आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

पाकिस्तानविरुद्धको टी–२० अन्तर्राष्ट्रिय शृंखलामा अस्ट्रेलियाको ‘ह्वाइट वास’

सोमबार, ०३ मङ्सिर २०८१, १६ : ४७
सोमबार, ०३ मङ्सिर २०८१

काठमाडौँ । पाकिस्तानविरुद्धको तीन टी–२० अन्तर्राष्ट्रिय खेलको शृंखलामा घरेलु टोली अस्ट्रेलियाले ‘ह्वाइट वास’ गरेको छ । अस्ट्रेलियाले सोमबार होबर्टमा खेलिएको तेस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रियमा पाकिस्तानलाई सात विकेटले हरायो ।

योसँगै तीन खेलको शृंखलामा अस्ट्रेलिया ३–० ले विजयी भयो । शृंखलाको पहिलो खेलमा अस्ट्रेलिया २९ रनले विजयी भएको थियो । दोस्रो टी–२० अन्तर्राष्ट्रियमा पनि अस्ट्रेलियाले पाकिस्तानलाई १३ रनले हराएको थियो ।

तेस्रो खेलमा टस जिती पहिले ब्याटिङ गरेको पाकिस्तानले १८.१ ओभरमा अलआउट हुनुअघि एक सय १७ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको अस्ट्रेलियाले भने ११.२ ओभरमै केवल तीन विकेट गुमाएर विजयलक्ष्य पुरा ग¥यो ।

अस्ट्रेलियाको जितमा मार्कस स्टोइनिसले अविजित ६१ रनको योगदान गरे । उनले केवल २७ बलको सामना गरी पाँच छक्का र पाँच चौका पनि हिर्काए । ३५ वर्षीय स्टोइनिसले टी–२० अन्तर्राष्ट्रियमा बनाएको यो पाँचौँ अर्धशतक हो ।

कप्तान जस इङ्लिसले पनि टोलीका लागि २७ रनको योगदान गरे । ज्याक फ्रासर म्याकगर्कले पनि १८ रन बनाए । टिम डेभिड सात रनमा अविजित रहे । पाकिस्तानी टोलीका बलर साहिन शाह अफरिदी, अब्बास अफरिदी र जहानदाद खानले एक–एक विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानका लागि बाबर आजमले ४१ रन बनाएका थिए । ओपनर ब्याट्सम्यान बाबर आजमले केवल २८ बलको सामना गरी चार चौका पनि हिर्काए । त्यसलगत्तै उनी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा दोस्रो स्थानमा उक्लिए ।

बाबर आजम भारतका स्टार खेलाडी विराट कोहलीलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएका हुन् । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बाबर आजमले बनाएको रन सँख्या चार हजार एक सय ९२ पुगेको छ । यसअघि यो सूचिमा विराट कोहली दोस्रो स्थानमा थिए ।

विराट कोहलीले चार हजार एक सय ८८ रन बनाएका थिए । सर्वाधिक रन बनाउने ब्याट्सम्यानको पहिलो सूचिमा भने भारतका रोहित शर्मा रहेका छन् । रोहितले कुल चार हजार दुई सय ३१ रन बनाएका छन् ।

पाकिस्तानका लागि हसिबुल्लाह खानले पनि २४ रन बनाए । साहिन शाह अफरिदीले टोलीको खातामा १६ रन थपे । इरफान खान १० रन बनाउँदै आउट भए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

अस्ट्रेलियाका बलर एरोन हार्डीले तीन विकेट लिए । एडम जाम्पा र स्पेन्सर जोन्सनले पनि दुई–दुई विकेट हात पारे । अस्ट्रेलियाका मार्कस स्टोइनिस प्लेयर अफ दि म्याच र अस्ट्रेलियाकै स्पेन्सर जोन्सन प्लेयर अफ दि सिरिज घोषित भए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप