आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
प्रदेश

कार्तिक यता जिल्ला दौडाहामा छन् मुख्यमन्त्री कँडेल, उद्देश्य के ?

सोमबार, ०३ मङ्सिर २०८१, १६ : २५
सोमबार, ०३ मङ्सिर २०८१

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल ७ दिन लामो जिल्ला भ्रमणका निस्किएका छन् । यसअघि रुकुम पश्चिम, जाजरकोट, सल्यान, डोल्पा, हुम्ला लगायतका जिल्लाको भ्रमण गरेका कँडेल आइतबारदेखि कालिकोट, जुम्ला, मुगुको भ्रमणमा निस्किएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

आइतबार राजधानी वीरेन्द्रनगरबाट उकालो लागेका कँडेल दैलेख, कालिकोट, जुम्ला हुँदै मुगुसम्म पुग्ने कार्यतालिका छ । कँडेलले सोमबार बिहान कालिकोट सदरमुकाममा रहेको जिल्ला अस्तपतालको नवनिर्मित भवन उद्घाटन गरेका छन् । दिनभर कालिकोटका विभिन्न कार्यक्रममा सहभागी भइ मान्ममा बास बसेर मंगलबार बिहान कर्णाली राजमार्ग अन्तर्गत कालिकोटकै पिलीको अवलोकन गर्ने कार्यतालिका छ ।

१० वर्षे सशस्त्र द्वन्द्वको अन्तिम ठुलो युद्ध भएको पिली अहिले प्रदेश सरकारको बजेटबाट युद्ध पर्यटकीय स्थलका रुपमा विकास भइरहेको छ । मुख्यमन्त्री कँडेलको सचिवालयका अनुसार पिलीमा बहुवर्षीय ठेक्का अन्तर्गत काम भइरहेको छ भने पिली जनयुद्ध सङ्ग्रहालयको काम पनि भइरहेको छ ।

मुख्यमन्त्री कँडेल मंगलबार बिहान ८ बजेपछि मुगु प्रस्थान गर्नेछन् । बुधबार बिहान मुगु सदरमुकाम गमगढीमा प्रमुख जिल्ला अधिकारी, जिल्लाका सबै राजनीतिक दलहरूसँग सार्वजनिक सेवा प्रवाह र विविध विषयमा छलफल तथा अन्तरक्रिया गर्ने कार्यतालिका छ भने ११ बजेपछि जिससको सभाहलमा सार्वजनिक सेवा प्रवाहकै विषयमा स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत तथा संघ र प्रदेश मातहत कार्यालयका सम्पूर्ण कार्यालय प्रमुखहरूसँग छलफल गर्नेछन् ।

बुधबार बेलुका मुगुमै बस्ने र ६ गते बिहीबार बिहान ५ः३० बजे रारा तालको अवलोकनसँगै प्रदेश सरकारबाट निर्माणाधीन अवस्थामा रहेको साइकल लेनको अनुगमन गर्ने कार्यक्रम छ । रारा तालको साइकल लेन बनाउने विषय लामो समय भइसक्दा पनि ठेकेदार कम्पनीले आलटाल गरिरहेको छ ।

यहाँ बहुवर्षीय ठेक्का अन्तर्गत काम भइरहेको छ । उक्त कामबारे प्रगति विवरण बुझेपछि कँडेल जुम्ला सदरमुकाम खलंगा पुग्ने कार्यतालिका छ । शुक्रबार बिहान १० बजेपछि उद्योग वाणिज्य संघ जुम्लाको सभाहलमा सार्वजनिक सेवा प्रवाहकै विषयमा कार्यक्रम राखिएको छ । त्यहाँ पनि स्थानीय तहका जनप्रतिनिधि, कर्मचारीदेखि संघ र प्रदेश मातहत कार्यालयका प्रमुखहरूसँग अन्तरक्रिया कार्यक्रम गरिने छ । सोही दिन ३ बजेपछि प्रमुख जिल्ला अधिकारी र राजनीतिक दलहरूसँग सोही विषयमै छलफल गरिने छ ।

