सोमबार, ०३ मङ्सिर २०८१
ताजा लोकप्रिय

सौराहाको होटल जङ्गल क्राउन ‘४ तारे’ होटल बन्ने

१ अर्ब लगानीमा नयाँ बन्ने भवनको शिलान्यास
सोमबार, ०३ मङ्सिर २०८१, १६ : ५४
सोमबार, ०३ मङ्सिर २०८१

सौराहा । चितवनको पर्यटकीय रत्ननगर वडा नं. ८ सौराहाको बाघमारास्थित चर्चित होटल जङ्गल क्राउन प्रालि ‘४ तारे’ होटल बन्ने भएको छ । सौराहाकै स्तरीय होटलको रूपमा परिचित होटल जङ्गल क्राउन सञ्चालनमा आएको १० वर्षपछि  ‘४ तारे’ लक्जरी होटलमा स्तरोन्नति हुने भएको हो ।

व्यवसायी डा.तिलचन्द्र भट्टराईको अगुवाइमा होटल जङ्गल क्राउनले ‘४ तारे’ स्तर वृद्धि गर्न नयाँ बन्ने तीन तले ४० कोठे भवनको एक कार्यक्रमका बिच पूर्व पर्यटन मन्त्री प्रेम आलेले शिलान्यास गरेका छन् । ४३ कोठामा चलिरहेको होटलमा थप ४० कोठा थपेर ‘४ तारे’ बनाउन लागेको होटल जङ्गल क्राउन होटलका सञ्चालक तथा कार्यकारी प्रमुख सन्तोष गिरीले जानकारी दिए ।

होटलमा बस्ने ग्राहकहरूलाई स्विमिङ पुल र हेल्थ क्लबको सुविधा निःशुल्क दिने गरी सरकारले तोकेको मापदण्ड पूरा गर्दै  ‘४ तारे’ स्तरमा स्तरबृद्धि गर्न लागेको होटलका अध्यक्ष डा.तिलचन्द्र भट्टराईले जानकारी दिए ।

भवनमा फरक–फरक स्वाद र परिकारका रेस्टुरेन्ट, ५ सय बढी क्षमताको मिटिङ हल, ४ वटा स्वीट रुमसहित ३६ वटा डिलक्स कोठा, २ वटा स्विमिङ पुल, स्पा, हेल्थ क्लबलगायत सम्पूर्ण सुविधासहितको होटल बनाउन सुरु गरिएको होटलका सञ्चालक गिरीले जानकारी दिए ।

‘निर्माण सुरु भएको २ वर्षभित्र नयाँ कोठाहरू सञ्चालन आउनेछ’, सञ्चालक गिरीले भने, ‘अनि ‘४ तारे’ होटलको रूपमा जङ्गल क्राउन सञ्चालनमा आउनेछ ।’  दुई बिघा बढी क्षेत्रफलमा स्तर वृद्धि हुन लागेको होटल जङ्गल क्राउनको हालसम्म गरी झन्डै एक अर्ब रुपैयाँ लगानी हुने प्रारम्भिक अनुमान गरेको छ ।

आगामी दुई वर्षभित्र सबै सडक संरचना निर्माण भइसक्दा होटल जङ्गल क्राउन पनि सञ्चालन भई यस क्षेत्रमा पर्यटकको ओइरो लाग्ने हुँदा होटलमार्फत विदेशी मुद्रा सहजै आर्जन गर्न सकिने होटलको शिलान्यास गर्दै पर्यटन मन्त्री आलेले बताए ।

उनले भने, ‘विदेशमा गएर पसिना बगाउने नभई अब स्वदेशमै विदेशीलाई बोलाएर विदेशी मुद्रा आर्जन गर्ने बेला आएको छ । ’ यस होटलमा अब स्तर वृद्धिसँगै जम्मा ८३ वटा रुम हुनेछ भने १ सय ६५ वटा बेड सङ्ख्या रहनेछन् । होटलमा प्रेसीडेन्टियल सूईट, एक्सुक्युटिभ, डिलक्स रुम र ३ वटा रेस्टुरेन्ट रहनेछन् ।

विदेशी एवं स्वदेशी पर्यटकको मुख्य रोजाइ नयाँ बनेका होटलमा आकर्षित भएपछि यहाँ होटललाई तारे स्तरमा वृद्धि गरिएको होटल जङ्गल क्राउनले जनाएको छ । सौराहा क्षेत्रका होटलमा ३ हजार वेड छन् ।

पछिल्लो समय ठुलो लगानी गरेर होटल खोल्ने क्रम बढेको क्षेत्रीय होटल संघका महासचिव गुणराज थपलिया बताउँछन् । “अहिले एउटै होटलमा २० करोडभन्दा बढी लगानी भएको छ, उनले भने, अर्ब बढी लगानी गरेका व्यवसायी रामेश्वर शाहको चितवनको ५ तारे रोयल टुलिप रिसोर्ट आगामी जनावरी देखि सञ्चालन हुनेछ ।”

पछिल्ला तीन वर्षमा सौराहामा नयाँ होटल खोल्न ३ अर्ब बढी रुपैयाँ लगानी भएको क्षेत्रीय होटल संघ नेपाल सौराहाले जनाएको छ । मुख्य गरी सौराहामा आउने पर्यटक हात्ती, डुंगा, जिप सफारी गरेर चितवन निकुञ्जमा रहेको जैविक विविधतासँगै गैँडा, बाघलगायत जङ्गली जनावर हेर्न मन पराउँछन् । वन्यजन्तु पर्यटनका हिसाबले चितवन नेपालकै पहिलो गन्तव्य हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप