सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
जनयुद्धदेखि रुस-युक्रेन युद्धसम्म

रुसी सेनामा कार्यरत माओवादी पूर्वलडाकुको अनुभव : त्यो लडाइँ र यो लडाइँ !

सोमबार, ०३ मङ्सिर २०८१, १४ : ५७
सोमबार, ०३ मङ्सिर २०८१

 शाहवंशीय निरङ्कुश सामन्ती राजतन्त्रको अन्त्य र जनवादी गणतन्त्रको स्थापना गर्ने उद्देश्य राखेर २०५२ फागुन १ गते नेपाल कम्युनिस्ट पार्टी माओवादीले दीर्घकालीन जनयुद्धको उद्घोष गर्‍यो। जनयुद्धको उद्घोषसँगै देशमा सदियौँदेखि वर्गीय जातीय, क्षेत्रीय तथा लैङ्गिक विभेदको सिकार बन्न बाध्य सबै जाति, क्षेत्र, एवम् वर्गका हजारौँ जनसमुदाय जनयुद्धको बाटोमा लामबद्ध भए। वर्षौँदेखि भोग्दै आएको विविधखाले उत्पीडनबाट सदाका लागि मुक्त हुने उपयुक्त विकल्पको पर्खाइमा रहेका जनसमुदाय मुक्ति यात्रामा  लामबद्ध हुनु स्वाभाविक थियो।

बाल्यकालदेखि समाजका विविधखाले उत्पीडन, विभेद र अत्याचार देख्दै हुर्केको म सबैले स्वतन्त्रतापूर्वक सम्मानजनक जीवन बिताउन पाउने उपयुक्त विकल्प के हुन्छ होला भन्ने कल्पनामा घोत्लिने गर्थे।यस्तै यस्तै कल्पनाको बिच २०५४ मा स्कुले जीवनमै तत्कालीन माओवादीको भ्रातृ सङ्गठन अखिल (क्रान्तिकारी)को स्कुल इकाई समिति (सुरुमा सचिव र पछि अध्यक्ष) मा आबद्ध भएर क्रान्तिकारी जीवनको रक्तिम यात्रा तय गर्ने अवसर मिल्यो। २०५२ सालमा सुरु भएको जनयुद्ध अन्तर्गत म अखिल (क्रान्तिकारी)मा आबद्ध हुँदासम्म घनिभूत चरणमा प्रवेश गर्दै थियो। यद्यपि मलाई माओवादी पार्टी र जनयुद्धबारे गहिरो जानकारी लिने मेलोमेसो जुरिसकेको थिएन। यस्तै व्यग्र  चाहना बिच २०५४ को भाद्रतिर स्कुलमै गम बहादुर श्रीष मगर (क. कान्छा)ले आज साँझ  छापामार कमरेडहरू आउँदै हुनुहुन्छ स्कुल बिदा भएपछि  भेट्न जानुपर्छ है भन्ने जानकारी गराउनु भयो। स्कुल छुटेलगत्तै गम श्रीष, म र टेक बिक (सुवास) ३ जना स्कुल नजिकै मेरो कक्षा सहपाठी राजु सापकोटाको पसलमा ३ वटा वाईवाई  चाउचाउ पकाउन भनेर सुपसहितको चाउचाउमा चिउरा मिसाई अघाइन्जेल खाएर झमक्क साँझ पर्दा सम्बन्धित स्थलमा पुग्नेगरी गफ गर्दै बिस्तारै गन्तव्यतिर अघि बढ्यौँ। ठिक्क रात पर्दा ठ्याक्कै सम्पर्क स्थल (कुल बहादुर रोका, क. प्रभा,क. वन्दनाको घर) मा पुग्यौँ । 

त्यहाँ पुग्दा हाल नेकपाका महासचिव विप्लवका सहोदर दाजु वीरजंग (उहाँको देहावसान भइसक्यो)सहित ३ जना छापामार कमरेडहरू पोलेको मकै खाँदै, भाँचेर राखेको मकै भुलाउँदै हुनुहुन्थ्यो। जीवनमा पहिलो पटक छापामार कमरेडहरूसँग प्रत्यक्ष भेट भयो त्यो पनि नितान्त सरल जीवनशैलीमा । जनताको काममा हातेमालो गरिरहेको अवस्थामा त्यो भेट भएको थियो । आफ्नै आँखाले यति देखेपछि त्यतिवेला रेडियो नेपालबाट प्रसारण हुने समाचार माओवादीप्रति कति सम्मको भ्रामक र नकारात्मक आरोपले भरिएको हुँदो रहेछ भन्ने बुझ्न मुस्किल परेन। मेरो मनमा रहेका अन्य कैयन जिज्ञासाका मेटिँदै गए। मैले कल्पना गरेजस्तै  माओवादी दुखी, गरिब, शोषित, पीडित वर्गको सच्चा सारथि रहेछ भन्ने गहिरो छाप पर्‍यो। यद्यपि अन्य राजनीतिक, सैद्धान्तिक विषयबारे जानकारी लिन बाँकी नै थियो।

हामी त्यहाँ पुगेपछि मुठ्ठी कसेर लाल सलाम भन्दै हात मिलायौँ, परिचय भयो, मकै भुत्ल्याउने कामलाई एक छिन थाती राखेर पोलेको मकै खाँदै माओवादी पार्टी, जनयुद्ध  र देशको अवस्थाबारे कमरेड वीरजंगले कुराकानी सुरु गर्नुभयो। उहाँले त्यतिवेला भनेका विषयको मुख्य अंश यस्तो थियो– अर्ध सामन्ती र अर्ध औपनिवेशिक चरित्रको  भूराजनीतिक व्यवस्था भएको हाम्रो देशमा नयाँ जनवादी क्रान्ति आवश्यक छ। त्यहीँ जनवादी क्रान्तिको रूपमा हामीले दीर्घकालीन जनयुद्ध सुरु गरेका छौँ, यो भनेको  कमरेड माओत्सेतुङले चीनमा गरेको जस्तै जनवादी क्रान्ति हो। यो दुर्गम, पिछडिएको गाउँ गाउँबाट सुरु हुन्छ। जाली, फटाहा, सामन्तहरूलाई जनकारबाही गरिन्छ। अन्याय, अत्याचार गर्नेलाई जनकारबाही गरिन्छ, सामन्तको भकारी फोरेर अनाज गरिब जनतालाई बाँडिन्छ, जाली तमसुक जलाइन्छ, हाम्रो विरुद्ध पुलिस–प्रशासनमा सुराकी गर्नेलाई  कारबाही गरिन्छ। गाउँका पुलिस चौकी कब्जा गर्दै, उनीहरूलाई लखेट्दै गाउँ खाली गराइन्छ। गाउँमा सबै जनसमुदायलाई सङ्गठित गर्दै आधार इलाका बनाइन्छ। त्यो भनेको गाउँ गाउँमा हाम्रो जनसरकार बन्नु हो। गाउँपछि सहर पस्ने सहरमा मजदुर, उद्योगी, व्यापारी, बुद्धिजीवीहरूलाई सङ्गठित गर्दै जाने र केन्द्रीय सत्ता कब्जा गरेर जनवादी व्यवस्था घोषणा गर्ने। त्यस्तो व्यवस्थामा धनी गरिब, सानो ठुलो भन्ने हुँदैन। कुनै विभेद, अन्याय, अत्याचार हुँदैन। सबैलाई काम सबैलाई माम, निःशुल्क उन्नत शिक्षा, स्वास्थ्य तथा रोजगारको व्यवस्था हुन्छ। सबैलाई गाँसबास,कपासको सुनिश्चित हुन्छ। यस्तो सुन्दर व्यवस्था निर्माण गर्न सबै युवाहरू अग्रसर हुनुपर्छ, आम जनतालाई सङ्गठित गर्नुपर्छ। आवश्यकता अनुसार पूर्णकालीन कार्यकर्ता–छापामार भएर हिँड्नुपर्छ। यो ५ प्रतिशत ठगिखाने सामन्ती शासक वर्गको विरुद्ध ९५ प्रतिशत श्रम गरिखाने श्रमिक वर्गको न्यायपूर्ण लडाइँ हो त्यसैले जित निश्चित छ ।’

