तत्कालीन प्रतिपक्षी सांसदको सम्झनामा दमननाथ ढुंगाना : नाम दमन, व्यवहार ‘दमन’को विरोधी !
काठमाडौँ । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले सोमबार राष्ट्रिय शोक मनाउन सार्वजनिक बिदा दिएको छ । ढुंगाना २०४८ असार ९ गते प्रतिनिधि सभाको सभामुख निर्वाचित भएका थिए । उनको आइतबार निधन भएको हो ।
२०४८ सालको संसदीय निर्वाचनपछि सभामुख पदमा नेपाली कांग्रेसबाट दमननाथ ढुंगाना र एमालेबाट झलनाथ खनाल उम्मेदवार बनेका थिए । तर निर्धारित समयमा खनालको उम्मेदवारी प्रस्ताव एमालेले फिर्ता लिएपछि ढुंगाना सभामुखमा निर्विरोध निर्वाचित भएका थिए ।
ढुंगानाले असार ९ गते नै पद तथा गोपनीयताको शपथ लिएर पदभार ग्रहण गरेका थिए । त्यतिबेला नेपाली कांग्रेसको एकल बहुमतको सरकार थियो भने नेकपा एमाले प्रमुख प्रतिपक्षी दल थियो ।
कांग्रेसबाट निर्वाचित भए पनि ढुंगानाले संसद् सञ्चालनमा प्रतिपक्षी दललाई नै विशेष महत्त्व दिएको तत्कालीन प्रतिपक्षी दलका सांसदको भनाइ छ । बहुमतको आडमा प्रतिपक्षलाई पेल्ने नभइ संसदमा प्रतिपक्षका आवाज मुखरित हुन दिएर सरकारलाई सही बाटोमा हिँडाउने भूमिका तत्कालीन सभामुख ढुंगानाले निर्वाह गरेको उनीहरू बताउँछन् ।
हाल जसपाको अध्यक्ष रहेका अशोक कुमार राई त्यतिबेला एमालेबाट निर्वाचित सांसद थिए । सभामुखको रूपमा ढुंगानाले त्यतिबेला अद्वितीय भूमिका निर्वाह गरेको राई सम्झिन्छन् । ‘हामीले सभामुख धेरैजना पाइसक्यौँ तर उहाँचाहिँ अद्वतीय नै रहनुभएको म महसुस गर्छु,’ राईले रातोपाटीसँग भने, ‘उहाँको संसद् परिचालन गर्ने क्षमता, स्पष्ट दृष्टिकोण, निर्भिकता, नेतृत्व कला विशिष्ट किसिमको थियो ।’
सभामुखको भूमिकामा रहँदा ढुंगानाले जहिले पनि ‘सत्ता पक्षको सरकार र प्रतिपक्षको संसद्’ भनेर वकालत गरेको राई बताउँछन् । उनका अनुसार ढुंगानाको मान्यता थियो–‘प्रतिपक्षले आफ्ना कुरा संसदमा भन्न पाएन भने त्यो कुरा संसदभन्दा बाहिर पुग्छ । प्रतिपक्षले संसदभन्दा बाहिर गएर आफ्नो कुरा भन्नुपर्ने अवस्था आउनु भनेको संसदको प्रभावकारिता रहेन भन्ने अर्थ लाग्छ ।’
त्यसैले सत्ता पक्षले सहिष्णुतापूर्वक प्रतिपक्षका कुरा सुन्नुपर्छ, संसदमा आउन दिनुपर्छ भन्ने ढुंगानाको मान्यता रहेको राईले सुनाए ।
उनले भने, ‘२०४८ सालको निर्वाचनपछि गिरिजाप्रसाद कोइरालाजस्तो सशक्त अडान भएको नेता प्रधानमन्त्री भएको अवस्थामा पनि तत्कालीन सभामुख ढुंगानाले सरकारलाई संसदप्रति उत्तरदायी र जिम्मेवार बनाउने भूमिका निर्वाह गर्नुभयो ।’
अहिले संसद किन त्यस्तो प्रभावकारी भएन भन्ने प्रश्नमा राईले भने, ‘हामीले सकारात्मक चिजलाई अघि बढाउन सकेनौँ कि !’
एमालेका तत्कालीन सांसद राधाकृष्ण मैनाली छोटो समयमै दमननाथ ढुंगानाले आफूलाई राष्ट्रिय व्यक्तित्वको रूपमा स्थापित गरेको बताउँछन् । सभामुख भनेको कस्तो हुनुपर्छ भन्ने एउटा नजिर ढुंगानाले बसाले पनि त्यस यताका सभामुखको भूमिका त्यति स्वतन्त्र र निष्पक्ष नदेखिएको उनले बताए ।
‘छोटो समयमा पनि राम्रो काम गरेमा राष्ट्रिय व्यक्तित्व बन्न सकिन्छ भन्ने उदाहरण हो दमननाथ ढुंगाना,’ मैनालीले भने, ‘राष्ट्रिय व्यक्तित्व हुन सात पटक प्रधानमन्त्री भइरहनु पर्दैन भन्ने उदाहरण पनि हो उहाँ ।’
ढुंगाना नेपाली कांग्रेसको कार्यकर्ता भए पनि उनले दलको कार्यकर्ताको भन्दा सभामुखको भूमिका, समाजसेवीको भूमिकालाई सबैभन्दा माथि राखेको मैनाली बताउँछन् ।
‘सरकार सत्ता पक्षको, सदन प्रतिपक्षको’ भन्ने ढुंगानाको सिद्धान्त रहेको मैनालीले बताए । उनले भने, ‘सदनमा प्रतिपक्षको भूमिकाले सरकारलाई सही बाटोमा लान बाध्य पार्ने वातावरण उहाँले सिर्जना गरिदिनुभयो ।’
मैनालीका अनुसार तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला प्रतिपक्षलाई अलि निचोरेर, सत्ता पक्षलाई काखी च्यापेर जानुपर्छ भन्ने मान्यता राख्दथे । ‘तर तत्कालीन सभामुख ढुंगानाले त्यो मान्नुभएन । प्रधानमन्त्रीको आशयलाई बुझ्दाबुझ्दै पनि ढुंगानाले सदनमा सत्ता पक्षलाई हावी हुन दिनुभएन,’ उनले भने ।
सदन भनेकै प्रतिपक्षको हो भन्ने मान्यतामा ढुंगाना अडिग रहेका कारण गिरिजाप्रसाद कोइरालासँग उनको सम्बन्ध बिग्रिएको मैनाली बताउँछन् । ‘तर पनि उहाँ आफ्नो मूल्य, मान्यताबाट विचलित हुनुभएन,’ उनले भने, ‘अहिलेसम्मका सभामुख त्यति निष्पक्ष देखिएनन् । दमनजी जस्तै सभामुख अरु पनि भइदिएको भए संसदीय अभ्यास धेरै माथि पुगिसकेको हुन्थ्यो ।’
दमननाथ ढुंगाना राष्ट्रिय सम्मान पाउन योग्य व्यक्तित्व रहेको मैनालीले बताए । ‘सरकारले जानेर होस् या नजानेर, उहाँको निधनमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ, यो स्वागतयोग्य छ,’ उनले भने, ‘राष्ट्रिय सम्मान कसलाई दिने, कसलाई नदिने भन्नेमा पनि विवाद त छ, तर ढुंगाना राष्ट्रिय सम्मानको वास्तविक हकदार हो ।’
एमालेकै तत्कालीन सांसद हिरण्यलाल श्रेष्ठ पनि संसदमा ढुंगानाको नेतृत्व क्षमता अद्वितीय रहेको सम्झिन्छन् । उनले भने, ‘म दमननाथ ढुंगानालाई कुशल सभामुखको रूपमा सम्झिन्छु । देशको नागरिक अगुवा, शान्ति वार्ताका सहयोगीका रूपमा पनि सम्झिन्छु ।’
तत्कालीन सभामुख ढुंगानाले आफूलाई संसदको तर्फबाट पत्रकारहरूसँग सम्पर्क गर्ने काम सुम्पिएको पनि श्रेष्ठले सुनाए । प्रतिपक्ष दलको सांसद भए पनि आफूहरूलाई तत्कालीन सभामुख ढुंगानाले संसदीय गतिविधिको केन्द्रमै राख्ने गरेको उनको भनाइ छ । उनले भने, ‘विभिन्न मुलुकबाट संसदीय टोली आउँदा उहाँले मलाई संयोजनको जिम्मेवारी दिनुहुन्थ्यो । संसदमा प्रमुख प्रतिपक्ष दललाई उहाँले सधैँ महत्त्व दिनुभयो ।’
टनकपुर बाँधको विषयमा त्यतिबेला ठुलै विवाद भयो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला भारत गएर समझदारीपत्रमा हस्ताक्षर गरेर आएपछि संसदमा एमालेले विरोध प्रदर्शन गरेको थियो । ‘संविधान मिच्न दिँदैनौँ, देश बेच्न दिँदैनौँ’ भनेर एमालेले संसदमा ८ घण्टासम्म नाराबाजी गरेको श्रेष्ठ स्मरण गर्छन् ।
‘उहाँको नाम दमन भए पनि उहाँले कहिल्यै प्रतिपक्षलाई दमन गर्नुभएन,’ श्रेष्ठले भने, ‘बरु उहाँ सबै किसिमको दमनको विरोध गर्ने व्यक्तिका रूपमा स्थापित हुनुभयो ।’्
दमननाथ ढुंगानाको नाम संसदीय इतिहासमा स्वर्ण अक्षरले लेखिएको भन्दै उनीहरूले ढुंगानाको कार्यकालमा जस्तो प्रभावकारी संसदीय गतिविधिको अभाव सदा महसुस भइरहने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारलाई आयोगको सात बुँदे निर्देशन : राजमार्गको यातायात व्यवस्थापनदेखि मदिरा नियन्त्रणसम्म
-
अमेरिकाले आगोमा घ्यू थप्दैछ : रुस
-
सात खेलको प्रतिबन्धमा परे टोट्टनहामका रोड्रिगो
-
झापाको मेचीनगरबाट सुरु भएको युवा सङ्कल्प अभियान भोलि महेन्द्रनगरबाट सम्पन्न हुँदै
-
सौराहाको होटल जङ्गल क्राउन ‘४ तारे’ होटल बन्ने
-
पाकिस्तानविरुद्धको टी–२० अन्तर्राष्ट्रिय शृंखलामा अस्ट्रेलियाको ‘ह्वाइट वास’