उक्त दिन जुम्लामै बसेर ८ गते शनिबार बिहान १० बजे जुम्लामा रहेका स्याउ किसानका समस्याबारे ‘स्याउ किसानसँग मुख्यमन्त्री’ विषयमा बृहत् छलफल कार्यक्रम हुनेछ । त्यसपश्चात कँडेल सोही दिन जुम्लाबाट राजधानी वीरेन्द्रनगर फर्कने कार्यतालिका रहेको मुख्यमन्त्री कँडेलका प्रमुख स्वकीय सचिव सूर्यमणि गौतमले रातोपाटीलाई बताए ।

कँडेल कात्तिक महिना सुरु भएसँगै जिल्ला–जिल्लाको दौडाहामा छन् । प्रदेश सरकारको बजेट कार्यान्वयनको अवस्था कमजोर हुनाका साथै सरकारको गति सुस्त भइरहेको आलोचना खेपिरहँदा कँडेल भने जिल्ला भ्रमणमा व्यस्त छन् ।

मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव सूर्यमणि गौतमका अनुसार १० वटै जिल्लामा गएर स्थानीयस्तरमा अन्तरक्रिया गरी अर्को वर्षको योजना बनाउने उद्देश्य अनुसार मुख्यमन्त्रीले विभिन्न जिल्लाको भ्रमण थालेका हुन् । विद्यमान समस्यालाई नीतिगत र कानुनी रूपमा सुधार गर्ने उद्देश्य रहेको उनले बताए ।

कात्तिक ४ गते जाजरकोटबाट जिल्ला भ्रमण सुरु गरेका कँडेलले पहिलो चरणमा भूकम्प प्रभावित जिल्लाहरू जाजरकोट, रुकुम पश्चिम र सल्यानमा कार्यक्रम गरे । त्यसपछि डोल्पा, हुम्लाको भ्रमण गरे । हुम्लामा चीनसँग जोडिएका सीमाहरूको समेत अनुगमन गरेका कँडेलले भ्रमणका क्रममा प्रदेश सरकारबाट भइरहेका कामको अनुगमन पनि गर्ने गरेका छन् ।

केही दिनअघि मुख्यमन्त्रीले दैलेखमा दुई दिन कार्यक्रम गरे । जिल्लामा पुग्दा आफ्नो पार्टीका नेता, कार्यकर्ताहरूसँग छुट्टै बस्नेदेखि उनले अन्य दलबाट प्रवेश गर्नेहरूलाई पार्टीमा स्वागतसमेत गर्छन् ।

मुख्यमन्त्री कँडेलले भने, ‘विकास निर्माण, सुशासन एवं सार्वजनिक सेवा प्रवाहबारे स्थानीयस्तरमै सरोकारवालाहरूसँग छलफल गर्ने उद्देश्य हो ।’

कँडेलले जिल्लामा जाँदा नागरिकका गुनासो पनि सुन्छन् । यसअघि तीन वटा मुख्यमन्त्री बने पनि यसरी नागरिकस्तरमै गएर जनताका गुनासो सुन्ने, समस्याहरूको समाधान गर्नेबारे छलफल गर्ने काम भएको थिएन ।

यद्यपि कँडेलले आन्तरिक समस्याहरूलाई हल गर्ने कुरालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै आएका छन् । ‘नागरिकका गुनासो सुन्ने, प्रदेश तहबाट गर्नुपर्ने काम भए सहयोग गर्ने आश्वासन दिने, केन्द्रबाट गर्नुपर्ने काम भए समन्वय गरिने जानकारी गराउने काम मुख्यमन्त्रीज्यूले गर्नुहुन्छ,’ प्रमुख स्वकीय सचिव गौतमले भने, ‘यसले गर्दा जनताको आवश्यकता के हो ? कुन ठाउँमा के आवश्यक छ भन्ने विषयको सहज पहिचान हुन्छ । बजेट, नीति तथा कार्यक्रम बनाउँदा सजिलो हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप