध राजनीतिक थियो । त्यतिबेला सरकारसमक्ष शान्तिपूर्ण ढंगले हामीले माग राखेका थियौँ । संविधान सभामार्फत् गणतन्त्रमा जाने हाम्रो बटमलाइन थियो । तर त्यो कुरा अरूले बुझ्दैनथे ।
वार्तास्थलमा अरू पनि धेरै आउँथे । हामीले माओवादीलाई सहजीकरण गर्यौ भनेर अहिले पनि धेरैले गफ दिन्छन् । तर दमनजी र पद्मरत्न तुुलाधरसँग त्यतिबेला पनि भूमिगत रूपमा भेटघाट गर्थ्यौँ । हामीले ‘संविधान सभाबाट संघीय गणतन्त्र स्थापना’ हाम्रो बटमलाइन भएको बताउँथ्यौँ ।
उहाँले ‘मैले बुझेँ’ भन्नुहुन्थ्यो । पछि पनि उहाँले जबसम्म संविधान सभा र संघीय गणतन्त्र मानिँदैन, तबसम्म माओवादी शान्ति प्रक्रियामा आउँदैन भनेर सबैलाई भनेपछि बल्ल वातावरण बनेको थियो । त्यस अर्थमा उहाँ र पद्मरत्नको भूमिका धेरै महत्त्वपूर्ण थियो । त्यसैले उहाँका यी सकारात्मक कुरालाई ग्रहण गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रका कमी–कमजोरी औंल्याउँदै अगाडि लैजान सक्यौँ भनेमात्र उहाँप्रति सच्चा श्रद्धाञ्जली दिएको ठहरिन्छ ।
०७२ सालपछि मैले माओवादी परित्याग गरेर नयाँ युगको नयाँ अवस्थाबारे समुन्नत लोकतान्त्रिक समाजवाद चाहिन्छ भनेर नयाँशक्ति अभियान सुरू गरेँ । त्यसपछि मेरो र उहाँ(दमननाथ)बिच पटक–पटक सम्पर्क पनि भयो । उहाँसँग अन्तरङ्ग छलफल भएको पनि म सम्झन्छु । उहाँ पुरानै ढंगबाट लोकतन्त्र अब चल्दैन भन्नुहुन्थ्यो । कम्युनिस्ट पनि जड बाटोबाट जान हुँदैन, अगाडि जाने बाटो नै ठिक छ भन्ने विषयमा सहमति व्यक्त गर्नुहुन्थ्यो ।
उहाँ आफूलाई लागेको कुरा निडर भएर भन्ने गर्नुहुन्थ्यो । कांग्रेसप्रति नै उहाँको निष्ठा थियो तर पनि कसैसँग पनि नडराइ आफ्ना कुरा भन्नुहुन्थ्यो । लोकतन्त्र भनेको निरन्तर विकसित गर्ने कुरा हो । कुनै पार्टीमा आबद्ध भएकाको मात्रै यो ठेक्का हुँदैन । एकचोटी लिएको नीति सधैँ ठिक हुँदैन । निरन्तर परिवर्तन हुन्छ भन्ने जुन मान्यता हामी राख्छौँ । यो विषयमा दमनजीसँग निकटता भएको म पाउँछु ।
माओवादीबाट दोस्रो वार्ताकालमा नेतृत्व गर्दै शान्ति प्रक्रियामा म आएँ । त्यतिबेला अरू मान्छेले माओवादीको माग र मान्यतालाई नबुझ्ने । ‘अँ अँ’ गर्ने भावनात्मक कुरा गर्ने तर कसरी मिल्ने वा नमिल्ने, विषय के हो भन्न नसक्ने थिए । त्यतिबेला दमनजीसँग पनि कुरा गर्थें । हाम्रो मुख्य माग संविधान सभा थियो । त्यो उहाँले बुझ्नुभएको थियो । संविधान सभा निर्वाचित लोकतन्त्रको सर्वोत्तम रूप हो भन्ने मार्क्सवादी भाषा हो ।
यद्यपि संविधान सभा कम्युनिस्ट सिद्धान्त होइन । खासगरी लेनिनले रुसमा सन् १९१८ संविधान सभा विघटन गरे । यो लोकतन्त्रवादीहरूको हो भनेपछि प्रभावित भएर दमननाथजीले अरूलाई सम्झाउनु भएको थियो । त्योचाहिँ अहिले पनि राम्रोसँग सम्झन्छु । त्यसैले शान्ति प्रक्रियालाई अगाडि बढाउन उहाँले धेरै मेहनत गर्नुभएको छ ।
मेरो मुख्य कुरा, लोकतान्त्रिक मूल्य, मान्यता सबैले आत्मसात गर्नुपर्यो । त्यसलाई आफूले पालना गर्नुपर्यो । यो मामिलामा उहाँ अन्यभन्दा बढी प्रतिबद्ध हुनुहुन्थ्यो । सभामुख त आउँछन्, जान्छन् । यो निरन्तर प्रक्रिया हो । (रातोपाटी संवाददाता गणेश पाण्डेसँगको कुराकानीमा आधारित)