 झन्डै दुई घण्टा यस्तै ओज र जोसपूर्ण कुरा सुनेपछि मनपरी उमङ्ग बोकेर बिदा भई घर गइयो।   त्यसपछिका केही वर्ष पढाइसँगै विद्यार्थी अभियान, सङ्गठन निर्माण, भित्ते लेखन, मशाल जुलुस,जाँडरक्सी नियन्त्रण जस्ता कार्यमा बिते। त्यसपछि भकारी फोड, जाली तमसुक जफत, सामन्त, दलाल, सुराकी जुवाडे, जड्याँहाहरुलाई जनकारबाही गर्दै पेचिलो फेजमा प्रवेश गरेको वर्गसंघर्षले पूर्णकालीन क्याडरको रूपमा भूमिका निर्वाह गर्नुपर्ने माग गर्‍यो। पूर्णकालीनपछि सुरुमा जवस/मोर्चा, सञ्चार विभाग हुँदै जिल्लामा स्थानीय सेनाको रूपमा क्रियाशील स्क्वायडसम्म जिम्मेवारी वहन गरियो। स्क्वायडमै आबद्ध रहँदा २०५७ कार्तिकमा वाग्लुङ्गको झिवा खोला इलाका प्रहरी कार्यालय आक्रमणमा पहिलो पटक प्रत्यक्ष लडाइँमा सहभागी भइयो।करिब पौने घण्टाको लडाइँपछि प्रहरीले आत्मसमर्पण गर्‍यो, केही हतियार तथा गोलीगठ्ठा प्राप्त भयो । तर बदलामा वाग्लुङ्ग अर्गलका निकै सरल, ऊर्जाशील कमरेड मनोजलाई गुमाउनुपर्‍यो। एउटा एसल्टको कमान्डर उहाँ सहिद हुनुभयो। के गर्नु युद्धको नियम यस्तै हो भनेर मन सम्हाल्नुबाहेक अरू विकल्प थिएन। भारी मन बनाएर उहाँको पार्थिव शरीरलाई अलि माथि जङ्गलमा लगी अन्त्येष्टि गरेर रिट्रिट भयौँ।

 जनयुद्धको तीव्र विकाशसँगै क्रान्तिको आवश्यकताले जनसेनाको नियमित फर्मेसनमा लामबद्ध हुने माग गर्‍यो। नियमित फर्मेसनमा आबद्ध भएपछि सहभागी मोर्चाका कैयन अनुभूति त छन् नै यद्यपि अहिले यो सानो लेखमा सबै उतार्न सम्भव छैन।

समय क्रममा युद्धको  स्वरूप बदलियो। सात राजनीतिक दलहरूसँगको १२ बुँदे सहमतिपछि संयुक्त रूपमा जनआन्दोलन सुरु भयो। जनयुद्धको जगमा भएको जनआन्दोलनले शाही शासन अन्त्यको आधार तयार गर्‍यो।२०६३ मङ्सिरमा नेपाल सरकार र माओवादीबिच सम्पन्न विस्तृत शान्ति सम्झौताले जनमुक्ति सेनालाई सीमित तारबारभित्र कैद गर्‍यो।

किन किन आफूलाई भित्रैदेखि हिजो लड्दै आएको नेपाली सेनाको जागिरे अफिसर हुन पटक्कै मन मानेन।कतिपय राजनीतिक विषयहरू पनि अनिश्चिततामा थिए। भित्री मन नै तयार नभएपछि बाहिरी सुझाव, माहौलले खासै असर नगर्दो रहेछ।

२०६८ मा बाबुराम भट्टराई नेतृत्वको सरकारले जनमुक्ति सेनालाई समायोजन तथा स्वैच्छिक अवकाशको निर्णय गरेसँगै जनमुक्ति सेनामा बटालियन सहकमाण्डर तहको  जिम्मेवारीलाई विट मार्दै स्वैच्छिक अवकाश लिने निर्णय गरियो। समायोजन रोजेको भए नेपाली सेनामा अधिकृत लेबलमा समायोजन भएर जागिर खाने राम्रै अवसर थियो।

चिनेजानेका धेरै नेता तथा सिनियर कमान्डरहरूले पनि समायोजनमा जान सुझाव दिनुभएको थियो। तर किन किन आफूलाई भित्रैदेखि हिजो लड्दै आएको नेपाली सेनाको जागिरे अफिसर हुन पटक्कै मन मानेन।कतिपय राजनीतिक विषयहरू पनि अनिश्चिततामा थिए। भित्री मन नै तयार नभएपछि बाहिरी सुझाव, माहौलले खासै असर नगर्दो रहेछ। त्यसो त त्यतिबेलासम्म आफूमा क्रान्तिकारी ऊर्जा भरपुर छ भन्ने आभास हुन्थ्यो। अन्ततः जनयुद्धको महत्त्वपूर्ण अंश जनमुक्ति सेनाको गौरवपूर्ण इतिहासलाई नामेट पार्ने विचलनपूर्ण निर्णयप्रति कडा विमति राख्दै बाहिरिने  निर्णय गरियो।

 जनमुक्ति सेनाको वर्दी फुकालेर घर फर्केपछि पारिवारिक जिम्मेवारी प्रधान बन्यो । यद्यपि राजनीतिक चेतनाले ओतप्रोत जोकोही राजनीतिक कर्मबाट विमुख रहन सम्भव नहुँदो रहेछ। राजनीतिक जीवनको एउटा दुखद पक्ष पार्टी भित्रको विचलन, विमति र अन्तरसंघर्षले विभाजनको रेखा कोर्‍यो। २०६८ मा मोहन वैद्य किरणको नेतृत्वमा नेकपा माओवादी गठन भयो। नवगठित पार्टीमा आबद्ध भएर केही समय काम गरियो।

प्रचण्ड बाबुरामले अधुरो छोडेको क्रान्ति पूरा गर्ने उद्देश्य राखेर गठित पार्टीले खासै गति लिन सकेन। सिद्धान्तको कसीमा बाँधिएर दार्शनिक विचार प्रवाह गर्ने दर्शनशास्त्री नेता किरणबाट बल प्रयोगको जोखिमपूर्ण बाटो तय हुन असम्भव थियो। पार्टी विभाजन हुँदा किरण होइन अरू नै क्रियाशील युवा नेताहरूप्रति आशावादी भएर नै पार्टी विभाजनसम्मको अप्रिय निर्णयलाई स्वीकार गरिएको थियो। अन्ततः किरण नेतृत्वको पार्टीमा समेत लामो समय बसिराख्ने अवस्था रहेन। विद्रोह, विभाजनको शृङ्खला जारी थियो । २०७१ मा फेरि कमरेड विप्लवको नेतृत्वमा नयाँ पार्टी गठन भयो। पार्टी गठनपछि सुरुको चरणमा महँगी, भ्रष्टाचार, कालोबजारी, माफिया, दलाल विरुद्ध सङ्घर्षका कार्यक्रमहरू तीव्र बन्यो। 

२०७४ को चुनावलाई समेत संघर्षकै रूपमा  बहिष्कार गरियो।चुनावपछि बनेको केपी ओली नेतृत्वको माओवादी केन्द्र समेत सम्मिलित वाम गठबन्धन सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगायो। १२ जना नेता कार्यकर्ताको ज्यान लियो। केही समयपछि सर्वोच्च अदालतको आदेशमा एमाले र माओवादी केन्द्रबिचको एकता भङ्ग भएसँगै ओली नेतृत्वको सरकार एक्लिँदै गयो। त्यही मेसोमा राजनीतिक शक्ति सञ्चयको दाउमा नेकपासँग वार्ता गरी ३ बुँदे सहमति कायम भयो। प्रतिबन्ध खारेजीसँगै शान्तिपूर्ण राजनीतिक गतिविधि अघि बढ्यो ।

जनयुद्धको चरणदेखि शान्ति सम्झौता, सेना समायोजन, अन्तरसंघर्ष, पार्टी विभाजन हुँदै विप्लव नेतृत्वको नेकपासम्म आइपुग्दा विभिन्न तहको जिम्मेवारी वहन गर्दै २०७१ मा नेकपाको म्याग्दी जिल्ला सेक्रेटेरी सम्म भएर जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त भयो।

 विद्रोही पार्टीको जिल्ला तहको नेतृत्वमा पुगेर इमान एवम् नैतिकता लिलाम गर्ने हो भने व्यक्तिगत लाभ लिने धेरै विकल्पहरू थिए। कतिले त्यसो गरेर वर्षौँदेखि घर खर्च चलाइरहेका छन्। त्यस्ता पात्रहरूको बारेमा प्रमाणसहित उजुरी समेत दर्ज भैसकेको छ। छानबिनको प्रक्रिया के कसरी अगाडि बढ्छ हेर्न बाँकी छ। आफू चाहिँ बरु २–४ दिन भोकै बस्ने तर स्वच्छ चरित्रमा कुनै दाग नलागोस् भन्ने स्वभावको मान्छे भएर होला राजनीतिक पार्टीको खोल ओढेर विकृतिको दलदलमा फस्ने निकृष्ट सोच कहिल्यै पलाएन।

आफ्नो यस्तै चरित्रको उपज होला हिजो १० वर्षे जनयुद्धको एक योद्धा आज लेनिनको देशमा पुटिनको सिपाही बनेर युक्रेनविरुद्ध कठिन लडाइँ लड्दै छु।

हिजो जनयुद्ध होस या आज युक्रेन विरुद्धको युद्ध दुवै छिन्नभिन्न उद्देश्य बोकेको निकै  चुनौतीपूर्ण यात्रा त हो नै यद्यपि स्वेच्छाले रोजेको कठिन यात्रामा पनि आत्मसन्तुष्टि एवम् आत्मसम्मानको अनुभूति भयो भने सहजै पार गर्न सकिन्छ भन्ने बलियो आत्मबल पैदा हुँदो रहेछ। जनयुद्धकालमा लेनिनका कोटेसन, लेख रचना तथा भाषणका अंशहरू पढिन्थ्यो। लेनिनले क्रान्ति गरेको देश कस्तो होला, जनता कस्ता होलान्, रेडगार्डबाट विकसित सेना कस्तो होला भन्ने उत्सुकता हुन्थ्यो।आज भिन्न भूमिकामा धेरथोर अनुभूति सङाल्दै हिजोका कतिपय उत्सुकता मेटाउने अवसर मिलेको छ। त्यसो त आज यहाँ लेनिनले स्थापना गरेको समाजवादी सत्ता त छैन तर कतिपय अभ्यासहरू कायम छ। 

हिजो जनमुक्ति सेनाको रूपमा जनयुद्धको क्रममा लडेको लडाइँ र आज रसियन सेनाको रूपमा युक्रेन विरुद्धको  लडाइँमा आकाश पातलको भिन्नता छ। लडाइँको उद्देश्य, भूगोल, रणनीति त छिन्नभिन्न छ नै, लडाइँको दायरा समेत निकै फराकिलो छ।

रसियन सेनामा समाजवादी भावना तथा विचार महसुस गर्न सकिन्छ।लेनिनले सुरु गरेको सेनाभित्र राजनीतिक कसिमार रहने व्यवस्थालाई परिमार्जित गरी राजनीतिक ब्युरो प्रमुख रहने व्यवस्था अपनाइएको छ।रहनसहन खानपानमा स्वदेशी वा विदेशी भन्ने कुनै विभेद देखिँदैन।लडाइँमा आदेश कमान्ड कन्ट्रोल बाहेक अन्य अवस्थामा कमान्डर र सिपाहीको सम्बन्ध कमरेडकै तहमा हुन्छ। कमरेड शब्दको प्रयोग मात्रै होइन कमरेडली भावना समेत प्रतिबिम्बित हुन्छ। सिपाहीले कमान्डरलाई दिनमा दर्जनौँ पटक सलामी ठोकेर गुलामी गर्नु पर्दैन, कमान्डर वा सिपाही जसले पहिले देख्छ उसैले एक पटक अभिवादन गरे पुग्छ। कमान्डर र सिपाही भनेर बोलाउने अभ्यास छैन, बरु कमरेड भनेर बोलाउनुपर्छ। सेवा सुविधामा विभेद हुँदैन। कसैले भेदभाव, दुर्व्यवहार, गरेको अवस्थामा रिपोर्ट गर्न सक्नुपर्छ, तुरुन्तै कारबाही हुन्छ।

  हिजो जनमुक्ति सेनाको रूपमा जनयुद्धको क्रममा लडेको लडाइँ र आज रसियन सेनाको रूपमा युक्रेन विरुद्धको  लडाइँमा आकाश पातलको भिन्नता छ। लडाइँको उद्देश्य, भूगोल, रणनीति त छिन्नभिन्न छ नै, लडाइँको दायरा समेत निकै फराकिलो छ। जनयुद्धकालीन लडाइँको मोर्चा सीमित थियो। केही हजार गोली, केही दर्जन ग्रिनेड, मोर्टार मात्रै फायरिङ हुन्थ्यो। राइफल, ग्रिनेड, ८१ एमएम, २ इन्च मोर्टार हेलिकप्टरबाट एचएमजीको प्रहार आदि छल्न सके पुग्थ्यो। बढीमा ६–७ घण्टामा धेरैजसो मोर्चा टुङ्गिन्थ्यो। यहाँ त त्यस्तो छैन। यहाँ एउटै मोर्चामा लाखौँ गोली फायर हुन्छ। दर्जनौँ ड्रोनको निगरानी र आक्रमणलाई छल्नुपर्छ। लडाकु विमान तथा हेलिकप्टरको वमवार्डबाट बच्नुपर्छ। मल्टी प्रपल्ड होईटजर लञ्चरबाट प्रहार सयौँ विध्वंसात्मक रकेट तथा मिसाइल छल्नुपर्छ। मल्टिपल ब्मवार्ड ट्याङ्कले प्रहार गर्ने हजारौँ ध्वंसात्मक बम एवम् घातक क्लष्टर छल्नुपर्छ। बङ्कर क्लियरिङ्गको आमनेसामने लडाइँमा अत्याधुनिक राइफल, एसल्ट ग्रिनेड तथा मल्टिप्रपज मेसिन गनको हजारौँ राउन्ड प्रहारबाट बच्नुपर्छ।कहिलेकाहीँ लडाइँ लम्बियो भने  हप्ता दस दिनसम्म निरन्तर लड्नुपर्छ। यस्तै छ छिन्नभिन्न लडाइँको संयोजित अनुभूति।

अन्तमा, यसरी  हिजो आफ्नै देशमा जनताको सत्ता निर्माण गर्न जनयुद्धको सिपाही बनेर दश वर्षे जनयुद्धमा सहभागी योद्धा आज आफ्नो पारिवारिक व्यवस्थापनको लागि विदेशी भाडाको सिपाही बनेर रगत, पसिना बगाउन तयार हुनु सुखद पक्ष त होइन । तर कहिलेकाहीँ  विकल्पहरू सीमित हुँदा बाध्यताको कठिन यात्रालाई समेत स्विकार्ने हिम्मत गर्नुपर्दो रहेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डायमन्ड 'सी' म्याग्देली
डायमन्ड 'सी' म्याग्देली
लेखकबाट थप